चिसोको पिरलो
चिसोबाट बच्न घरभित्र दाउरा वा गुईंठा बाल्नुभन्दा निश्चित समय हिटर बाल्ने वा एसी चलाउँदा उपयुक्त हुने सुझाव चिकित्सकको छ।
काठमाडौं : जाडो बढ्दै छ। चिसोले गर्दा वातावरणीय तापक्रम घट्दै छ। यसबेला शरीरका अंग चिसो हुने गरेको छ भने शरीरको ख्याल गर्नुहोस, छाला तथा श्वासप्रश्वासजन्य रोगले सताउन सक्छ। भर्खर जन्मेको शिशुलाई राम्रोसँग स्याहार नगर्दा भइ कठांग्रिएर ज्यान जान सक्ने चिकित्सक बताउँछन्। त्यसैले शरीरलाई चिसोबाट जोगाउनु पर्छ। त्यसका लागि राति कोठा न्यानो बनाउनुपर्छ। चिसो अवस्थामा शरीरका अंगलाई चलायमान बनाउन कोठाको तापक्रम ठिक्क तातो राख्नुपर्ने सुझाव चिकित्सकको छ। वरिष्ठ मुटु रोग विशेषज्ञ डा.प्रकाशराज रेग्मी भन्छन्, ‘मुटु, फोक्सोलगायत अंगलाई सक्रिय पार्न पनि शरीरलाई तातो बनाइराख्नु पर्छ।’
जोखिममा शिशु /वृद्धवृद्धा
जाडोको बेला भाइरस तथा व्याक्टेरिया सक्रिय हुन्छन। यसबाट कोल्ड डायरिया, निमोनिया, दम, बाथ, उच्च रक्तचाप, एलर्जीलगायत समस्या देखापर्ने सम्भावना बढी हुने चिकित्सक बताउँछन्। कान्ति अस्पतालका प्रमुख बाल रोग विशेषज्ञ डा. कमलराज शर्माका अनुसार, बाहिरी वातावरणसँग शरीरको तापक्रमलाई सन्तुलनमा राख्न सक्ने सामथ्र्य नभएका शिशु र ज्येष्ठ नागरिकलाई हाइपोथर्मियाले सताउने जोखिम हुन्छ। चिसोमा एक महिनासम्मको शिशुलाई हाइपोथर्मिया हुने डर हुन्छ। हाइपोथर्मिया भएका शिशुलाई जति खुवाए पनि हृष्टपुष्ट नहुने समस्या हुन्छ।
जाडो सिजनमा शरीरलाई ठिक्क न्यानो बनाइराख्नु पर्छ। अन्यथा शरीरका अंग नै शिथिल हुने डर हुन्छ। एउटै कोठामा गुजुमुज्ज बस्दा स्वासप्रश्वाससम्बन्धी रोग सर्ने सम्भावना बढी हुन्छ। जाडोमा भरभित्र पनि प्रदूषण उत्पन्न भइरहेको हुन्छ। न्यून आय भएका समुदायमा घरभित्र दाउरा वा गुईंठा बास्ने चलन अझै छ। दाउरा तथा गुईंठाबाट निस्कने धुवाँले घरभित्र प्रदूषण उत्पन्न हुन्छ। ‘कोठाभित्रै मकलमा आगो बालेर शिशुलाई सेक्ने चलन राम्रो होइन। सेकेर फाइदा छैन। धुँवा प्रदूषण हो। बच्चाले श्वास फेर्दा नाकमुखबाट भित्र पस्छ। सुत्केरी र बच्चा दुवै जनालाई फाइदा हुँदैन’, डा. शर्माले भने। मकलमा दाउरा वा गुईँठा बालेर आगो बालेर ताप्दा धुवाँमा कार्बन डाइअक्साइड, कार्बनमोनो अक्साइड, सल्फर डाइअक्साइड लगायत विषालु ग्यास निस्केको हुन्छ। यसले वायु प्रदूषण बढाउँछ। वायु प्रदूषणमा बस्नेलाई जीवनको उत्तराद्र्धमा अल्जाइमर्स, डिमेन्सियाको समस्याले सताउने हुँदा स्वास्थ्यमा गम्भीर असर पार्छ।
