अनलाइन पेमेन्टले उपभोक्तालाई राहत

अनलाइन पेमेन्टले उपभोक्तालाई राहत

दमौली : व्यास २ का गणेश गुरुङले नेपाल टेलिकमको एडीएसएल सेवा लिइरहेका छन्। बिल भुक्तानीका लागि कार्यालय समयभित्र टेलिकम जान नभ्याउँदा उनको लाइन बन्द हुन्थ्यो। यसले गर्दा साथमा पैसा भएर पनि उनले चाहेका बेला सेवा खुलाउन सकेका थिएनन्। यही झोंकमा सेवा नै फेर्ने अवस्थामा पुग्न लागेका उनलाई अब भने राहत मिलेको छ।

उनले घरबाटै चाहेका बेला इन्टरनेटको बिल तिर्छन्। उनको समयको बचत भएको छ भने सुविधा पनि पुगेको छ। अहिले हात हातमै भएका मोबाइल र इन्टरनेट बैंकिङ सुविधाका कारण घरमै बसेर टेलिफोन तथा विद्युत्को बिल तिर्न सकिने भएपछि ग्राहकले सुविधा पाएका छन्। यसले सेवाप्रदायकलाई पनि एकैपटक भीड हुने अवस्थाको अन्त्य गराइदिएको छ भने उपभोक्ताले सहज महसुस गरिरहेका छन्।

यसअघि बैंक तथा वित्तीय संस्थाले पनि खाताबाट बिल तिर्ने सुविधा दिए पनि धेरै कमले मात्र त्यो सुविधा लिएका थिए। तर ई–सेवामार्फत मोबाइलबाटै रकम भुक्तानी गर्ने सुविधा सुरु भएपछि कार्यालयमै आएर रकम भुक्तानी गर्नेको संख्यामा गिरावट आएको नेपाल विद्युत् प्राधिकरण दमौली वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए।

दैनिक सरदर ६० जनाले ई–सेवाबाट रकम भुक्तानी गर्ने गरेको उनले बताए। गत वैशाख १० गतेबाट हालसम्म आठ हजार एक सय २६ जनाले ई–सेवा बाट एक करोड १८ लाख ७६ हजार आठ सय ८९ को रकम भुक्तानी भएको उनले बताए। ई–सेवाबाट रकम तिर्न मिल्ने भएपछि सवारी साधन चढेर चापाघाटको वितरण केन्द्रमा पुग्ने र लाइन लाग्ने समस्याबाट जोगिन उपभोक्ताले विकल्प रोजेका छन्। दमौलीमै रकम तिर्नेको संख्या बढेपछि कतिपय पसलले ई–सेवामार्फत बिल तिर्न काउन्टर पनि खोलेका छन्। भादगाउँ तथा अन्यत्र पनि यस्ता पसल बढिरहेका छन्। आफ्नै ई–सेवा खाता नहुनेले पनि नजिकैको पसलमा रकम तिर्न पाएपछि सहजता मिलेको बताएका छन्।

तनहुँ स्टेसनरीका सञ्चालक समुन्द्र पौडेलले ई–सेवाबाट टेलिफोन, इन्टरनेट र बत्तीको बिल तिर्नेको संख्या बढेको बताए। यसअघि रिचार्जका लागि यो सेवा बढी उपयोग हुने गरेकामा दमौलीको खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले पनि अहिले ई–सेवाबाट भुक्तानी लिइरहेको छ।

मोबाइलबाटै कसरी पैसा तिर्ने ?

इन्टरनेटमा रहेको ई–सेवा तथा आईएमई पे जस्ता एप डाउनलोड गरेपछि मोबाइल नम्बरका आधारमा खाता बनाउन सकिन्छ। आवश्यक जानकारी दिइसकेपश्चात खाता सञ्चालन हुन्छ। ई–सेवा तथा आईएमई पेमा रहेको मोबाइल नम्बरसहितको खातामा बैंकको मोबाइल बैंकिङ सेवा अथवा बैंकमा गएर मोबाइल नम्बरमा पैसा जम्मा गरेर रकम राख्न सकिन्छ।

सोही रकमका आधारमा मोबाइल फोन, बत्ती, खानेपानी बिल तिर्न सकिन्छ। युट्युबमा पनि ई–सेवा तथा आईएमई पेले खाता बनाउने र चलाउने तरिकाबारे भिडियो राखेका छन्। त्यसबाट पनि आवश्यक जानकारी लिन सकिन्छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.