२ अर्ब बजेटका काम गुणस्तरहीन, अनुगमन माग गर्दै स्थानीयले काम रोकिदिए

२ अर्ब बजेटका काम गुणस्तरहीन, अनुगमन माग गर्दै स्थानीयले काम रोकिदिए

परासी : पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा भइरहेका करोडौं बजेटबाट सञ्चालित अधिकांश पूर्वाधार निर्माणका काम गुणस्तरहीन भएको पाइएको छ ।

यस्तो भेटिएपछि महंगो बजेटमा सञ्चालित केही निर्माण कार्य त स्थानीयले फेनि बनाउनुपर्ने भन्दै भत्काइदिएका छन् । गुणस्तरहीन काम भइराख्दा पनि सम्बन्धीत निकायले बेवास्ता गरेको भन्दै आक्रोशित स्थानीयहरुले काम रोकेका हुन् । स्थानीय र जिल्ला तहका अनुगमन समितिबाट पनि गुणस्तरीय काममा छानविन गर्नुपर्ने स्थानीयको माग छ ।

निर्माण व्यवसायी र कार्यालयका ईन्जिनियरले समेत कमसल सामाग्री प्रयोग भएको स्वीकार गरेपछि निर्माणका काम भत्काइएको हो । अधिकांश स्थानमा कमसल इट्टाको प्रयोग, सिमेन्ट र बालुवासमेत गुणस्तरहीन भएको स्थानीयको भनाइ छ ।

मापदण्ड अनुसार अवल (१ नं.) इट्टा प्रयोग गर्नुपर्ने भए पनि सेम (कमसल) इट्टा प्रयोग गर्ने गरेको पाइएको थियो । मापदण्ड अनुसार एक बोरा सिमेन्टमा चार बोरा बालुवा राख्नुपर्ने भए पनि ८ देखि १२ बोरासम्म बालुवा राख्ने गरेको भेटिएको थियो ।

स्थानीयको अवरोधपछि कार्यालयले सामाग्री जाँच गर्न प्रयोगशालामा पठाएको जनाएको छ । २०७४ असारमा सम्झौता गरी २०७५ पुस मसान्तभित्रै सम्पन्न गर्ने सम्झौतामा उल्लेख भए पनि काम सम्पन्न हुन अझै १० महिना लाग्ने बताइएको छ ।

सदरमुकाममा अहिले ‘सघन शहरी कार्यक्रम’ अन्तरगत सञ्चालित विभिन्न कार्यक्रममाथि स्थानीयले नै प्रश्न उठाएका हुन् । जब कि, यस कार्यक्रमका लागि २ अर्ब रुपैयाँ निकासा भएको छ । उक्त रकमबाट सडक निर्माण र नमुना बस्ती निर्माणका काम सुरु भइरहेका छन् । कार्यक्रम अन्तरगत सबै काम सघन शहरी तथा भवन निर्माण आयोजना’ चितवनबाट भइरहेका हुन् ।

जसमध्ये ठूला रकम अन्तरगत दुई सडक निर्माण कार्यमा गुणस्तरहीन काम भएको पाइएको हो । कार्यालयले सडक निर्माण कार्य सम्पन्न गर्न दुई निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । तर कार्यालयले नियमित अनुगन नगर्दा निर्माण कम्पनीले गुणस्तरहीन सामाग्री प्रयोग गरेर काम गरिरहेका हुन् ।

सदरमुकामको परासी–सुनवल सडक खण्डअन्तरगत निलो गेटदेखि परासी बुद्धचोकसम्म निर्माण कार्य भइरहँदा नाला निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरिएको हो । ‘फोर लेन’ सहितको डेढ कि.मी. सडक र नाला विस्तारका लागि महालक्ष्मी सुनकोशी वल्र्डवाइड जेभी काठमाडौंले १४ करोड रुपैयाँमा ठेक्का लिएको हो ।
नालाको चौडाई पूर्वतर्फ १.४५ मिटर र पश्चिमतर्फ १.२० मिटर रहेको छ । निर्माण कम्पनीले नाला निर्माणमा प्रयोग हुने सामग्री गुणस्तहीन प्रयोग गरेको पाइएको हो ।
यस्तै झरही खोलादेखि पुरानो नगरपालिका हुँदै मञ्जरीया चोक र वाइपास रोडसम्म नाला सहित सडक विस्तारको काममा पनि गुणस्तरहीन सामग्री प्रयोग गरिएको थियो । निमार्ण काममा इट्टा र अन्य सामाग्रीसमेत कमसल प्रयोग भएको स्थानीयको भनाइ छ । उक्त सडकसहित पार्क जाने ८ कि.मि.एप्रोच रोड निर्माण सुधारमा समेत यस्तै लापरवाही भएको हो ।

सघन शहरी तथा भवन निर्माण आयोजना फिल्ड कार्यालय परासीका ईन्जिनियर माधव कटुवालले भने मापदण्ड विपरित सामग्री भएका स्थानमा त्यसलाई हटाएर गुणस्तरीय सामग्री प्रयोग गर्न लगाइएको बताएका छन् ।

केही स्थानका अन्य निर्माण सामाग्री भने जाँचका लागि प्रयोगशालामा पठाइएको कटुवालले बताए । फिल्ड कार्यालयमा प्राविधिक अभावका कारण अनुगमन गर्न समस्या भएको पनि उनको भनाइ छ । फिल्ड अफिसमा ईन्जिनियर सहित एकजना ओभरसियर र एकजना सुपरभाइजर मात्र छन् । चितवनस्थित कार्यालयसँग जनशक्ति बढाउन आग्रह गरे पनि अहिलेसम्म नपठाउँदा समस्या भएको ईन्जिनियर कटुवाल बताउँछन् ।

नगरपालिकालाई नै छैन मतलव
नगर क्षेत्रमा भइरहेका कामको अनुगमन गर्न नगरपालिकामा अनुगमन समिति छ । अनुगमनका नाममा लाखौं रुपैयाँ खर्चसमेत हुँदै आएको छ । तर सदरमुकाममै रहेको नगर क्षेत्रमा गुणस्तरहीन काम हुँदा जनप्रतिनिधि वा समितिका सदस्यले समेत चासो नदेखाएको भन्दै स्थानीयले आलोचना गर्न थालेका छन् ।

अनुगमन समितिका संयोजक एंव रामग्राम नगरपालिकाका उपप्रमुख रम्भा कुँवरले भने गुनासो आएका स्थानमा प्राविधिक खटाएर त्यसको प्रतिवेदन पेश गर्न लगाइएको बताइन् । साथै लापरवाही भएका ठाउँमा छानविन गर्ने उनको प्रतिवद्धता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.