‘छमिया’ नृत्यका बान्कीहरू
प्रत्येक कथामा फरकफरक बौद्धिक क्षमता भएका पात्रहरू छन् तर यस संग्रहका पात्रहरूको सोच्ने, विचार तथा चिन्तन गर्ने शैली एकै प्रकारको देखिन्छ।
कथा आख्यानको लघु रूप हो। यसलाई आधुनिक पाश्चात्य साहित्यकै उपज मानिन्छ। महान् कथाकार तथा साहित्य चिन्तक एडगर एलेन पोले कथालाई एक बसाइमा पढिसकिने रचनाका रूपमा परिभाषित गरेका छन् भने एचजी वेल्सले यो एक बसाइलाई पन्ध्रदेखि बीस मिनेट भनेर प्रस्ट्याउने काम गरेका छन्।
चिन्तकहरूले समयक्रममा कथालाई विभिन्न ढंगले अथ्र्याउने र बुझाउने गरे पनि विश्वमा कथा चिन्तनको पराम्परा निकै लामो बनिसकेको छ र कथा लेखनका विविध बान्कीहरू पनि संसारमा प्रयोग गरिँदै आएका छन्। समयको यो सतत् प्रवाहमा अन्य साहित्यिक विधाहरूजस्तै कथा पनि परिभाषाका सीमाहरूलाई भत्काउँदै निकै अगाडि बढिसकेको छ। कथा लेखनको यसै परम्परामा देखा परेका एक जना नेपाली कथाकार हुन्, गणेप्रसाद लाठ।
लाठ पेसाले व्यापारी हुन्। वीरगन्जका बासिन्दा लाठ नेपाली, हिन्दी र अंग्रेजी साहित्यका राम्रा पाठक पनि हुन्। एउटा राम्रो पाठकले नै राम्रो रचना लेख्न सक्छ भन्ने भनाइ उनका सन्दर्भमा पनि लागू हुन्छ। अत्यन्त भद्र र मिलनसार व्यक्तित्वका धनी लाठको यसअघि ‘अनुराधा भवन’ उपन्यास नेपाली र हिन्दी भाषामा प्रकाशित छ। उनी कविता पनि लेख्छन्। देश दुनियाँका विभिन्न अनुभव सँगालेका लाठले आफ्ना कथाहरूमा आफ्नै जीवन भोगाइका विभिन्न अनुभवलाई पनि उपयोग गरेका छन्।
‘छमिया’ यिनको हालै प्रकाशित कथासंग्रह हो। यस संग्रहमा जम्मा नौवटा कथा छन्। नेपाली मूल कथा परम्पराभन्दा केही लामा र केही पृथक् स्वादमा आएका यी कथामा मूलतः हास्यव्यंग्य शैलीको प्रयोग गरिएको छ। हास्यव्यंग्य साहित्यका जुनसुकै विधामा प्रयोग हुनसक्ने एउटा शैली हो। मूलतः निबन्ध र कविता विधामा यसको बढी प्रयोग भए पनि साहित्यका अन्य विधाहरूमा समेत यो शैलीको प्रयोग गर्न नसकिने होइन। र, यसै तथ्यलाई मनन गरेर कथाकार लाठले यसलाई कथाहरूमा प्रयोग गरेका छन् जुन अर्थपूर्ण पनि छ।
संग्रहमा रहेका कथाहरूले हाम्रै जनजीवनका विभिन्न पक्ष र पाटाहरूलाई प्रस्तुत गरेका छन्। कथामा हास्यव्यंग्यात्मक शैलीको प्रयोग यस संग्रहका कथाहरूको विशिष्टता हो। औसत कथाहरूभन्दा केही लामो आकार ग्रहण गरेका यी कथामा विषयगत विविधता पाइन्छ। ‘चोरसँग साक्षात्कार’ कथाले समाजका हरेक क्षेत्रमा रहेका चोरी गर्ने प्रवृत्तिप्रति व्यंग्य त गरेकै छ, चोरी कति गाह्रो छ भन्ने विषयमा एउटा चोरकै आत्मानुभवलाई पनि यस कथाले कुशलतापूर्वक प्रस्तुत गरेको छ। ‘नेपाल श्रीमती पीडित महासंघ’ पतिपत्नीबीच हुने सामान्य झगडालाई विषय बनाएर मान्छेका खराब प्रवृत्ति उजागर गर्ने उद्देश्यले लेखिएको व्यंग्यात्मक कथा हो।
त्यस्तै ‘रामभरोसेकी छमिया’ कथामा नेपाल भारतको सीमामा बसोबास गर्ने ग्रामीण समुदायको जीवन पद्धति तथा समाचारका विषय र समाजका विभिन्न तिक्ततालाई निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ। ‘भ्रष्ट आचार’ कथाले समाजका विभिन्न क्षेत्रमा रहेका भ्रष्ट आचारहरूलाई अत्यन्त प्रयोगात्मक र व्यावहारिक ढंगले चित्रण गरेको छ। हामी आफैं कसरी भ्रष्ट आचारमा थाहै नपाई लिप्त भइरहेका छौं भन्ने कुरालाई पनि यस कथाले प्रस्तुत गरेको छ।
