गरिब गल्फरको उज्यालो यात्रा : खेलेरै घर उपहार

गरिब गल्फरको उज्यालो यात्रा : खेलेरै घर उपहार

सुनसरी : अमेच्योर गल्फर २१ वर्षीय शुक्रबहादुर राईले शुक्रबार सूर्य नेपाल इस्टर्न ओपन गल्फ टोर्नामेन्टमा नेपालका नम्बर एक गल्फर शिवराम श्रेष्ठलाई समेत पछि पार्दै प्रोफेशनल र अमेच्योर दुवैतर्फको ट्रफी जीते ।

तर उनी अमेच्योर भएकै कारण नगद पुरस्कार पाउन सकेनन् । उनै शुक्रबहादुरले शनिबार घर उपहार पाएका छन् । नाजुक आर्थिक अवस्थाका उनलाई धरान, काठमाडौंदेखि बेलायत, सिंगापुर, हङकङ लगायत नेपाली गल्फरहरुले घर बनाएर दिएका हुन् ।

शनिबार घर अगाडि नै कार्यक्रम आयोजना गरी गल्फरहरुले उनलाई घरको साँचो हस्तान्तरण गर्दा शुक्रबहादुर निक्कै खुसी देखिए । उनले खुसी व्यक्त गर्दै भने, ‘रहरले खेल्न थालेको गल्फकै कारण घर उपहार पाएँ । अब यसमै निरन्तर लागेर देशको नाम राख्ने छु ।’

धरान–१९ का शुक्रबहादुर राई सानैदेखि गल्फ खेल्न रुचि राख्थे । त्यसै पनि गल्फलाई धनाढ्यको खेल भनिन्छ । शुक्रलाई आमाले छाडेर हिँडिन् । बावु ज्याला मजदुरी गर्छन् । उनलाई गल्फर बन्न सजिलो थिएन । घर नजिकै गल्फकोर्ष थियो ।

शुक्र गल्फ खेलाडीको बल टिप्ने र झोला बोक्ने सहयोगी (ब्याडी ब्वाई) बनेर कोर्षमा छिरेका थिए । सन् २०१० बाट गल्फकोर्ष छिरेका शुक्र चार वर्षपछि आफैँ अब्बल खेलाडी बने ।

शुक्रको धरान–१९ मा रहेको सानो जग्गामा काठको चुहिने घर थियो । त्यो पनि भत्किएपछि उनको परिवार पाल टाँगेरै सुत्नुपथ्र्यो । कहिले त खुल्ला ठाउँमै खाना पकाएर खान्थे । उनको आर्थिक अवस्था र गल्फमा गरिरहेको प्रगतिबारे केही समयअघि एपीवान टेलिभिजनले ३ मिनेट ५० सेकेन्डको भिडियो प्रशारण समेत गरेको थियो । त्यसपछि देश–विदेशबाट उनलाई सहयोग प्राप्त हुन थाल्यो ।

शुक्रको घर निर्माणमा गल्फरहरु पनि सक्रियतापूवर्क लागेका थिए । उनीहरुले देशविदेशबाट ८ लाख ८२ हजार संकलन गरेका थिए । त्यसमध्ये करिब ८ लाख खर्चेर घर बनाइएको हो ।

तर अझै पनि घरका कोठामा सुत्ने फर्निचर छैन । भुईँमै सुत्ने गरेका छन् । शुक्रबहादुरले जीतेका दर्जनौं ट्रफी र प्रमाणपत्र कोठाभित्र सानो खाटमा राखिएका छन् ।शनिबार उनलाई घर हस्तान्तरण गर्ने कार्यक्रममा उपस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले उनको अवस्था देखेर तुरन्तै २० हजार सहयोग गरे ।

कार्यक्रममा उपस्थित गल्फर तेजबहादुर राईले ५० हजार दिए । शुक्रबहादुरका बुवा लक्ष्मण राई भन्छन्, ‘मैले छोरालाई गल्फ नखेल, पैसा कमाउन विदेश जा भनेर कर गरेँ तर मानेन । आज गल्फ खेलेरै घर बनाउन सक्यो । अब यसलाई खेलमै लाग्न सहयोग गर्छु ।’

नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष तिलक राई शुक्रको घरमा अपुग भएका फर्निचरहरुको व्यवस्था गर्न पनि सहयोग जुटाउने र उनको खेलमा सहयोग गर्ने बताउँछन् ।

नेपाल प्रोफेशनल गल्फर्स एसोसिएसनका केन्द्रीय महासचिव दीपक आचार्य भन्छन्, ‘छोटो समयमा शुक्रको प्रगति देख्दा उसले कुनै दिन अन्तर्राष्ट्रियस्तरसम्म पुग्न सक्छ भन्ने आशा गरेका छौँ । उसलाई गल्फमै लाग्न सहयोग गर्ने छौँ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.