अतिथि सत्कारमा पोखरेली आतुर

अतिथि सत्कारमा पोखरेली आतुर

सडक महोत्सवले पर्यटकीय नगरीमा नयाँ रौनक थपेको छ।


सडक महोत्सवमा स्वागत गर्न आतुर छौं 

फेवातालको किनारमा हुने नेपालकै ठूलो पोखरा सडक महोत्सवको तयारी पूरा भएको छ। पोखराको पर्यटन भनेको ट्रेकिङ पर्यटनबाट चलेको व्यवसाय हो। हिमाली क्षेत्र अन्नपूर्ण, धैलागिरि, मनास्लुमा चिसो बढेका कारण पर्यटक पदयात्रामा जान सक्दैनन्।

पदयात्रामा रहेका पर्यटक पनि फर्किएर नयाँ वर्ष मनाउन भारत, थाइल्यान्ड र आफ्नै घर फर्कन्थे। यसरी नयाँ वर्ष मनाउन घर फर्कने पर्यटकलाई पोखरामै भुलाउने उद्देश्यले १९ वर्षअघि सुरु भएको पोखरा सडक महोत्सवमा अहिले देशैभरबाट आन्तरिक पर्यटक आउँछन्। यसैले पछिल्ला वर्ष पोखरा सडक महोत्सव देशकै महोत्सवका रूपमा विकास भइरहेको छ।

महोत्सवको मुख्य उद्देश्य नेपाली कला, संस्कृति विश्वबाट घुम्न आउने पर्यटकमाझ प्रदर्शन गरेर नेपालको संस्कृतिक विविधतामार्फत पर्यटक आकर्षण गर्नु हो। यसैअनुसार देशका कुनाकुनाबाट लोपोन्मुख सांस्कृतिक झाँकी, कला महोत्सवमा देखाउने गरी तयारी गरिसकेका छौं। महोत्सवमा आउने पर्यटकलाई आकर्षण गर्न चीन, भारत, पाकिस्तान, कोरियालगायत देशका सांस्कृतिक झाँकीसमेत मेलामा देखाइनेछ।

फेवाताल किनारमा साढे ३ किलोमिटर क्षेत्रमा हुने सडक महोत्सवमा विभिन्न साँस्कृतिक, लाइभ ब्यान्डको प्रस्तुति हेर्दै सडकमै बसेर विभिन्न खानाका परिकारको स्वाद लिन पाइनु यसको थप विशेषता हो। सडकमै खाउँ, सडकमै नाचौं सडकमै रमाउँ भन्न मूल नाराका साथ हुने सडक महोत्सव पर्यटकमाझ लोकप्रिय भएकाले महोत्सवकै कारण पर्यटकले बसाइँ लम्ब्याउन थालेकाले यसले व्यवसायीलाई हौसला मिलेको छ। अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलका रूपमा पोखरालाई विकास गर्ने उद्देश्यले आयोजना गरिएको २०औं सडक महोत्सवमा विगतका वर्ष जस्तै यस वर्ष पनि सबैलाई पोखरामा स्वागत गर्न हामी आतुर छौं। (

- बुधराज (भीमसेन)भुजेल ,अध्यक्ष रेन्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान)पोखरा

नेपाली ब्रान्ड बनाउनुपर्छ

सडक महोत्सव सुरु हुनुअघि सन् १९९७ सम्म पोखरामा स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्य गरी कुनै कार्यक्रम हुँदैनथ्यो। अंग्रेजी नयाँ वर्षका बेला नेपालमा रहेका पर्यटक पनि नयाँ वर्ष र क्रिसमस मनाउन भारतको गोवा, थाइल्यान्ड र आफ्नै देश फर्कन्थे।

आन्तरिक पर्यटकलाई पर्यटकको रूपमा सम्मान गर्ने चलनै थिएन। १९९८ मा पहिलोपटक लेकसाइड सडक महोत्सवको रूपमा सुरु भएको महोत्सव १९९९ देखि पोखरा सडक महोत्सवका रूपमा विकास भएको हो। हामीले सडक महोत्सव गर्नुभन्दा अगाडि डिसेम्बर महिनामा पर्यटकको आगमन प्रायः शून्य नै हुन्थ्यो। त्यसैले पोखराका पर्यटन व्यवसायी पनि अंग्रेजी नयाँ वर्ष मनाउन भारत, थाइल्यान्ड जान्थे।

