सडकमै स्वास्थ्य परीक्षण
दाङ : रमेश बोहरा मंगलबार गाडी लिएर तुलसीपुरबाट बुटवल जाँदै थिए। लमही पुग्दा उनको गाडी प्रहरीले रोक्यो। चालक बोहरा झस्किए। ट्राफिक प्रहरीले केही नभनी गाडीका कागजपत्र, सवारी चालक अनुमतिपत्र निकालेर दिँदै बुटवल जान लालेको बताए। तर प्रहरीले कागज पत्र हेरेन। उनलाई गाडीबाट ओरालेर नजिकैको स्वास्थ्य शिविरमा लगी स्वास्थ्य परीक्षण गर्यो। अनि गाडीमै फर्काइदियो। ‘सडकमै स्वास्थ्य परीक्षण गर्न पाइयो’, उनले भने, ‘धेरैपछि आँखा, ब्लड प्रेसरलगायत धेरै कुराको जाँचियो।’
पूर्वपश्चिम राजमार्गको दाङ सडक खण्डमा चल्ने सवारीसाधनका चालकलाई मंगलबार यसरी नै स्वास्थ्य परीक्षण गरिएको छ। दाङमा सवारी दुर्घटना बढिरहेकाले प्रहरीले सडकमै चालकको स्वास्थय परीक्षण गर्न थालेको हो। यसले चालकलाई रिफ्रेस बनाउनुका साथै स्थास्थ्यबारे जानकारी हुने प्रहरीको भनाइ छ। सवारी चालकले राम्रोसँग देख्छ कि सक्दैन ? ब्लड प्रेसरको चाप कस्तो छ भनेर चिकित्सकको टोलीसहित स्वास्थ्य जाँच गराएको दाङ प्रहरीले जनाएको छ।
सडकमै स्वास्थ्य जाँच हुने गरेकाले चालक खुसी भएका छन्। ‘हामी अस्पताल गएर लाइनमा बस्नुपथ्र्यो तर आज सजिलो र छिटो बाटोमै जाँचियो’, चालक श्याम चौधरीले भने, ‘यो राम्रो काम हो। यसलाई निरन्तरता दिए हामी आभारी हुने थियौं।’ राजमार्गमा दैनिकजसो सवारी दुर्घटना हुन थालेपछि प्रहरीले यो विकल्प पनि अपनाएको प्रदेश प्रहरी प्रवक्ता पुष्प मल्लले बताए।
चालु आर्थिक वर्षको हाल सम्ममा प्रदेशका १२ जिल्लामा १२ सय ८७ दुर्घटना भएको र त्यसबाट २ सय ९४ जनाको मृत्यु भएको मल्लले जानकारी दिए। धेरैजसो दुर्घटना सवारी चालकको कमजोरीले भएको उनको भनाइ छ। सवारी चलाउँदा चालकले मोबाइल प्रयोग गर्नु, चालक निदाउनु र तीव्रगतिमा चलाउनु दुर्घटनाका कारण भएको उनले बताए।