भाइरल बन्दै भाइरस
काठमाडौं : आफू नजिकै खोकी रहेको व्यक्ति छन् भने सजग हुनुहोस्। खोकी लाग्नु भाइरसको संक्रमण हो। भाइरसका कारण हुने संक्रमण नै इन्फ्लुएन्जा हो। यसलाई फ्लु पनि भन्ने गरिन्छ। भाइरसका कारण हुने मौसमी रुघाखोकीले अहिले सबै उमेर समूहका व्यक्तिलाई सताएको छ। खोकी लागिरहने, नाकबाट पातलो सिंगान आउने र ज्वरो आएपछि अस्पताल धाउने बिरामीको संख्या दिनहुँ सय भन्दा बढी छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, कान्ति बाल अस्पताललगायत सरकारी एवं निजी अस्पतालमा उपचारका लागि आउने बढेको चिकित्सक बताउँछन्। निरन्तर खोकी लागिरहे आराम गर्न चिकित्सकको सुझाए छ। हाच्छिउँ गर्दा हावाको माध्यमद्वारा निरोगी व्यक्तिमा भाइरस सर्न सक्ने हुँदा रुमालको प्रयोग गर्न उनीहरूको सुझाव छ। ‘हाच्छिउँ गर्दा वा खोक्दा अरूलाई सर्न सक्छ। बिरामी व्यक्तिले रुमाल प्रयोग गर्दा राम्रो हुन्छ’, स्वास्थ्य सेवा विभाग इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.विवेककुमार लालले भने।
इन्फ्लुएन्जा धेरै प्रकारका भए पनि टाइप ए, टाइप बी र टाइप सीले बढी असर पारिरहेको छ। ‘अधिकांशमा लक्षण नदेखिन पनि सक्छ। रुघा लाग्ने, टाउको दुख्ने, उच्च ज्वरो आउने हुन सक्छ’, उनले भने। वीर अस्पतालका एशोसिएट प्रोफेसर डा.लोचन कार्की भाइरस हावाबाट सर्ने भएकोले बिरामी र निरोगी व्यक्तिलाई भीडभाड वा सार्वजनिक स्थलमा नजान सुझाव दिन्छन्। ‘चिसोमा हात धुन पनि अल्छि लाग्छ। नाक कोट्याउँदा पनि रोग सर्न सक्छ। व्यक्तिगत सरसफाइमा ध्यान दिने र भीडभाडमा नजाँदा रोग सर्ने खतरा कम हुन्छ’, फिजिसियन कार्कीले भने।
‘चिसो मौसममा भाइरसको जोखिम बढी हुन्छ’ वीर अस्पताल नाक, कान र घाँटी विभाग प्रमुख डा.ढुण्डिराज पौडेलले भने। ‘बढ्दो प्रदूषणका कारण पनि भाइरलको संक्रमण जटिल बनेको छ’, उनले भने, ‘भाइरसले घाँटीको समस्याका साथै फोक्सोमा संक्रमण भइ निमोनिया र पिनासको जोखिम हुन्छ।’
सामान्यतय भाइरस संक्रमण भएको दुई दिनपछि लक्षण देखा पर्छ। भाइरस संक्रमणका कारण लाग्ने खोकी दुई साताभन्दा बढी जान सक्छ। भाइरससँगै व्याक्टेरियाको पनि संक्रमण भए बिरामीलाई ज्वरोले च्याप्ने र खकार पहेंलो हुने डा.कार्की बताउँछन्। ‘खोकी लागिरह्यो र पहेंलो खकार देखिए उपचारमा ढिलाइ गर्नु हुँदैन’, उनले सुझाए। रोग प्रतिरोधात्मक क्षमता कम भएका बालबालिका र ज्येष्ठ नागरिकलाई छातिको निमोनियाले जोखिममा पार्छ। त्यस्तै गर्भवती, दीर्घरोगी, र स्वासप्रश्वासका बिरामी उच्च जोखिममा छन्। मौसमी रुघाखोकी लाग्न नदिन हात धुनेलगायतका सरसफाइमा ध्यान दिने, भीडभाडमा नजाने, झोलिलो पदार्थ र तातो सुप सेवन गर्नुपर्ने सल्लाह चिकित्सकको छ।
रोग प्रतिरोधात्मक क्षमताका कारण भाइरसको संक्रमण केही दिनपछि आफैं सञ्चो हुने संभावना कायमै रहने डा.पौडेल बताउँछन्। विकसित मुलुकमा मौसमी रुघाखोकीका बेला खोपको व्यवस्था भए पनि नेपालमा त्यो सुविधा छैन। रुघाखोकी विस्तारै सञ्चो होला भन्ने आसामा उपचार गर्न ढिलाइ गर्न नहुने चिकित्सकको सल्लाह छ। दुई सातामा पनि विसेक नभए तत्काल उपचार गर्नुपर्ने सल्लाह डा.कार्की दिन्छन। ‘मौसमी रुघाखोकी जटिल हुँदै छातिको निमोनिया भए ज्यान समेत जान सक्छ। चिसोमा निमोनियालाई ‘किलर डिजिज’ का रूपमा लिने गरिन्छ।