खेलकुद र शिक्षा सँगे लैजानुपर्छ
हङकङको राष्ट्रिय तेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक भइसकेका तुलसीकुमार गुरुङ उक्त खेलका आठौं डान हुन्। सन् १९८४ मा दक्षिण एसियाली खेलकुद (साफ) को पहिलो संस्करण नेपालमा आयोजना भएको थियो। त्यो ऐतिहासिक संस्करणमा नेपाललाई पदक दिलाउने खेलाडी हुन्, तुलसी। त्यसमा उनले पौडीको पुरुष रिले स्पर्धामा कांश्य जितेका थिए। २०३८ को पहिलो राष्ट्रिय खेलकुदमा पौडीका च्याम्पियन बनेका उनले २०४० को दोस्रो संस्करणमा मार्सल आर्टस्मा स्वर्ण जितेका थिए। लामो समय खेलकुदमार्फत अन्तर्राष्ट्रिय जगत्मा देशको नाम चम्काएका उनी भूकम्पपछि ‘वी विल राइज’ नामक संस्थामार्फत सामाजिक कार्यमा सक्रिय छन्। उनै तुलसीसँग अन्नपूर्ण पोस्ट्ले गरेको कुराकानीको अंश :
एकताका मार्सल आर्टस भनेपछि दक्षिण एसियाली देश नेपालीका अगाडि नतमस्तक हुन्थे। अहिले भारत, अफागानिस्तान जस्ता देश हामीभन्दा निकै अगाडि बढिसकेका छन्, किन होला ?
- हामीकहाँ सिस्टम छैन। हामी सिस्टममा चल्न नसक्दा नेपाल खेलकुदमा पछाडि परेको हो। खेलकुदमा हामीभन्दा पछि उदाएका मुलुकले ओलम्पिकमा पदक ल्याइसकेका छन्। हामी भने झन्झन् पछाडि परिरहेका छौं। एकताका दक्षिण एसियामा मार्सल आर्टस् भनेपछि नेपालको छुट्टै सान थियो। तर हामीले त्यसलाई निरन्तरता दिन सकेनौं। हामी जहाँको त्यहीं रह्यौं भने अन्य राष्ट्रले हामीभन्दा राम्रो प्रगति गरे।
तपाईंले खेल्दा एसियाका अन्य देशको अवस्था कस्तो थियो ?
- तेक्वान्दो कोरियाको राष्ट्रिय खेल भएकाले दबदबा उनीहरूकै थियो। त्यसपछि ताइवान पनि निकै राम्रो थियो। तर अहिले मिडल इस्ट र युरोपियन मुलुकहरूले राम्रो गरिरहेका छन्। पहिले एसियाली भनेपछि युरापेली निकै डराउँथे। अहिले उनीहरू निकै अगाडि पुगिसकेका छन्।
नेपालमा त मार्सल आर्ट्समा कराँते र तेक्वान्दो खेलाडीलाई संयुक्त रूपमा प्रतिस्पर्धा गराइन्थ्यो, होइन र ?
-त्यतिबेला तेक्वान्दो र कराँतेमध्ये कुन खेललाई राष्ट्रिय खेलकुदमा समावेश गर्ने भन्ने विवाद भएका कारण यी दुवै खेलका खेलाडीलाई मार्सल आर्टस् नाम दिएर संयुक्त रूपमा प्रतिस्पर्धा गराइएको थियो। त्यसैले यी दुवै खेलका खेलाडीले आपसमा भिडन्त गर्नुपथ्र्यो। त्यो बेलाको मिक्स मार्सल आर्टस् निकै रमाइलो पनि हुन्थ्यो।
दुईटामा कुन बढी चर्चित थियो ?
- त्यतिबेला तेक्वान्दो प्रतिबन्धित रहेकाले खेलाडीहरू एकदमै सीमित थिए। कराँतेका खेलाडी भने धेरै थिए।
पहिलो र दोस्रो राष्ट्रिय खेलकुदपछि नेपालमा खेल्नुभएन ?
- यसपछि मैले खेलिनँ। ब्रिटिस आर्मीमा भएकाले विभिन्न कारणले गर्दा नेपाल आउन पाइएन। त्यसपछि मैले हङकङमै खेल्न थालें र त्यहाँको राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षकसम्म बन्न पुगें। पहिलो र दोस्रो राष्ट्रिय प्रतियोगिता खेल्दा बिदामा आएर खेलेको थिएँ। त्यसपछि बिदा नमिलेकै कारण अन्य प्रतियोगिता खेल्न पाइएन।
तपाईंले स्वर्णपदक जितेयता नेपाली खेलकुदले ३७ वर्ष लामो यात्रा पार गरिसकेको छ, यो अवधिलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?
