प्याराग्लाइडिङ परीक्षण मात्रै

प्याराग्लाइडिङ परीक्षण मात्रै

सिक्किमको ओ एड्भेन्चर कम्पनीमा कार्यरत पाइलट केशव अधिकारीले फिदिमको आकाशमा प्याराग्लाइडिङको सफल परीक्षण उडान गर्दा प्रहरीको फन्दामा परे। पहिलोपटक सोलो ग्लाइडर (एक जना मात्र उड्न मिल्ने) प्याराग्लाडिङ सफलतापूर्व उडाएका उनलाई तामझामसाथ स्वागत गरिएला भन्ने धेरैको अनुमान थियो। तर, यस विपरीत उनलाई समातेर प्रहरीले एक घण्टा थुनिदिए। थुनामा मात्र परेनन् परीक्षण उडान गर्न उक्साउने संस्थाले सरकारलाई १० हजार रुपैयाँ जरिवानासमेत तिर्नुपर्‍यो।

फिदिम–३ स्थित लब्रेकुटी डाँडाबाट पाँच महिनाअघि पहिलो पटक परीक्षण उडान भरिएको थियो। अधिकारीले लब्रेकुटीबाट उडान भरेर आठ मिनेट आकासमै कावा खाँदै बतासे भन्ने ठाउँमा सुरक्षित अवतरण गरेका थिए। जमिनदेखि चार सय ५० फिट उचाइमा गरिएको यो सफल उडान भने अवैध थियो। जिल्ला प्रशासन कार्यालय पाँचथरले १० हजार जरिवाना गरायो।

दोस्रो चरणमा फिदिम–३ स्थित रमिते डाँडाबाट गरिएको उडान १७ मिनेटपछि फिदिम उच्च माविको खेल मैदानमा अवतरण भयो। अधिकारीले फिदिममा प्याराग्लाइडिङको उच्च सम्भावना रहेको प्रतिक्रिया दिए तर त्यसयता प्याराग्लाइडिङको फिदिममा उडान र अवतरण भएको छैन। अधिकारीले भने, ‘व्यावसयिक उडान गर्न ‘रेन्डम ग्लाइडर’ राम्रोसँग सञ्चालन गर्न सकिन्छ। यहाँको मौसम र प्रकृति उपयुक्त छ।’

फिदिमका युवा व्यवसायी दिलिप अधिकारी, गणेश काफ्ले र रमेश अधिकारीको पहलमा प्याराग्लाइडिङको परीक्षण गरिएको हो। साहसिक पर्यटनलाई विकास गर्ने उद्देश्यले गरे पनि कानुनी प्रक्रिया नपुर्‍याउँदा साहसिक पर्यटनको सम्भावना खोज्ने नै प्रशासनको फन्दामा परे। दिलिप अधिकारीले भने, ‘परीक्षण उडान सफल भएको छ। अब व्यावसायिक उडानका लागि प्रक्रिया अघि बढाउने तयारी गरेका छौं।’ प्याराग्लाइडिङमार्फत फिदिममा प्रशस्तै पर्यटक भिœयाउने सम्भावना रहेको उनले बताए।

स्थानीय सरकारको कम चासो

इलामको आकर्षक पर्यटकीय गन्तव्य अन्तुमा प्याराग्लाइडिङको सफल परीक्षण हुँदा स्थानीयवासी निकै खुसी भए। तर, यो प्रयास परीक्षणमै सीमित बनेको छ। अन्तमा व्यावसायिक उडान हुने योजना नै बन्न सकेको छैन।

खासमा यो उडान प्रशासनलाई जानकारी नदिई र सूर्योदय नगरपालिकासँगसमेत समन्वय नगरी गरिएको थियो। ग्रामीण पर्यटनको अभ्यास गरिरहेको सूर्योदय नगरपालिकाले समेत जानकारी नपाएको बताउँदै प्रवक्ता पेमा उर्गेन लामाले भने, ‘हामीसँग समन्वय नै नगरी गरिएको परीक्षणले व्यावसायिक र मूर्तरुप पाउन सकेको छैन। यसबारे कानुनी हिसाबले हामीसँग पनि कुनै समन्वय र छलफल भएको छैन।’ परीक्षण गर्ने संस्था र व्यक्तिले स्थानीय सरकारसँग समन्वय नगरेकै कारण यसबारेमा योजना बनाउन नसकिएको लामाले बताएका छन्। इलामको कन्याममा पनि प्याराग्लाइडिङको उच्च सम्भावना रहेको परीक्षणमा संलग्न समूहले जनाएको छ।

