सुरा, स्न्याक्स र सेक्सको त्रिवेणी

सुरा, स्न्याक्स र सेक्सको त्रिवेणी

लिभिङ टुगेदर’ को अवधारणा नेपाली परिवेशका लागि अभिशाप नै बनेको हो त?


नेपालमा पनि खासगरी सहरी परिवेशमा पछिल्ला केही वर्षदेखि लिभिङ टुगेदर प्रवृत्ति बढ्दै गएको देखिन्छ, समाजले स्वीकार गरे पनि नगरे पनि बिहे नगरी श्रीमान्– श्रीमतीका रूपमा सँगै बस्ने चलन क्रमशः बढ्दो छ। गोविन्द गिरी प्रेरणाले आफ्नो नयाँ उपन्यास ‘लिभिङ टुगेदर’मा समाजको यही पाटो उजागर गर्न खोजेका छन्। धेरै कल्पना र केही यथार्थको घुलन रहेको यो उपन्यासको नाम अंग्रेजीमा भए पनि उपन्यासको कथानक र जम्मैजसो पात्र अनि कथाको भावभूमि नेपाली नै छ।

उपन्यासको सुरुआत यसका दुई मुख्य पात्र कुमार भट्टराई र कृष्णा नेपालीबीच सानो आकस्मिक जम्काभेटबाट हुन्छ। यही भेट पछि गएर बाक्लिँदै जान्छ र उनीहरू लिभिङ टुगेदरमा बस्ने अवस्था विकास हुन्छ। कुमारले एक दिन पोखरा घुम्न जाने प्रस्ताव राख्छ र कृष्णाले त्यसलाई सहजै स्वीकार्छे। भ्रमणमा सारा पर्खाल तोडिन्छन् र उनीहरू एक हुन्छन्।

कृष्णा विपन्न परिवारकी छोरी हो। कुमार भने एकजना अति चतुर सीडीओ जन्मेजय भट्टराईको एक्लो छोरा। कामकाजको सिलसिलामा पिता सधैंजसो काठमाडौंबाहिर हुन्छन्, धन कमाउमा अत्यन्त तेज हुन्छन्। त्यसकारण काठमाडौं बसेर बीबीए पढ्दै गरेको छोरालाई लाखौं लाख रुैयाँ उपलब्ध गराउन उनलाई केहीजस्तो लाग्दैन। कुमारले पनि पानी बगाएझैं पैसा खर्च गर्छ। उसले कृष्णालाई बीबीए पढ्ने खर्च सबै बेहोर्छ, नयाँ स्कुटरसम्म किन्दिन्छ।

कुमारका अति मिल्ने साथी हुन्छन्, सुनिल चापागाईं र हरि खड्का। उनीहरू एकआपसमा कुमारलाई भट्टे, सुनिललाई चापे र हरिलाई खोंडे भनी बोलाउने गर्छन्। तीनजना भेट भएपछि मातुन्जेल रक्सी खान्छन् र उनीहरूबीच रक्सी र केटीबाहेक अरू कुराकानी हुँदैन। समयक्रममा सुनिलले पनि एकजना युवती फेला पार्छ र लिभिङ टुगेदरमा बस्छ। तर, केही समयपछि युवती उसलाई छाडेर कहिल्यै भेट नहुने गरी भाग्छे। यस सम्बन्धमा हरि असफल पात्र देखाइएको छ जसले सबैतिरबाट हार खाएपछि रत्नपार्ककी टाटीसित आफ्नो यौनप्यास मेटाउँछ। यस क्रममा उसलाई यौनरोग पनि लाग्छ। कथानक अन्तिमतिर पुग्दा हरिले नाटकीय रूपमा आत्महत्या गर्छ। किन ? उपन्यासले यसबारेमा केही भन्दैन।

उता कृष्णाका साथी सोनु, पार्वती आदि पनि यौन मामिलामा उदार हुन्छन्। सोनु लिभिङ टुगेदरमा रमाउँछे भने पार्वती डान्स बारमा काम गर्दागर्दै एउटा इन्डियनसित प्रेममा पर्छे, जसले अरब पुर्‍याइदिने भन्दै उसलाई बम्बई लगेर बेचिदिन्छ। सिमानापारिको सन्दर्भमा निर्दाेष गाउँले नेपाली बालाहरूलाई कसरी सिमाना कटाएर बेचिन्छ भन्ने, नेटवर्क सक्रिय छ भन्ने तथ्यको सांकेतिक वर्णन उपन्यासकारले गरेका छन्।

