शून्य विद्यार्थी, आठ प्राध्यापक
काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गत इतिहास केन्द्रीय विभागमा ८ जना प्राध्यापक कार्यरत छन् । तर यो विभाग एक वर्षदेखि विद्यार्थी शून्य छ । ८ जना प्राध्यापकको तलबका लागि त्रिविले वार्षिक पचास लाख रुपैयाँ भन्दा धेरै रकम खर्च गरिरहेको छ । त्रिविले प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकको मासिक तलब सुविधा अधिकतम क्रमशः ५४ हजार, ४९ हजार र ४३ हजार रुपैयाँ तय गरेको छ । विभागको वार्षिक प्रशासनिक खर्च नौ लाख रुपैयाँ छ ।
विद्यार्थीबाट उठाएको रकमबाट प्रशासनिक खर्च चल्थ्यो । विद्यार्थी नै नभएपछि यो खर्च कसरी धान्ने भन्ने चिन्ता विभागलाई छ ।
विभागका प्रमुख शंकर थापाले भने, ‘प्राइभेट विद्यार्थीको थेसिस हेर्ने र नयाँ विद्यार्थी कसरी ल्याउने भन्ने योजना बनाएर दिन बित्छ ।’
विभागमा विद्यार्थी नभएको यसपटक मात्र होइन । २०७३ मा एक, २०७२ मा दुई र २०७१ मा ६ जना विद्यार्थी भर्ना भएका थिए । २०६९ मा ९३ विद्यार्थी भर्ना भएका थिए ।
‘केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव हुने वर्ष परेका कारण चुनाव लड्न विद्यार्थी भर्ना भएका रहेछन्’, विभाग प्रमुख थापाले भने, ‘चुनाव सकिए पछि थुपै्र विद्यार्थीले भर्ना हुँदा तिरेको रकम फिर्ता गरिदिन अनुरोध गर्दै निवेदन दिन आए । भर्ना हुँदा तिरेको पैसा फिर्ता दिन नमिल्ने बतायौं । त्यसपछि त विद्यार्थी आउनै छाडे ।’
यो विभागले २०१७ सालदेखि स्नातकोत्तर तहको पढाइ सुरु गरेको हो । कीर्तिपुरमा रहेको विश्वविद्यालयकै संस्कृत केन्द्रीय विभागमा पनि २०७३ सालदेखि नयाँ विद्यार्थी भर्ना भएका छैनन् । अहिले ते श्रो सेमेष्टरमा चारजना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई दुईजना प्राध्यापक, दुईजना सहप्राध्यापक, एकजना उपप्राध्यापक र एकजना आंशिक शिक्षक गरी ६ जनाले अध्यापन गराइरहेका छन् । प्रशासन शाखामा दुई कर्मचारी कार्यरत छन् ।
विभाग प्रमुख प्राध्यापक डा.नारायणप्रसाद गौतमले भने, ‘यो वर्षदेखि योगा विषयको पढाइ सुुरु गर्दैछौं । नयाँ विषय भएकोले यो वर्षदेखि विद्यार्थी आउने आशा गरेका छौं ।’
हिन्दी, भूगोल, बौद्ध दर्शनलगायतका विभाग पनि विद्यार्थी शून्यकै अवस्थामा छन् । त्रिविले केन्द्रीय क्याम्पस कीर्तिपुरमा २०७० सालदेखि स्नातकोत्तर तहमा सेमेष्टर प्रणाली लागू गरेपछि विद्यार्थी शून्य भएका हुन् ।
विद्यार्थी घटेसँगै त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकाय संकटग्रस्त बनेको छ । प्राध्यापक-कर्मचारीलाई दिनुपर्ने तलबका कारण त्रिवि आर्थिक बोझले थलिएको छ । मानविकीमा विद्यार्थी आकर्षित गर्ने उपायबारे त्रिविले प्रभावकारी योजना बनाउन सकेको छैन ।
त्रिविअन्तर्गत चारवटा अनुसन्धान केन्द्र छन् । विद्यार्थी आकर्षण घट्नुको कारण चालु विषयलाई लोकप्रिय बनाउन के गर्नुपर्ला भन्ने बारेमा केन्द्रमार्फत अनुसन्धान भएको छैन ।
इतिहास केन्द्रीय विभागकै पूर्वप्रमुख प्राध्यापक डा.तीर्थ मि श्रले भने, ‘ती केन्द्रबाट अनुसन्धान गरी विषय स्तरोन्नतिका लागि थुपै्र योजना ल्याउन सकिन्थ्यो । त्रिवि नेतृत्वमा रहेका पदाधिकारीको कमजोरीले महत्वपूर्ण विषयहरू ओझेलमा परेका हुन् । कमजोरी आउनुमा मुख्य जिम्मेवार पदाधिकारी नै हुन् ।’
त्रिविको मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत अहिले २२ वटा विभाग र ११ वटा कार्यक्रम सञ्चालनमा छ । त्रिविमा सबै भन्दा धेरै विभाग र कार्यक्रम भएको यो ठूलो संकाय हो । तर, व्यवस्थापन संकायमा धेरै विद्यार्थी अध्ययन गर्छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति तथा इतिहाससविद् प्राध्यापक डा.त्रिरत्न मानन्धरले मानविकीमा नयाँ विषयको पढाइ सुरु गर्दा भविष्यमा यसले के प्रभाव पार्छ भन्ने अध्ययन नगर्ने परिपाटीले पुराना विषयमा संकट परेको बताए । ‘अहिले इन्टरनेशनल रिलेसन (आइआर) विषयलाई छुट्टै कार्यक्रम बनाएर चलाइएको छ । यसलाई राजनीतिशास्त्रकै एउटा अंगको रूपमा चलाएको भए के हुन्थ्यो ? ’ मानन्धरले प्रश्न गरे भने, ‘अहिले आइआरमा विद्यार्थी आकर्षण छ । सधैं यस्तै आकर्षण रहला भन्ने छैन । राजनीतिशास्त्रसँगै जोडेको भए दुवै विषयको आकर्षण बढाउन सकिन्थ्यो ।’
लोकसेवा आयोगले सरकारी सेवामा जान चाहनेलाई ऐच्छिक रूपमा यि विषयहरू छान्न पाउने अवसर दिने तथा ओपन लर्निङ प्रणालीबाट पढाइ सुरु गर्ने हो भने विद्यार्थी आकर्षण बढ्न सक्ने मानन्धरको भनाइ छ । मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्राध्यापक डा.शिवलाल भुसालले मानविकीका अधिकांश विषय संकटग्रस्त रहेको स्वीकारे । उनले भने, ‘विभागको प्रकृति जागिर पकाउने मात्र देखियो । यसलाई झक्झक्याउनुपर्ने बेला आएको छ ।’