‘लाटो पहाड’सँग संवाद
उपेन्द्रहरू त्यसै स्थापित भएका होइनन्, परिवर्तनको उभारले उनीहरूलाई स्थापित हुन सहज पारेको हो। त्यही परिवर्तनप्रतिको उपेक्षाजस्तो भाव राख्नु उनलाई सुहाउने कुरा होइन।
‘ओए कान्छी, ज्वाईंलाई गोरु फुकाई दे ! तल तोरीबारी जोतोस्।’ (पृ.३९, ससुराली) आफूसित फिटिक्क नबस्ने स्वास्नी लिन ससुराली पुगेको खोक्सुङ्लाई सुसुरा बाले भनेको यो संवाद बडा अनौठो सुनिन्छ। संस्कृतिका बिम्ब र बोध सापेक्षिक हुन्छन् भन्ने सैद्धान्तिक कुरा तब प्राक्टिकल लाग्छ।
खस बाहुनकी छोरी भएकाले र खस बाहुल्य समाजमै हुर्केको हुनाले मलाई यो स्वाभाविक हुने कुरै भएन। खस आर्य समाजमा अपवाद छाडेर ज्वाईंको विशेष मानमनितो हुन्छ। यहाँ कन्यादानलाई ‘उत्तम दान’ मानिन्छ। छोरी बिहे गर्दा छोरीसँगै ज्वाईंको गोडाको पानी खानुलाई ‘परम् सौभाग्य’ नै ठानिन्छ। ससुराली आइपुगेको ज्वाईंलाई गोडैमा ढोगेर राडी गलैंचामा यस्तरी ‘राज’ गराइन्छ, मानौं ऊ राजा नै होस्। ज्वाईंराजाको सम्मानमा सकेसम्म कुनै कमी नहोस्, यसमा खास सतर्कता अपनाइन्छ। बिहे गरेकी छोरीले लोग्ने सासूससुरा र इष्टमित्र रिझाउन सकी भने उसले ‘घर गरेर खाएको’ सावित हुन्छ। उसको परिपाठको तारिफ पनि गरिन्छ। ज्वाईं असल खराब जस्तोसुकै होस् तर अपेक्षा गरिन्छ, छोरी लोग्नेकै घरमा बसिरहेकी होस्। यसैमा बाउआमाको मनोरथ अडिन्छ। पाप र पुण्यको वाचा कसमले बाँधेर पठाएकी छोरी केही गरी माइतीमै आएर बस्नुपर्ने भयो भने त्यसको कुनै मानभाउ रहँदैन। गोत्रसमेत सारेर पठाएकी चेली माइतीमा फर्केर बस्नु शरणार्थी भएर कुनै अर्कै देशमा बस्नुभन्दा पनि दुष्कर सावित हुन्छ।
बिहे गरेदेखि नै माइतीको माइतीमै बसेकी स्वास्नीलाई घर फर्काउन अनेकपल्ट ससुराली पुगेको छ खोक्सुङ। स्वास्नी बल्लतल्ल आइहाली भने पनि चारैदिन टिक्दिन, भागिहाल्छे। अरू त अरू लोग्नेस्वास्नीबीच हुनुपर्ने सम्बन्धको समेत उसले कुनै अनुभव गर्न पाएको छैन। खोक्सुङलाई अब स्वास्नी फर्काउने उतिसारो जाँगर छैन तर आमाको मन राख्न ऊ सातौंपल्ट ससुराली पुगेको छ। उसका लागि यही नै अन्तिमपल्ट हो। यसपाला पनि जान मानिन भने उप्रान्त मरिगए आउने छैन, मनमनै भनेको छ।
ससुरो चाहिँ ज्वाईं आएको देखेर भन्छ, ‘ए नाक्चीको पोइ पो !’ कति सजिलो, कति सहज ! पाठक म भुतुक्कै हुन्छु।
‘तेरो स्वास्नी हो आफैं फकाएर लैजा।’
