दीप श्रेष्ठको ५० वर्ष
सदाबहार गायक दीप श्रेष्ठले औपचारिक रूपमा गाउन थालेको यही पुस १ बाट ५० वर्ष पुगेको छ। संयोग उनको जन्मदिन पनि पुस १ नै हो।
राजा महेन्द्र कला–साहित्यका पारखी थिए। उनी गीत लेख्थे, साहित्य रच्थे। त्यही बेला धरान पनि कला साहित्यमा सक्रिय थियो। धरान सांस्कृतिक संस्थान र लोकनृत्य संघले गीतसंगीत, नाटक र साहित्यका कार्यक्रम आयोजना गर्थे। कला साहित्यकै सम्बन्धले पनि हुन सक्छ, महेन्द्र धरानलाई माया गर्थे।
२०२५ साल पुस १ गते उनै राजा महेन्द्रको निमन्त्रणामा धरान सांस्कृतिक संस्थानबाट चन्द्रशेखर श्रेष्ठ नेतृत्वको टोली भीमनिधि तिवारीको नाटक ‘शिलान्यास’ लिएर काठमाडौं पुगेको थियो। नाटकको बीचमा सिन चेन्ज गर्ने बेलामा खाली समय भर्न मञ्चमा बोलाइयो दीपनारायण श्रेष्ठलाई। उनले राजाका अगाडि विजय श्रेष्ठको रचनामा आफैंले तयार पारेको गीत पहिलोपटक सुनाए ‘म पत्थरको देउता होइन...’
नाटक हेरिरहेका महेन्द्रलाई दीपका गीतले छोएछन्। तुरुन्तै रेडियो नेपालका निर्देशकलाई हुकुम दिए, ‘जति छन्, सबै गीत भोलि नै रेकर्ड गरिदिनू।’ दीपसँग आफ्ना भन्ने दुई गीत मात्र थिए। पुस २ गते ‘म पत्थरको देउता होइन..’ र, दीपकै रचना रहेको ‘मायालु रूप छ तिम्रो...’ गीत रेकर्ड भए। त्यति बेलाको देशव्यापी पहुँच भएको एकमात्र सञ्चारमाध्यम रेडियो नेपालमा दिनदिनै बज्न थाले दीपका गीत। त्यसपछि दीप नेपाली संगीत क्षेत्रमा चम्किला तारा बनेर उदाए। आजसम्म उनी संगीतमा बेग्लै पहिचान बोकेर उभिएका छन्।
दीपले पहिलोपटक औपचारिक रूपमा गाएको यसपटकको पुस १ मा पचास वर्ष अर्थात् आधा शताब्दी पुग्यो। एउटा गायकका लागि आधा शताब्दीको सांगीतिक यात्रा चानचुने होइन। दीपको जन्मदिन पनि पुस १ गते नै। ‘यसपटक त जन्मदिन र औपचारिक संगीतयात्राको तिथिमिति पनि ५० वर्ष अघिझैं ठ्याक्कै मिलेको छ।’
देउसीमा गाउँदागाउँदै गायक
दीप रेडियो नेपालमा गीत रेकर्ड गरेर धरान फर्किए तर त्यस बेला रेडियो कि लाहुरेका घरमा हुन्थ्यो कि धनीमानीकामा। उनका साथी रामानन्द अग्रवालले एक दिन रेडियोमा दीपको गीत बजेको सुनेछन्। उनले ‘तेरो गीत रेडियोमा तीनचार पल्ट बज्यो’ भनेर सुनाए। ‘म त आफ्नो स्वर रेडियोमा कस्तो सुनिन्छ होला भनेर एक्साइटेड भएँ’, दीपले पहिलोपटक आफ्नै गीत सुन्दाको क्षण सम्झे, ‘अर्को उही साथीले गीत बज्दाबज्दै मलाई सुनाउन ट्रान्जिटर बोकेर आयो। गीत सकिन लागेको रहेछ, पुच्छर भाग मात्र सुन्न पाएँ। आफ्नै स्वर रेडियोमा सुन्दा दंग थिएँ।’