सदरमुकामका विभिन्न स्थानमा परीक्षणको प्रयास गरेको प्याराग्लाइडरको टोली अन्तु पुगेको थियो। त्यहाँ सफलता मिल्यो। अन्तुबाट महेन्द्रबेसी सिद्धिखोलासम्म सफल परीक्षण गर्दै १५ मिनेटसम्मको उडानमार्फत पाइलट विवेक शम्शेर राणा अन्तुको आकाशमा उडेका थिए। प्याराग्लाइडिङको सम्भावना देखेका अन्तुबासीले इलाममा आएको टोलीलाई भव्य स्वागत गरे। सुकिलुम्बा विमानस्थलमा उडानको अभ्यास भए पनि खराब मौसमका कारण उडान हुन सकेन। एक दशकभन्दा बढी समयदेखि स्वदेशी र विदेशी पर्यटक भिœयाउन अन्तुबासी कस्सिएका छन्। होमस्टे सञ्चालन गरेका छन्। पछिल्लो पटक पर्यटक तान्ने उद्देश्यले गरिएको प्लाराग्लाइडिङको परीक्षण पनि आन्तरिक पर्यटनकै लागि भएको स्थानीयको कथन छ।

पाइलट राणाका अनुसार ३६ डिग्री सेल्सियस तापक्रमसम्मका स्थानमा प्याराग्लाइडिङ सञ्चालन गर्न वातावरण उपयुक्त हुन्छ। हावाको बहाव दु्रत हुनुपर्ने दृष्टिले इलाम उपयुक्त ठाउँ हुँदा प्याराग्लाइडिङ सम्भावना अध्ययनका लागि आएको राणाले बताए। सम्भावना अध्ययनका लागि प्याराग्लाइडिङ पाइलट विवेक सम्शेर राणा र विवेक लावती आएका थिए।

उडानमा पहल लिएको इलाम सोसाइटी यूकेकी संस्थापक अध्यक्ष सुमित्रा लाबुङ राईले इलाममा पर्यटन प्रवद्र्धन गर्न आफूहरूले सानो प्रयास गरेको बताउँदै भनिन्, ‘पर्यटक बढ्ने हुँदा व्यावसायिक उडान गर्न पनि सरकारसँग समन्वय गरेर काम गर्ने योजनामा छौं तर सरकारले गर्ने सहयोगमा पनि कमी हुनु हुँदैन।’

इलाममा थुप्रै पर्यटकीय क्षेत्र, अग्ला थुम्काथुम्की र प्याराग्लाइडिङको सम्भावना भए पनि इलामका स्थानीय तहले यसको विकासका लागि योजना बनाएरै लगानी भिœयाउन प्रयास गरेका छैनन्। केही महिनायता इलाम, देउमाई र सूर्योदय नगरपालिकामा व्यवसायीले प्याराग्लाइडिङको परीक्षण त गरे तर स्थानीय सरकारले चासो नदिँदा व्यावसायिकताको प्रक्रिया भने अघि बढ्न सकेको छैन।

इलाम घुम्न आउने अधिकांश पर्यटकको पहिलो बास अन्तुमा हुने गर्छ। कात्तिक लागेसँगै सूर्योदयको मनमोहक दृश्य हेर्न यहाँ पर्यटकको भीड बढ्छ। प्याराग्लाइडिङ सफल भएसँगै अन्तुमा पर्यटकको आगमन थप बढ्ने स्थानीयको अपेक्षा छ। अन्तु पर्यटन समितिका अध्यक्ष धनकुमार आले भन्छन्, ‘प्याराग्लाइडिङ पर्यटक तान्ने राम्रो कडी हुन सक्छ। यसलाई चासो दिएर स्थानीय सरकारले पनि पहल गर्नुपर्छ।’ अन्तुमा लोपोन्मुख लेप्चा जातिको कला, संस्कृति र साहित्यको अवलोकन तथा अध्ययन गर्न पर्यटक आउने गरेको आले बताउँछन्। यहाँ साना ठूला गरेर ४० भन्दा बढी होमस्टे पनि सञ्चालनमा छन्। भारत र भुटानका पर्यटकको रोजाइमा पर्ने यो ठाउँमा चियाबारीको रमाइलो र अन्तु पोखरीको अवलोकन पर्यटकको घुम्ने सूचीमा पर्ने गरेको छ।