न संवादमा कुनै हाइरार्की छ, न औपचारिकताको स्वाङ्, न लोग्नेस्वास्नीबीच मध्यस्थ गर्ने कूटनीति। बाउको भावभंगीमा हेर्नुस्, लोग्ने मन नपरेर वा थप अरू पनि कुनै कारणले पटकपटक घर छोड्दै माइत आएकी छोरीको कुनै चिन्ता देखिँदैन। यसको मतलव लिम्बू परिवार र सामाजिकतामा छोरीहरूलाई त्यस्तो सांस्कृतिक र मनोवैज्ञानिक दबाब या तनाव छैन भन्ने नै हो। खस आर्यको मेरो समुदायभित्र माइतीमा त्यस्ती छोरीले भोग्नुपर्ने सकस धेरै छन्। माइती उदार र सहजै भए पनि छरछिमेक र इष्टमित्रले तीर जस्ता वचन फ्याँकिहाल्छन्। ‘ओहो, हेर हेर फलानाकी छोरी लोग्ने र एउटी सासू रिझाउन नसकेर माइतै बसेकी !’ यस्ता कुराले लगाउने गलपासो डरलाग्दो हुन्छ।
तर लिम्बू समाजमा त प्रायः सबै प्रथा महिलाकै हितमा बनाइएका देखिन्छन्। छोरीको बिहे गर्दा केटापक्षसँग रकम लिने चलनै छ। त्यो नबुझाई त मगनी नै हुँदैन। छोरीको सुरक्षा र संरक्षणका लागि माइतीपक्ष ढुक्क हुनुपर्छ अनि बल्ल बिहा हुन्छ। बिहे गरेर गएकी छोरी चित्त बुझेन भने जिन्दगीभरि माइत बस्न सक्छे। कसैले बाध्य पार्न सक्दैन। मैतालु चेलीको आत्मसम्मान उस्तै रहन्छ। उसले चाहिँ भने आरामले अर्को बिहा गर्न सक्छे।
नेपाल बहुधा राष्ट्रहरूको सांस्कृतिक समुच्चय हो। हामी देश र राष्ट्र भनेको फरक कुरो रहेछ भनेर भर्खरै थाहा पाउँदैछौं। एउटै देशभित्रको फरक राष्ट्रबारे थाहा पाउन हामीलाई कति समय लाग्छ ? त्यो अझै भन्न सकिन्न। संस्थापन पक्षीय सामाजिक संरचना र राज्यले बनाएर विभिन्न माध्यमबाट प्रयोग गर्दै आएका कतिपय पूर्वधारणा चिरिन धेरै समय लाग्नेछ। सजिलै त ती कहाँ मेटिनु ! नमेटियोस् भनेर नाभीदेखिको बल लगाइरहेका शक्तिहरू पनि निरन्तर हैंसे गरेकै छन्।
‘लाटो पहाड’ कथाकार उपेन्द्र सुब्बाको सांस्कृतिक बोधको सार प्रस्तुत गर्ने कथासंग्रह हो। यसमा पूर्वी नेपालको लिम्बू जनजीवन र संस्कृतिका अनेक भंगीमा एकैसाथ प्रकट भएका छन्। नलेखिएकै त होइनन् तर लेखिएर पनि नेपाली साहित्यको मूलधारमा खास हस्तक्षेप गर्न नसकेका पात्र र प्रवृत्तिलाई यस कथाकृतिले अब प्रकाशमा ल्याइदिएको छ। कसैले चाहेर पनि तिनका अनुहार र भाषालाई इन्कार गर्न सक्दैन। तिनको उपस्थितिलाई बेवास्ता गर्न सक्दैन। कथा संग्रहको शक्ति यसैमा छ।
यसमा १२ वटा कथा छन्। नाटकको ढाँचामा लेखिएको शीर्ष कथा कुनै सिनेमाको स्क्रिप्टजस्तो लाग्छ। यो समेत मिसाउँदा कथाको संख्या १३ पुग्छ। भाषाको मिठास नै हो, जसले प्रायः कथालाई विशिष्ट स्वाद र सुगन्ध दिएको छ। संवादमा स्थानीयताको नाभी पक्रन र कथाको प्राकृत आस्वादन गराउन सक्नुमा कथाकारको प्रशंसा गरिएको पनि छ। प्रभु माइला, खुंखार भाले, ससुराली, हरियो ढुंगा, सुगुत, मनमायाजस्ता कथा प्रभावका दृष्टिले अब्बल कोटीका कथा हुन्। प्रायः सबै कथाका पात्रहरू क्यामेराको सेन्टर प्वाइन्ट पारेर खिचिएको जीवन्त तस्बिरझैं लाग्छन्। कथावाचन यति लाजबाब लाग्छ कि पात्र र पाठकबीच लेखक उभिएको छ भन्नेसम्मको हेक्का रहँदैन। यसरी हेर्दा उपेन्द्र सुब्बा नेपाली कथा परम्परामा आफ्नो स्पष्ट छाप बनाउन सफल भएको मान्नुपर्छ।