हुन त दीप सात आठ कक्षामा पढ्दा नै गीत गाउँथे। सानोमा उनको स्वर केटीको जस्तो थियो, त्यसैले पर्दा पछाडि बसेर केटीकै गीत गाउँथे। अलिपछि तिहारको बेला धरानमा घरघर पुग्दै देउसीभैलोमा गाउँथे। ‘धरानको पुतलीलाइनमा शिव जोशी, सावित्री जोशीको घरमा हरेक साल देउसी खेल्न पुग्थ्यौं। विष्णु जोशी, कैलाश जोशीहरू थिए। त्यस घरकी आमा दीपनारायणको गीत सुन्ने भनेर पर्खी बस्नुहुन्थ्यो।’ उनले सम्झिए, ‘देउसी भैलोपछि उहाँहरूलाई नारायणगोपाल, प्रेमध्वज दाइका गीत सुनाउँथेँ। चारपाँच घरका मान्छे जम्मा भएर गीत सुन्थे। मीठोमीठो खानेकुरा दिन्थे। त्यही घरमा तीनचार घन्टा बित्थ्यो। नारायणगोपालको गीत ‘अल्झेछ क्यारे पछ्यौरी’ गाउँदा मेरै गीत ठान्नुहुन्थ्यो।’ यसरी देउसीभैलोमा गाउँदागाउँदै उनी राम्रो गाउने केटोका रूपमा चिनिए। त्यही परिचयले उनलाई नाटकको बीचमा महेन्द्रका अगाडि गाउने बाटो खोलिदियो।
पुरस्कारमा कसी लगाउँदा
धरानकै पब्लिक बहुउद्देश्यीय हाइस्कुलबाट २०२३ सालमा एसएलसी दिएका दीप संगीतसँगै खेलकुदमा रुचि राख्थे। धरानको टिमबाट फुटबल खेल्थे। उनले तत्कालीन ब्रिटिस क्याम्प, घोपामा भजन पनि गाए। डिपोट स्कुलमा पनि गाउँथे। गीत रेकर्ड गराएपछि रेडियो नेपालमा आउजाउ गरिरहन्थे।
त्यस बेला रेडियो नेपालले हरेक चैत २० गते वार्षिक कार्यक्रमका अवसरमा प्रतियोगिता गथ्र्यो। दीप धरानबाट काठमाडौं लगातार दुई वर्ष भाग लिन गए, तर तेस्रो भए। २०३० सालमा शिवशंकर थापाको रचना ‘विधवाले सिन्दूरको रहर...’ गाए। त्यो गीतले भने उनलाई प्रथम पुरस्कार दिलायो। ‘पुरस्कारस्वरूप एक तोलाको सुनको तक्मा पाएँ’, दीपले पुरस्कार पाउँदाको क्षण सम्झे, ‘तर त्यो सुनको हो कि होइन भन्नेमा शंका लाग्यो। अनि कसी लगाउन गएँ। सक्कली नै रहेछ। सुनको दाम त्यस बेला नौ सय ९० पर्दो रहेछ।’
रेडियो नेपालमा प्रथम भएपछि शिवशंकर, वसन्त थापा लगायतका रचनामा गीतहरू रेकर्ड गराए। ‘नातिकाजी दाइले म काठमाडौं जाँदैपिच्छे ल गीत छ भने गाऊ भनेर रेकर्डको अवसर दिनुहुन्थ्यो। म हरेकपटक रेकर्ड गराएर फर्किन्थेँ’, उनी सम्झिन्छन्।
गीतले यात्रा गरायो
रेडियो नेपालमा गीत बज्न थालेपछि दीपको काठमाडौं आउजाउ बढ्यो। त्यस बेला धरानबाट काठमाडौं जान भारतको बाटो भएर जानु पथ्र्यो। विराटनगर, जोगबनी, फारविसगन्ज, कटिहार, समस्तपुरबाट रक्सौल हुँदै वीरगन्ज निस्किनु पथ्र्यो। त्यहाँबाट काठमाडौंको बस पाउन पनि मुस्किल थियो। दीप प्रायः ट्रकमा जान्थे। करिब तीन दिनमा काठमाडौं पुगिन्थ्यो। एक दिन एकजना ट्रक चलाउने सरदारले ‘बेटा तुम कहाँ जहा रहे हो ? ’ भनेर सोधे। दीपले गाना गाउन काठमाडौं जान लागेको बताए। सरदारले उनको गीत रेडियोमा सुनेका रहेछन् तर गायक थाहा रहेनछ। उनलाई ‘के त्यो गीत तिमीलाई आउँछ ? ’ भनेर सोधे। उनी सम्झन्छन्, ‘त्यो गीत त मैले नै गाएको हुँ भन्दा पत्याएनन्। गाएरै सुनाएपछि उनी दंग परे।’ त्यसपछि उनको ट्रकमा निःशुल्क यात्रा गर्न पाए। पछि आउँदा पनि मेरै गाडीमा जानु भने। अनि दीप उनको माल गाडीको नम्बर टिपेर उनैको गाडीमा जान थाले।