सडक महोत्सव हुन थालेपछि सबैभन्दा ठूला कुरा आन्तरिक पर्यटकलाई पनि पर्यटकका रूपमा सम्मान गर्न थालियो। पछिल्लो समयमा महोत्सवकै कारण विदेशी पर्यटक पनि पोखरा आउन थाले। पोखरामा घुम्न आएका विदेशी र विभिन्न गैरसरकारी संस्थामा कार्यरत र विभिन्न देशका दूतावासमा कार्यरत विदेशी पनि क्रिसमस र नयाँ वर्ष मनाउन पोखरा रोज्न थालेकाले उद्देश्य अनुसार महोत्सवले गति लिँदै गएको छ।

पछिल्लो समय नयाँ वर्ष मनाउन विदेशी पर्यटकले पनि पोखरा रोज्न थालेका छन्। प्रतिशतकोे हिसाबले आन्तरिक पर्यटक ८० प्रतिशत र २० प्रतिशत विदेशी पर्यटक सहभागी हुँदै आएको अनुमान गरेका छौं। प्रत्येक वर्ष विदेशी पर्यटक बढ्दै गएका छन्। महोत्सवमा भारतीय, चिनिया, युरोपेली, अमेरिकी पर्यटकको सहभागिता रहँदै आएको छ। 

सन् १९९७ सम्म डिसेम्बर महिना अफ सिजन भएकाले हामी पनि भारतको गोवामा अंग्रेजी नयाँ वर्ष मनाउन र रिफ्रेस हुन जाने गथ्र्यौं। गोवामा भएको महोत्सव देखेर हामीले पनि पोखरा, नेपाल घुम्न आएका पर्यटकलाई लक्ष्य गरी पोखरामा नयाँ वर्षमा महोत्सव गर्नुपर्छ भन्ने उद्देश्यले महोत्सव सुरु गरेका हौं। २० औं महोत्सवसम्म आइपुग्दा उद्देश्यले विस्तारै लय लिँदै गएको छ।

महोत्सवमा हामीले सम्पूर्ण नेपाली जातजातिलाई एकै ठाउँमा गोलबद्ध गरी जातीय सदभाव पर्यटकलाई देखाएका छौं। हाम्रा जातजातिका संस्कृति पनि देखाएका छौं। पर्यटकलाई आकर्षित गर्न विभिन्न मनोरञ्जनात्मक खेलकुद पनि प्रस्तुत हुने गरेको छ। अहिले स्थानीय सांस्कृतिक झाँकीको साथै देशका कुना कुनाका संस्कृति देखाइनुको साथै विदेशी संस्कृति पनि पस्कँदै आएका छौं। यसको अलवा नयाँ नयाँ मनोरञ्जनात्मक कार्यक्रम हुँदै आएका छन्।

सरकारी स्तरबाट पनि पोखरा सडक महोत्सवलाई अंग्रेजी नयाँ वर्ष मनाउने अन्तर्राष्ट्रिय गन्तव्यस्थलका रूपमा विकास गर्न पहल गर्नुपर्छ। हामीले महोत्सवलाई प्रवर्द्धनगर्न नेपालकै विभिन्न सहरको साथै विभिन्न देशमा पुगेर पनि प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएका छौं। सडक महोत्सवलाई नेपालको ब्रान्डका रूपमा विकास गर्दै लैजानुपर्छ। महोत्सवमा देशभरकै घरेलु उत्पादनलाई उचित स्थान दिएर नेपाली उत्पादनलाई अन्तर्राष्ट्रियकरण गराउनु पर्छ। यसका लागि नेपाली हस्तकलाका सामग्रीका लागि निःशुल्क स्टल राख्ने व्यवस्था गरिएको छ।

महोत्सवमा ग्रामीण पर्यटन प्रवद्र्धनका लागि पनि होमस्टे सञ्चालन गरेका विभिन्न गाउँका आमा समूहले स्थानीय आर्गानिक खानाका परिकार महोत्वसमा पस्कने गरेका छन्। यसले नेपाली टिपिकल खानाका परिकार कोदोको रोटी, म.म.लगायत खानाको प्रवर्द्धनहुनुको साथै ग्रामीण पर्यटनको विकासमा पनि सघाउ पुग्दै आएको छ। सहर र गाउँको पर्यटनलाई जोड्न यसले पुलका रूपमा काम गर्ने विश्वास छ।

