दृष्टि गुमेपछि कसरी लागे क्रिकेटमा पवन ?
‘एक्कासि मेरो खुट्टामै बम पड्कियो। म लडेँ। मेरो आँखाबाट केही वस्तु खसेजस्तो लाग्यो। झ्याप्पै अन्धकार छायो। मर्छुजस्तो लाग्यो। मेरो मुखबाट एउटै शब्द निस्कियो– आमा ! आमाको लागि भए पनि बाँच्न पाए हुन्थ्यो भन्ने लागिरह्यो।’
नेपाली सेनाका मेजर पवन घिमिरेले १५ वर्षअघिको कहालीलाग्दो घटना सम्झिए। यस घटनाले उनको जीवनमा अकल्पनीय मोड ल्याइदियो। माओवादीले थापेको विद्युतीय धरापमा परी सधैँका लागि पवनको संसार अँध्यारो भयो। अनि, सुरु भयो अँध्यारोमै अर्को यात्रा।
२०६० साल साउन २७ गते। विद्रोही र राज्य पक्षबीच दाङको हापुरेमा वार्ता चलिरहेको थियो। त्यही समय पवनसहित २ सय २८ जनाको दस्ता जुम्ला सदरमुकामबाट कालिकोट सदरमुकामतर्फ जाँदै थियो। गोलीगट्ठासहित हिँडेको टोलीका उनी कमान्डर थिए।
खोँच, भिर, कन्दरा छिचोल्दै उनको टोली कालिकोटको जुबिधा पुग्यो। पवनलाई सम्झना छ, त्यसबेला बिहानको १०ः३० बजेको थियो। दुई फिट चौडा अप्ठ्यारो बाटो हुँदै पहराको टुप्पामा पुग्यो उनको टोली। पसिनाले शरीर निथ्रुक्क भिजेको थियो। केही सैनिक अगाडि थिए, केही पछाडि। लस्कर लामो थियो।
विद्रोहीले थापेको विद्युतीय धरापमा पवनले टेक्न पुगे। एक्कासि ठूलो आवाजमा बम विष्फोट भयो। सबै जना तुरुन्तै पोजिसनमा गई फायर गर्न थाले। पवन घटनास्थलमै मुर्छा परे। ‘ठूलो झोला बोकेको थिएँ,’ उनी सम्झन्छन्, ‘त्यसले बचायो। झोलाको भारी नभएको भए बमको धमकाले मलाई भिरमा फ्याँकिदिन्थ्यो।’
तातो बालुवा उनको आँखामा पर्यो। टाउको फुटेर रगतको भल बग्यो। आँखाबाट केही खसेको महसुस गरे। त्यही बिहान अन्तिम पटक पवनले घाम देखेका थिए। त्यसपछि आँखा गुमाएका उनले कहिल्यै देख्न पाएनन् उज्यालो।
दुर्घटना भएको केही समयमा हेलिकप्टर आइपुग्यो। अन्य सैनिकलाई खासै केही भएन। उनी मात्रै गम्भीर घाइते भए। हेलिकप्टरले उनलाई नेपालगञ्ज ल्यायो। त्यसपछि त्यहाँबाट काठमाडौँ ल्याइयो।
उनका आफन्त र परिवार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल आइसकेका थिए। उनी होशमै थिए। एकोहोरो आमा सम्झिरहेका थिए। ‘‘म बाँचिनँ भने आमा बाँच्नु हुन्न, आमा बाँच्नुभएन भने परिवारको बिचल्ली हुन्छ, आमाका लागि भए पनि बाँच्नुपर्छ’ भन्ने लागिरह्यो,’ उनी सम्झन्छन्।
परिवार अस्पतालमा आएर उनलाई खोज्न थाल्यो। उनी होशमै भए पनि बोल्न सक्ने अवस्थामा थिएनन्। परिवार नजिकै आएर हेर्थे, नचिनेपछि अन्तै जान्थे। तर, आमाले खुट्टा हेरेरै ठम्याइन्, आफ्नो छोरा। उनी भक्कानिइन्। पवनको घाइते शरीरमाथि आमाको आँशु बगिरह्यो।
नेपालमा महिनौँ उपचार गरेपछि आँखाको उपचार गर्न पवनलाई भारतको हैदराबाद लगियो। डाक्टरहरू परिवारलाई पवनको आँखा ठीक हुने आश्वासन दिन्थे। तर, उनलाई भने विश्वास कम थियो।
