लिखु हाइड्रोपावरबाट प्रभावित स्थानीय आन्दोलित
रामेछाप : निर्माणाधिन लिखु–३ र लिखु–४ हाइड्रोपावरले आफूहरुलाई अन्याय गरेको भन्दै अति प्रभावित स्थानीयबासीहरु आन्दोलित भएका छन् ।
विभिन्न माग राख्दै रामेछापको लिखु तामाकोसी गाँउपालिका वडा नम्बर २, ३, ४ र ५ तथा ओखलढुङ्गा लिखु गाउँपालिका–८ र ९ का स्थानीयहरु आन्दोलित भएका हुन् ।
मंगलबार हाइड्रोपावर निर्माणस्थल सिरिसे बजारमा करिब ७ सय भन्दा बढी अति प्रभावित स्थानीयहरुले विरोधसभाको आयोजना गरी हाइड्रोपावरका सञ्चालकहरुले गर्ने गरेका कामकारवाही प्रति दुखेसो पोखेका छन् ।
स्वयत गंगा हाइड्रोपावर लिखु–३ पीडित संघर्ष समितिका अध्यक्ष केशर पौडेलले हाइड्रोपावरबाट स्थानीयले पाउनु पर्ने र स्थानीयले हाइड्रोपावरलाई दिनुपर्ने बारे छलफल आग्रह गर्दा पनि सुनुवाइ नभएको बताए ।
आफ्ना मागबारे हाइड्रोपावरका केन्द्रीय कार्यालयदेखि वडा कार्यालय, गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, बन कार्यालय, प्रदेश हुँदै केन्द्रीय सरकारसम्म जानकारी गराउँदा पनि सम्बन्धित निकाय मौन बसेको गुनासो गरे ।
‘हाइड्रोपावरले जबरजस्ती काम गरिहेको छ, यसको किनारा लगाउने छु भन्ने जनप्रतिनिधिहरु अहिले आएर मौन हुँदा दुख लाग्छ,’ उनले भने । अधिकतम शेयरको व्यवस्था, जग्गाजमिनको चलनचल्तिको मुल्याङकनका आधारमा मुआब्जा, आयोजना वरिपरीको सडक व्यवस्थित हुनुपर्ने, क्रसर उद्योग जनबस्तीदेखि कम्तीमा ५०० मिटर टाढा सञ्चालन हुनु पर्ने लगायत २९ बुँदे माग रादै उनीहरु आन्दोलित भएका हुन् ।