दिव्यज्योति आँखा अस्पताल : इजाजत रद्द, सेवा निर्बाध

दिव्यज्योति आँखा अस्पताल : इजाजत रद्द, सेवा निर्बाध

भद्रपुर : मापदण्ड नपुगेको भन्दै सरकारले अनुमति रद्द गरे पनि झापाको एक आँखा अस्पतालले निर्वाध सेवा सञ्चालन गरिरहेको छ । सञ्चालन अनुमति दिएको करिब नौ महिनापछि भवन असुरक्षित भएको भन्दै झापाको मेची दिव्यज्योति आँखा अस्पतालको  स्वास्थ्य मन्त्रालयले इजाजत रद्द गरेको थियो।

सहरी विकास र स्वास्थ्य मन्त्रालयको अनुसन्धानपश्चात् झापास्थित मेचिनगरमा रहेको मेची दिव्यज्योति आँखा अस्पताल सञ्चालनका लागि उपयुक्त नभएको ठहर गर्दै इजाजत रद्द गरेको हो। इजाजत रद्द भएको जानकारी मन्त्रालयले हालै पत्राचार गरी अस्पताललाई जानकारी गराएको स्वास्थ्य सचिव सुशील प्याकुरेलले बताए। 

'जुन घरमा अस्पताल छ उक्त घर भूकम्प प्रतिरोधी छैन भनेर बन्द गर्न पत्राचार गरेका हौं, प्याकुरेलले भने, '१ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयलाई पनि पत्राचार गरिसकेका छौँ।जिल्ला प्रशासन कार्यालय झापालाई पनि जानकारी गराएका छौं।'  

इजाजत रद्द गरिएको पत्र अस्पतालमा नआएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट मोनिका कर्माचार्यले बताइन्। 'भूकम्प प्रतिरोधात्मक घरलाई आधार मानेर बन्द गर्ने हो भने आँखा अस्पतालका लागि भूकम्प प्रतिरोधात्मक घर चाहिँदैन, 'उनले भनिन्।

मन्त्रालायले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा टेकु, प्रदेश स्वास्थ्य निर्देशनालय प्रदेश नम्बर १ बिराटनगरलाई समेत यस विषयमा जानकारी गराएको मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा उल्लेख छ। 

अनुमति दिनुअघि उक्त अस्पताल भवनको सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय, इलामले ०७४ चैत्र ४ गते अवलोकन गरेको थियो।अवलोकन गरेको डिभिजन कार्यालयले भोलिपल्ट नै उक्त संस्थाले विद्यमान स्थितिमा प्रयोग गरेको भवनको अवस्था र अधीनमा रही स्वास्थ्य सेवा संचालन गर्न अनुमति प्रदान वा नवीकरण गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।

उक्त सिफारिसअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय भद्रपुर झापाले संचालन स्वीकृत दिएको थियो।स्थानीय बासिन्दाले सरकारी कर्मचारीले भवन बाहिरबाट मात्र अवलोकन गरेर मापदण्डअनुसार भएको भनी अनुमति दिएकोमा भन्दै उजुरी हालेका थिए।

उजुरी उपर कारबाही हुँदा १५ शैयाको उक्त अस्पताल भवन सञ्चालन गर्न अयोग्य भेटिएको हो।यसबारे प्रदेश स्वास्थ्य सचिव ज्ञानबहादुर बस्नेतले १५ शैयासम्मको अस्पतालको अधिकार स्थानीय तहलाई र १५ देखि ५० सम्मको शैयाको अस्पतालको जिम्मेवारी मात्र प्रदेश सरकारलाई रहेको बताए। 'के गर्ने नगर्ने भन्ने बारे स्थानीय निकायको हातमा रहेको छ,' बस्नेतले भने। 

'मेचीनगर ७ स्थित श्री मेची दिव्यज्योति आई हस्पिटल प्रा.लिले पूर्वाधार मापदण्ड पूरा गरेको नपाइएको हुँदा उक्त अस्पतालमा उपचाररत बिरामीको उचित वैकल्पिक उपचारको व्यवस्था मिलाई भवनसम्बन्धी मापदण्ड पूरा नगरेसम्मका लागि उक्त अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा तत्काल बन्द गराई सोको जानकारी मन्त्रालयलाई गराई दिनु हुन निर्णयनुसार अनुरोध छ' मन्त्रालयले जिप्रका झापालाई लेखेको पत्रमा उल्लेख छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंसिर ९ गते सचिवस्तरीय निर्णय गरी इजाजत रद्द गरेको हो। उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयले जिल्ला प्रशासन झापालाई भोलिपल्टै पत्राचार गरेको थियो। 

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जसले अनुमति दिएको हो उसैले बन्द गराउनुपर्ने बताए। 'अस्पताल बन्द गराउने क्रममा शान्ति सुरक्षा चाहियो भने जिल्ला प्रशासन हरबखत तयार छ, 'प्रजिअ दाहालले भने।

दाहालले भने,' मन्त्रालयबाट आएको पत्रको आधारमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय र जिल्ला जनस्वास्थ्यलाई पनि अस्पताल बन्द गराउन तपाईलाई केले रोकेको छ? भनी मौखिक जानकारी गरिएको छ।'योभन्दा बढी अधिकार हामीलाई छैन,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.