भन्छन्, ‘म साइन्सको विद्यार्थी। मलाई मेरो आँखा बन्दैन भन्ने थाहा थियो। तर, आशा भने लाग्थ्यो।’ भारतमा आँखाको उपचार भएन। उनले बुझे, दुनियाँमा उनको आँखा बनाउने प्रविधि अहिलेसम्म विकास भइसकेको छैन। त्यसपछि उनको बाटो मोडियो। अन्धकारमा हिँड्न थाले पवन।
बितेको १५ वर्ष पवन अँध्यारोमै हिँडे। अँध्यारोमै लडे। अँध्यारोमै उठे। अँध्यारोमै रोए, अनि अँध्यारोमै हाँसे। पवनले दुनियाँ देख्न सकेनन्, तर दुनियाँले उनलाई देख्यो। उनको आँखा छैन, तर बनेका छन् सारथि। उनी आँखा देख्दैनन्, तर बनेका छन् थुप्रैको प्रेरणाको स्रोत। यो अन्धकारबाट उज्यालोतिरको यात्रामा उनले चरम निराशाका क्षणहरू बिताए। कहालीलाग्दा उकाली चढे र बनिछाडे दृष्टिविहीन सारथि।
ललितपुरको लेलेमा ४० वर्षअघि जन्मिएका थिए, पवन। उनी बुबा भैरवबहादुर घिमिरे र आमा सरीता घिमिरेको माइलो छोरा हुन्। बुबा बैंकका म्यानेजर थिए। हजुरबुबा आर्मीको क्याप्टेन थिए। गुँरास टिप्दै, बाख्रा चराउँदै, घाँटीमा गुलेली भिर्दै, काँक्रो चोर्दै, वनभोज जाँदै लेलेको काँठमा बिताए बाल्यकाल।
२०५० सालमा फस्ट डिभिजनमा एसएलसी पास गरे। अमरकान्ति बोर्डिङ स्कुलमा केही समय पढाए पनि। त्यसपछि अमृत साइन्स क्याम्पसमा आईएससी पढ्न थाले। उनको सपना थियो, स्कुल खोलेर हेड मास्टर बन्ने। तर, हजुरबुबाको सपना पूरा गर्न सेनामा भर्ना भए। बिएससी तेस्रो वर्ष पढ्दापढ्दै २०५७ सालमा सेकेन्ड लेफ्टिेनेन्टमा नाम निकालेर नेपाली सेनामा प्रवेश गरे।
अँध्यारो यात्रा
पवन भारतबाट फर्केपछि घरमा त्यसै बसिरहे। निराशामा डुब्न थाले उनका दिनहरू। ‘कसैसँग बोल्न मन लाग्दैनथ्यो,’ उनी विगतमा पुग्छन्, ‘रिस मात्रै उठिरहन्थ्यो।’ घरमा एक्लै बस्नु, भित्रभित्रै आँशु झार्नु, विगतका सुन्दर तस्बिरहरू मनमा सजाउनु उनको दिनचर्या हुन थाल्यो।
कोहीसँग नबोली कोठामा एक्लै धुमधुमती बसिरहन्थे। दिक्क लाग्न थाल्थ्यो, उनलाई जीवनदेखि। बाहिर देख्ने दृष्टि युद्धमा गुम्यो। अब भित्री दृष्टि पनि कमजोर हुँदै थियो। ‘तर, आत्महत्या गर्ने सोच कहिल्यै आएन,’ उनी भन्छन्, ‘आमाका लागि भए पनि बाँच्नुपर्छ भन्ने लागिरहन्थ्यो।’
पवनले आँखा गुमाउने बेला नेपालमा लोडसेडिङ भइरहन्थ्यो। आँखाको ज्योति गुमेको क्षणलाई उनी लोडसेडिङसँग तुलना गर्थे। बत्ती झलमल बल्दा वरपरका मानिसहरू ‘बत्ती आयो’ भन्दै चिच्याउँथे। पवनको आँखा पनि उज्यालो खोज्थ्यो।
खुशी हुन्थे आफैँसँग। जुरुक्क उठेर उज्यालो खोज्दै हिँड्थे। ठोकिन्थे जताततै। रगत बग्थ्यो निधारबाट, पैतालाबाट। तर, उज्यालोको एक कण पनि भेट्दैन थिए कतै। त्यसपछि आँशु झार्थे। एक्लै कुनामा बसेर रोइदिन्थे। पवनका लागि सधैँ लोडसेडिङ भइरह्यो। एक दिन पक्कै उज्यालो हुन्छ भन्ने आशा लाग्थ्यो उनलाई। यही आशाले धेरै वर्ष पछ्याइरह्यो पवनलाई। भन्छन्, ‘आज उज्यालो होला, भोलि उज्यालो होला भन्ने लागिरहन्थ्यो।’
