मैलो तन्ना
आउँछन् पालैपालो भोगेर जान्छन्
तन्ना फेरिँदैन
पोखेर उन्माद आफ्नो तुष्टिको उच्छवास छोड्छन्
मानौं म पानी हुँ
आगो निभाएर जान्छन् मर्दहरू ।
बस् म बुख्याँचा हुँ,
समाजको कालो चस्माले मलाई वेश्या भन्छ,
ऊ सम्झन्छ मुटु छैन मेरो
मन छैन मेरो,
आकांक्षा आशा र रहरहरू केही छैनन्,
एउटा विलासिताको सस्तो भाँडा हुँ म,
मानवरूपी दानवहरू आउँछन्
भाडा चुकाउँछन् र भोगेर जान्छन् ।
तर आज एउटा असल (? ) मन आयो,
मलाई स्पर्श गर्न,
जसले सोध्यो पहिलो चोटि मेरो नाम
अचानक मेरो खण्डहर मनमा आशाहरूको बीज पलायो
बलात्कृत सपनाहरूमा
उषाका लालीमा छरिए,
रहरसँग मेरो नारीत्व उर्धांग भए
श्वासप्रश्वास बढेर गयो
झूट बोल्न सकिनँ
त्यो विवशताको कथा
नाम भनिदिएँ कानमै सुटुक्क– वेश्या
ऊ झस्केर गयो,
यो खण्डहर मेरो मन पुनः मरुभूमि भयो
म पनि झस्केँ आफ्नै आवाजले
के ऊ फेरि आउला र ?