एघार लाख खर्च, फुटेन बोली
काठमाडौं : पाटन अस्पतालको वेड नम्बर २५९ मा पल्टिरहेकी लालमाया तामाङलाई छोरा दाबा थिङ सोध्छन्, ‘कस्तो छ आमा ?’
उनी हेर्छिन् अनि ओठ चलाउँछिन्। तर, बोल्न सक्दिनन्। आमाको बोली सुन्न उनले विभिन्न अस्पतालमा एघार लाख भन्दा बढी खर्च गरिसके । तर, आमाको अवस्था उस्तै छ।
आमाले स्वर सुन्ने आशमा उनी व्याकुल छन्। मकवानपुर बकैया गाउँपालिका ९ की तामाङको अवस्थाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक एवं नर्सलाई पनि भावुक बनाएको छ।
टाइफाइडपछिको व्यथा
पहिलो दिन बंगुरको मासु र मकैको ढिंडो खाइन्। भोलिपल्ट खसीको मासु र ढिंडो। त्यसको दुई दिनपछि सुरुमा टाउको दुख्यो। विस्तारै ज्वरो आउन थाल्यो। सामान्य उपचारपछि एक सातासम्म टाइफाइडको औषधि खाइन्।
त्यसको केही महिनापछि डेरामा आराम गरिरहेको बेला अचानक बान्ता भयो। जे खाए पनि बान्ता हुन थालेपछि उनलाई असार १९ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो। रगत, दिसा, पिसाब र भिडियो एक्सरे भयो। आवश्यक जाँचपछि चिकित्सकले सामान्य समस्या हो भन्दै घर पठाइदिए।
साउन ३ गते लालमायालाई समस्या दोहोरियो। बान्ता हुने क्रम फेरि सुरु भयो। साउन १७ गते आनन्द वन अस्पताल ललितपुर लगियो। असोज १ गते धापाखेलस्थित फेमिली केयर अस्पताल ललितपुरमा ल्याइयो। पाँच दिन राखियो। चिकित्सकले थप उपचारका लागि शिक्षण अस्पताल महाराजगन्जमा रेफर गरे।
असोज ११ गते शिक्षण अस्पताल ल्याइयो। त्यहाँबाट भेनस अस्पताल काठमाडौं पुर्याइयो। सरकारी र निजी अस्पतालमा परीक्षण गराउँदा गराउँदै लाखौं खर्च भयो। रोगले भने छोडेन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुराइयो। लालमायालाई सरुवा रोग नभएकोले जनाउँदै रेफर गरियो। त्यसपछि गत भदौ २४ गते पुनःपाटन स्वास्थ्यविज्ञान प्रतिष्ठानमा ल्याइयो। अहिले उपचार जारी छ। यो अवधिसम्म उपचारका क्रममा ११ लाख भन्दा बढी खर्च भइसकेको छोरा दावा थिङले बताए।
खर्च जुटाउन सकस
उपचारका क्रममा एघार लाख खर्च भइसक्यो। जसमध्ये सात लाख ऋण छ। दैनिक उपचार खर्च जुटाउन सकस भएपछि बकैया गाउँपालिका वडा ९ वडा कार्यालयले जीवन रक्षाका लागि सहयोग गर्न अपील गरेको छ।
लालमायाका जेठा छोरा दावा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म कान्तिपुर सिटी कलेजमा डिउटी गर्छन्। त्यसबाहेक अन्य समय उनी आमाको हेरविचारमा खटिन्छन्।
आमाको अवस्था थाहा पाएपछि कान्छा छोरा पासाङ थिङ दुबईबाट फर्किएका छन्। तर आमाको अवस्था देख्ने वित्तिकै उनको आँखाबाट आँसु झर्न थाल्छ। ‘भाइ आउँछ तर आमालाई देखेपछि आँखाभरी आँसु पार्छ। भाइको आँखामा आँसु देख्न सक्दिन। डेरामा जान भन्छु। राति डिउटीमा गएको राति बुवाले स्याहार गर्नुहुन्छ’, दावाले भने। ५८ वर्षीय लालबहादुर पत्नीको बोली सुन्न आतुर छन्। रातभर आँखा नझिम्काएर हेरिरहन्छन्। पत्नी बोल्छे की भन्ने आश छ।
मेनेन्जाइटिसको असर
उपचारमा संलग्न चिकित्सकका अनुसार, मेनेन्जाइटिसको असरले गर्दा लालमायाको मस्तिष्कमा असर गरेको हो। ‘मस्तिष्कमा रहेको कोषिका मरेको छ रे। त्यही मरेकोले गर्दा यो समस्या भएको हो’, उपचारमा संलग्न चिकित्सकको भनाइ उद्धृत गर्दै दावाले भने।
अब नौदेखि १८ महिनासम्म उपचार गर्न सके निको हुने चिकित्सकले बताएका छन्। चिकित्सकले आश देखाएकाले उनीहरु उपचारमा सक्रिय छन्। पत्नीको अवस्थाले चिन्तित देखिएका लालबहादुर भन्छन, ‘खर्च थेग्नै धौ धौ भएको छ। मनकारी व्यक्तिले सहयोग गरे उपचार गर्न सकिन्थ्यो। अस्पतालबाट निको बनाएर घर लैजाने मन छ।’