साहित्य महोत्सवमा २४ रुखका हाँगाबिँगा काटिए, १० हजार जरिवाना
पोखरा : हालै पोखरामा सम्पन्न नेपाल लिटरेचर फेस्टिभलको आयोजक संस्था बुकवर्म फाउन्डेसनले पोखरा महानगरपालिकालाई १० हजार रुपैयाँ जरिवाना तिरेको छ।
फेवाताल किनारमा आयोजित साहित्य महोत्सवका क्रममा कार्यक्रम स्थलमा रहेका केही रुखहरू काटिएको भेटिएपछि क्षतिपूर्तिबापत् १० हजार रुपैयाँ बुकवर्म फाउन्डेसनसँग लिइएको महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष जगतबहादुर पाहारीले जानकारी दिए।
'नेपाल ट्रस्टको अधिनमा रहेको ग्राउन्डमा सातौँ लिटरेचर फेस्टिभल सञ्चालन गर्ने क्रममा तालको सिन खुल्ला गराउने भन्ने कुरामा भूलबस किनारको रुखहरू काटिन गएको' वडाध्यक्ष पाहारीले फाउन्डेसनका नाममा गरिएको भर्पाईमा उल्लेख छ।
'उहाँहरूले अन्जानमा गल्ती भयो। काट्न हुने थिएन भन्नुभयो', वडाध्यक्ष पाहारीले अन्नपूर्णसँग भने, 'त्यत्रो रुखको हर्जाना त्यतिमात्र त हुने थिएन तर उहाँहरूले गल्ती रियलाइज गर्नुभएकोले अरुले पनि भविष्यमा त्यसो नगरुन् भन्नका लागि जरिवाना गरेका हौँ।'
वडाध्यक्ष पाहारीले कार्यक्रम स्थलमा २४ वटा रुखका हाँगाबिँगा लापरबाही तरिकाले काटिएको भेटिएको जानकारी दिए।
हेर्नुस् आयोजकलाई वडा कार्यालयले गरेको भर्पाईः