- गणेशबहादुर भट्टराई ,अग्रज पर्यटन व्यवसायी पहिलो पोखरा सडक महोत्सव संयोजक

अनुसन्धानमा आधारित महोत्सव

पर्यटन प्रवर्द्धनगर्नु नै पोखरा सडक महोत्सवको मूल उद्देश्य हो। हामी नेपालका कुना कन्दराका संस्कृति खोजीखोजी ल्याउँछौं। रिसर्च गरेर त्यस्ता संस्कृति ल्याइरहेका छौं। पर्यटक आकर्षण गर्ने संस्कृति कुन हो ? लोप हुन लागेको संस्कृति कुन हो ? कस्तो नेपाली खाना हामी पर्यटकलाई खुवाउन सक्छौं भन्ने रिसर्च गरेर ल्याउँछौं र पस्कन्छौं। लहलहैमा आयोजना हुने महोत्सव पोखरा सडक महोत्सव होइन। यो महोत्सवसँग सिंगो पोखराको प्रतिष्ठा जोडिएको छ। नेपालको पर्यटनको प्रतिष्ठा जोडिएको छ। महोत्सव हुने पुस १३ देखि १७ सम्म ५ दिन महोत्सवमा मान्छे आइदिएर न पोखरालाई पुग्छ न नेपाललाई नै।

हामी त यो महोत्सवमार्फत पोखरा र नेपाललाई ब्रान्डिङ गरेर वर्षैभर पोखरा पर्यटकले भरिभराउ बनाउन चाहन्छौं। जसरी विश्वका थुप्रै देशमा त्यहाँका संस्कृतिको विशेष उत्सवमा पर्यटक गइरहेको हामी देखिरहेका छौं। यस्तै नेपालमा पनि आउन् भन्ने हाम्रो ध्येय हो। भूगोलमा नेपाल सानो होला। तर एक सय २५ हाराहारीका जातजाति र भाषाभाषी भएको यति सानो भूगोल विश्वको कुनै कुनामा छैन। हामी प्रकृतिका धनी हुँदै हौं। संस्कृतिका पनि धनी हौं। पर्यटनमा चाहिने भनेकै यिनै तत्व हुन्।

हामीसँग भएकै कुरालाई प्रवर्द्धननगरी अरु चिज खोज्न जाने कुरा भएन। नेपाली मौलिक हस्तकला, हाम्रो परम्परागत रहनसहन, हाम्रा खाना नै हाम्रो महोत्सवमा विदेशी र स्वदेशी पर्यटकलाई लठ्याउने आकर्षण हुँदै आएका छन्। स्वदेशी नयाँ पुस्ताले पनि हाम्रो परम्पराको झल्को हाम्रै महोत्सवमा पाउँछन्। विदेशीलाई त झन् नौलो हुने नै भयो। नेपालमा सबैभन्दा ठूलो क्षेत्रफल तीन किलोमिटर भूमिमा कुन महोत्सव हुन्छ अरु ? हुँदैन। हाम्रोमा जति पाहुना अरु कुन महोत्सवमा आउँछन् ? आउँदैनन्।

पोखरा आफैंमा प्रोफेसनल व्यवसायी भएको ठाउँ हो। पर्यटकीय ठाउँ सानो त्रुटि र कमजोरीले पनि तुरुन्तै असफल हुने खतरा हुन्छ भन्ने हामी भलिभाँती जान्दछौं। खानाको हाइजिनमा ख्याल गर्छाैं। सेवा सत्कारको गुणस्तरमा ध्यान दिन्छौं। जसरी हुन्छ गुणस्तरीय सेवा दिने हाम्रो ध्याउन्न हुन्छ। पाहुना खुसी पार्ने र सधैंसधैं पोखरा बोलाइरहने उद्देश्य हो हाम्रो। सेवामा सम्झौता हुँदैन। गर्दैनौं। उच्चकोटीको परिकारकै लागि गुणस्तरीय उपकरणहरु किचनमा प्रयोग गर्छाैं। हामीले सम्झौता गथ्र्याैं र प्रतिष्ठाको ख्याल गरेका हुँदैनथ्यौं भने हाम्रो महोत्सव २० औं संस्करणसम्म आइपुग्ने र त्यो पनि प्रत्येक वर्ष भव्य हुँदै जान सम्भव थिएन भन्ने सचेत पर्यटकले बुझ्नुभएकै छ। हामीलाई यो महोत्सव अझै बृहत बनाउनु छ। नेपाल कार्निभलका रूपमा आगामी वर्षमा आयोजना गर्ने हाम्रो योजना छ।

