नवदुर्गा देवगणलाई ‘सिजः टेप्पः’
भक्तपुर : भक्तपुरको प्रसिद्ध नवदुर्गा गणनाचका १२ सदस्यलाई एक एक थान ‘सिजः टेप्पः’ (तामाको घ्याम्पो) चढाइएको छ। भक्तपुर नगरपालिका–५ घर भई हाल ८ वडा लिवाली बस्दै आएका नारायणप्रसाद खाइतूले नवदुर्गा देवगणलाई उक्त घ्याम्पो चढाएका हुन्।
देवगणले नवदुर्गा नाच प्रदर्शन गर्दा लगाउने गरगहना, पोसाक लगायतका आफ्नो सरसामान सुरक्षित राख्न उक्त घ्याम्पो प्रयोग गर्दै आएका छन्। यसअघि मल्लकालीन घ्याम्पो जीर्ण भएपछि देवगणको मागअनुसार उक्त घ्याम्पो चढाएको भक्तजन खाइतूले जनाए।
आफू धर्मप्रति आस्था राख्ने भएकाले नवदुर्गा मन्दिरमा पूजाआजाका लागि जाँदा देवगणहरूले आफूहरूको गरगहना र पोसाक राख्ने घ्याम्पो जीर्ण भएको जानकारी पाएपछि आफूले त्यसको व्यवस्था गरिदिएको उनी बताउँछन्। उनका अनुसार करिब चार महिनाको तयारीपछि नवदुर्गा देवगणलाई विधिवत् ‘द्यः ब्वकेयेगू’ (पूजाआजा तथा भोजन) सँगै उक्त सिजः टेप्पः हस्तान्तरण गरिएको हो। प्रत्येक घ्याम्पोमा देवगणअनुसार उनीहरूको प्रतिमा र देवगणको नाम अंकित छ।
उनले नवदुर्गा देवगणअन्तर्गत महालक्ष्मी, गणेश, ब्रह्मायणी, माहेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, दुम्हः (व्याघ्रिणी), महाकाली, भैरव र सिम्हःलाई एकएक थान घ्याम्पो हस्तान्तरण गरेका छन्।
देवगणहरूका अनुसार पहिले उक्त घ्याम्पो माटोका थिए। माटोपछि काठको पनि घ्याम्पो देवगणलाई उपलब्ध गराइएको थियो। पछिल्लो मल्लकालमा भने तामाको घ्याम्पोको व्यवस्था गरिएको नवदुर्गा देवगण सदस्य नारायणमान वनमालाले जानकारी दिए। उनले उक्त घ्याम्पो धेरैपटक मर्मत गरिएकाले जीर्ण अवस्थामा पुगेको सुनाए।
उनका अनुसार उक्त घ्याम्पो भक्तपुर नगरपालिका–९ स्थित नवदुर्गा मन्दिर एवं द्योछें (देवघर) को भण्डार कोठामा राखिन्छ। नवदुर्गा देवगणले नाच प्रदर्शन र अन्य पूजा कार्यमा बाहेक गरगहना तथा पोसाक लगाउँदैनन्। उक्त बेला देवगणको गरगहना र पोसाक यही घ्याम्पोमा सुरक्षित गरिराख्ने प्रचलन रहेको देवगण सदस्य वनमालाले जानकारी दिए।