२५ लाखको पेन्टिङ

२५ लाखको पेन्टिङ

ठमेलका प्रेमप्रभात गुरुङले भूकम्पको पीडा झल्काउने चित्र २५ लाखमा किनिसकेका छन्। कलाकार गुरुङ भन्छन्, ‘यो चित्र थुप्रै विदेशीले पनि मागे। तर नेपालीलाई नै बेच्न मन लाग्यो।’


पुसको ठिहिर्‍याउँदो जाडो। तर कतिपय भूकम्प पीडितको घर अझै पनि ठडिन सकेका छैनन्। उनीहरू शीत चुहिने पालमा रात काट्न बाध्य छन्। लमजुङ, बेसीसहरका कलाकार हितमान गुरुङ (३४) ले यही भूकम्प पीडितहरूको पीडा आफ्नो पेन्टिङमा उतारेका छन्।

पेन्टिङमा भूकम्पले ध्वस्त करिब दुई सय घरको चित्र समेटिएको छ। पेन्टिङको सेन्टरमा एउटा घर छ, जुन भूकम्प जानुअघिको प्रतिनिधित्व गरिएको घर हो। यो घर कमजोर देखिन्छ। भूकम्प प्रतिरोधी घर बनाइनुपर्छ भन्ने सन्देश पनि दिन्छ यो पेन्टिङले।पेन्टिङमा प्रयोग भएको ९० प्रतिशत तस्बिर कलाकार गुरुङले आफैं खिचेका हुन्। तस्बिरका लागि काठमाडौं उपत्यकाबाहेक सिन्धुपाल्चोक, काभ्रे पनि पुगेका थिए उनी। समयाभावले धादिङ, गोरखा, रसुवालगायत जिल्ला जान पाएनन्। त्यसैले करिब १० प्रतिशत तस्बिर इन्टरनेटबाट लिइएका हुन्। तस्बिरको कपिराइटको सम्बन्धमा जिज्ञासा राख्दा गुरुङ भन्छन्, ‘कुनै पनि तस्बिर जस्ताको तस्तै पो प्रयोग गर्न पाइँदैन। यसमा एक्रेलिक पेन्टिङको माध्यमबाट सबै तस्बिरमा पेन्सिलले डट राख्दै मैले प्रयोग गरेको छु। यो स्टिप्लङ ड्रइङ मिक्स मेनिया अन क्यानभास हो।’

सात महिनामा १७/१८ घण्टा लगातार खटेर सबै तस्बिरमा डट प्रयोग गरेका थिए उनले। भूकम्प पीडितहरू घरबारविहीन हुँदा उनीहरूमा पर्ने मानसिक प्रभावको कल्पना पनि गर्न सकिँदैन। लालपुर्जा नहुनेहरूले अझै पनि घर बनाउन सक्ने अवस्था छैन। पहिचानविहीन उनीहरूको आवाज सुनिएको छैन। उनीहरू सधैं आफूलाई बिरामी महसुस गरिरहेका छन्। उनीहरू निमुखा भएकोले चित्रको बीच भागमा बनाइएको एक व्यक्तिको मुहारभरि पट्टी बाँधिएको छ। यो पेन्टिङ दसौं हजार पीडितको प्रतिनिधित्व कथा हो।

८ बाई १२ फिटको भूकम्प पीडित प्रतिनिधित्वको ठूलो पेन्टिङ पुसको पहिलो हप्ता नेपाल आर्ट काउन्सिल बबरमहलमा प्रदर्शन गरिएको थियो। यो पेन्टिङ भारतको दिल्ली, चन्डीगढदेखि चीनको योन्च्योन बेनालेमा पनि प्रदर्शनी भइसकेको छ। आर्ट काउन्सिल र बेल्ट म्युजियमको सहकार्यमा अस्ट्रियाको भियनाको बेल्ट म्युजियममा ६ महिनाको लागि यो पेन्टिङ प्रदर्शनी हुँदैछ। त्यहाँ ३२ देशका ८४ जना कलाकारको सहभागिता हुँदैछ।

ठमेलका प्रेमप्रभात गुरुङले भूकम्पको पीडा झल्काउने यो चित्र २५ लाखमा किनिसकेका छन्। नेपाली आर्टिस्टका कला विदेशमा पनि प्रदर्शन हुँदा आफूलाई निकै खुसी लागेको बताउँछन् चित्र संकलक प्रेमप्रभात। उता कलाकार गुरुङ भन्छन्, ‘यो चित्र थुप्रै विदेशीले पनि मागे। तर नेपालीलाई नै बेच्न मन लाग्यो। आफ्नै काम हेर्न विदेश किन जाने ? भुइँचालोबारे अध्ययन गर्नेलाई यो चित्र मानक नै हो।’

बेसीसहरबाट एसएलसी पछि काठमाडौं ललितकला पढ्न आएका थिए, हितमान गुरुङ। सन् २०१२ मा त्रिविबाट एमएफए गरेपछि केही समय बीएफएलाई पढाए पनि। तर सिर्जनात्मक कामका लागि अध्यापन छाडे। भन्छन्, ‘कतिपय चित्र बनाउन साइट सिन हेर्न गाउँठाउँमा पुग्नुपर्छ। पेन्टिङ लिएर विदेश गइरहनुपर्छ। यसले अध्यापनमा समय मिलेन।’ आफ्नो गृह जिल्ला लमजुङको परिवेश पनि उनका कतिपय पेन्टिङमा झल्किन्छन्। त्यस्तै, द्वन्द्वको कथा बोकेको ८ बाई १२ फिटको उनको अर्को पेन्टिङ पनि भियनामा ६ महिनाका लागि प्रदर्शन हुँदैछ। तर आफूले मनले खाएको यही भूकम्प पीडाको चित्रले नै बढी सन्तुष्टि दिन्छ उनलाई।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.