महोत्सवमा अरु बेलाकै दररेटको मेनु चलाउँछौं। मूल्य बढाउँदैनौं। बरु छुटको अफर दिएका छौं। प्रोफेसलन हस्पिट्यालिटी दिन्छौं। स्वदेशी विदेशी पाहुनालाई हाम्रो न्यायो आतिथ्यताका स्वीकार्न अनुरोधसहित स्वागत गर्छाैं।

- गणेशबहादुर थापा, महासचिव, रेबान पोखरा

 युवालाई उद्यमशीलता सिकाउँछ

पोखरा सडक महोत्सवले युवालाई उद्यमशील हुन पनि प्रेरित गर्छ। नेपालमा केही गर्ने ठाउँ छैन भन्दै विदेश पलायन हुने युवालाई यस महोत्सवले सानो रेस्टुरेन्ट चलाए पनि यही आर्थिक लाभ लिन सकिन्छ भन्ने प्रत्येक्ष देख्न सकिन्छ। नेपालमा बनेका हस्तकलाका सामग्रीको विश्व पर्यटन बजारमा ठूलो डिमान्ड छ। 

सानो लगानीमा बनाइएका साना हस्तकलाका सामग्रीले पनि मूल्य राम्रो पाउने क्षेत्र हो पर्यटन उद्योग। यसैले देशकै साधन र स्रोत प्रयोग गरेर नेपालमै उद्यमशील बन्न पोखरा सडक महोत्सवले ठूलो प्रेरणा दिने विश्वास हामीले गरेका छौं।

पोखरा सडक महोत्सवमा बास, नियालोबाट बनेका साना साना सामग्रीले राम्रो मूल्य पाइरहेको हुन्छ। घरगाउँमा प्रशस्त पाइने सिस्नोका कपडालाई पनि विदेशीले राम्रो पैसा तिरेर किनिरहेका हुन्छन्। यी त साना उदाहरण मात्र हुन्। साना सानो विषयलाई पनि आकार दिन सके मूल्य छ भन्ने बुझ्न महोत्सव फलदायी छ।

पोखराको सुन्दरताको बयान गर्नु नै पर्दैन। फेवाताल किनारमा अन्नपूर्ण हिमशृंखला हेर्दै नेपाली कला संस्कृतिको अवलोकन गर्न पाउनु विदेशीका लागि ठूलो अवसर हो। पोखरा आएका पर्यटक पछिल्ला वर्ष दोहोर्‍याएर आउने गरेका छन्। पोखरा आएर फर्केका पर्यटकको माउथ टु माउथ एकले अर्कालाई पोखराका सडक महोत्सवबारे बताएका कारण पनि पर्यटक पोखरा आउन थालेका छन्।

पर्यटकका लागि अर्को आकर्षण भनेको नेपाली आर्गानिक खानाको परिकार हो। पोखरामै उत्पादन हुने आर्गानिक तरकारी, कोदोका परिकार, सेलरोटी लगायतले पनि पर्यटक नयाँ स्वादमा रमाउँछन्।

- गोपी भट्टराई, पूर्वअध्यक्ष ,रेबान पोखरा

विदेश जाने नेपालीको पैसा रोक्छ

१९ वर्षसम्म पुस, माघ, फागुन महिना होटल, रेस्टुरेन्ट बन्द गरेर बस्नुपर्ने अवस्था थियो। हुने खाने पर्यटन व्यवसायी आफै विदेश घुम्न निस्कन्थे। पदयात्रा पर्यटनले टिकेको पोखराको पर्यटन चिसो मौसमसँगै पदयात्राका लागि आउने पर्यटक हिमाली क्षेत्रमा चिसो बढेपछि नआउने भएकाले ह्वात्तै घट्छ।

