प्रविधिमय बन्दै स्थानीय तह
भोजपुर : भोजपुरका सबै स्थानीय तहमा इन्टरनेट सेवाको पहुँच पुगेको छ। गाउँपालिकाका सबै गतिविधि र सूचना सबैसमक्ष पुर्याउन इन्टरनेट अनिवार्य भएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष ध्रुवराज राईले बताए। उनले भने, ‘काम सम्पन्न गर्न सहज त छँदै छ, त्यसमा जनतालाई स्थानीय तहको गतिविधि, सूचनामैत्री बनाउन पनि इन्टरनेट आवश्यक छ।’
जिल्लाका सबै स्थानीय तहले आफ्नै वेबसाइट बनाई सेवाग्राहीलाई सुसूचित गराएका छन्। इन्टरनेट विस्तारपछि विशेषतः डकुमेन्टेसन, इमेलिङ, फ्याक्स, वेब सफ्टवेयर, जानकारी अपडेटलगायत दैनिक रूपमा सञ्चालन हुने कार्यालयका काम सम्पन्न गर्न सहज पुगेको अरुण गाउँपालिकाका सूचना अधिकारी निरज कार्कीले बताए। उनका अनुसार जिल्लाको दुर्गम गाउँपालिकामा पनि इन्टरनेट प्रविधि जडानपछि कार्यालयको दैनिक कार्यसम्पादन सहज भएको छ।
जिल्लाका केही स्थानीय तहमा सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता, सम्पत्ति कर, अनलाइन पद्धतिबाट अभिलेख राख्न सुरु गरिएको छ। स्थानीय तहमा गर्नुपर्ने सम्पूर्ण इन्टरनेटसम्बन्धी कामका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता टरेको साल्पासिलिछो गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत ईश्वरप्रसाद भट्टले बताए। ‘गाउँपालिकाको धेरैजसो कामका लागि सदरमुकाम धाउनुपथ्र्यो’, उनले भने, ‘इन्टरनेट सेवा विस्तारपछि गाउँपालिकामै सम्पूर्ण काम सहज भएको छ।’
जिल्लाका नौ वटा स्थानीय तहमध्ये षडानन्द नगरपालिका, भोजपुर नगर र हतुवागढी गाउँपालिका केन्द्रमा नेपाल टेलिकमको शाखा रहेकोले ती स्थानीय तहमा एडिएसल जडान गरिएको छ। त्यस्तै साल्पासिलिछो, आमचोक, टेम्केमैयुङ गाउँपालिका, षडानन्द नगरपालिकामा वल्र्डलिंक र पौवादुङ, रामप्रसाद राई र हतुवागढी गाउँपालिकामा सुबिसुको इन्टरनेट सेवा जडान गरिएको छ।
गाउँपालिकाको मोबाइल एप्स
जिल्लाका स्थानीय तहमध्ये टेम्केमैयुङ गाउँपालिकाले पहिलोपटक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ। गाउँपालिकामार्फत सञ्चालित सेवा सरल, सुलभ र सहज बनाउन मोबाइल एप्स सञ्चालनमा ल्याइएको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत दीपक खड्काले बताए। जनताले गाउँपालिकाको कार्यक्रम तथा परियोजना, सूचना, सुझाव तथा गुनासो, समस्या दर्ता, सेवालगायत गतिविधि एप्सबाटै सजिलै हेर्न सकिने व्यवस्था राखिएको अधिकृत खड्काले बताए।