तर केही कथा यस्ता छन्, जो कथाको स्वरूपमा उनिएका जोक्सको स्तरमा देखिन्छन्। र, पात्र कुनै विदूषकजस्ता। तिनले केही हास्यरस उत्पादन गरेर पाठकलाई विरेचनको आनन्द त दिन्छन् तर त्यस्तो खास संवेग या बोधको अनुभूतिमा जान पे्ररित गर्दैनन्। त्यस्ता कथामा एउटा आमपाठकले पढ्दा भेट्ने कुरा जति रमाइला लाग्छन् एउटा अनुसन्धानकर्ताले बारम्बार पढ्दा नलाग्न सक्ने सम्भावना उत्तिकै छ। लेखकको आफ्नै समुदायबाट र सार्वजनिक वृत्तमा समेत साह्रै धेरै प्रशंसा गरिएको यो किताबभित्र अनपेक्षित रूपमा प्रशस्त त्यस्ता लुपहोलहरू छन्, जुन कम्तीमा सिर्जनशील अराजक समूहको प्रवक्ता लेखकसँग अपेक्षा गर्न सकिँदैन।
प्रसिद्ध कथाकार एड्गर एलेन पो कथामा युनिटी या इम्प्रेसन हुनुपर्ने कुरामा जोड दिन्छन्। कथा उपन्यासको एक भाग होइन, एक पूर्ण विधा हो। यसको आफ्नै सिंगो व्यक्तित्व हुन्छ। पाठक भएर पढ्न बस्दा कथामा प्रभावको चमत्कारिता नै खोजिन्छ। त्यो यस्तो होस् कि पढिसक्दा सररर एक लहर संवेग उत्पन्न होेस् र त्यसले मन र मस्तिष्क दुवैलाई झननन पारोस्। भाषा, शैली, घटना, पात्रले र पात्रका संवादले एकैसाथ हुरुक्क बनाओस्। र, उही कथा बारम्बार पढिरहन मन लागोस्। कहिलेकाहीँ नयाँ प्रयोग गर्ने रहरले राम्रै कथाकारहरू पनि चिप्लिएको देखिन्छ। शैलीमा मौलिकपन देखाउन खोज्दा कतिपय कथाकारहरू कन्टेन्टमै अल्मलिएर डरलाग्दो गरी खस्किएका पनि देखिन्छन्। लाटो पहाड यी केही अवसादहरूबाट जरुर जोगिएको छ। कथावाचनमा सादगी र घटना तथा पात्रको बुनाइ–खिपाइको दुरुस्तीले यिनका कथा लिम्बू बहुल पूर्वेली समाजको ऐना बनेका छन्। साहित्यलाई समाजको ऐना मान्ने अर्थमा उपेन्द्र सुब्बाको कथा लेखन सफल हो पनि। तर साहित्य समाजको ऐना हो भन्ने धारणालाई चाहिँ सामयिक ज्ञाननिर्माणको कसीमा राखेर अध्यावधिक गर्नुपर्छ कि पर्दैन ? प्रश्न यो हो।
लाटो पहाड धेरै कोणहरूबाट चर्चा गर्न सकिने कथाकृति हो। यहाँ, एउटा पाठकका रूपमा आफूले गरेका संवाद–साक्षात्कारमा सीमित अध्ययन प्रस्तुत गरिएको छ। यसमा स्त्री कोण अलिक हाबी हुने सम्भावना उत्तिकै छ।
०००
‘जे गर् है तेरो भाउजूलाई। मैले त उहिले हुकुम छोडेको। जारी तिर्न सक्छस् भने लैजा भनेकै हुँ आरिन्।’
‘ल के जारीको कुरा गरिबसेको हाओ बूढामान्छे ? बरु यसो थपिदिने कुरा गर न। अनि पो हुन्छ। लगेपछि काजक्रिया मैले नै गर्नुपर्छ,’ (पृ ५५, नसपते बूढा)।
