सामाजिक सेवामा पर्यटनकर्मी

सामाजिक सेवामा पर्यटनकर्मी


पोखरेली पर्यटनकर्मीको टोलीले भूकम्पका बेला दोलखा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत १३ जिल्लामा राहत बाँडेको थियो।


पोखरा : पोखरा सडक महोत्सवको प्रचार गर्दै पोखरेली टोलीले निम्तो बाँड्न चितवनको सौराहा पुगिरहन्छ। त्यहीँ सौराहामा परारसाल बाढी पस्यो। थुप्रै व्यवसायी र सर्वसाधारणले विपद् व्यहोरे। त्यहीँ बेला पोखरेली टोली राहत लिएर पुग्यो। रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेबान) पोखरा शाखाले हरेक अंग्रेजी नयाँ वर्षका बेला गर्ने सडक महोत्सव गर्छ। त्यसबाट बचत रकम सामाजिक काममा पनि खर्चन्छ। परारसाल बाढी आउँदा रेबान टोली चितवनको माडी र सौराह पुगेको थियो।

‘दुई ठाउँका बाढीपीडितका लागि दुई लाख बढीको लत्ताकपडा खाद्यान्न सामग्री सहयोग गरेका हौं’, रेबान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले भने, ‘रेबानले देशमा प्रकोप आएका बेला सधैं सहयोग गर्दै आएको छ।’ २०७२ सालको भूकम्पका बेला रेबानसहित पोखराका पर्यटन व्यवसायी गोरखालगायत जिल्ला पुगेर राहत बाँडे। एकदिनको राहत बाँडेर उनीहरू चुप बसेनन्। पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको अध्यक्षतामा एउटा समिति नै गठन गरेर उद्धारमा जुटे। राहत संकलनका लागि भेला बसेकै दिन उनीहरूले १३ लाख रुपैयाँ संकलन गरेका थिए। ‘पहिलो चरणमा गोरखा, धादिङमा खाद्यान्न पठाउन जोड दियौं, त्यसपछि उद्धार र राहतमा क्रमशः काम गर्दै अगाडि बढेका थियौं’, भट्टराई भन्छन्। पोखरेली पर्यटनकर्मीको टोलीले दोलखा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्कीलगायत १३ जिल्लामा राहत बाँड्यो।

‘हामीले व्यवसायमात्रै गर्ने हैन सामाजिक उत्तरदायित्व पनि बोध गरेर काम गर्नुपर्छ’, भट्टराईले भने, ‘दुःखमा सहयोग र सुखमा रमाउन जान्नुपर्छ।’ भट्टराईले भूकम्प पीडितका लागि ३० लाख नगदसहित करिब एक करोड बराबरको खाद्यान, कपडा, टेन्टलगायत सामग्री वितरण गरेको जानकारी दिए। पर्यटनकर्मीले गोरखा, धादिङलगायत क्षेत्रबाट पोखरामा उपचारका लागि आएका घाइते र कुरुवालाई खानाको व्यवस्थासमेत गरेका थिए। भूकम्पबाट घाइते भएकालाई घर फर्कन अर्थ तथा यातायातको समेत व्यवस्था पनि पर्यटनकर्मीले गरे।

व्यवसायीले उद्धार र राहतको काम सकिएपछि पोखरा र अरु पर्यटकीय क्षेत्रलाई सँगसँगै अगाडि बढाउन पोखरा पर्यटन पुनर्जागरण समिति (पीटीआरसी)गठन गरेका थिए। पीटीआरसीले प्रधानमन्त्री दैविक प्रकोप राहत कोषमा पाँच लाख रुपैयाँ सहयोग गरेको थियो। भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा होमस्टेको हल बनाउन पोखरेलीले सहयोग गरे।

भूकम्पका बेलामात्रै हैन पोखराका पर्यटन व्यवसायीले अन्य समयमा सामाजिक उत्तरदायित्व बहन गरेर काम गर्दै आएका छन्। रेबान पोखराले २०७३ साउन १३ गते कास्कीको भदौरे तामागी गाविस र लुम्ले गाविसमा गएको पहिरोका पीडितलाई राहत र सहयोग वितरण गरेको थियो। रेबान पोखराका पूर्वअध्यक्ष गोपी भट्टराईले भने, ‘छिमेकमै ठूलो घटना भयो, अन्यत्र त सहयोग गरिएको छ, आफ्नै ठाउँमा झनै गर्नुपर्‍यो भनेर जुट्यौं।’ उनले पहिरो पीडितका लागि करिब एक लाख रुपैयाँ बराबरको खाद्यान र नगद सहयोग गरेको जानकारी दिए। उनले केही रकम समिति र केही रकम सदस्यबाट उठाएर सहयोग गरेको बताए।

रेबान पूर्वअध्यक्ष सूर्य भुजेलका अनुसार फेवातालको जलकुम्भी झार फाल्न र ताल संरक्षण गर्न पनि रेबानले उल्लेख्य सहयोग गर्दै आएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दबाब दिन आन्दोलन हुँदा रेबानकै खर्चमा विमानस्थलमा डोजर चलाइएको पनि भुजेल सुनाउँछन्।

सडक सुरक्षाका लागि २४ वटा सीसी क्यामेरा सडकमा जडान गरेको अर्का पूर्वअध्यक्ष गोपी भट्टराई बताउँछन्। ‘नाइट भिजन क्षमताका २४ वटा सीसी क्यामेरा ६ लाख रुपैयाँभन्दा बढीको खर्चमा जडान गरेको हौं’, उनले भने। २०७१ सालमा पुम्दीभुम्दीमा गएको पहिरोका कारण धरापमा परेको विश्व शान्ति स्तूप बचाउन अभियान नै सञ्चालन भयो। शान्ति स्तूप संरक्षणका लागि पोखरा पर्यटन परिषद्का सल्लाहकार एवं नेपाल पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका गणेश भट्टराईलाई संयोजक बनाएर सहयोग संकलन गरिएको थियो। समितिले स्तूप बचाउन सरकारलाई घच्घच्याएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.