- हाम्रो बेलाको र अहिलेको खेलकुदमा धेरै भिन्नता आइसकेको छ। नेपालले प्रथम दक्षिण एसियाली खेलकुद आयोजना गर्यो। त्यसको एक वर्षअघि राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो। त्यो बेलाको खेलकुद अत्यन्त राम्रो थियो, तर अहिले त्यस्तो अवस्था छैन। नेपाली खेलकुद पहिलेभन्दा धेरै खस्किएको छ।
खेलकुदतर्फ कसरी आकर्षित हुनु भयो ?
- मेरो जन्म कास्कीको बारचोकमा भएको हो। म गाउँमै हुर्किएको हुँ। सानोमा खेलकुदमा निकै रुचि थियो। छेलो हान्ने, कबड्डी, पौडीलगायतका खेल खेल्थें। ती सबै खेल रमाइलोका लागि खेलिन्थ्यो। सन् १९७८ मा ब्रिटिस आर्मीमा आबद्ध भएपछि मार्सल आर्टस् खेलप्रति आकर्षित भएँ।
तपाईं तेक्वान्दोसँगै पौडीको पनि राष्ट्रिय पदकधारी खेलाडी। स्वभाव र संरचनका आधारमा यी दुई खेलबीच कुनै तालमेल देखिँदैन, कसरी दुवै खेलमा उत्तिकै दक्षता हाँसिल गर्नुभयो ?
- पौडी र तेक्वान्दो दुवै इन्डिभिजुअल गेम हुन्। सानैदेखि पौडीप्रति रुचि थियो। ब्रिटिस आर्मीमा हङकङ गएपछि पौडी खेल्न थालें। त्यहाँको च्याम्पियन पनि भएँ। त्यसपछि बिदामा नेपाल आउँदा दक्षिण एसियाली खेलकुदमा सहभागी भएर पदक पनि जितें। यसबाहेक हङकङमा नियमित रूपमा तेक्वान्दो पनि खेल्दै आएको थिएँ। दोस्रो राष्ट्रिय खेलकुदमा मार्सल आर्टस् च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेको थिएँ।
पौडीको रिलेबाहेक अन्य कुनकुन स्पर्धामा प्रतिस्पर्धा गर्नुभयो ?
- खेल्न त सबै विधामा खेलें तर नेपालमा फ्रिस्टायलको चाहिँ राष्ट्रिय च्याम्पियन नै भएको थिएँ। मैले एक सय र दुई सय मिटरमा प्रतिस्पर्धा गरेको थिएँ। दक्षिण एसियाली खेलकुदमा भने रिले स्पर्धामा कांश्य पदक जितेको हो।
तेक्वान्दोचाहिँ नेपालमा सिक्नुभयो कि हङकङमा ?
- तेक्वान्दो हङकङमै सिकेको हो। ब्रिटिस आर्मी बन्नुअघि म बक्सिङ खेल्थें। स्कुले जीवनमा धेरै बक्सिङ खेलेको छु। पोखराको अमरसिंह स्कुलको म निकै राम्रो बक्सर थिएँ। हङकङ गएपछि भने ब्रुसलीको चर्चाका कारण पनि तेक्वान्दो खेल्न थालियो।
ब्रिटिस आर्मीमा कसरी पुग्नुभयो ?
- मेरो बुवा इन्डियन आर्मी हुनुहुन्थ्यो। परिवारका अन्य सदस्य पनि ब्रिटिस आर्मी नै थिए। त्यही परिवेशकै कारण म लाहुरे हुन पुगें।
भविष्यमा नेपाल फर्किएर केही गर्ने योजना छ कि ?
- मैले आफ्नो रिटायर्ट जीवन नेपालमै बिताउने निधो गरेको छु। सम्भवतः सामाजिक काममा सक्रिय हुनेछु।
नेपाली खेलकुदलाई लामो समयदेखि खेलाडी विदेश पलायन हुने परम्पराले पिरोल्दै आएको छ, यसलाई कसरी हेर्नुहुन्छ ?
- यो निकै दुःखद् पक्ष हो। हरेक मानिसका इच्छा-आकांक्षा हुन्छन्। तर नेपालमा हुँदा त्यसलाई परिपूर्ति गर्न नसकेपछि विदेश जाने प्रवृत्ति बढेको हो। विदेश गए पनि उनीहरूको मन भने नेपालमै हुन्छ। उनीहरू पक्कै एक दिन स्वदेश फर्किन्छन्।
स्वदेशमा बस्ने अवस्था नभएरै खेलाडी विदेश पलायन भएका हुन् त ?