पिताले बोलाएपछि कुमार एकाएक वीरगन्ज पुग्छ तर कामविशेषले पिता काठमाडौं जानु परेकाले डीएसपी ठाकुरले कुमारको सेवासत्कारको जिम्मा पाउँछन्। उनले कुमारलाई विभिन्न ठाउँ घुमाउँछन्। सबै ठाउँमा रक्सी र युवतीको संगत हुन्छ।

उपन्यासको क्लाइमेक्समा कुमार अमेरिका जान तयार हुन्छ। उसको भिसा पनि लागिसक्छ। कुमार अमेरिका जान लागेकोमा कृष्णा अत्यन्त खुसी हुन्छे। किनकि कुमारले आफू अमेरिका पुगेपछि कृष्णालाई बोलाउने बताउँछ। अमेरिका छिरेपछि सुरुसुरुमा कुमारको फोन र म्यासेज केही समय आइरहन्छ। छोरीको आमा बनेकी कृष्णामा परिवर्तन आउन थाल्छ। उपन्यासकारले उसमा उग्र नारीवादी चेत भरिएको देखाउँछन्। यही क्रममा उसले एकपटक आफूलाई प्रयोग गर्न खोज्ने एकजना हाकिमलाई ठमेलको रेस्टुराँमा कुट्छे। कृष्णालाई सोनुले भनेका कुरा घतलाग्दा लाग्छन्। सोनु ‘सिंगल मदर हुँ’ भनेर गर्वले भन्छे।

उपन्यासको अन्त्य झनै नाटकीय छ। कृष्णाले आफूले काम गर्ने गुडविल इन्टरनेसनल म्यानपावरका सञ्चालक राधेश्यामलाई एक साँझ नगरकोट नाइट स्टे गर्न जाने प्रस्ताव राख्छे, जुन उसले सहर्ष स्वीकार गर्छ। रिसोर्टमा उनीहरू बसेर खानपिन गरिरहेको बेला कृष्णाले भन्छे, ‘कति बियर मात्र खाने, किस पनि खाने कि सर ? ’ अनि सारा बन्धन चुँडिन्छन्। भोलिपल्ट कृष्णाले भन्छे, ‘सर, मैले मेरो शरीरको प्यास मेटाउन मात्र खोजेकी हुँ। मलाई प्रेममा विश्वास छैन। मलाई मात्र सेक्स चाहिएको हो, प्रेम होइन।’ अनि उपन्यास सकिन्छ।

उपन्यास विषयवस्तुको उठानप्रति गम्भीर देखिँदैन। उपन्यासमा थोरै पात्र छन्, तीमध्ये तीनजना युवक छन् जो लिभिङ टुगेदरका रूपमा केवल सेक्स पार्टनर मात्र खोज्न इच्छुक छन् भने लिभिङ टुगेदरका लागि तयार जे जति युवती छन् ती सबैजना विपन्न र कथित तल्लो जातिका मात्र छन्। के नेपाली समाजमा हाल देखा परिरहेको लिभिङ टुगेदर अवस्थाको यथार्थ यही र यति मात्र हो त ? के यसका सकारात्मक पक्षहरू हुँदै नभएका हुन् त ? अथवा, केही पनि छैनन् ? के लिभिङ टुगेदरमा बसेका कुनै पनि जोडीले सफल जीवन बिताउन सकेका छैनन् ? के लिभिङ टुगेदरको अवधारणा नेपाली परिवेशका लागि अभिशाप नै बनेको हो ?

उपन्यासमा सुरा, स्न्याक्स र सेक्सको अत्यधिक प्रसंग उल्लेख छ, जसले उपन्यासलाई समग्रमै एउटा ननभेज उपन्यासको दर्जामा उभ्याइदिएको छ। यसले गर्दा गम्भीर अध्ययताका लागि उपन्यास सिफारिसयोग्य मान्न सकिँदैन भने यसको साहित्यिक गुणवत्ता सोचनीय पक्षका रूपमा छ।

चालीस वर्ष साहित्य लेखनमा बिताएर अझै निरन्तर सक्रिय लेखक प्रेरणाबाट पाठकहरूले गम्भीर र स्तरीय लेखनको अपेक्षा गरेका हुन्छन्। लिभिङ टुगेदरजस्तो उपन्यासले उनको स्तर खस्काउने काम मात्र गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.