यसको प्रत्यक्ष असर पोखरा लगायत पर्यटकीय सहरमा पनि पर्छ। पर्यटकलाई हिमाली क्षेत्रको पदयात्रामा मात्र होइन अंग्रेजी नयाँ वर्ष मनाउन पनि पोखरालाई गन्तव्य बनाउने उद्देश्यले सुरु भएको पोखरा सडक महोत्सवले अहिले गति लिएको हो। पर्यटक पछिल्लो समय पोखरामा क्रिसमस र नयाँ वर्ष मनाउन पनि आउने गरेका छन्। पोखरामा रहेका पर्यटक पनि पोखरामा बसाइ लम्ब्याउन थालेका छन्।

अंग्रेजी नयाँ वर्षमा विदेश जाने नेपाली युवायुवती, उद्योगीको डिस्टिनेसन पनि पोखरा भएको छ। यस कारण विदेशिने नेपाली पैसा नेपालमै रोक्न पनि पोखरा सडक महोत्सवले रोकेको छ। पोखरा सडक महोत्सव अहिले नेपालकै सबैभन्दा ठूलो महोत्सव हुन पुगेको छ।

महोत्वसमा देशका विभिन्न सहरबाट आन्तरिक पर्यटक पोखरा आउँछन्। विदेशीलाई नेपाल परम्परा निकै चाल लाग्दो रैछ। ढिकी जाँतो गरेको, गुन्द्री बुनेको प्रत्येक्ष हेर्न पाइने गरी महोत्सवस्थलमा गुन्द्री बुन्ने काम हुन्छ। गन्धर्व संस्कृति सारंगी र मादल घन्काएर रेशम फिरिरि गाउँदा पर्यटक लट्ठ हुन्छन्। यसैले पनि सडक महोत्व अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास हुँदै गएको छ।

अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा विकास हुँदै गएको महोत्सवलाई राज्यले स्वामित्व लिएर यसको प्रवद्र्धनमा लाग्नुपर्छ।

सूर्यबहादुर भुजेल, पूर्वअध्यक्ष ,रेबान पोखरा

पोखरा नै महोत्सवमय हुन्छ

पोखरा सडक महोत्सवको तयारी भइरहँदा अहिले पोखरा नै महोत्सवमय भएको छ। पोखराको फेवाताल किनारमा महोत्सव भइरहँदा पोखराकै अर्को ताल बेगनास ताल किनारमा पनि त्यतिकै भीड बढेको छ। यो नै पोखरा सडक महोत्सवको सफलता हो। 

पोखरा वरवरका पर्यटकीय क्षेत्र सराङ्कोट, धम्पुसमात्र होइन अन्नपूर्ण क्षेत्रका घान्द्रुकसम्म पोखरा सडक महोत्सवमा आउने पर्यटक घुम्न जाने भएकाले सडक महोत्सवले पोखरामा रौनक ल्याएको छ। पोखरामा ३० हजार बेड क्षमताका सुबिधा सम्पन्न होटल छन्। महोत्सवका कम्तीमा तीन दिन सबै होटल भरिभराउ हुन्छन्।

महोत्सवमा आन्तरिकमात्र होइन विदेशी पर्यटकको पनि रोजाइमा पोखरा परेको छ। महोत्सवमा विभिन्न खानाका परिकार कलात्मक रूपमा सजाएर राखिन्छ। यसले पनि व्यवसायीलाई ग्राहक आकर्षण गर्न खाना कलात्मक रूपमा सजाउन प्रतिस्पर्धा नै चल्छ। सडक किनारमा राखिएका विभिन्न फलफूलमा बनाइएका कलात्मक सजावटले दर्शक लोभिन्छन् र फोटो नखिचि सुक्खै पाउँदैनन्।

पोखरा सडक महोत्सवमा देशकै संस्कृति पस्कने हुँदा पर्यटक रमाउँछन्। तस्बिर खिच्छन। विदेशी पर्यटक पनि कलात्मक सजावटबाट आकर्षित हुन्छन्। फलफूल तरकारीका परिकारमै नयाँ वर्षको शुभकामनादेखि विभिन्न सन्देशमूलक भनाइ पनि कलात्मक रूपमा लेखेर सजाइएको हुन्छ।