देउमाई नपाको गुफाथुम्कीबाट सफल परीक्षण भयो। पर्यटन व्यवसायी तथा प्याराग्लाइडर वाङचु शेर्पा गुफाथुम्कीबाट उडेर गुम्बाडाँडामा अवतरण गरे। देउमाई नपा ४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोला भन्छन्, ‘नगरपालिकाकै पहलमा सम्भाव्यता अध्ययन सुरु गरिए तर व्यावसायिक उडान गर्न निजी क्षेत्रले नै पहल लिनुपर्छ।’ उनले प्याराग्लाइडिङको विकासमा नगरपालिकाले सहयोग गर्ने नीति लिएको सुनाए। इलाम नपाका प्रवक्ता ठाकुर        श्रेष्ठले अहिल्यै व्यावसायिक रूपमा अघि बढ्ने भन्ने नगरको कुनै योजना नरहेको सुनाउँदै भने, ‘यसको सम्भावनाबारे भने छलफल चलाएका छौं।’

खुल्यो पाइलट स्कुल

उदयपुरको बेलका नगरपालिकामा प्याराग्लाइडिङ पाइलट प्रशिक्षण केन्द्र सुरु भएको छ। वडा नम्बर ८ को बोपताङ डाँडाबाट कोशी टप्पुको सिसौली घाटमा अवतरण गर्ने गरी प्रि–बेसिक र बेसिक प्याराग्लाइडिङ तालिम सुरु गरिएको हो। नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङ ग्लाइडिङ संघले राष्ट्रिय खेलकुद विकास समितिको सहयोगमा गत वर्षको फागुनमा परीक्षण उडान गरेसँगै प्रशिक्षण सुरु गरिएको हो।

संघको सहयोग र बुढासुब्बा एड्भेन्चर प्रालि धरानको समन्वयमा सुरु भएको प्रशिक्षणमा ६ जना प्रशिक्षार्थी छन्। बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले नपाले आफ्नै लगानीमा प्याराग्लाडिङ तालिम प्रशिक्षण केन्द्रमा अनुमति लिएको बताउँदै भने, ‘प्रशिक्षणको क्रममा हाल दैनिक १८/२० पटक उडान गर्दै आएका छन्।’ प्रशिक्षण विदेशी प्रशिक्षक ब्रिटिसका पेट ग्लेगर र स्वदेशी राम राईले दिई रहेका छन्। प्रशिक्षणमा उदयपुरका एक, पोखराका तीन, पाल्पाका एक र धरानका एक जना सहभागी छन्। ‘पहिलो ब्याचलाई प्रारम्भिक चरणको तालिम दिइरहेका छौं’, बुढासुब्बा प्याराग्लाइडिङ धरानका अध्यक्ष लेखमणि जिमीले भने, ‘नगरपालिकासँगको समन्वयमा प्रशिक्षार्थी क्रमशः बढाउने योजना छ। यहाँबाट तयार भएको जनशक्ति प्रदेश १ मै प्रयोग गर्ने लक्ष्य छ।’

संस्थाले होस्टेल बसे एक लाख ५० हजार र होस्टेल नबस्दा एक लाख ३० हजार लिने गरी तालिमको व्यवस्थापन गरेको हो। दोस्रो चरणको तालिममा बेलका नगरपालिकाको ८ जनालाई सहयोग गर्ने तयारी गरिएको छ। नगरपालिकाले ५० हजार छात्रवृत्ति प्रदान गरेको छ।