धुवाँका कारण नै शिशुको मस्तिष्कको विकासमा समेत असर पुग्छ। ‘शरीरलाई तातो बनाइराख्नु पर्छ। मुटु, फोक्सोलगायत अंग सञ्चालन हुन लागि शरीर पनि तातो हुनु पर्छ। ‘बाहिरबाट तातो वातावरण नभएको अवस्थामा अंगले शक्ति खर्च गरेर शरीरलाई तातो बनाउनुपर्ने हुन्छ। यसो गर्दा शरीरमा सञ्चित शक्ति खर्च हुन्छ’, डा. शर्माले भने।
छालाको समस्या
प्रत्यक्ष रूपमा देखिने छालाको बाहिरी तहलाई इपिडर्मिस र भित्री तहलाई डर्मिस भनिन्छ। चीसोको बेला छाला सुक्खा हुने समस्याले बाहिरी तहलाई प्रभावित गर्छ। जाडो समयमा छालाको सुरक्षा नगर्दा बाहिरी तह (इपिडर्मिस ) विस्तारै झर्दै जान्छ। चिसोको बेला वहने सुक्खा वायुले छालाको सौन्दर्यलाई असर पार्छ। छालामा भएको तैलिय ग्रन्थी जाडोका बेला निस्क्रिय हुन पुग्छन्। चिसोको कारणले शरीरमा भएका तैलीय ग्रन्थीको निस्क्रिय बन्न पुग्छन। फलस्वरुप, छाला एकदमै सुक्खा,पोल्ने कक्रक्क पर्ने, फुस्रो हुने, पाप्रा, धर्को बस्ने, चाउरीपना बढ्नेलगायत समस्या देखिने छाला रोग विशेषज्ञ डा.रीता श्रेष्ठ बताउँछिन्। ‘तैलिय छाला भएका व्यक्तिको पनि चिसोका कारण सुक्खा हुन पुग्छ। यस्तो बेला मोइस्चराइजरयुक्त क्रिम लगाउँदा फाइदा हुन्छ’, डा. श्रेष्ठको सुझाव छ। मोइस्चराइजरयुक्त क्रिमको विकल्पमा नरिवलको तेल, भेसलिन तथा बडी लोसनसमेत प्रयोग गर्न सकिन्छ।
कसरी जोगिने ?
बाक्ला एवं न्यानो कपडा लगाउने र घरमा बस्दा पनि कोठाको वातावरण न्यानो बनाउनु पर्दछ। वीर अस्पतालका फिजिसियन डा.लोचन कार्कीका अनुसार, कोठालाई तातो बनाउन मकलमा दाउरा वा गुईँठा बाल्ने निस्कने हानिकारक ग्यासले फोक्सो लगायत अंगमा असर पुग्छ। श्वासप्रश्वासजन्य रोग निम्तने जोखिम हुन्छ। हानिकारक ग्यासका कारण क्यान्सरसमेत हुन सक्छ।
अहिले झण्डै ७४ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको राष्ट्रिय योजना आयोगको चौधौं योजना (आर्थिक वर्ष २०७४/२०७५/७६)मा उल्लेख छ। त्यसैले केही समय कोठालाई तातो बनाउन हिटर बाल्न तथा एसी चलाउन सकिन्छ। स्वास्थ्यलाई असर नपर्ने गरी सुत्नु अघि निश्चित समय हिटर बाल्ने वा एसी चलाउँदा चिसोबाट बच्न सकिन्छ। तर, धेरै बेर हिटर बाल्ने वा एसी चलाउँदा वातावरणीय अवस्था प्रतिकूल हुन पुग्छ। ‘धेरै बेर हिटर ताप्दा वा एसी चलाउँदा छाला सुक्खा हुन सक्छ’, डा. कार्कीले भने।