पवन सपनामा सुन्दर तस्बिरहरू देख्थे। खुला हावामा उड्थे। ‘सपनामा साथीहरूसँग लेलेको जंगलमा वनभोज खान गएको देख्थेँ,’ उनी सम्झन्छन्, ‘सपनामै लखनखेल, जावलाखेल, पाटन, चापागाउँ अनि तीनपाने भञ्याङतिर घुम्थेँ।
साथीहरूसँग हाँस्थेँ, डुल्थेँ।’ यसरी सपनामा सारा संसार नियालेपछि ‘मैले आँखा देखेँ’ भन्दै चिच्याउँदै ओछ्यानबाट जुरुक्क उठ्थे उनी। तर, ठोकिन्थे अँध्यारो वर्तमानसँग। अनि, बेस्सरी रुन्थे। ‘सपनामा आँखा देख्दा जुरुक्कै उठेर कति हिँडेँ, हिँडेँ,’ पवन भन्छन्, ‘धेरै पटक चोट लाग्यो। आजभोलि पनि सपनामा बाल्यकाल देख्छु।’
घरमा एक्लै धुमधुमती बसिरहे पवन। बेलाबेलामा परिवारले बाहिर घुमाउन लैजान्थ्यो। कहिलेकाहीँ उनी एक्लै बाहिर निस्किन्थे। काठमाडौँका सडकमा एक्लै हिँड्थे। हिँड्दा धेरै पटक लडे। भन्छन्, ‘बाटोमा चिप्लिएर धेरै लडेँ।’
चटपटे बेचिरहेका मानिससँग, बाटो हिँड्ने बटुवासँग, पार्किङ गरिराखेका मोटरसँग कति ठोकिए, कति। कतिले उल्टै गाली गरे। कतिले ‘सरी’ भन्दै हिँडे। गाडी चढ्दा अपांग सिटमा प्रायः बस्न पाएनन्। बरु तीतो अनुभव बटुले। भन्छन्, ‘सिट छाड्नु त परै जाओस्, उल्टै धेरै पटक मेरो पकेट मारियो।’
सुरुसुरुमा आफन्त र साथीभाइ उनलाई भेट्न निकै आउँथे। दिन बित्दै जाँदा साथीहरू आउने क्रम घट्दै गयो। अब उनको एक मात्र साथी बनिन्, आमा। पवनलाई देख्थेबित्तिकै आमाको आँखा रसाइहाल्थ्यो।
जब आमा रोएको सुँक्कसुँक्क आवाज पवनको कानमा ठोकिन्थ्यो, त्यसबेला उनलाई मुटुमा सियोले घोचेजस्तो हुन्थ्यो। ‘‘जन्म दिने आमालाई सुख दिन सकिनँ, उल्टै रुवाएँ, थुक्क जिन्दगी !’ भनेर आफूलाई धिक्कारिरहन्थेँ,’ उनी सम्झन्छन्।
घरमा पवनको बिहेको कुरा चल्यो। ‘सुन्दै अचम्म लाग्यो मलाई,’ उनी स्मृतिमा पस्छन्, ‘आँखा गुमाएको मान्छेको आँशु कसले पुछ्ला र ? मलाई विश्वासै लागेन। जोसँग संसार हेर्ने आँखा छैन, कसले अँगाल्छ मलाई ? कसले पत्याउँछ ? यस्तै–यस्तै कुरा मनमा खेल्थे।’
परिवारले पवनलाई शितल सिलवालसँग भेट गराइदियो। शितल स्नातक पढ्दै ब्युटिपार्लर चलाइरहेकी थिइन्। पवनले सोचेजस्तो आम युवती थिइनन्, शितल। ‘शितल साँच्चैको शितल छहारी थिइन्,’ पवन भन्छन्, ‘आँखा देख्ने युवतीले आँखा नदेख्ने पुरुषलाई रोज्नु चानचुन कुरा होइन।’
शितल दृष्टिविहीनलाई असाध्यै माया गर्ने केटी थिइन्। बाटोमा हिँड्दै गरेका दृष्टिविहीन देख्नेबित्तिकै सहयोग गर्न पुग्थिन्।
भृकुटीमण्डपको चियापसल बन्यो, उनीहरूको डेटिङ स्पट। त्यहीँ मौलायो माया। त्यहीँ साटियो मन। पवनभित्र रहेको जिन्दगीप्रतिको आशा र लगाव शितललाई मन पर्यो। पवनलाई साथ दिए पक्कै केही गर्छन् भन्ने लाग्यो उनलाई। त्यसपछि परिवारमा कुरा चल्यो। पवनको परिवार तयार भयो। तर, शितलको परिवारले ठाडै अस्वीकार गर्यो। मनमा बल्न लागेको आशाको दियो फेरि निभ्यो।