‘म बिरगन्जे’ कथाभन्दा बढी निबन्धजस्तो प्रतीत हुन्छ। यस कथाले मूलतः मोफसल र राजधानीबीचको सम्बन्धको चर्चा गर्दै नेताहरूले चुनाव जितेर गएपछि जनतालाई नचिन्ने अवस्थाको चित्रण गरेको छ। साथै राजधानीबाहिरका सहरहरूबाट कर संकलन गरी राजधानीमा खन्याउने सरकारी रवैयाको विरोध पनि यस कथाले गरेको छ। ‘भ्रम पिशाच’ कथाले सम्पत्ति र संस्कारका कारण मानवीय स्वभावमा आउने परिवर्तन तथा सामान्य झगडाका कारण पतिपत्नीबीच हुने झगडा तथा त्यसैलाई आधार बनाएर वकिलहरू कसरी मोटाउने गरेका छन् भन्ने तथ्यलाई गम्भीर ढंगले प्रस्तुत गरेको छ।
‘मान्छे र हनुमानवंशी’ बाँदरका माध्यमबाट मानवीय प्रवृत्ति तथा देशको माग्ने प्रवृत्तिप्रति व्यंग्य गर्दै लेखिएको कथा हो। स्वैरकल्पनाको प्रयोग गरेर लेखिएको यस कथामा शासकहरू कसरी फुटाएर राजनीति गर्छन् भन्ने वास्तविकतालाई प्रस्तुत गरिएको छ। यस कथाले लोककथाको आस्वादसमेत दिन्छ। ‘पानबाबा’ सामान्य मान्छेको दैनन्दिन तथा पानबाबा भन्ने एक विशिष्ट पात्रको चरित्रांकनमा केन्द्रित कथा हो। समाजमा हुने केही फरक र व्यक्तिगत विशेषता भएका पात्रको दैनन्दिन र तिनको मनोविज्ञान छाम्ने काम यस कथाले गरेको छ। अन्तिम कथाका रूपमा रहेको ‘ठूलो मान्छे’ कथाले जापान र नेपालका कतिपय विशेषताको तुलनाका माध्यमबाट विशेष चरित्रहरूको चित्रण गरेको छ भने बाहिरी आवरण तथा उसको लवाइखवाइबाट कुनै पनि मानिसको मूल्यांकन गरिनु हुन्न भन्ने विचार प्रस्तुत गरेको छ।
यसरी विषयगत हिसाबले यस संग्रहका कथाहरूमा विविधतामय विषयवस्तुको प्रयोग गरिएको छ। सामान्यतः एउटा कथाले एउटै विचार प्रस्तुत गर्नुपर्ने मान्यता भए पनि यस संग्रहभित्रका एउटै कथामा पनि फरकफरक विषय र पृथक् विचारको प्रस्तुति पाइन्छ। त्यसैले कतिपय कथा पढ्दा कुनै लघुउपन्यास पढिरहेका आभास पनि पाठकहरूले गर्न सक्छन्। कथाहरूको यो लम्बाइ कतै संग्रहको शक्ति बनेको छ भने कतै सीमा बनेर पनि प्रस्तुत भएको छ। कतिपय कथालाई त दुईतीनवटा छुट्टाछुट्टै कथा बनाएको भए पनि हुन्थ्यो भन्ने पाठकलाई लाग्न सक्छ।
यस संग्रहका कथाहरू पाइने मुख्य विशेषता भन्नु नै हास्यव्यंग्यात्मक शैलीको विशिष्ट प्रयोग हो। हिन्दी साहित्यमा यस्तो प्रयोग प्रशस्तै भए पनि नेपाली साहित्यमा यस्तो प्रयोग कमै भएको छ। यस अर्थमा यो समकालीन नेपाली कथा परम्पराको एउटा प्राप्ति हो। कथाहरूमा कविता मिसाउने, निबन्धात्मक तथा नाटकीय शैलीको प्रयोग गर्ने विधा मि श्रणको पद्धतिको उपयोग पनि संग्रहका केही कथामा पाइन्छ। त्यसैगरी भाषिक विशिष्टता पनि यस संग्रहका कथाहरूको विशेषता हो। भाषा प्रयोगको फरक बान्कीका कारण पनि यस कथामा व्यंग्यात्मकता सिर्जना भएको छ। त्यसो त कथाहरूमा भाषिक अशुद्धिहरू पनि छन्। हिन्दी भाषाको प्रभाव पनि कथाहरूमा देखिन्छ।
संग्रहका कतिपय कथाहरू पढिरहँदा निबन्ध पढिरहेको आभास हुन्छ भने कतिपय कथा अनावश्यक रूपमा लम्ब्याइएजस्ता पनि देखिन्छन्। कथाहरूमा देखिने एउटा कमजोरी के हो भने प्रत्येक कथामा फरकफरक बौद्धिक क्षमता भएका पात्रहरू छन् तर यस संग्रहका पात्रहरूको सोच्ने, विचार तथा चिन्तन गर्ने शैली एकै प्रकारको देखिन्छ। यसले के दर्शाउँछ भने यहाँ पात्रहरूभन्दा लेखक नै बोलिरहेका छन् कि अथवा भनौं पात्रहरूमाथि कथाकार हावी भएका हुन् कि भन्ने पनि पाठकलाई लाग्न सक्छ। यिनै शक्ति र सीमासहित नेपाली कथा परम्परामा उदाएका कथाकार गणेप्रसाद लाठबाट भविष्यमा सुन्दर कथाहरू सिर्जना हुन सक्छन् भन्ने आधारहरूचाहिँ यो संग्रहले तयार गरेको छ भन्दा फरक पर्दैन।