क्रिकेटरले दुई वर्षको तलब पाउने, कसलाई कति ?

क्रिकेटरले दुई वर्षको तलब पाउने, कसलाई कति ?

काठमाडौं : नेपाली क्रिकेट खेलाडीले पछिल्लो दुई वर्षदेखि रोकिएको मासिक तलब पाउने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा परेपछि घरेलु क्रिकेटको सबै जिम्मेवारी सम्हाल्दै आएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको रोकिएको तलब सुचारु गर्न लागेको हो। आईसीसीले मासिक तलब वितरण गर्न खेलाडीको पुनः वर्गीकरण गरेको छ।

आईसीसीको निलम्बनमा पर्नुअघि क्यानले खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ तीन श्रेणीमा वर्गीकरण गरी सम्झौता गरेर सन् २०१५ को जनवरीदेखि मासिक तलब दिन सुरु गरेको थियो। यद्यपि क्यान निलम्बनमा परेसँगै खेलाडीको तलबसमेत रोकिएको थियो। यस क्रममा आईसीसीले गत सन् २०१७ को जुलाईमा खेलाडीलाई अघिल्लो एक वर्षको तलब दिएको थियो। त्यसपछि खेलाडीको अनुरोधमा त्यसयता दुई वर्षको तलब आईसीसीले खेलाडीलाई दिन लागेको हो।

यस सम्बन्धमा अघिल्लो महिना नै आईसीसीले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा इमेल पठाएको छ। आईसीसीले राष्ट्रिय टोलीका प्रशिक्षक जगत टमाटा, कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्ललगायतसँगको परामर्शमा खेलाडीको नयाँ वर्गीकरण गरेको हो। जसअनुसार ए, बी र सी तीनै श्रेणीमा सात/सात गरी २१ खेलाडीलाई समावेश गरिएको छ। ए श्रेणीमा पर्ने खेलाडीले मासिक ३५ हजार, बी श्रेणीका खेलाडीले मासिक २५ र सी श्रेणीका खेलाडीले मासिक १५ हजार रुपैयाँको हिसाबले दरले पछिल्लो दुई वर्षको तलब पाउनेछन्।

त्यसमध्ये ए श्रेणीमा कप्तान पारससहित, उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, सोमपाल कामी, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी रहेका छन्। बी श्रेणीमा आरिफ शेख, करण केसी, ललित भण्डारी, अनिलकुमार शाह, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी र शक्ति गौचन रहेका छन् भने सी श्रेणीमा सुवास खकुरेल, सागर पुन, दिलिपनाथ, सुनील धमला, सुशन भारी, किशोर महतो र विनोद भण्डारी रहेका छन्।

ए श्रेणीका खेलाडीले पछिल्लो दुई वर्षको एकमुष्ट आठ लाख ४० हजार पाउनेछन्। बी श्रेणीका खेलाडीले ६ लाख र सी श्रेणीका खेलाडीले तीन लाख ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले क्रिकेटरहरूलाई आईसीसीमार्फत तलब दिलाउने प्रक्रिया अघि बढाइसकिएको जानकारी दिए।

‘आईसीसीले राखेपमार्फत नै खेलाडीहरूलाई तलब खुवाउने प्रस्ताव गरेको छ। त्यसअनुसार नयाँ वर्गीकरणसहित खेलाडीको सूची आईसीसीलाई पठाई सकिएको छ’, सदस्यसचिव विष्टले भने, ‘त्यसमा यसअघिको वर्गीकरणमा केही नयाँ खेलाडी पनि समावेश भएका छन्। प्रक्रिया अघि बढिसकेकोले खेलाडीहरूले चाँडै नै दुई वर्षको तलब पाउनेछन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.