बजेट नपाएपछि आफैं बाटो बनाउन जुटे स्थानीय
धरान : उप-महानगरपालिकाले मोटरबाटो बनाउन बजेट नदिएपछि धरान १५ निशान त्रिबेणी र त्रिशुल मार्गका स्थानीयले आफैले बजेट उठाएर मोटरबाटो निर्माण सुरु गरेका छन्। बगरकोटमा रहेको उक्त मोटरबाटो बनाउन ११ वर्षदेखि धरान उप-महानगरपालिकामा मोटरबाटो बनाउन बजेट माग गर्दा समेत उपलब्ध नभएपछि स्थानीयबासीले बुधबारदेखि आफै रकम उठाएर मोटरबाटो निर्माणको काम थालेका हुन्।
बगरकोटको निशान त्रिवेणी त्रिशुल मार्गका स्थानीयले ५ सय ४० मिटर लम्बाई र २० फिट चौडाईको मोटरबाटो निर्माणका लागि ४२ लाख रुपैयाँ संकलन गरी निर्माण कार्य थालेका छन्। बुधबार एक कार्यक्रमका बीच मोटरबाटो निर्माणको शिलन्यास धरान उपमहानगरपालिकाकी कार्यबाहक मेयर मञ्जु भण्डारीले गरिन्।
मोटरबाटो निर्माण समितिकी अध्यक्ष दुर्गादेवी राईले पटकपटक बाटो बनाउन बजेट माग गर्दा समेत धरान उपमहानगरपालिकाले नदिएपछि स्थानीय महिलाको अगुवाईमा उपभोक्ताबाटै एकसय प्रतिशत रकम संकलन गरी निर्माण कार्य थालिएको बताइन्।
उनले पाँचसय ४० मिटर मोटरबाटोको सडक, ड्रेन र स्लब निर्माण गर्नका लागि उपभोक्ताबाट ४२ लाख रकम संकलन गरिएको जानकारी दिइन्।उक्त रकमले कालोपत्रे गर्न भने अपुग भएकाले उपमहानगरपालिकासँग सडक कालोपत्रे गरिदिन स्थानीयले माग गरेका छन्। बाटोको शिलन्यास गरेपछि कार्यबाहक मेयर भण्डारी र वडाअध्यक्ष नरेश इवारमले आगामी वर्ष मोटरबाटो कालोपत्रे गर्न बजेट विनियोजन गर्ने आश्वासन दिएका छन्।