- पक्कै हो। तर हामीले सरकारको मुख मात्र ताकेर हुँदैन। हामी आफैंले पनि केही गर्नुपर्छ।
हङकङको तेक्वान्दो टोलीलाई प्रशिक्षण दिन थाल्नुभएकोे कति वर्ष भयो ?
- मैले २० वर्षभन्दा बढी त्यहाँको टोलीलाई प्रशिक्षण दिइरहेछुु। पहिले फिजिकल ट्रेनर भएर काम गरें। त्यसपछि पाँच वर्ष राष्ट्रिय तेक्वान्दो टोलीको प्रमुख प्रशिक्षक बनें। मैले गत वर्षदेखि राष्ट्रिय टोली हेर्न छाडेको हुँ। तर अहिले पनि समयसमयमा सल्लाह-सुझाव भने दिइनै राखेको हुन्छु।
एउटा नेपाली कसरी यस्तो महत्वपूर्ण स्थानसम्म पुग्नुभयो ?
- मैले कहिल्यै पनि रिजल्ट हेरिनँ। काम गर्दै जाँदा रिजल्ट पनि आउँदै गयो। यसका लागि लगनशील भने हुनुपर्ने पाएँ।
नेपाल र हङकङको खेलकुदको तुलना गर्दा के पाउनुहुन्छ ?
- त्यहाँ धेरै प्रतियोगिता हुन्छन्। तर उनीहरूसँग प्रशिक्षणका लागि पर्याप्त समय हँुदैन। अधिकांश खेलाडी विश्वविद्यालयका विद्यार्थी हुने भएकाले खेलभन्दा पढाइमै बढी केन्द्रित हुन्छन्। खेलमा पदक ल्याउनुभन्दा राम्रो डिग्री ल्याउनुमा उनीहरू केन्द्रित हुन्छन्। नेपालमा सिस्टमको समस्या छ भने हङकङमा समयको समस्या छ। हङकङका खेलाडी टेक्निकल रूपमा बलिया छन् भने शारीरिक रूपमा कमजोर छन्। तर नेपाली खेलाडी टेक्निकल्ली कमजोर भए पनि शारीरिक रूपमा बलिया र प्रतिभाशाली छन्।
मनोवैज्ञानिक रूपमा पनि नेपाली खेलाडी बलिया छन्। राम्रो वातावरण र प्रशिक्षण पाउने हो भने मैले नेपाली खेलकुदको भविष्य उज्ज्वल देखेको छु। हाम्रा लागि अन्तर्राष्ट्रिय पदकको छुट्टै अर्थ राखे पनि त्यहाँ खासै अर्थ राख्दैन। त्यहाँका खेलाडीले ओलम्पिक पदक पनि जित्दै आएकाले यस्तो भएको हुन सक्छ। अर्को कुरा हामीकहाँ पूर्वाधारको समस्या छ।
कहिलेकाहीं जन्मभूमि र कर्मभूमिबीचको भिडन्तमा ठूलै सकस पर्दो हो, होइन त ?
- मैले यस्तो परिस्थितिको सामना पनि गर्नुपर्यो। फिलिपिन्समा एसियन तेक्वान्दो च्याम्पियनसिप भएको थियो। उक्त च्याम्पियनसिपमा दुईजना नेपालीको भिडन्त हङकङका खेलाडीसँग पर्यो। त्यो बेला आफैंलाई नरमाइलो लाग्दोरहेछ। एकातिर आफ्नो जन्मभूमि र अर्कोतिर कर्मभूमिका खेलाडी भिड्दा दुवैले जितून् भन्ने चाहना हुँदोरहेछ। भाग्यवश त्यस च्याम्पियनसिपमा कस्तो संयोग भयो भने एउटा प्रतिस्पर्धामा नेपाल र अर्कोमा हङकङका खेलाडीले जित हात पारे।
नेपाली खेलकुदलाई अनुत्पादक क्षेत्रकै रूपमा हेरिएको देखिन्छ, तपाईंलाई कस्तो लाग्छ ?