अँध्यारोबाट उज्यालोतिर
पवन निराश भई त्यत्तिकै घरमा बसिरहे। कुनै योजना थिएन। कुनै सपना थिएन। कुनै गन्तव्य थिएन। एक दिन उनका बुवाले हौसिँदै सुनाए, ‘महाराजगञ्जमा दृष्टिविहीनलाई कम्प्युटर सिकाउँछ रे। त्यहाँ गएर सिक।’ पवनले बुबाको कुरा नसुनेझैँ गरे।
‘आँखै छैन, किन सिक्नुपर्यो कम्प्युटर ?’ उनको मनमा बारम्बार यही प्रश्न आइरहन्थ्यो। केही दिनपछि फेरि उनका बुबाले आग्रह गरे। पवनले अटेर गरिरहे। फेरि अर्को दिन पनि बुबाले भने। ‘बुबाको मन राख्न भए पनि मैले सिक्न जाने निधो गरेँ।’
छडीले बाटो पहिल्याउँदै पवन महाराजगञ्ज पुगे। कम्प्युटर सिक्ने ठाउँमा उनले आफूजस्तै दृष्टिविहीन साथीहरू भेटे। ‘त्यहाँ त दुःखी र अभागीहरूको जमघट पो रहेछ,’ पवन सम्झन्छन्, ‘कसैको आमा छैन, कसैको बाउ छैन। कसैलाई दृष्टिविहीन अलच्छिना भनेर घरबाट लखेटिएको थियो।
आमाबाउले कुटेर मार्न खोज्दा पनि नमरेपछि छिमेकीले थाहा पाएर बचाइदिएका पनि थिए कोही। कसैका आमाबुबा खानेकुरा लिएर आउँछु भन्दै भागेका थिए।’ दर्दनाक कथैकथा बोकेका दृष्टिविहीनहरू हाँस्दै कम्प्युटर सिक्न आएको भेटे पवनले। उनीहरूको जीवनकथा सुनेर पवन चकित भए। झन् चकित त्यतिबेला भए, जतिबेला उनीहरू हाँसीहाँसी कम्प्युटर सिकिरहेका थिए।
त्यो वातावरणले उनलाई जीवनकै सबभन्दा ठूलो शिक्षा दियो। पीडामा पनि कसरी हाँस्नुपर्छ भन्ने पाठ सिकायो। अनि आफैँलाई सम्झे। भन्छन्, ‘मसँग आमाबुबा छन्। दाजुभाइ छन्। जागिर छ। राजधानीमा घर छ। २५ वर्षसम्म संसार हेरेको छु।
उनीहरूभन्दा भाग्यमानी हुँ म। म किन दुःखी हुने ?’ एकाएक पवनभित्र आशाको सञ्चार भयो। पवनको सपना बदलियो। उनले सोचे, ‘अब मैले दृष्टिविहीन साथीहरूका लागि केही गर्नुपर्छ।’ कम्प्युटर सिकाउने त्यो इन्स्टिच्युट उनका निम्ति जीवन सिकाउने विश्वविद्यालय बन्यो। नयाँ आशा र नयाँ सपना दिने ठाउँ बन्यो। उनले जीवनको नयाँ मोड भेटे। त्यसपछि सुरु भयो, पवनको नयाँ यात्रा।
क्रिकेटको नयाँ किरण
कम्प्युटर सिक्दासिक्दै पाकिस्तानबाट दृष्टिविहीनलाई क्रिकेट सिकाउने टोली नेपाल आइपुग्यो। उनी सिक्न गए। ‘सुरुमा गाह्रो भयो,’ पवन सम्झन्छन्, ‘तीन दिन खेलिसकेपछि एकदमै अभिरुचि लाग्न थाल्यो।’
एक हप्ताको तालिम सकिँदा पवनभित्र नयाँ ऊर्जा थपिएको थियो। अब आफूजस्तै दृष्टिविहीनलाई क्रिकेट सिकाउने योजना बुन्न थाले। ‘क्रिकेटबाटै केही गरेर देखाउँछु भन्ने योजना बनाउन थालेँ,’ उनी विगतमा पुग्छन्।
२०६३ साउनमा नेपाल नेत्रहीन क्रिकेट संघ गठन भयो। केही समय उनी संघको उपाध्यक्ष बने। त्यही वर्ष संघको अध्यक्ष बनेका उनी हालसम्म सो पदमा कायम छन्। संघमार्फत दृष्टिविहीनलाई क्रिकेटको प्रशिक्षण दिन उनी देश दौडाहामा निस्किए।