महोत्सवका पाँच दिन अर्थतन्त्र चलायमान बनाउने पोखरा सडक महोत्सवको विकासका लागि राज्यले पनि अन्तर्राष्ट्रिय पर्यटकीय ब्रान्डका रूपमा प्रवर्द्धनगर्न सघाउनुपर्छ। यसो हुन सके गण्डकी प्रदेशकै पर्यटकीय विकासमा महत्त्वपूर्ण हुनेछ।

- भीष्मराज पौडेल, पर्यटन व्यवसायी

सांस्कृतिक महोत्सव

पोखरा सडक महोत्सव देशमै हुने ठूलो संस्कृतिक महोत्सव पनि हो। सडक महोत्सवमा विभिन्न जातजातिका कला संस्कृति नृत्य प्रस्तुत हुन्छ। सातै प्रदेशका संस्कृति पस्कने भएकाले पनि विदेशी पर्यटकका लागि मात्र होइन आन्तरिक पर्यटकका लागि पनि महोत्सव नयाँ र रोचक हुँदै आएको छ।

यस वर्ष गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत सातै प्रदेशमा त्यहाँका सांस्कृतिक टोली ल्याउन पत्रचार गरिएको छ। गण्डकी प्रदेश भित्रका विभिन्न जनजातिको संस्कृति थप आकर्षण हुन्छ। हिमालदेखि तराईसम्मका विभिन्न सांस्कृतिक प्रस्तुतिले सडक महोत्सवलाई अझै रौनक दिने गरेको छ।

स्वदेशीमात्र होइन महोत्सवमा भारत, पाकिस्तान, कोरिया, चीन, जापान लगायत देशका कलाकारको पनि प्रस्तुति रहनेछ। यसले पनि पोखरा सडक महोत्सवसलाई थप रौनक दिने गर्छ। पर्यटक नेपाली र विदेशी कला संस्कृति देखेर मोहित हुन्छन्। सडकमा बसेर खानाका परिकारसँगै विभिन्न जनजातिका संस्कृति अवलोकन गर्न पाउनुले पर्यटक दंग पर्छन्।

महोत्सव उद्घाटन सत्रमा परम्परागत भेषभूषामा सजिएर हलो, जुवा, ढोको बोकेर र्‍यालीमा हिँडेको दृश्य लोभलाग्दो हुन्छ। प्लास्टिकका सामग्रीले विस्थापित हुँदै गएका बाँसका सामग्री देख्दा नेपाली युवा पनि आकर्षित हुन्छन्।

- चौबहादुर गुरुङ, पूर्वअध्यक्ष रेबान पोखरा

फुड, कल्चर र म्युजिक

अंग्रेजी नयाँ वर्षमा पोखरालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आयोजना हुँदै आएको सडक महोत्सव अवधिभर पाँच लाखभन्दा बढी पर्यटक आउँछन्। यति ठूलो भीड व्यवस्थित गर्नु चुनौतीपूर्ण हुन्छ। तर हामीले सधैं त्यो चुनौती सामाना गर्दै महोत्सव व्यवस्थित गर्दै आएका छौं। महोत्सव सभ्य र भव्य बनाउन सुरक्षाको व्यवस्था मिलाएका छौं।

सीसी क्यामेरा, सुरक्षाकर्मी र स्वंसेवक सुरक्षामा परिचालन हुन्छ। ३ किलोमिटर क्षेत्रमा हुने महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण फेवाताल किनारका होटलमात्र होइन, बेगनास, सराङ्कोट, महेन्द्रपुल, पृथ्वीचोकका होटल पनि कम्तीमा तीन दिन भरिभराउ हुन्छन्।पोखराको पर्यटनमा एउटा भाइब यो बेला देखिन्छ।

यसैले पोखरा सडक महोत्वस सबै पोखरेलीको महोत्सवका रूपमा विकास भएको छ। महोत्सवलाई थप आकर्षण बनाउन रेबान पोखराले बिगतका कमी कमजोरीबाट पाठ सिक्दै महोत्सवलाई परिमार्जित गर्दै लगेका छौं। राति ११ बजेसम्म महोत्सव सञ्चालन हुने भएकाले पोखरा बस व्यवसायी समितिसँगको समन्वयमा माहोत्सव अवधिभर रात्रिकालीन बस सेवा पनि सञ्चालन हुन्छ। यसले महोत्सवमा आउने आन्तरिक पर्यटकका लागि थप सुविधा पाउँछन्।

