घ्याङडाँडा दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति

घ्याङडाँडा दुर्घटनाका मृतकका परिवारलाई क्षतिपूर्ति

नुवाकोट : तीन साता अगाडि नुवाकोटको दुर्गम घ्याङडाँडामा भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाएकाको परिवारलाई क्षतिपूर्ति उपलब्ध वितरण गरिएको छ।सदरमुकाम विदुदेखि ५० किलोमिटर पूर्वमा रहेको दुप्चेश्वर गाउँपालिका- १ घ्याङडाँडामा गत मङ्सिर २८ गते मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका २१ जनाका परिवारलाई राहतस्वरुप गाउँपालिकाले जनही २५-२५ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको हो।

गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य र प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेलसहितको टोलीले २१ जना मृतकका परिवारलाई मृतकको धार्मिक संस्कारअनुसार परम्परागत कार्य गर्नका लागि राहतस्वरुप सो रकम उपलब्ध गराएको हो।

मिनीट्रक दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिका परिवारको आर्थिक अवस्था निकै कमजोर भएको र मिनीट्रकमा यात्रुको बीमासमेत नहुने भएकाले सहयोगस्वरुप राहत रकम घरघरमै पुगेर उपलब्ध गराएको गाउँपालिकाको अध्यक्ष तामाङले बताए ।

सोही समयमा ज्यान गुमाएका व्यक्तिको मृत्यु दर्ता पनि वडा कार्यालयमार्फत घरघरमै गएर प्रदान गरिएको छ। उक्त दुर्घटनामा परी ज्यान गुमाएका व्यक्तिको आर्थिक अवस्था निकै कमजोर भएकाले आर्थिक सहयोग प्रदान गरिएको हो। 

यसका साथै मृतकका परिवारलाई सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ४ थप्रेकका ईश्वर कार्कीमार्फत संकलन भएको ४४ हजार रुपैयाँ गाउँपालिकामार्फत मृतकका परिवारलाई सहयोग स्वरुप उपलब्ध गराइएको प्रमुख प्रशासकीय अधिकृत रामहरि गजुरेलले बताए। 

यसैगरी, नुवाकोटको शिवपुरी गाउँपालिकाले पनि सहयोगस्वरुप दुई लाख १० हजार रुपैयाँ दुप्चेश्वर गाउँपालिकालाई उपलब्ध गराएको छ। दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई सहयोगस्वरुप दुप्चेश्वर गाउँपालिका-७ शिखरबेँसीका व्यवसायी सुशील खड्काले यसअघि प्रति मृतकका परिवारलाई १०-१० हजार रुपैयाँ उपलब्ध गराइसकेका छन्। सो दुर्घटनामा घटनास्थलमा नै १८ जना र उपचारको क्रममा थप तीन गरी २१ जनाको मृत्यु भएको थियो।

गम्भीर घाइते १३ जनाको अहिले पनि काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको उपचारका क्रममा आर्थिक अभाव भएकाले सहयोगका लागि गाउँपालिकाले गरेको अपिलअनुसार दाताबाट सहयोग जुट्ने क्रम पनि जारी छ। 

हालसम्म तामाङ समाज अमेरिकाको तर्फबाट संस्थाका महासचिव बुद्धिमान तामाङको पहलमा एक लाख, दुप्चेश्वर गाउँपालिका-६ समुन्द्रटारका मधुकर पाण्डेबाट १ लाख, हिरारत्न जलविद्युत् आयोजनाले ५० हजार, शिक्षक सङ्घ नुवाकोटले ११ हजार, दुप्चेश्वर गाउँपालिका-५ का वडासदस्य होमबहादुर तामाङले नौ हजार रुपैयाँ उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ।

घाइतेहरुको उपचारका लागि स्थानीय जनप्रतिनिधिको पहलमा नेपाल सरकारले निःशुल्क उपचारका लागि प्रबन्ध गराउन पहल भइरहेको जनाएको छ।सो दुर्घटनालगत्तै मिनिट्रकका चालक रामभक्त थापा र सह-चालक साने बुढाथोकी अझै फरार छन्। संघीय सरकारले पनि मृतकका परिवारलाई राहत दिनुपर्ने माग स्थानीयले गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.