२०३१/०३२ सालपछि उनी काठमाडौंमै बस्न थाले। तर, बस्ने ठाउँ थिएन। दाइ पर्ने रामनारायण श्रेष्ठले सहयोग गरे। एक दिन केशरबहादुर विष्टले एउटा गीत लिएर आए। उनले त्यो गीत गाए, ‘मैले हार्न खोजेर हार्न सकिनँ...’। त्यसैगरी चिनजान बढ्न थाल्यो।
तर पनि उनको डेरा थिएन। साथीभाइकै तिर बसेर काम चलाउँथे। खान, सुत्नै गाह्रो अवस्था थियो। त्यस्तो बेलामा काठमाडौंकै रैथानेहरू थिए— युवान तुलाधर, कमलमानसिंह प्रधान। उनीहरूले घरमा लगेर खान, बस्न दिन्थे। एक दिन युवानलाई प्रेयसीको कुराले मनमा नयाँ फिल आएको रहेछ। ‘मलाई एउटा गीत लेखिदेऊ न’ भने। ‘मैले कथा भन न त भनेँ। उनले आफूले मन पराएको केटी अर्कैले लगेको कथा सुनाए। गीत सुन्नेबित्तिकै मलाई खरर गीत आयो। किनकि मेरो पनि त्यस्तै वान साइडेड कथा थियो। कसैलाई भन्न सकेको थिइनँ।’ दीपले सुनाए, ‘कति कमजोर रहेछ भाग्य तिम्रो सिउँदो कोर्न सकिनँ, गीत खरर लेखेँ। त्यसपछि युवानलाई यो तिम्रो नाममा भनेर उसैको नाममा राखिदिएँ।’ अहिले पनि त्यो गीत युवानकै नाममा छ। भन्छन्, ‘मलाई गाँस, बास दिएका थिए मैले त्यति बेला दिन सक्ने त्यही मात्र थियो। अरू के गर्न सक्थेँ र ? ’
त्यस बेला एउटा गीतको रेडियो नेपालबाट जम्मा दसपन्ध्र रुपैयाँ आउँथ्यो। गायिका शान्ति ठटालका भाइ दिलीप ठटाल दीपका साथी थिए। रेस्टुरेन्ट म्यानेजमेन्टमा काम गर्ने दिलीपले दीपको अवस्था देखेर एक ठाउँमा काम गर्न आग्रह गरे। न्युरोड पीपलबोटमा सानु रेस्टुरेन्ट थियो। इन्डियाका पटेलहरूले खोलेको त्यो रेस्टुरेन्टमा बेलुका बेलुका गाउन थाले दीप। त्यहीँ काम सिक्दै उनी बार टेन्डर पनि भए। रेस्टुरेन्टमा खाने व्यवस्था भयो, दिलीपको कोठामा सुत्ने व्यवस्था। रेस्टुरेन्टबाट मासिक आठ/नौ सय कमाउँथे। त्यो जम्मा गर्न थाले। दीपको संगीतप्रतिको लगाव देखेर साथीहरूले एउटा ग्रुप बनाएर बाहिर पनि गाउन आग्रह गरे। त्यसपछि दीपले अम्बर गुरुङका छोरा किशोर गुरुङ, अहिलेका संगीत निर्देशक प्रकाश गुरुङलाई समेत लिएर एउटा ग्रुप बनाए। ग्रुपले दिउँसो लन्च टाइममा इन्स्ट्रमेन्टल बजाउन थाल्यो। दीपले साँझमा रेस्टुरेन्टमा गाउन मीरा राणा, तीर्थकुमारी थापालाई पनि बोलाउँथे। उनीहरूले गाउँदा दीपचाहिँ रेस्टुरेन्टका मालिक मिस्टर एसजे पटेलका लागि कक्टेल बनाउन थाल्थे। पटेल निकै सोखिन थिए, मिस्टर पटेल आफैंले रेस्टुरेन्टका महँगा रक्सी पिउँथे। एक वर्ष नपुग्दै रेस्टुरेन्ट बन्द भयो।
त्यसपछि फेरि समस्या भयो। काठमाडौंमा टिक्नै गाह्रो भयो। दीप पुनः धरान फर्किए।
सम्पत्ति हडप्नेकै छोरासँग दोस्ती
