जाडोमा कसरी छाला चम्काउने ?
जाडो महिनामा छाला सुक्खा र रुखो हुने समस्याले धेरैलाई सताएको हुन सक्छ। विभिन्न कोल्ड क्रिमको प्रयोग गर्दा पनि यसले नकारात्मक असर गर्ने डर त्यत्तिकै हुन्छ। त्यसैले चिसो समयमा छालालाई सुन्दर र चम्किलो बनाउन निम्न उपाय अपनाउन सकिन्छ।
- जाडो मौसममा छालालाई नरम बनाउनका लागि बदामको तेल निकै फाइदाजनक हुन्छ। राति सुत्ने बेलामा बदामको तेल लगाएर सुत्ने गर्नुपर्छ। यसो गर्दा बिहान उठ्ने समयमा पनि आफ्नो छालामा म्याइस्चर उत्तिकै मात्रामा रहेको पाइन्छ। यसले छालालाई नरम पनि बनाउँछ।
- मुख धुनका लागि साबुनको प्रयोग गर्नुभन्दा तोरीको गेडालाई पिनेर बनाइएको धुलोलाई प्रयोग गरेर धुनु राम्रो हुन्छ।
- बजारमा पाइने स्क्रबको तुलनामा घरमै पाइने चिनीको स्क्रब प्रयोग गरेमा यसले मृत छालालाई हटाएर छाला सफा र सुन्दर बनाउँछ। त्यसैगरी छालाको म्वाइस्चर पनि कायम रहन्छ।
- नुहाए पछि हल्का तरिकाले तौलियाले पुस्नुपर्छ। सम्भव भएसम्म नरिवलको तेल वा अन्य कुनै तेलले शरीरमा मसाज गर्नुपर्छ।
- मुख धुने बेलामा धेरै तातो वा धेरै चिसो पानीको प्रयोग गर्नु हुँदैन।
- फुटेको ओठ र छालालाई निको पार्न हरेक रात सुत्नुभन्दा पहिले दूधको तरमा गुलाब जल र कागतीको रस मिसाएर बनाएको लेदोलाई लगाउने गर्नुपर्छ।
- छालालाई नरम र मुलायम बनाउनका लागि सातामा एक पटक नुहाउनु अगाडि मुगको दालमा दूध मिसाएर बनाएको पेस्टलाई लगाएर नुहाउनु पर्छ।
- ग्लिसरिनमा गुलाफ जल र कागतीको रस मिसाएर दिनहुँ लगाउनाले पनि छाला नरम र चम्किलो हुन्छ।