यसअघि उनीहरूलाई जमिनमै कसरी उड्ने र कस्ता विधि अपाउनुपर्नेजस्ता आधारभूत विषयको कक्षागत जानकारी दिइएको थियो। प्रशिक्षणका लागि बोप्ताङ डाँडा प्रयोग भए पनि व्यावसायिकताका लागि प्याराग्लाइडिङ उडान भर्न चम्पाकोट डाँडा लगिने बताउँदै मेयर थापाले भने, ‘प्रशिक्षण पाएका युवाले व्यावसायिक रूपमा काम अघि बढाउने अपेक्षा लिएका छौं।’

प्रशिक्षार्थी कमल राईले तालिम लिइसकेपछि व्यावसायिक रूपले अघि बढ्ने बताए। उनले भने, ‘विदेश जाने योजनामा थिएँ, यतै केही गर्न सक्छु भन्ने हिम्मत बढेको छ।’ बोपताङ डाँडा समुन्द्र सतहदेखि पाँच सय १० मिटर र चम्पाकोट डाँडा समुन्द्र सतहदेखि सात सय मिटरको उचाइमा अवस्थित छ।

प्याराग्लाइडिङ पाइलट बन्न करिब तीन वर्षको समय र तीन लाख खर्च लाग्ने अध्यक्ष जिमीले बताए। प्रारम्भिक चरणको १५ दिनको आधारभूत तालिमसँगै सोलो पाइलटले दुई वर्षमा डेन्डम कोर्ष गरी व्यावसायिक उडन गर्न सक्छ। व्यावसायिक बनाउन कोशीटप्पु क्षेत्रमा रहेको २५ बिघा जमिनलाई प्रयोगमा ल्याउने योजना रहेको मेयर थापाले सुनाए।

प्रदेश सरकारको तयारी

पर्यटनलाई विकासको प्रमुख आधार बनाएको प्रदेश १ सरकारले प्याराग्लाइडिङलाई पनि प्राथमिकतामा राखेको छ। प्रदेशका पर्यटनमन्त्री जगदीशप्रसाद कुसियैतका अनुसार केही धार्मिक सर्किटको विकाससँगै सरकारले प्याराग्लाइडिङ र साहसिक पर्यटनलाई समेत प्राथमिकता दिएको छ। उनले भने,‘साहसिक पर्यटनलाई बढावा दिन प्रदेश सरकार तयार छ। यो संघीय सरकार मातहतको खेल भएकाले हामीले तत्कालै हौसला प्रदान गर्नेबाहेक केही गर्न नसक्ने अवस्था छ तर समन्वयको लागि भने काम भइरहेको छ।’

मन्त्री कुसियैतले प्याराग्लाइडिङका परीक्षण उडानसमेत इजाजत नै नलिइ हुने गर्नु, इजाजत नलिएका कम्पनी यसको प्रचारप्रसारमा लाग्नु समस्याको रूपमा देखा परेको बताए। उनले भने, ‘संघीय सरकारले नै इजाजत दिने व्यवस्था छ तर कानुन बनाएर अब यसलाई हामी मातहत ल्याउने योजना बनाएका छौं।’

प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा पर्यटनलाई महŒव दिएर बजेटसमेत छुट्याएको छ। खासगरी विराटराजाको दरबार क्षेत्रदेखि चतरा बराहक्षेत्रसम्म र त्योसँगै धरानका धार्मिकस्थल जोडिएका धार्मिक सर्किट प्रदेश सरकारको पर्यटन प्रवद्र्धन गर्न पहिलो प्राथमिकता भएको मन्त्री कुसियैतले बताए।

जीवित छ व्यावसायिक बन्ने आश

पूर्वमै पहिलोपटक धरानबाट प्याराग्लाइडिङको उडान सुरु भएको हो तर अहिलेसम्म धरानका प्याराग्लाइडिङ कम्पनी व्यावसायिक बन्न सकेका छैनन्। धरानमा ‘धरान स्काई एड्भेन्चर प्रालि’ले तीन वर्षअघिबाट भेडेटार मुनिको छोटीमोरङ डाँडाबाट धरानसम्म उडाउने गरेको छ। त्यस्तै ‘बुढासुब्बा प्याराग्लाइडिङ प्रालि’ले दुई वर्षअघिबाट धरानको रमिते डाँडा (चिन्डे डाँडा)बाट धरानसम्म उडाउने गरेको छ। दुवै कम्पनीले बेला बेला धरानको आकाशमा प्याराग्लाइडिङ उडाइरहेका छन् तर व्यावसायिक रूपमा उडान गर्न सकेका छैनन्।

