खगेन्द्रको नचिनिने रहर

खगेन्द्रको नचिनिने रहर

साहित्यिक पृष्ठभूमि नभए पनि खगेन्द्र लामिछाने नाटक खेल्न र लेख्नमै रमाउँथे। स्याङ्जा, पुतलीबजारमा जन्मिएका उनले गाउँघरमा साहित्यिक वातावरण कहिल्यै पाएनन्। उनका बुवाको इच्छा थियो— छोराले खुब पढोस् र सरकारी जागिर खाओस्। तर, खगेन्द्रको मन न पढाइमा लाग्थ्यो न त खेलकुदमा।

‘फिल्म पशुपतिप्रसाद’ र ‘टलकजङ भर्सेस टुल्के’ले एकाएक हाइलाइटमा ल्याएपछि कसैले नचिनिदिए हुन्थ्यो भन्दाभन्दै उनलाई सबैले चिन्न थाले। प्रस्तुत छ, उनीसँग समसामयिक विषयमा सपना महर्जनको कुराकानी :

सेलिब्रिटी सकेसम्म आमदर्शकमाझ चिनिन चाहन्छन्। तपाईंचाहिँ किन गुपचुप बस्न रुचाउनुहुन्छ?

सबैले चिन्न थालेपछि कसैले नचिन्दाको लाइफ मिस गर्र्छु। बाटोमा हिँड्दाहिँड्दै कुल्फी खान मन लाग्छ तर सेलिब्रिटी भएपछि धेरै कुरामा ध्यान दिनु पर्दो रहेछ। आँट गरेर कुल्फी खाइहाले भने पनि सबैले मलाई घुरेर हेर्छन्। अनि मलाई अप्ठ्यारो लागिहाल्छ। दिक्क पनि बनाउँछ। मलाई खुब काम गर्न मन लाग्छ तर कसैले नचिन्ने गरी।

दर्शकले घुरेर हेर्दा के प्रतिक्रिया हुन्छ?

एक दिन बाटोमा मास्क लगाएर हिँडिरहेको थिएँ, कपाल निधारसम्म फिँजाएर। पहिरन पनि रफटफ थियो। सकेसम्म कसैले नचिन्ने गेटअपमा थिएँ। तर यति गर्दा पनि सुख पाइएन। फ्यानहरूले चिनिहाले। मैले सोधेँ पनि, ‘कसरी चिन्नु भो? ’ फ्यानहरूले भने, ‘तपाईंको आँखैले चिनियो नि।’

त्यसो त मलाई खगेन्द्र लामिछानेको नामले आमदर्शकले त्यति चिन्दैनन्। अनुहारले चिनिहालेमा ‘पशुपतिप्रसाद’को नामले बोलाउँछन्। एउटा आर्टिस्टलाई उसको कामले नै चिनाएकोमा खुसी पनि लाग्छ।

पशुपतिप्रसाद’ खुब चल्यो है?

यो फिल्म यति धेरै चल्छ भनेर मैले सोचेको थिइनँ। जे होस्, दर्शकले मन पराइदिनुभयो। खासमा यो फिल्मको सुटिङ १३ दिनमा नै सकिएको हो। तर, दिनको १८ घण्टा काम गरेको पनि भुल्न चाहन्नँ। सबै कलाकारको मेहनतले फिल्म चलेको हो।

फिल्म बनाउँदाका दुःख?

अवश्य छन्। यो फिल्म बनाउनुभन्दा पहिले पशुपति आर्यघाटमा बिहान बेलुकी दिनहुँ जान्थेँ। शवहरू जलाएको दृश्यले मन पग्लन्थ्यो। त्यहाँको हावामा पनि मान्छे पोलेको गन्ध मिसिएको हुन्छ। सुरुसुरुमा साह्रै गाह्रो भयो, पछि त बानी पर्‍यो।

आफ्नो फिल्ममा गल्तीहरू कत्तिको भेट्नुहुन्छ?

 एक्लै बसेर फिल्म हेर्दा गल्ती भेटिँदैन। तर, हलमा दर्शकसँगै बसेर हेर्दा हजार गल्ती भेटिन्छ।

तपाईंसँग काम गर्न एकदमै गाह्रो छ भन्छन् नि?

म काम गर्दा एकदम अनुशासित रहन्छु। समयको ख्याल राख्छु। क्यारेक्टरमा डुबेर काम गर्न मन पर्छ। स्क्रिप्ट चित्त नबुझेसम्म लेखिरहन्छु।

लेख्दा कस्तो वातावरण खोज्नुहुन्छ?

 एकदम शान्त। लेख्नकै लागि प्रायः काठमाडौंबाट घर फर्कन्छु। घरमा पनि त्यति धेरै लेख्न त सकिन्न। त्यसपछि रिसोर्टहरू, तपोवन जस्ता शान्त ठाउँतिर लाग्छु। तपोवनमा ध्यान गर्न आउने हो, लेख्न होइन भन्दै ममाथि हाँस्छन् पनि। तर म पनि भनिदिन्छु, लेख्दाखेरि नै मलाई पूरै ध्यान गरेजस्तो हुन्छ।

जीवन्त कथाहरू लेख्ने उत्प्रेरणाचाहिँ कसरी पाउनुहुन्छ?

आफ्नै मनबाट उत्प्रेरित हुन्छु। साँच्चि भन्ने हो भने उत्प्रेरणा दिन अरू कोही चाहिँदैन। कथालाई म आफ्नै जीवनका भोगाइहरूसँग जोड्छु। जीवनसँग मेल खाने, मन छुने र साधारण कथालाई फिल्मको पर्दामा देखाउन मन पर्छ। जे होस्, जे काममा हात हाले पनि मन सन्तुष्ट हुनु पर्‍यो। आखिर अन्त्यमा पुग्ने त्यही घाट हो क्यारे।

अब दर्शकले तपाईंलाई फेरि नयाँ फिल्ममा कहिले हेर्न पाउँछन्?

‘जय भोले’पछि अर्को फिल्ममा काम गर्दै छु। दर्शकको मायाले जिम्मेवारी झन् बढेको छ।

तपाईं मिडियासँग टाढिनुको कारण?

 मिडियामा आउनेबित्तिकै फिल्मको डायलग भन्न लगाउँछन्। मलाई यो कुरा विल्कुल चित्त बुझ्दैन। फेरि मानिसहरूले मेरो कामलाई चिने पनि मलाई नचिनिदिए हुन्थ्यो जस्तो लाग्छ। आफ्नै धुनमा एक्लै मस्त हुने मेरो बानी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.