-सरकारमा बस्नेलाई खेलकुदले पुर्याउने फाइदाको विषयमा जानकारी नै छैन। खेलकुद र शिक्षा देश विकासका दुई महत्वपूर्ण खम्बा हुन्। खेलकुदले अनुशासन कायम राख्छ भने शिक्षाले ज्ञान दिन्छ। यी दुई कुरा सँगै भए भने मात्र देश बलियो हुन्छ। खेलकुदले नागरिकलाई स्वस्थ राख्न मद्दत गर्छ भन्ने कुरा नीतिगत तहमा बस्नेले बुझ्नुपर्छ।
एकजना प्रशिक्षकका आँखाले नेपाली खेलकुदलाई नियाल्दा के फरक पाउनुहुन्छ ?
- विदेशमा प्रशिक्षक हुन प्रशिक्षण कलासँगै प्राथमिक स्वास्थ्य, खेलाडीको खानपिन, मनोविज्ञानजस्ता धेरै विषयमा जानकारी राखेको हुनुपर्छ। खेल्दाखेल्दै खेलाडी घाइते भयो भने कसरी सम्हाल्ने भन्ने जानेको हुनुपर्छ। हामीकहाँ अलि समस्या छ। नेपाली खेलकुदमा खानपिनसम्बन्धी ज्ञान पनि कम छ। यसको ज्वलन्त उदाहरण भनेको रिटायर्ड खेलाडी हुन्। उनीहरू खेलुन्जेल फिट हुन्छन्। खेल्न छाडेपछि ह्वात्तै मोटाउँछन् र विभिन्न रोगबाट पीडित हुन्छन्।
पछिल्लो समय तपाईं देशभित्र विभिन्न सामाजिक कार्यमा समेत सक्रिय देखिनुभएको छ, भूकम्पपछि ‘वी विल राइज’ संस्थामार्फत विभिन्न काम गर्दै आउनुभएको छ नि ?
- सामाजिक भावना भने पहिल्यैदेखि नै आउनुपर्ने रहेछ। सन् १९९१ मा ब्रिटिस आर्मीमै हुँदा फरक क्षमता भएका बालबालिकाका लागि विभिन्न सहयोग गर्दै आएको थिएँ। उनीहरूका लागि च्यारिटी पौडी प्रतियोगिता पनि आयोजना गर्दै आएको थिएँ। अलि बढी सक्रिय भएको चाहिँ २०७२ सालको भूकम्पपछि हो। नेपालमा भूकम्प जाँदा म भारतमा थिएँ। त्यसलगत्तै नेपालमा आउँदा यहाँको वातावरण भयावह थियो। त्यसपछि हङकङ फर्किएँ। त्यहाँ पुगेपछि केही साथीले चन्दा उठाएर कुनै संघसंस्थालाई दिने कुरा गरे।
कुनै संस्थालाई पैसा दिनुभन्दा आफैंले किन नगर्ने भनेर सहयोग संकलन गर्न थाल्यौं। उठेको पैसा लिएर केही साथी नेपालमा आएर विभिन्न कार्यक्रम सञ्चालन गरे। उनीहरूले सिन्धुपाल्चोकमा एकीकृत बस्ती पनि निर्माण गरे। पछि हङकङमै एउटा कार्यक्रम गरेर पैसा उठायौं र सन् २०१५ अक्टोबरमा यो संस्था स्थापना गर्यौं। यही संस्थामार्फत खेलाडीको सम्मान गर्नुका साथै विभिन्न कार्यक्रम पनि सञ्चालन गर्यौं।
अहिले हामीले पर्यटन प्रवद्र्धनका लागि ‘हाइक फर नेपाल’ कार्यक्रम सञ्चालन गर्दै आएका छौं। नेपालको पर्यटन प्रवद्र्धनका लागि हङकङ र बेलायतमा पनि कार्यक्रम सञ्चालन गर्दै आएका छौं। यो कार्यक्रम छिट्टै कोरियामा पनि सुरु हुनेछ।
हाइक फर नेपाल कस्तो कार्यक्रम हो ?
- यो विदेशी भूमिमा बसेर एक दिन भए पनि आफ्नो देशलाई सम्झने कार्यक्रम हो। नेपाललाई सम्झिएर अहिले आफू बसेको देशका डाँडाकाँडामा हिँड्ने काम यो कार्यक्रमअन्तर्गत हुन्छ। विदेशीलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्नु यो कार्यक्रमको उद्देश्य हो। हाम्रो यो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ को प्रचारका लागि पनि निकै सहयोग पुर्याएको छ। हाइलाइट
सरकारमा बस्नेलाई खेलकुदले पुर्याउने फाइदाको विषयमा जानकारी नै छैन। खेलकुद र शिक्षा देश विकासका दुई महत्वपूर्ण खम्बा हुन्।