लिम्बूलगायत केही जनजातिहरूमा यस्ता कुराकानी सामान्य हुन्। हँसी ठट्टा र मनोविनोदमा खुला भएकैले ती समुदायमा महिलामाथि हिंसा र यातना खस आर्य समुदायभन्दा तुलनात्मक रूपले कम हुने गरेका हुन् कि ? यस्तो लाग्छ, उमेर नाघेर कपाल फुलेर पाकै भइसक्दा पनि नसकिने यस्ता ठट्टा यो पंक्तिकारका लागि नौला कुरा हुन्। सल्लाहले जारी तिरेपछि अर्काकी श्रीमती सहजै लान मिल्ने संस्कृति पनि यही देशमा अस्तित्वमान छ। स्वास्नीमान्छेको रुचिको कुरो पनि त्यहाँ आउला। विवाहको मामलामा अझै पनि कडा र झन्डै बन्द समाजको आग्रहभित्र छौं हामी। स्वास्नीमान्छेले कसैसित बोलेकै आधारमा लोग्नेले मट्टीतेल खन्याएर ज्यानसम्म लिइदिने समाज पनि हाम्रैमा छ।
यस्तो पात्तर कुरा उतै गएर मुर्मी माइलीसँग गर्। (पृ.१९१, लाटो पहाड), म त माइत गएर बस्छु। जे सुकै गर्। (पृ.१९८, लाटो पहाड) हिन्दु लिंग व्यवस्थाका नियामकहरूले पारिवारिक हैसियतमा स्वास्नीमानिसलाई अधिकारबिहीन प्रायः बनाएका त छन् नै। मनुदेखि नारद, याज्ञवल्क्य र तुलसीदास हँदै शंकराचार्यसम्मका विधानहरूले पितृसत्तात्मक पारिवारिक र सामाजिक आडम्बरको रक्षा गर्ने दायित्व पनि अघोषित रूपले महिलालाई नै थोपरिदिएका छन्। एकातिर पत्नी पतिभन्दा कम उमेरकी हुनुपर्ने, पतिको गोडा पखालेर उसको बूढी औंलाको पानी (जल) खानुपर्ने, आज्ञाकारी हुनुपर्ने, वचन फर्काउन नहुने त भई नै हाल्यो त्यसमाथि एक शताब्दी अघिसम्म लोग्ने मर्दा स्वास्नी सती भएर जिउँदै चितामा जल्नुपर्ने सम्मको विधान भएको हिन्दू खस आर्य समाज। अर्कोतिर बिहे गर्दा दुलही भएर आउँदाखेरि नै आफूसित कुलदेवता लिएर आउने, निर्णय प्रक्रियामा महिलाकै मत निर्णायक हुने मातृसत्तात्मक अभ्यास गर्दै यहाँसम्म आइपुगेको लिम्बू समाज।
फाङ्जङ्कुम्मा र उसको लोग्ने कोक्मा ठूलेका संवाद पढ्दा लोग्ने र स्वास्नीबीच कुनै त्यस्तो भाषिक स्थानमा देखिन्न। दुवै एकअर्कासित अनादर वा सामान्य आदरमा कुरा गरिरहेका भेटिन्छन्। यस्तो अरू कथाहरूमा पनि भेटिन्छ। स्वास्नी तह लगाएर मर्दानगी देखाउने वा स्वास्नीले मुख फर्काएकी भनेर लातघुस्सा बर्साउने स्थितिमा स्वास्नीमानिसले उसैगरी घुस्सा लगाउनु र आनन्दैसित माइत गएर बस्दिने ठाडो धम्की दिनु यहाँ कुनै नौलो कुरो लाग्दैन। माइतीमा सम्मानजनक स्पेस हुने भएकैले पनि कुनै पनि लिम्बू महिला खस आर्य समुदायभन्दा आत्मिक रूपले शक्तिशाली छन् भन्ने देखिन्छ।
लाटो पहाड शीर्ष कथामै बोजू भन्छिन्, ‘तेरो घरमा गाई बाँध्ने दाम्लोसम्म छैन। स्वास्नी केले बाँध्छस् ? तेरो स्वास्नी पनि मैत हिँड्यो। खा अब।’