महोत्सवलाई पोखराका टोलटोलबाट आमा समूहले साथ दिन्छन्। आफ्नोआफ्नो परम्परागत भेषभूषामा सजिएर आमाहरू मेलामा सहभागी हुन्छन्। आमा समूहले परम्परागत ढिकी, जाँतोमा पीठो कुटेर विभिन्न खानाका परिकार पर्यटकलाई पस्कन्छन्। यसले नेपाली परम्परागत खानाको प्रवर्द्धनहुनुको साथै पर्यटकले नेपाली परम्परागत ढिकी, जातोसँग साक्षात्कार गर्न पाउँछन्।

- लक्ष्मण बराल, प्रथम उपाध्यक्ष, रेबान पोखरा

प्याराग्लाइडिङमा पनि छुट

पोखरा ९ ताल र हिमालको सहरमात्र होइन साहसिक खेलकुदको पनि राजधानी हो। बिनाइन्जिनको प्यारामा आकाशमा कावा खाँदै हिमाल, ताल, पोखरा बजारको अवलोकन गर्दा पर्यटक अलौकिक आनन्द मान्छन्।

यसैले अंग्रेजी नयाँ वर्षमा पोखराको लेकसाइडमा हुने सडक महोत्वमा आउने पर्यटकलाई प्याराग्लाइडिङमा पनि छुट दिन्छौं। सिजनका बेला ८ हजार रुपैयाँसम्म लिइने प्याराग्लाइडिङ गर्न नयाँ वर्षमा विशेष छुटसहित ५ हजारमा उपलब्ध गराउँछौं।

यसमा आकाशमा उडदा प्यारापाइलटले खिचेका पर्यटकको फोटोसमेत समावेश हुनेछ। नयाँ वर्षमा पोखरा घुम्न धेरैभन्दा धेरै पर्यटक आउन र भन्ने उद्देश्यमात्र भन्दा पनि आएका पर्यटकको मन जित्ने गरी हाइजेनिक खाना पस्किँदै आएका छौं। अन्तर्राष्ट्रिय स्तरको गुणस्तर महोत्वसमा हुने खानाका परिकारमा हुनेछ।

पोखरामा साहासिक खेल प्याराग्लाइडिङको साथै अल्ट्रालाइट, बञ्जीजम्प, जिप लाइनलगायत खेल पनि सञ्चालनमा छन्। यसैका कारण पनि पोखरामा पर्यटकको बसाइ लम्बिँदै गएको छ। पोखरा सडक महोत्सवका कारण पछिल्लो समयमा पोखरामा आउने पर्यटकको बसाइ लम्बिएको छ। ताल किनारमा हुने महोत्सवले पर्यटक निकै लोभिन्छन्।

- योगोश भट्टराई, द्वितीय उपाध्यक्ष, रेबान पोखरा

भारत र चीनमा प्रवर्द्धन गरौं

१९ वर्षअघि लेकसाइड सानो थियो। अहिले जस्ता न धेरै रेस्टुरेन्ट थिए न त धेरै होटल नै थिए। त्यतिबेला पुस, माघ महिना पर्यटक नआएर होटल, रेस्टुरेन्ट बन्द गर्नुपर्ने अवस्था थियो। त्यस्तो अवस्थामा रेबान सडक महोत्वसका रूपमा सुरु भएको महोत्सव अहिले देशै सबैभन्दा ठूलो महोत्सवका रूपमा विकास भएको छ। महोत्सवले पोखराको अर्थतन्त्र चलयमान बनाएको छ।

महोत्सवका कारण किसानका साग, अन्डा, मासु, माछाको व्यापार बढेको छ।राज्यलाई राजस्व, व्यवसायीलाई आर्थिक लाभ मिलेको छ।