सन् २००८देखि तयारी थालेको बुढासुब्बा प्याराग्लाइडिङ प्रालिले सन् २०१६ देखि प्याराग्लाइडिङ उडाउन थालेको हो। तर यसले अहिलेसम्म व्यावसायिक रूपमा लिन सकेको छैन। प्रालिका म्यानेजर राम राई भन्छन्, ‘अहिले उड्ने र उडाउने दुवैको अभाव छ।’

म्यानेजर राईका अनुसार प्याराग्लाइडिङका लागि सुरु÷सुरुमा चासो देखाए पनि अहिले उड्न चाहने कम छन्। उड्न चाहनेहरू हुँदा पनि उडाउने पाइलटको समस्या छ। अहिलेसम्म व्यवसायीले आफ्नै प्रयासमा प्याराग्लाइडिङ गरिरहेको तर सरकारले सहयोग नगरेको उनको गुनासो छ। उनी भन्छन्, ‘एक सय करोडको प्लेन र ६ लाखको ग्लाइडर दर्ता गराउन एउटै नियम छ, त्यसले पर्यटनमा केही गरौं भन्नेलाई अप्ठ्यारो परेको छ।’

‘धरान स्काई एड्भेन्चर प्रालि’का सञ्चालक रोशन अधिकारी उड्न चाहने आए पनि पाइलट नहुँदा समस्या भएको बताउँछन्। प्रालिले पाइलट नपाउँदा ६ महिना उडान नै बन्द गर्नु परेको थियो। पर्याप्त स्थानीय पाइलट नहुँदा अहिले उड्न चाहने आएपछि पोखराबाट पाइलट बोलाउने गरिएको छ। ८० लाखभन्दा बढी लगानी भइसकेको धरान स्काईले फाट्टफुट्ट ग्लाइडर उडाइरहेको छ। सञ्चालक अधिकारी भन्छन्, ‘अहिले प्याराग्लाइडिङ स्कुल सुरु भएको छ, स्थानीय पाइलट उत्पादन भएपछि नियमित उडाउन सकिन्छ भन्ने आशा छ।’

राष्ट्रिय खेलकुद परिषदन्तर्गतको नेपाल प्याराग्लाइडिङ एन्ड ह्यान्ड ग्लाइडिङ संघ (नेफा)ले उदयपुरको बेलका नगरपालिकामा प्याराग्लाइडिङ स्कुल सुरु भएको छ। यसअघि स्याङ्जाको सिरकोट र तनहुँको बन्दिपुरमा प्राइभेट रूपमा प्याराग्लाइडिङ तालिम केन्द्र सञ्चालनमा छन्। त्यसबाहेक सरकारी तबरबाट पहिलोपटक उदयपुरमा स्कुल सुरु भएको छ। यसबाट पूर्वका व्यवसायी आशावादी छन्।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँ प्याराग्लाइडिङ घट्ने र त्यसको साटो पूर्वमा बढ्ने आशामा व्यवसायी छन्। त्यस्तै जोगवनी–किमाथांका सडक निर्माणपछि पूर्वमा पर्यटकको आवागमन बढ्ने र त्यसले प्याराग्लाइडिङलाई फाइदा पुग्ने आशामा छन्। बुढासुब्बाका म्यानेजर राई भन्छन्, ‘सन् २०२० सम्म पूर्वमा प्याराग्लाइडिङ व्यावसायिक बन्न सक्छ भन्ने हाम्रो लक्ष्य हो।’

(फिदिमबाट भीमकुमार बाँस्कोटा, इलामबाट तोयानाथ भट्टराई,गाईघाटबाट भरत खड्का,सुनसरीबाट गोपाल दाहालको सहयोगमा )


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.