०००
साहित्यको आआफ्नै समाजशास्त्रीय व्याख्या हुन्छ भनेर पहिलोपल्ट सैद्धान्तिक प्रस्फुटन गर्ने विद्वान हिप्पोलाइट टेन (१८२८–१८९३) जैविक (जाति) तŒवका अतिरिक्त पर्यावरण र युगलाई पनि उत्तिकै महत्व दिन्छन्। उनले गरेको जातिको कुरा रचनाकारको प्रजातिसँग सम्बधित छ। रचनाकारको प्रजातिअनुसार साहित्यको छटा परिवर्तन हुन्छ भन्ने उनको भनाइ विश्व साहित्यका अनेकौं दृष्टान्तबाट पुष्टि हुन्छ। अफ्रिकी, अफ्रो अमेरिकी, ल्याटिन अमेरिकी र एसियाली लेखनका भंगिमाहरूको विमर्शमा यही कुरा बारम्बार आउने गर्छ। गोरो छाला भएका प्रायः सम्भ्रान्त वर्गका युरोअमेरिकी लेखकहरूले ढलिमली गरेको विश्वसाहित्यको फलकमा पछिल्लो समय चिनुवा अचिवी भीएस नैपलदेखि, टोनी मरिसन, माया एन्जेलो, मार्खेज, सलमान रुस्दी, मो यान, ओह्रान पामुक र चिमामान्दा अदिची, अरुन्धति रायलगायतका लेखकहरूको हस्तक्षेप र लोकप्रियता बढ्नुले एकै प्रकारको र एकै मानकको लेखनमा क्रमभंग भई नयाँ मानकहरू स्थापित हुने क्रम बढिरहेको बुझिन्छ।
लेखक आफैं बन्दैन, लेखकको निर्मितिको कारक उसको पर्यावरण हो भन्ने कुराले फरक समाजका भाषाहरू, ध्वनिहरूलाई मूलधारमा आउन र स्थापित पुराना डिस्कोर्सहरूलाई भत्काएर नयाँ डिस्कोर्सको थालनी गर्न उत्प्रेरित गरेको छ। टेन लेखकका आसपासको पर्यावरण अर्थात् वातावरणलाई सामाजिक र प्राकृतिक दुवै स्तरमा हेर्नुपर्छ भन्छन्। र, अझ लेखक बाँचेको समाजका बाह्य पर्यावरण र लेखकको आन्तरिक संसार वा आन्तरिक पर्यावरण समेतको महत्वसाथ उल्लेख गर्छन्। सामाजिक, प्राकृतिक तथा अन्तरबाह्य सम्पूर्ण वातावरणहरूको घोलबाट लेखकको अनुभव राशि बन्छ र त्यही अनुभव रचनामा प्रकट हुन्छ भन्ने टेनको मान्यता हो। यसैमा उनी युग (इपोक) को अवधारणा मिसाउँछन्। लेखकलाई उसको इतिहाससँग अलग गरेर हेर्नै नमिल्ने उनको तर्क छ। हरेक लेखक आफ्नो विशिष्ट प्रकारको इतिहाससँग जोडिएको हुन्छ। इतिहास वैयक्तिक, जातिगत वा देशीय विभिन्न प्रकारका हुन्छन्। लेखक यिनै विभिन्न स्तरका इतिहाससँग जोडिएर काम गर्छ।
समाजबोध, इतिहास र पर्यावरणलाई एकरेखीय, एकआयमी दृष्टिले हेर्दै आएका हामीलाई लेखकको स्वीकार र अस्वीकारको हदसम्मै पुगेर यसले पारेको प्रभावबारे थाहा पाउन अझै समय लाग्छ। एउटा इतिहास, एउटा पर्यावरणले सही र ठीक ठहर्याएर निर्माण भएको डिस्कोर्स अर्को जाति र पर्यावरणमा गलत हुन सक्छ। अलगअलग सौन्दर्य र अलग अलग मिथकहरूलाई मूलधारमा स्थापित गर्ने काम लेखकले गर्छ।