अन्धकार वर्तमान, अन्योल भविष्य, परिवारको बोझ र समाजको हेला सहेर घरमै टोलाइरहेका दृष्टिविहीनलाई जम्मा गर्दै पवन चितवन पुगे। झापा पुगे, कञ्चनपुर पुगे। रौतहट पुगे, रुपन्देही पुगे। पोखरा पुगे, भैरहवा पुगे। उपत्यकाका तीनै जिल्लामा पुगे। जहाँ–जहाँ पुगे, दृष्टिविहीनका लागि नयाँ सपना लिएर पुगे, नयाँ जीवन लिएर पुगे।
२०६४ सालमा पोखरामा भएको दृष्टिविहीन क्रिकेट ट्रेनिङमा महिला मात्रै करिब ३५ जना थिए। त्यही बेला विश्वप्रसिद्ध टेलिभिजन च्यानल अल–जजिराका एक पत्रकारले दृष्टिविहीन भगवती अमगाईंको भिडियो खिचे। उनको भिडियो अन्तर्राष्ट्रिय मिडियामा छायो।
भिडियोकै कारण उनले स्नातकोत्तरसम्म छात्रवृत्तिमा पढ्न पाइन्। अन्ततः उनले प्रशिक्षण दिएको त्यही टिम विश्वकै पहिलो नेत्रहीन महिला क्रिकेट संघ बन्यो। पवन खुशी हुँदै भन्छन्, ‘उहाँहरूको उत्साहले विश्वको पहिलो नेत्रहीन महिला क्रिकेट टिम नेपालमै बन्यो।’
पवनले १२ वर्षमा २० जिल्लामा नेत्रहीन क्रिकेट संघको शाखा विस्तार गरिसके। अहिले देशभर पुरुष करिब पाँच सय र महिला करिब दुई सय नेत्रहीन क्रिकेटर रहेको उनी बताउँछन्। उनकै सक्रियताका कारण नेपालले विश्वकप क्रिकेटमा सहभागिता जनाउनुअघि नै २०१२ मा दृष्टिविहीन क्रिकेटरले नेत्रहीन क्रिकेट विश्वकपमा खेलिसकेका थिए।
अब पवनको जिम्मेवारी राष्ट्रिय स्तरमा मात्रै सीमित रहेन। सन् २०१८ मा भारतका प्रतिद्वन्द्वीलाई पछि पार्दै पवन विश्व नेत्रहीन क्रिकेट परिषद्का कोषाध्यक्ष चुनिए। अन्तर्राष्ट्रिय रेफ्रीको समेत जिम्मेवारी सम्मालिसके। सन् २०१२ देखि २०१४ सम्म एसियन डेभलेपमेन्ट डारेक्टरका रूपमा समेत काम गरिसके।
आँखा देख्दा पवनले भारतबाहेक अन्य देश टेकेका थिएनन्। आँखा गुमाएपछि उनी अमेरिकामै दुई पटक छात्रवृत्तिमा पढ्न पुगिसके। अमेरिकाको ह्वाइट हाउस र पेन्टागन पुग्दाका अनौठा अनुभव उनीसँग ताजै छन्। मलेसियामा कम्प्युटर सिक्न गए।
पाकिस्तान दुबई, कुवेत, बेलायत भ्रमण गरिसके। क्रिकेट खेलेरै पाए, दृष्टिविहीन प्रतिभा पुरस्कार र अनगिन्ती सम्मानहरू। नेपाली सेनाले उनको साहसको कदर गर्दै मेजरमा बढुवा गर्यो। प्रधानसेनापतिदेखि राष्ट्रपतिसम्मले उनलाई ढाडस दिए।
पवनको खुशीको सिलसिलामा शितल पनि थपिइन्। सुरुमा अस्वीकार गरे पनि उनको परिवार पछि राजी भयो। पवनको सफलतामा शितलको साथ उत्तिकै महत्त्वपूर्ण छ। उनीहरू दुई छोरी र एक छोराका अविभावक हुन्।
बाहिरी रूपमा शितल कस्ती छिन् ? पवनलाई थाहा छैन। तर, उनले शितलको एउटा तस्बिर मनमनै कोरेर हृदयमा सजाएका छन्। पवन भन्छन्, ‘गहुँगोरो वर्णकी होची–होची छिन्, मेरी शितल।’
