कर्मचारी नियुक्ति विवादित

कर्मचारी नियुक्ति विवादित

ओखलढुंगा : चम्पादेवी गाउँपालिकाले एकै पटक २७ जना कर्मचारी नियुक्त गरेको विषयले विवाद उत्पन्न भएको छ। नियुक्तिको विषयलाई लिएर निर्वाचित जनप्रतिनिधि र गाउँपालिका प्रमुखबीच आरोप÷प्रत्यारोप चलेको छ। नियुक्ति खारेज हुनुपर्ने भन्दै वडाध्यक्ष र गाउँ कार्यपालिका सदस्य संघर्षमै उत्रिएका छन्। गाउँपालिकाले डेढ महिनाअघि २० शिक्षक, एक वडासचिव, ६ जना इन्जिनियरसहित प्राविधिक कर्मचारी नियुक्त गरेको थियो। तर, उक्त नियुक्तिलाई गैरकानुनी भन्दै विरोध भएको छ।

कार्यपालिकाका सदस्यले गाउँपालिका अध्यक्षले आफूखुसी कर्मचारी नियुक्ति गरेको र आर्थिक अनियमितता गरेकोलगायत आरोप लगाउँदै निर्णय बदर गर्न माग गरेका छन्। उक्त गाउँपालिकाका १० मध्ये नेकपा समर्थित चार जना वडाध्यक्ष र कार्यपालिका सदस्य नियुक्तिको विरोधमा छन्। विरोधबीच गाउँपालिकाको काम कारबाही अवरुद्ध भएको छ। वडाध्यक्षको समर्थनमा चम्पादेवी गाउँपालिकाको नेकपाको पार्टी कमिटीले गाउँपालिका अध्यक्ष नवराज केसीलाई ध्यानाकर्षण पत्र बुझाएको थियो। केसी कांग्रेस तर्फबाट विजयी भएका हुन्।

नेकपा समर्थितले माग सम्बोधन नभएको भन्दै पुस १६ गते गाउँपालिकामा तालाबन्दीको प्रयास गरेका थिए। त्यसपछि गाउँपालिकामा तनाव कायमै छ। गाउँपालिकाले करारमा कर्मचारी भर्नासम्बन्धी ऐन बनाएर कर्मचारी तथा शिक्षक भर्ना गरेको गाउँपालिका शिक्षा समितिका अध्यक्ष उज्जन बुढाथोकीले बताए। उनले भने, ‘ऐन तथा कानुन मिचिएको भए सच्याउने कुरा हुन्छ तर अहिले भएको विरोधले खासै अर्थ राखेको छैन।’ प्रचार गरेजस्तो तालाबन्दी नभएको उनले दाबी गरे।

नेकपा र चार जना वडाध्यक्षले गरेको उजुरीबारे अध्ययन गरिने प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन्। उनले भनिन्, ‘समस्या समाधान गर्न गाउँपालिका अध्यक्षलाई सुझाव दिएकी छु। घटनाक्रमबारे हामीले जानकारी लिएका छौं। ’

चम्पादेवी वडा नं. ५ का अध्यक्ष झलकमान तामाङ, वडा नं. ६ का सुरेश थापा, वडा नंं. ७ का तिलक खड्का र वडा नं. ९ का झम्कहरि बडालले जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा मंगलबार निवेदन दिई छानबिन गरेर कारबाही अघि बढाउन माग गरेका छन्। गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापाल मिलेर आर्थिक अनियमितता गरेको, कर्मचारी नियुक्तिमा कानुन मिचेकाले उजुरी गर्नुपर्ने वडा नम्बर ७ का अध्यक्ष सुरेश थापाले बताए। भने, ‘मनपरी कर्मचारी नियुक्ति गरेको, वडाध्यक्षको समेत किर्ते सहीछाप गरेर योजनाको भुक्तानी लिने गरिएको छ। यो क्रम रोकिनुपर्छ भन्ने हाम्रो माग हो।’

गाउँपालिकाले भने सबै आरोप आधारविहीन भन्दैे विज्ञप्तिमार्फत खण्डन गरेको छ। अध्यक्ष नवराज केसीले प्रकाशन गरेको विज्ञप्तिमा ‘गाउँपालिकाका विषयमा गरिएका विभिन्न प्रचार झुटा हुन्’ भन्ने उल्लेख छ। चम्पादेवी गाउँपालिकामा गत वर्षदेखि नै वडाध्यक्ष र गाउँपालिका अध्यक्षबीच विवाद हुँदै आएको छ। गाउँपालिकाका विकास निर्माणमा अनियमितता भएको आरोप लाग्दै आएको छ। विभिन्न योजनामा भ्रष्टाचार भएको भन्दै स्थानीयले अख्तियारमा गाउँपालिका अध्यक्षविरुद्ध उजुरीसमेत गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.