दीप १२ वर्षको हुँदा उनका बुवा बिते। बुवाको १३ दिनको काम सकिनेबित्तिकै साहू बनेर पूर्वमन्त्री दिलबहादुर श्रेष्ठ ऋण उठाउन भन्दै घरमा आए। घर, १२ कट्ठा जग्गा, तीनवटा गाडीसहित भएभरको सबै हड्पे र उनीहरूलाई घरबाट निकालिदिए। त्यस बेला धरानबाट डाक सेवा चलाउने गाडी उनीहरूकै थियो। त्यो पनि दिलबहादुरले लगे। त्यस बेला दिलबहादुरका दाजु होमबहादुर गृहमन्त्री थिए। भन्छन्, ‘बुवाले एक कट्ठा १२ धुर जति जग्गा भने अलग्गै राख्नुभएको रहेछ। हामी त्यहीँ सर्यौं।’ तर पछि त्यहाँबाट पनि उनीलाई दिलबहादुरले निकाले। थोरै लेनदेन त थियो होला तर सबै घरजग्गा जाने अवस्था थिएन, तिनको परिवारमाथि ठूलो अन्याय भयो। त्यो घटना सम्झिँदै उनी भावुक हुन्छन्।
पैसा जम्मा गरेर पछिल्लोपटक उठिबास गराइएको आफ्नै घर दीपले करिब २०४३/०४४ सालतिर ऋण खोजेर एक लाख रुपैयाँमा किने। संगीतबाट कमाएको पैसाले त्यो ऋण तिरे।
दिलबहादुर त्यस बेलाका सामन्त थिए। उनका नेपाली र बंगाली श्रीमती थिए। उनै दिलबहादुरका बंगाली श्रीमतीतिरका छोराहरू सिनेट र क्याबिनेट थिए, सिनेट राजाको कालमा मन्त्रीसमेत बने। अनि नेपाली श्रीमतीतिरका छोरा विजय श्रेष्ठचाहिँ दीपका मिल्ने साथी थिए। बाबुबाट अपहेलित उनै विजयको रचनामा दीपको पहिलो गीत ‘म पत्थरको देउता होइन’ रेकर्ड भयो। भन्छन्, ‘विजय फर्पिङमा पढ्थ्यो, गीत लेख्ने, भावुक मान्छे थियो। ऊसँग मेरो दोस्ती भयो।’
गीत सुनाएर श्रीमतीलाई जागिर
दीप धरान फर्किए पनि काठमाडौं आउजाउ चलिरहन्थ्यो। उनी गाउन भारतका विभिन्न सहरमा पनि पुग्थे। एकपटक अरुणा लामाहरूको टोलीमा सांगीतिक कार्यक्रमका लागि मेघालय, सिलोङ, नगरकट्टा लगायतका ठाउँमा पुगे। त्यो टोलीमा गायिका सोफिया गुरुङ पनि थिइन्। लामो सांगीतिक यात्रामा सँगै हुँदा दीप र सोफियाको माया बस्यो। उनी ग्राजुएट सकेर मात्र विवाह गर्न चाहन्थिन्। दीपले पर्खिए। उनी पढेर एअरहोस्टेस हुन चाहन्थिन्। त्यति बेला नेपालमा बाबुआमाहरू छोरीहरूलाई एअरहोस्टेस बनाउन चाहँदैनथे। दीपले उनलाई ‘कोसिस गर्ने’ आश्वासन दिए।
महेन्द्रले मन पराएका गायक दीपका गीतहरू त्यस बेलाकी ‘प्रेक्षा सरकार’ले पनि खुब मन पराउँथिन्। प्रेक्षा दरबारबाहिर सवारी हुँदा दीपलाई लिन गाडी पठाउँथिन्। दीप पनि गिटार बजाउँदै उनीहरूलाई गीत सुनाउँथे। एकपटक एभरेस्ट होटलको डान्स क्लबमा प्रेक्षा नाचिरहेकी थिइन्, उनले दीपलाई पनि नाच्न आग्रह गरिन्। त्यही मौकामा दीपले आफ्नी गर्लफ्रेन्डका लागि एअरहोस्टेसको जागिरको कुरा गरे। यसरी सोफिया आरएनएसीकी एअरहोस्टेस बनिन्। उनीहरूबीच २०४५/०४६ तिर विवाह भयो।