सन् २०१४ मा बेलायत र नेपालबीच नेत्रहीन महिला क्रिकेटको मैत्रीपूर्ण खेल भयो। नेपालले जित्यो। त्यही बेला खेलकुद मन्त्रालयबाट टिम सम्मानित भयो। बेलायत र मोरोक्कोमा भएको अन्तर्राष्ट्रिय अवार्डमा महिला टिम मनोनीत भयो।
टिमले स्पोर्ट अवार्ड जित्यो। पाकिस्तान ब्लाइन्ड क्रिकेट काउन्सिलबाट पवनले स्पेसल अवार्ड पनि जिते। पवनको टिमले सन् २०१२, २०१७ र २०१८ गरी तीन पटक नेत्रहीन क्रिकेट विश्वकप खेलिसक्यो। ‘नेपालबाट सिक्दै पाकिस्तान, श्रीलंका र बेलायतले पनि नेत्रहीन महिला क्रिकेट टिम बनाए,’ पवन भन्छन्।
जब माया मारेका छोराछोरी टेलिभिजनको पर्दामा देखिन थाले, पत्रपत्रिकामा छाउन थाले, राष्ट्रिय-अन्तर्राष्ट्रिय पुरस्कार पाउन थाले, त्यसपछि आमाबुबा र गाउँलेको भनाइ फेरियो। पवन भन्छन्, ‘त्यसपछि उनीहरूले भन्न थाले– ‘आँखा देख्ने छोराछोरी हल्लिएर हिँडि‘राछन्, आँखा नदेख्ने छोराछोरी टीभीमा छाइराछन्।’
दृष्टिविहीन क्रिकेटलाई नेपालको कुनाकुनासम्म पुर्याउने पवनको सपना छ। विश्व नेत्रहीन क्रिकेटको वरीयतामा नेपाल सातौँ स्थानमा छ। ‘वल्र्डकपमा नेपाली टोलीलाई फाइनलसम्म पुर्याउने मेरो लक्ष्य छ,’ पवन भन्छन्। बजेट अभावका कारण काम गर्न नसकिएको उनी बताउँछन्। ‘दृष्टिविहीन खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्ले कम आँक्न पाउँदैन।’ सरकार दृष्टिविहीन मानिसको अभिभावक बन्नुपर्ने पवनको मत छ। भन्छन्, ‘हामी धर्तीका बोझ होइनौँ, राष्ट्रको गहना हौँ। अवसर पायौँ भने देशको नाम उँचो राख्न सक्छौँ।’
पवनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। आजभोलि उनलाई आँखा देख्ने पवनभन्दा नदेख्ने पवन नै ठीक लाग्छ। ‘हजारौँ मानिस सेनामा जागिर खान्छन्, जागिर सकिएपछि गायब हुन्छन्,’ उनी भन्छन्, ‘तर, मेरो जीवन त्यस्तो भएन। मैले शरीरको एउटा अंग गुमाएँ, तर धेरै थोक पाएँ। आँखा नभएर के भो र ? आँखा गुमाउनुअघि मलाई ९३ हजार नेपाली सेनामध्ये केही सयले चिन्थे। अहिले मलाई देश–विदेशमा लाखौँले चिन्छन्।’
पवनले आँखाको ज्योति पुनः प्राप्त गर्ने सम्भावना अब करिब अन्त्य भइसक्यो। उनलाई अब जिन्दगीसँग कुनै गुनासो छैन। भन्छन्, ‘आँखा हुँदैमा जीवन सफल हुन्छ भन्ने छैन। आँखा नहुँदैमा जीवन असफल हुन्छ भन्ने पनि छैन। मुख्य कुरा, जीवनलाई हेर्ने दृष्टिकोण हो, अनि जीवनलाई सुन्दर र सार्थक बनाउन गरिने मेहनत हो।’ पवन दृष्टि गुम्नुलाई पूर्णविराम मान्दैनन्। भन्छन्, ‘यो पूर्णविराम होइन, अल्पविराम मात्रै हो। अल्पविरामपछि फेरि अर्काे यात्रा सुरु हुन्छ।’
०००
काठमाडौँ, त्रिपुरेश्वरस्थित दशरथ रंगशालानजिकै एउटा चियापसलमा आफ्ना जीवन भोगाइहरू सुनाइरहेका थिए, पवन। कुराकानीको अन्त्यतिर उनी भावुक भए। बोल्दाबोल्दै रोकिए। उनको गला अवरुद्ध भयो। एकछिन चुपचाप बसे। कालो चस्मा लगाएका उनले परपर नियाले। लामो सास तान्दै भने, ‘मैले आमाका लागि बाँच्ने निर्णय गरेँ। तर, आमाले मलाई सधँैका लागि छाडेर जानुभयो।’