पहिले लेकसाइडमा व्यापार नभएर सुरु भएको महोत्सवले अहिले महोत्सवका पाँच दिन पोखराको लेकसाइड मात्र होइन सराङ्कोट, बेगनास, धम्पुस समेत प्याक हुने गर्छ। नयाँ वर्ष मनाउन सबैभन्दा धेरै संख्या देशै भरबाट ८० प्रतिशत आन्तरिक पर्यटक पोखरा आउँछन्। पछिल्लो समय भारतीय पर्यटक पनि पोखरामा कार लिएरै नयाँ वर्ष मनाउन आउन थालेका छन्।

अंग्रेजी नयाँ वर्षलाई पोखरा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सुरु भएको महोत्सवले व्यापकता पाइसकेकाले अझै व्यापक बनाउन अन्तर्राष्ट्रिय बजारमा पनि यसको प्रवर्द्धनगर्नुपर्ने बेला भएको छ। चीन र भारतका विभिन्न सहरमा नयाँ वर्ष मनाउन पोखरा जाउँ भन्ने नाराका साथ अभियान सरकारको समेत सहयोगमा हुन सके अन्तर्राष्ट्रिय रूपमै पोखराको ब्रान्डिङ हुन्छ।

यसतर्फ सरकारले पनि सहयोग गर्नुपर्छ। गण्डकी प्रदेश सरकारले सन् २०२२ मा २० लाख पर्यटक प्रदेशमा भित्त्याउने बताइरहँदा प्रदेश सरकारले पनि यसतर्फ ध्यान दिनुपर्ने हुन्छ। महोत्सवमा हुने कला संस्कृतिले पर्यटकलाई लोभ्याउँछ। एकपटक महोत्सवमा आएका पर्यटक फेरिफेरि दोहोर्‍याएर पनि आउन थालेका छन्। पर्यटकले नै पोखराको नयँ वर्ष महोत्सवका बरेमा माउथ टू माउथ एकले अर्कालाई भनेको आधारमै पोखरा सडक महोत्सवमा पर्यटक पोखरा आएका छन्।

-  नरेश भट्टराई,पर्यटन व्यवसायी

सबै पोखरेलीको महोत्सव

अध्यक्ष, पोखरा पर्यटन परिषदपोखराका रेस्टुरेन्ट व्यवसायीको संगठन रेबानले आयोजना गर्दै आएको पोखरा सडक महोत्सव नेपालकै ठूलो महोत्सवका रूपमा विकास भइसकेको छ। यही महोत्सवका कारण १९ वर्षअघिसम्म प्रायः शून्य हुने पोखराको पर्यटन क्षेत्र अहिले महोत्सवको अवधि कम्तीमा तीन दिन पोखराका सबै होटल भरिभराउ हुने गरेका छन्।

महोत्सवले होटल, रेस्टुरेन्टको मात्रै व्यापार बढ्दैन। किसानले उत्पादन गर्ने तरकारी, मासु, हस्तकलाका सामग्रीको बिक्री बढ्छ। पोखराको सम्पूर्ण आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पार्छ। सडक महोत्सवले सबै क्षेत्रलाई चलायमान बनाउने गरेको छ। महोत्सवमा देखाइने नेपाली कला संस्कृतिले पर्यटकलाई मोहित पारेको छ। आन्तरिक पर्यटक, युवा विद्यार्थीका लागि नेपाली कला संस्कृति बुझ्नेस्थलका रूपमा महोत्सव विकास भएको छ।

पोखरा सडक महोत्सवलाई अन्तर्राष्ट्रिय फेस्टिभलका रूपमा विकास गर्न सरकारले विभिन्न देशमा प्रवद्र्धनात्मक कार्यक्रम गरी त्यसैअनुसारको सेवा सुविधा उपलब्ध गराउन सके अंग्रेजी नयाँ वर्ष पोखरा पर्यटकीय गन्तव्यका रूपमा अझै विकास हुन ठूलो मद्दत पुग्छ। व्यवसायीले सुरु गरेको यो अभियानलाई सरकारले पनि साथ र सहयोग दिन सके गण्डकी प्रदेशको राजधानी पोखरा नेपालकै पर्यटकीय हबका रूपमा विकास हुन्छ।

- चिरञ्जीवी पोखरेल, अध्यक्ष, पोखरा पर्यटन परिषद पोखराका रेस्टुरेन्ट


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.