सडक खन्दा बस्ती जोखिममा

सडक खन्दा बस्ती जोखिममा

जुम्ला : रणवीर बुढा र उनको परिवार रातमा चयनले नसुतेको महिनौं भयो। भारतमा गरेको मजदुरीले बल्लतल्ल बनाएकोे दुईतले घर कतिखेर भत्किने हो भन्ने पिरले यो परिवार राम्रोसँग निदाउन सकेको छैन। जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीमा स्थानीय सरकारले बस्ती नै जोखिममा पारेर सडक विस्तार गरेपछि गाउँले चिन्तित बनेका छन्।

भिरालो पाखोमा रहेको बस्तीमा खनिएको सडकले गाउँ नै जोखिममा परेको छ। बस्तीभित्र जबर्जस्ती डोजर छिराएपछि जर्मी गाउँका १२ घर जोखिममा परेका छन्। जोखिम मूल्यांकनबिनै मनलाग्दी डोजर प्रयोग गरी निर्माण थालिएको सडक पनि अधुरै छ। अव्यवस्थित रूपमा आधा खनिएको सडकमा वर्षामा बाढी र हिउँदमा सुक्खा पहिरो खस्ने त्रास पनि उत्तिकै छ। जर्मी गाउँदेखि लेकसम्म पुर्‍याउने उद्देश्यले साउनदेखि निर्माण थालिएको सडक सात किलोमिटर खनेर अधुरै छाडिएको छ।

बजेट अभावमा सडकको काम अधुरै रहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र बुढाले बताए। उनले भने, ‘पालिकाले दिएको ४० लाख रकमले जहाँसम्म पुग्यो, हामीले त्यहीँसम्म खन्यौं।’ अध्ययनबिनै सडक निर्माण गरिएको भन्दै स्थानीय नागरिकले आलोचना गरिरहेका छन्। गाउँमा सडकका लागि खाली जग्गा भए पनि स्थानीयको चाहनाविपरीत गाउँभित्रै डोजरबाट सडक खनिएको र बस्तीलाई जोखिममा पारेको भन्दै स्थानीय नरबहादुर बुढाले आक्रोश व्यक्त गरे। सडक निर्माण क्रममा स्थानीयको २० रोपनीभन्दा बढी जग्गा मासिएको छ।

‘सडककै कारण साउन र भदौको वर्षामा घरभित्रै बाढी पस्यो, अहिले पनि बेला–बेलामा माथिबाट ढुंगा खस्छन्’ बुढाले भने, ‘अब हिउँ पर्दा पनि पहिरो जान्छ कि भन्ने डरले अर्काको घरमा बस्ने तयारीमा छाैं।’ स्थानीयको रायसुझाव नै नलिई सडक निर्माण थालिएको बुढाको गुनासो छ। यस्तै, समितिले प्राविधिक स्टिमेट नै तयार नगरी उपभोक्ता समितिका अध्यक्षले हचुवाका भरमा सडक खन्न लगाएका थिए। ‘सडक खन्दा एकपटक पनि हामीलाई सोधिएन, जथाभावी खनिएको सडकले गाउँ नै पुर्छ कि भन्ने त्रासमा छौं,’ स्थानीय कृष्ण डाँगीले भने, ‘जोखिम स्थलमा तटबन्ध लगाउन माग गरे पनि जनप्रतिनिधिले कुरै सुनेका छैनन्, वडादेखि गाउँपालिकामा धाउँदा धाउँदै दिक्क भइसक्यौं।’

जग्गाको मुआब्जा त परै जाओस्, भैपरी आउने विपदबाट बच्नका लागि राहत माग्दासमेत नपाएको गाउँलेको गुनासो छ। सामाजिक विकासका लागि जोसुकैले निःशुल्क जग्गाा दिने निर्णयअनुसार बस्तीभित्र सडक निर्माण गरिएको वडापालिकाले जनाएको छ। सडकका कारण बस्ती जोखिममा नपरेको तातोपानी गाउँपालिकाको दाबी छ। अधुरो सडकलाई क्रमागत बजेट छुट्ट्याएर निर्माण सम्पन्न गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.