पवनः एक हौसला
गोरखा, वीरेन्द्रचोककी भगवती अमगाईं (२६) नेत्रहीन महिला क्रिकेट टिमकी कप्तान हुन्। २०६४ सालमा उनी पोखरामा पढ्दै थिइन्। पवन घिमिरे दृष्टिविहीनलाई क्रिकेट सिकाउन पोखरा पुगे। त्यहीँ भेट भयो भगवतीसँग। भन्छिन्, ‘सुरुमा मलाई कसरी खेल्ने होला भनेर अचम्म लाग्यो। पछि पवन दाइले हौसला दिनुभयो। उहाँकै कारणले क्रिकेट खेल्न थालेँ।’
दृष्टिविहीनले क्रिकेट खेल्ने भएपछि राष्ट्रिय-अन्तर्राष्ट्रिय समाचार संस्थाहरू पोखरा पुगे। त्यही समूहमा पुगेका थिए, अल–जजिराका एक जना पत्रकार। ‘बेलायती पत्रकार जेम्सले राम्रो क्रिकेट खेल्ने खेलाडीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरे,’ भगवती सम्झन्छिन्, ‘उनले नै मेरो २१ मिनेटको डकुमेन्ट्री खिचेर लगे।’
डकुमेन्ट्री अल–जजिरा टेलिभिजनमा प्रसारण भयो। भगवती मिडियामा छाउन थालिन्। ‘गाउँमा दृष्टिविहीन भनी मलाई हेला गर्नेहरू चकित भए,’ उनी भन्छिन्, ‘कतारदेखि ‘भगवतीलाई टिभीमा देखेँ’ भनेर मेरा बुबाआमालाई फोन आयो। त्यसपछि केही वर्षपछि भगवती पढ्ने स्कुल खोज्दै जेम्म आइपुगे। भगवतीलाई उनैले स्नातकोत्तरसम्म पढाइदिए।
भगवतीको टिमले बेलायतसँग सन् २०१३ मा मैत्रीपूर्ण खेल खेल्यो। नेपाल विजयी भयो। पुरुष दृष्टिविहीन टिमसँगै भगवती पाकिस्तान गइन्। त्यहाँ जाँदाको दुःखद घटना उनको स्मृतिमा अझै ताजा छ।
भन्छिन्, ‘राज्यले पैसा नदिएका कारण प्लेनमा जान सकेनौँ। ट्रेन, बस, रिक्सा, अटोमा चढ्दै दुई दिनमा पाकिस्तान पुग्यौँ।’ खेलाडीहरू थकित भएका कारण पराजित हुनुपरेको उनको ठहर छ। भगवतीले त्यही बेला पाकिस्तानमा पनि दृष्टिविहीन महिला टिम बनाउन आग्रह गरिन्। पाकिस्तानले छोटो समयमै टिम तयार बनायो। ‘त्यही टिमसँग खेल्न हामी पुस २४ गते पाकिस्तान जाँदै छौँ,’ उनी भन्छिन्।
भगवती पवन घिमिरे नभएको भए गोरखामै थन्किएर बस्नुपर्ने बताउँछिन्। भन्छिन्, ‘पवन दाइले हामीलाई जम्मा गरेर क्रिकेट नसिकाउनुभएको भए आज म कहाँ हुन्थेँ, कल्पनासम्म गर्न सक्दिनँ।’
०००
रुपन्देही, कञ्चनकी गीता पौडेल (२५) परिवारको जेठी छोरी हुन्। खेतीकिसानी गरेर बुबा झमलाल पौडेलले छोरी हुर्काए। जन्मिएको चार दिनपछि छोरी दृष्टिविहीन भएको उनले थाहा पाए। भारतमा चौकीदारी गर्ने उनी निकै चिन्तित थिए।
तर, जब छोरीले राम्रो क्रिकेट खेल्न थालिन्, उनको परिवार खुशी भयो। ‘बेलायतसँग क्रिकेट खेल्दा म उपकप्तान थिएँ,’ गीता भन्छिन्, ‘रुपन्देही टिमको कप्तान थिएँ। आमाबुबा धेरै खुशी हुनुहुन्छ।’ गीता अहिले राष्ट्रिय टिममा छिन्।
