पूर्वको कर्णाली

पूर्वको कर्णाली

भोजपुर जान दुईवटा सडक मार्ग प्रयोग गर्न सकिन्छ। पहिलो सिन्धुलीको खुर्कोट–घुर्मी, खोटाङ हुँदै। दोस्रो धरान–धनकुटाको हिले हुँदै। यही कात्तिक १३ देखि १५ सम्म भएको लोकवार्ता परिषद् नेपालको आठौं सम्मेलनमा भाग लिन भोजपुर धनकुटाको हिले हुँदै गइयो। भैरहवाका प्राडा कपिल लामिछानेले भने, ‘बाटोका कारणले भोजपुर जाँदाको मेरो बिटर (तीतो) अनुभव छ।’ भोजपुरकै ईश्वरा ओझाले भनिन्, ‘यसपालि स्विटर (मीठो) अनुभूति हुनेछ सर।’

हामी सवार गोल्डेन गेटको स्कुल बस हिलेबाट पाख्रिबास हुँदै जसै ओरालो झर्न थाल्यो। हरे, कस्तो पो बाटो छ भन्दै सबैले थकथक मान्न थाले। एक ठाउँमा गाडीबाट ओर्लिएर सबैलै ढुंगा हालेर बाटो बनायौं। मोटरसाइकलमा सवार यात्रुहरूको धुलोले अनुहार चिन्न सक्ने अवस्था थिएन। लेगुवाघाटको अरुण पुल आएपछि हुम्लाका कवि प्राज्ञ केवी सिम्पलले भने, ‘भोजपुर त पूर्वको कर्णाली पो रहेछ। यस्तो विकट बाटो होला भन्ने मैले त सोचेकै थिइनँ।’

लेगुवाघाट अरुण नदीको पुल धनकुटा, भोजपुर र संखुवासभाको त्रिवेणी रहेछ। खासमा पुल तरेपछि मात्रै आउने रहेछ भोजपुर। त्यहाँबाट भने सडक सदरमुकामसम्मै पूरै कालोपत्रे रहेछ। जरायोटारको प्रहरी चौकी हुँदै अलि तल झरेपछि साँझको बेला बाटो छेउको अलैंचीको बासनाले नाक हरक्क भयो। हाम्रो गाडी ढिलो हिँड्ने भएकोले हो कि धरानबाट बिहान ९ बजे हिँडेको बेलुकी ९ बजे १२ घण्टामा भोजपुर सदरमुकाम डाँडाबजार टेक्यौं।

आयोजकहरूले बिहान टक्सार क्षेत्र घुमाए। विसं १८७२ सालमा पैसा (डबल) छाप्ने काम हुन्थ्यो यहाँ। मुद्रा बनेको दुई सय पूरा भएको उपलक्ष्यमा २०७२ सालमा स्मारक बनाइएको छ।

पहिले यहाँ मुद्रा, विभिन्न थरीका भाँडावर्तन बनाइँदाको आवाजले संगीतमय हुन्थ्यो। तर, बसाइँसराइले टक्सार सुनसान लाग्छ अचेल। अब प्रेमकुमार उदास (४१) लगायत चारपाँच जनाले मात्रै भोजपुरे करुवा बनाउँदा रहेछन्।

उनीहरूले कोइलाको अभावमा अर्डरअनुसारको सामान बनाउन नसकेको जनाए। भोजपुरे करुवाको अस्तित्व जोगाएको भनेर बुद्धरत्न शाक्यलाई लोकवार्ता परिषद्को कार्यक्रममा सम्मान पनि गरियो। टक्सारमा नेपालमा सबैभन्दा पहिले स्थापित थेरवादी गुम्बा पनि छ। टक्सार क्षेत्रलाई ‘मिनी पाटन’ पनि भनिन्छ। यस क्षेत्रमा जाने बाटोमा पर्ने सल्लाको जंगलमा दुई वर्षपहिले भीषण आगलागी भएको थियो, यसले वनक्षेत्र उराठ लाग्छ।

अर्काे दिन आयोजकहरूले आवाल ब्रम्हाचारी बालगुरु षडानन्ड अधिकारीको क्षेत्र दिङ्ला घुमाउने भए। बीचमा नाम मात्रको सुन्तले बजारबाट मकालु हिमालको दृश्यले जो कोहीलाई मोहक बनाउँछ। षडानन्दकै नाममा गाउँपालिका, स्कुल, क्याम्पस स्थापना गरिएका छन्। पार्क बनाई उनको सालिक पनि राखिएको छ। आश्रम वरपरका रुद्राक्षको रूखबिरुवाले स्वागत गर्छन्। आयोजकहरूले हामीलाई पनि रुद्राक्षकै मालाले स्वागत गरे। तर षडानन्द–सीताराम गुठी भवन जीर्ण भएको देख्दा दुःख लाग्यो। भोजपुर सदरमुकामबाट गाडीमा करिब तीन घण्टामा पुगिने दिङ्ला गुल्जार लाग्यो। यहाँबाट संखुवासभाको विमानस्थल तुम्लिङटार नजिकै पर्छ।

भोजपुरे खुकुरी, करुवा, उनका झोला बनाउनेहरू पहिलेभन्दा घट्दै गएका छन्। भोजपुर बजारको टुँडिखेल क्षेत्रमा एकजना राई दिदी झोला बनाइरहेकी भेटिइन्। काठमाडौं फर्किनुअघि म पुनः टक्सार क्षेत्र गएँ। गाउँ छाडे पनि विदेशमा बस्ने एकजनाले पुर्खाको नाममा बनाइएको पाटीको पुनर्निर्माण गराइरहेको खुसीको खबर सुनियो। टक्सारमा हालै करुवाको स्तम्भ पनि बनाइएको छ।

यसले त्यो क्षेत्रलाई थप आकर्षण बनाएको छ। तर कोसेली लान भनी खोजेको करुवा बडो मुस्किलले भोजपुर नगरपालिका वडा नं १२ का वडाध्यक्ष कुमारप्रसाद श्रेष्ठको अनुरोध बिन्तीले बल्लबल्ल पाइयो। वडाध्यक्षले गुनासो पोखे, ‘यहाँका नाम चलेका स्थापित व्यक्तिहरूले गाउँ छाडे। अनि जिल्ला विस्थापित जस्तो नभएर, पूर्वको कर्णालीको उपमा नपाएर के गरोस् त ? ’

टक्सार क्षेत्रका ६५ घरपरिवार हाल काठमाडौंको बानेश्वरमा बस्छन्। तर धेरैले घर बेचेका छैनन्। संरक्षणको अभावमा जीर्ण घर लड्ने अवस्थामा छन्। वडाध्यक्ष श्रेष्ठले टाढैबाट काशीनाथ तमोटको लडेको घर देखाएका थिए। गीर्वाणयुद्धविक्रम शाहकै पालामा टक्सार अड्डा पूर्वी नेपालको मुख्य व्यापारिक नाका थियो। अहिले सुकेनासले ग्रस्त छ। फर्किंदा चिलगाडीमा आइयो। ४० वर्षअघि बनेको विमानस्थलसम्म जान भोजपुर बजारबाट जम्मा चार किमि बाटो पनि पिच नभएको देख्दा उदेक लाग्यो।

-तस्बिरः कृष्णराज सर्वहारी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.