सोफियाले जागिर खाए पनि उनीहरूलाई पाँच/छ महिना निकै कष्ट भयो। एक वर्षपछि विदेश उडान हुन थालेपछि आर्थिक रूपमा पनि अलि सहज भयो। रेखी गुरुङ नामका व्यक्ति पटकपटक जेल पर्दा रहेछन्। चारखाल जेलमा रहेका रेखी दीपका गीतका फ्यान थिए। उनैले दीपलाई जग्गा किन्न आग्रह गरे। अलिअलि जम्मा भएको पैसा, सुन जम्मा गरेर धोबीखोला डिलमा चार आना जग्गा किने र घर बनाए।
०० अम्बर र गोपालले सिकाउन चाहेननप्रज्ञाप्रतिष्ठानले सहायक संगीत निर्देशकका लागि निवेदन मागेको थियो। उनलाई निवेदन दिएर जागिर खान मन थिएन। प्रकाश गुरुङले जबरजस्ती गरेर प्रज्ञा पुर्याए। त्यसपछि उनी सहायक संगीत निर्देशक बने।
एकेडेमीमा उनले अम्बर गुरुङसँग संगीत सिक्न चाहेका थिए तर गुरुङले ‘तिमी पपुलर छौ’ भनेर सिकाउन ध्यानै दिएनन्। दीपलाई उनीसँग सिक्न नपाएको कुरा अहिले पनि खड्किरहन्छ। उनी गोपाल योञ्जनसँग पनि सिक्न पटकपटक गए तर उनले पनि सिकाएनन्। त्यसपछि आफैं घुँडा धसेर अभ्यासमा लागे। एकपटक दार्जिलिङ जाँदा साथी मणिकमल क्षेत्रीले उनलाई ‘संगीत विरासद’ नामक पुस्तक दिए। त्यही पुस्तक नै गुरु थापेर उनले अभ्यास गरिरहे। भन्छन्, ‘त्यो पुस्तक अहिले पनि मसँगै छ।’
उनले पछि गोपालनाथ, चेतनाथ गुरुहरूसँग राग सिके। त्यसैले अहिलेसम्म उनलाई चिनाएको छ। उनले केही समय घरमै संगीत पनि सिकाए तर चेलाहरू दुईचार दिन सिकेपछि बजारमा ‘दीप श्रेष्ठसँग सिकेको’ भन्दै बेसुरा गाउन थाले। त्यसपछि उनले सिकाउन पनि छाडे। अहिले भ्वाइस अफ नेपालका कोच बनेर नयाँपुस्ताको गायन क्षमता जाँचिरहेका दीप आशावादी छन्। ‘अहिलेको पुस्ताले मेहनत त गर्छन् तर आफ्नै टाइपको मात्र गर्छन्। मैले नेपाली गाउँदा नेपाली जसरी नै गाऊ भनेर जोड गरेको त्यसैले पनि हो’, उनी भन्छन्।
दीप अहिले पनि ट्र्याकमा गाउँदैनन्। उनलाई ट्र्याकमा गाउनु कभरसङ गाएझैं लाग्छ। त्यो मौलिक सिर्जनाजस्तो लाग्दैन। त्यसैले त उनको बेग्लै पहिचान छ। आधा शताब्दीको संगीतयात्रा यसरी नै चलिरहेको छ।
दीपको गुनासो
जीवनका धेरै उतारचढावप्रति कुनै गुनासो नरहेका दीपलाई संगीतकर्मको उत्तराद्र्धमा भने एउटा गुनासो रहेछ। केही दिनअघि उनी व्यस्तताबीच केही समय निकालेर धरान आइपुगेका थिए। धरानमा आफूलाई माया गर्नेहरू, संगीतप्रेमीहरू धेरै छन्, कसै न कसैले विशेष कार्यक्रम गर्ने कुरा गर्लान् भन्ने आशा थियो दीपलाई।
आफू जन्मेको, हुर्केको र यहीँबाट गायक भएको हुनाले यहाँबाट एउटा कार्यक्रम भए हुन्थ्यो भन्ने लागेको छ। तर, कसैले खासै चासो नदेखाएपछि उनी निराश थिए, ‘अगाडि भेट्दा सबैले गीत मन पर्छ भन्छन् तर हाम्रोजस्तो गीत नचल्ने भएर हो कि किन हो, कार्यक्रम गर्न रुचि देखाउँदैनन्।’ दीपले गुनासो पोखे, ‘अझै मज्जाले गाउन सक्छु तर जसका लागि भनेर गाउँछु, उनैले सुन्दैनन् भने त अब गाउनै छाडौं कि जस्तो पनि लाग्छ। अहिलेको पुस्ताले पैसालाई प्राथमिकता दियो तर पैसामात्र सबै कुरा होइन।’