पाकिस्तानमा हुने मैत्रीपूर्ण क्रिकेट खेल्ने तयारीमा छिन्। स्नातकसम्म पढाइ पूरा गरेकी उनी पवन घिमिरेसँगको भेटले जीवनको बाटो नै मोडिएको बताउँछिन्। भन्छिन्, ‘पवन सर हाम्रो हौसला हो। उहाँकै कारण मैले जिन्दगीमा केही गर्न सकेकी हुँ।’
०००
रौतहटकी आयुष्मा क्षत्रीका छ जना दिदीबहिनी छिन्। तीमध्ये तीन बहिनी दृष्टिविहिन छन्। आयुष्माकी दिदीलाई पवन घिमिरेले क्रिकेट टिममा ल्याए। त्यसपछि उनी पनि आइन्। स्नातक तेस्रो वर्ष पढ्दै गरेकी २० वर्षीया आयुष्मा क्रिकेटमै आफ्नो भविष्य बनाउन चाहिन्छन्। भन्छिन्, ‘पवन दाइ हाम्रो अभिभावक हुनुहुन्छ। उहाँको साथ र सहयोगले क्रिकेटमा राम्रो गर्न चाहन्छु।’
०००
नेपाली विषयमा स्नातकोत्तर गरेकी आशा रेगामी अहिले राष्ट्रिय टिमबाट क्रिकेट खेल्दै छिन्। उनी पनि पवन घिमिरेको हौसला र सहयोगले नै यहाँसम्म आइपुगेको बताउँछिन्। गुल्मीकी २७ वर्षीया आशा क्रिकेटबाटै देशको नाम विश्वमा चिनाउने आशा व्यक्त गर्छिन्। पवन घिमिरेका कारण आफूले नयाँ जीवन पाएको उनको भनाइ छ। ‘पवन सर हाम्रा निम्ति ठूलो भरोसा हुनुहुन्छ,’ उनी भन्छिन्।
‘उहाँ दृष्टिविहीनको आदर्श हो’ : भानु सिग्देल
नेपालको समग्र क्रिकेटलाई सहयोग गर्ने उद्देश्यले २०७१ सालमा ‘नेपाली क्रिकेटर सपोर्टर सोसाइटी’ गठन भयो। सोसाइटीको १७ जिल्लामा शाखा छन्। करिब एक हजार सक्रिय सदस्य र करिब चार लाख मेम्बर रहेको फेसबुक पेज पनि हामीसँग छ।
दृष्टिविहीन क्रिकेट टिम विश्वकप खेल्न पाकिस्तान जाँदा ट्रेनमा गयो। निकै कष्टपूर्ण यात्रा गरेर विश्वकप खेल्न गएको थाहा पायौँ। राज्यबाट कुनै सुविधा दिइएको रहेनछ। नेपालको झण्डा विदेशमा फहराएर आउने दृष्टिविहीन क्रिकेट टिमलाई सहयोग नभएको देख्दा हामीलाई दुःख लाग्यो।
त्यसपछि उहाँहरूलाई सहयोग गर्ने योजना बनायौँ। यूएईमा खेल्न जाँदा पनि राज्यबाट कुनै सहयोग भएन। त्यसपछि हामीले ‘जाँदा ट्रेनमा फर्किंदा प्लेनमा’ अभियान सुरु गर्यौँ। क्रिकेटका फ्यान, क्रिकेट स्टेकहोल्डरसँग सहयोग माग्यौँ।
करिब आठ लाख रुपैयाँ जम्मा भयो। विश्वकप खेलेर फर्किंदा उहाँहरूलाई हामीले यूएईबाट प्लेनमा फर्काउन सफल भयौँ। बचेको पैसा दामासाही भाग लगाई २२-२२ हजार रुपैयाँ हरेक खेलाडीलाई बाँड्यौँ। दृष्टिविहीन क्रिकेट संघलाई ५० हजार सहयोग गर्यौँ।
पवन घिमिरे नेत्रहीन क्रिकेट संघको अध्यक्ष हुँदा मैले चिनेको हुँ। उहाँले नेत्रहीन क्रिकेट संघको जसरी नेतृत्व गरिरहनुभएको छ, त्यो एकदमै लोभलाग्दो छ। उहाँको नेतृत्वमा संघले निकै राम्रा योजना ल्याएको छ।
विश्व दृष्टिविहीन क्रिकेटसम्म नेपाली टिमको पहुँच पुर्याउन उहाँले निकै राम्रो काम गर्नुभएको छ। उहाँको अथक मेहनतले धेरै दृष्टिविहीन क्रिकेटरलाई हौसला मिलेको देखिन्छ। उहाँ नभएको भए नेपालको दृष्टिविहीन क्रिकेट यहाँसम्म आइपुग्न मुश्किल पर्थ्याे। उहाँ दृष्टिविहीनको आदर्श हो।