जिप दुर्घटनामा चालकको मृत्यु
बैतडी : बैतडीको पुर्चौडी नगरपालिका–६ भुमिराजमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
मंगलबार दिउसो साढे १२ बजेतिर पुर्चौडीबाट धनगढीका लागि छुटेको से १ च १५७२ नम्बरको जिप दुर्घटना हुँदा डोटी जोरायलका २८ वर्षीय चालक कमल सुनारको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीका अनुसार सडकमा परेको तुषारो जमेको ठाउँमा जिप चिप्लिँदा अनियन्त्रित जिपबाट हाम फालेका चालकको जिपबाटै किचिएर मृत्यु भएको हो ।
दुर्घटनामा जिप सडकबाट ७ मिटर तल खसेको छ । जिपमै सवार तेज रावल भने सकुशल रहेको प्रहरीले जनाएको छ । रावल जिप खस्नुभन्दा केहीबेर अघि नै उत्रिसकेकाले सकुशल रहेको बताइएको छ ।