लगानी सम्मेलन विवादमा
इलाम : लगानी भित्र्याउने उद्देश्यले इलाममा शुक्रबार हुन लागेको लगानी सम्मेलन विवादमा परेको छ। प्रधानमन्त्री केपी ओलीलाई अभिनन्दन गर्ने तय गरिएपछि सम्मेलन विवादमा परेको हो। खस्कँदो शान्ति शुरक्षा, अनियन्त्रित हत्या, बलात्कार र संस्थागत भ्रष्टाचारका कारण विवादमा आइरहेका प्रधानमन्त्रीको अभिनन्दनले इलामवासीको मान, मर्यादा र चेतनाको अवमूल्यन हुने भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस इलामका अध्यक्ष हिमालय कर्माचार्यले विज्ञप्ति निकालेर विरोध जनाएका छन्। कांग्रेसले आफ्ना सबै तहलाई अभिनन्दन कार्यक्रममा सहभागी नहुन सर्कुलर जारी गरेको छ।
टुँडीखेलमा हुने भनिएको अभिनन्दन कार्यक्रम कांग्रेसको विरोधपछि सम्मेलनस्थल गौतमबुद्ध सभागृहमा सारिएको छ। नगरप्रमुख महेश बस्नेतले विवाद आउनु लोकतन्त्रको सौन्दर्य भएको बताए। उनले भने, ‘विवाद गर्दा जहाँ जेमा पनि गर्न सकिन्छ। नगरपालिकाले कारणसहित सर्वसहमत निर्णय गरेर अभिनन्दन गर्न लागेको हो।’
मेयर बस्नेतले प्रधानमन्त्री ओलीले गरेको संघर्षपूर्ण राजनीतिक यात्रा सबैका लागि प्रेरणाको स्रोत भएको, संविधान निर्माणमा अथक प्रयास गरेको, भारतले गरेको नाकाबन्दीमा नेपालीको स्वाभिमानको रक्षा गरेको, चीनसँगको पारवहन सन्धि गरेर सधैँका लागि नाकाबन्दी अन्य गर्ने बाटो खोलेको र नेपाललाई स्थायित्व दिन नेतृत्व गरेकाले अभिनन्दन गर्न लागेको जानकारी दिए।
इलाम नगरपालिका, उद्योग वाणिज्य महासंघ, उद्योग वाणिज्य महासंघ प्रदेश १ र इलाम उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनमा लगानी सम्मेलन हुन लागेको हो। सम्मेलनमा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जडीबुटीमा लगानीको सम्भावनाबारे छलफल हुने मेयर बस्नेतले बताए।