कथाकार सुब्बा सिर्जनशील अराजक समूहका समन्वेषक हुन्। यसलाई पोइन्ट टु बी नोटेड भनेर बुझ्नु पर्छ भन्ने म ठान्छु। वैचारिक अनेकानेक, नश्लीयबोध, कवित्व निस्सिमता र सिर्जनात्मक निर्णय भनी २०६२ सालबाट थालिएको यो समूहले नेपाली साहित्यमा आफ्नो नाम मात्रै स्थापित गरेन हस्तक्षेप नै गरेर अगाडि आयो। उठान भएका मुद्दा कति नेपाली सामाजिकता र सांस्कृतिक आवश्यकतासँग मेल खाने खालका थिए, कति थिएनन्, त्यसको अलग्गै लेखाजोखा गर्न सकिएला। तर बाँकी दुई लेखकसहित उपेन्द्र सुब्बासमेतको लेखकीय कद अग्लिनुमा यही आन्दोलनको पृष्ठपोषण रहेको देखिन्छ।
उत्तराधुनिक चेतना भनिए पनि वा अरू जेसुकै भने पनि परिवर्तित राजनीतिक परिस्थितिमा उनीहरूको आन्दोलनले मलपानी पायो। साहित्यको सामयिक बहस र विमर्शको केन्द्रमा आइरहेकैले पनि उनीहरू साहित्य वृत्तमा सबैको नोटिसभित्र परिरहे। साहित्य कलालाई विचारको करिया बनाउनु हुँदैन भन्नेहरूको विपक्षमा उभिएका यी ‘अराजक’ हरूले राखिरहेका केही विषयको बहस परिवर्तित राजनीतिको बदलिँदो स्वरकै कारण पनि सहज सम्भव भयो। पहिचानको राजनीति, संघीयता र समावेशी लोकतन्त्रका कुरा यिनीहरूले अघि सारेको जातीय मुक्ति र स्थापनाको आन्दोलनसँगको सामीप्यको तर्कसँग मिल्न पुग्नु संयोग मात्र मान्न सकिन्न।
यिनै कुरा हुन् जसलाई टेनको जाति, पर्यावरण र युगको मान्यतासँग जोडेर अथ्र्याउन सकिन्छ। समयको एउटा ठूलो लहरसँगै उपेन्द्रहरू आए। लाटो पहाडभन्दा अघि उनले अरू तीन ओटा किताब प्रकाशित गरेका छन्। तीमध्ये अघिल्ला दुई किताब कतिले पढेका छन्, मलाई ज्ञात छैन। तर पछिल्लो खोलाको गीत धेरैले रुचाए। रुचाए किन भनिएको हो भने यस कविताकृतिले पछिल्लो नेपाली कवितामा धेरै प्रति बिक्रीको रेकर्ड राखेको भन्ने कुरा सार्वजनिक चर्चाकै विषय बन्यो। यस कविताकृतिमै पनि उनी स्थानीय फ्लेवर दिन जति समर्थ भए आफूहरूले नै वकालत गरेको आन्दोलनका वैचारिक प्रस्तावनामा जम्न नसकेको देखियो। र, झण्डै त्यही प्रवृत्ति लाटो पहाडमा दोहोरियो। यिनका कथाले मुन्धुमी संस्कृतिको आत्मा त बोकेका छन् तर त्यो आत्मालाई स्केलेटल दिने, त्यसमा रगत र मांसल अस्तित्व भर्ने युगीन स्वर हाल्न सकेका छैनन्। यहाँनेर पुगेर हेर्दा लाटो पहाडसँगको सांस्कृतिक संवाद दुर्घटित हुन पुग्छ।
लाटो पहाड शीर्ष कथा जुन कथा कम स्क्रिप्ट बढी लाग्छ, यसलाई प्रयोगमूलक कथा भन्दिए पनि फरक पर्दैन। डिकन्स्ट्रक्ट कथा। यसको उठान राम्रो छ। पात्रका कष्ट देख्दा पसिना छुट्छ। सानो स्कुले लिम्बू केटोको मानसिक हीनताको चित्र हुबहु लाग्छ।
बाहुनको छोरालाई लात्ताले हान्नु हुँदैन। पाप लाग्छ, बुझिस् ? मूर्ख लिम्बू !
लिम्बूको छाउरा, ए लाटा ! खेल पो त यो।
चबाट ? जस्मा !
किन यसको पेन्सिल चोरिस् ? दे फटाहा लिम्बू।
स्कुलका साथीहरू र शिक्षकहरूबाट पाएको यन्त्रणाले दिक्क परेको फाङजङ अन्ततः स्कुल जानै मान्दैन। स्कुल उसको लागि पाठशाला होइन, तनावगृह बन्छ।
एकदिन उसको मुखबाट निस्कन्छ, जान्ना, ज्याँठा। बाहुन कुरा मात्रै बोल्छ।
यसरी एउटा दमित नश्लचेतना पोख्ने लेखक राज्यका संरचनागत विभेदहरूसँग भने निरपेक्ष उभिएका छन्। जंगलबाट एउटा मुढो काटेर एउटा गरिब लिम्बूले च्याब्रुङ् बनाएकै निहँमा उसलाई जरिबाना तिराउने व्यवस्था त देखाउँछन् तर त्यही व्यवस्था परिवर्तन गर्न लिम्बूहरूले बगाएको खुन पसिनाको हिसाबखाता खोज्दैनन्। यस्ता कुरामा लेखक अचम्मसँगै मौनता साँध्छन्। त्यसैले भनिएको हो यी कथाहरू तत् समाजका, संस्कृतिका ऐना त बनेका छन् तर आजको लेखन ऐना मात्र बन्ने कि प्रिज्म ?
पञ्चायतकालमै भाषा आन्दोलन चलाएर जेलसमेत खेपेको नसपते बुढा सँगुरको वीर लाउँदै हिँडेको छ नसपते बूढा कथामा। लेखकले उसलाई एक विदूषकजस्तो हाँसो उठ्दो पात्रमा सीमित गरिदिएका छन्। के लिम्बू जातिका नायक अभियन्ताहरू यस्तै पलायन भई बसेका छन् ? जातीय पहिचान र भाषाको आन्दोलनको गरिमा उचाल्ने अभियानमा लागेको एक सिर्जनशील अराजक सदस्यले लेखेको कथाले आफ्नै समुदायको आन्दोलनलाई अपेक्षित न्याय गरेको पाइएन।
यही नै उपेन्द्र सुब्बाको कथालेखनको ट्र्याजेडी हो।
माथि नै भनियो, उपेन्द्रहरू त्यसै स्थापित भएका होइनन्, परिवर्तनको उभारले उनीहरूलाई स्थापित हुन सहज पारेको हो। त्यही परिवर्तनप्रतिको उपेक्षाजस्तो भाव राख्नु उनलाई सुहाउने कुरा होइन। उपेन्द्र सुब्बा अब एक स्थापित साहित्यकार हुन्। शब्दका सुन्दर शिल्पी हुन्। कथा कथ्न र दुरुस्तै पारेर भन्न जान्दछन्। भाषा ट्याप्प टिप्न र ठाउँमै ठ्याक्क राख्न जान्दछन्। आफ्नो यही क्षमता र सिर्जनात्मक शक्तिलाई युगले मागेको कथ्यमा रूपायित गरिदिए उनको लेखन वास्तविक अर्थमा ‘सिर्जनशील अराजक’ हुने थियो।