किम इल सुङको घर पुग्दा
सन् २०१८ अक्टुबर १६। बिहान डाङ्डुङको पुल तरेपछि उत्तर कोरियाको भूगोलमा टेकियो। सीमामा रहेका सुरक्षाकर्मीहरूले हार्दिकतापूर्वक चेकजाँच गरे। डाङ्डुङदेखि राजधानी प्योङ्याङ पुग्दासम्म नेपालको तराईमा यात्रा गरेझैं भयो। यात्रा पश्चिमबाट पूर्वी उत्तरतिर भएको थियो। यो यात्रा अवधिभर हामीले मैदानी फाँट तथा उपत्यकाहरू देख्यौं। मुख्यतः धान, मकै तथा केही स्याउ फारम जताततै देख्यौं। यहाँका कुनै खोरिया बाँझो थिएन। गाउँबस्ती नजिक सागबारी हराभरा थियो।
डाङ्डुङदेखि प्योङ्याङसम्मको एक सय ६९ किलोमिटरको यात्रा अवधिमा देखिएका खेतबारी, बस्ती, सडक, पुलपुलेसा, जनजीवन तथा चहलपहल देख्दा कोरियाले आफ्नै गतिमा सभ्यता, संस्कृति र विज्ञानप्रविधिको विकास गरिरहेको छ भन्ने लाग्यो। एकनासका गाउँ, एकीकृत रूपमा बस्ती बसालिएको छ। प्रत्येक बस्तीमा विद्यालय, स्वास्थ्य चौकी र सुरक्षा पोस्ट राखिएको छ। प्रायःले साइकलमा यात्रा गरिरहेको देखियो। सडकमा एकाध बस, कार भने ओहोरदोहोर गरिरहेका थिए।
खेतमा काम गरिरहेका केटाकेटी, युवकयुवती हुन् या वृद्धवृद्धा सबैले एकै प्रकारका लुगा लगाएका थिए। पहिरनमा कसैले पनि गरिबी देखाएको पाइएन। उनीहरूले फलाएको अन्न खेर नजाओस् भनी धानको बाला टिपिरहेको, धान पोखिएको ठाउँमा घरमा पालिएका कुखुरा र हाँसको खोरसहित खेतमा ल्याई चराइरहेका थिए। यसलाई मौकामा हीरा फोर्नुसँग दाँजेर हेर्दा राम्रो होलाजस्तो लाग्यो।
प्योङ्याङ पुगेपछि जापानी उपनिवेशबाट कोरिया मुक्त भएपछि किम इल सुङले विजय घोषणा गरेको किल्लाबाट अवलोकन सुरु गर्यौं। त्यसपछि टावर अफ जुछे आइडिया, कुम्सुसन्स् प्यालेस, बेस्ट टुमर हस्पिटल, पी वाई टिचर्स टे«निङ कलेज, कोरियन रिभ्ड्युसन म्युजियम, विज्ञान प्रविधि कम्प्लेक्स, भिक्टोटियस फादरल्यान्ड लिबर्सन वार म्युजियम, केन्द्रीय चिडियाखाना, रेल स्टेसन आदिको अवलोकन गर्यौं। यी सबैले कोरियाको क्रान्तिकारी इतिहास जान्ने मौका पाइयो। अझ स्पष्ट रूपमा भन्नु पर्दा राष्ट्रपति किम इल सुङ, कोरियाली जनताका महान् नेता किम जोङ इल र सर्वोच्च नेता किम जोङको क्रान्तिकारी कदमहरूको भौतिक अनुभव प्रत्यक्ष गर्न पाइयो।
हामीहरूले जहाँजहाँ ऐतिहासिक स्थान अवलोकन गर्यौं, त्यहाँ कोरियाको नेतृत्व र विचारको उच्च सम्मान भएको पायांै। राष्ट्रपति किम इल सुङको जन्मघरको आँगनमा पुग्दा कोरियाको इतिहास बुझ्न पाइयो। किम इल सुङ र किम जोङ इललाई राखिएको सूर्य दरबार पुग्दा उहाँहरू भौतिक रूपमा जीवित नै हुनुहुन्छ जस्तो लाग्दो रहेछ। त्यहाँको सजावट तथा उच्च सम्मान र भावपूर्ण परिवेशले त्यस्तै बोध भयो।
कोरियाको सापेक्षतामा मार्क्सवादको सिर्जनशील प्रयोगको रूपमा जुछे विचार विकास भएको र त्यसले जसरी प्योङ्याङ सहरको बीचमा ठड्याइएको जुछे टावरबाट सबैतिर अवलोकन गर्न सकिन्छ, त्यही रूपमा मान्छेलाई केन्द्रमा राखी आत्मनिर्भर बनाउने विचार प्रसारण गराई रहेझैं लाग्यो। जुछे टावरको धुरीमा चढेर मेरा आँखाले कोरियाको राजधानी नियालिरहेको थियो, तर तनमन भने नेपाल अनि कर्णालीतिर घुमिरहेको थियो। मैले प्रस्ताव गरेको बाह्रदेउ भ्यु टावरले हिमवत् खण्डको केन्द्र निर्माण गर्न खोजेको हो, यसको मर्म बुझ्ने शासक तथा योजनाविद्को साथ नपाइरहेको सन्दर्भ पुनः सम्झना भयो।
कोरियन रिभ्ड्युसन म्युजियम र भिक्टोटियस फादरल्यान्ड लिबर्सन वार म्युजियम हेर्दा क्रान्तिकारी इतिहासको बोध भयो। हामीहरू मातृभूमि भन्छौं तर उनीहरू पितृभूमि भन्न रुचाउँदा रहेछन्। सायद यो पनि मातृसत्ता र पितृसत्ताको प्रागःऐतिहासिक प्रभावले भन्ने गरिएकाले होला। सपना देख्नेले जता पनि घायल हुनुपर्दो रहेछ। यी संग्रहालय हेरेपछि यस्तै महसुस भयो मलाई। नेपालमा माओवादी जनयुद्धले क्रमभंग गरिदियो। जनयुद्धका कारण कसैले कल्पनासमेत नगरेको सामन्ती राजतन्त्र फाल्न र संघीय गणतन्त्र नेपालको घोषणा गर्ने काम भयो। तर, अवशेष गुमनाम हुँदै छ।
पाँच वर्षअघि नै मैले माओवादी पार्टीको बैठकमा ‘जनयुद्ध संग्रहालय’ स्थापना गरौं भनी प्रस्ताव गरेको थिएँ। प्रचण्ड सरकारले नीति तथा कार्यक्रममा ल्यायो, बजेटमा आयो तर त्यो काठमाडौंकै गोदावरीमा स्थापना गरौंभन्दा रोल्पामा गर्नेमा नेताहरू केन्द्रित भए। तर, उनीहरूमध्ये कोही लिवाङ, कोही राङकोट त, कोही टिला केन्द्रित भन्न थाले। मैले थवाङ गरौं भनेको थिएँ। अन्ततः माओवादीद्वारा गठित तर सेना समायोजनमा विघटित जनमुक्ति सेनाको अस्थायी ब्यारेकसमेत भएको टिलामा जनयुद्ध संग्रहालय बनाउनेमा सहमत भएका थियौं। तर, यो कता हरायो कता।
बेस्ट टुमर हस्पिटल, टिचर्स टे«निङ कलेज, विज्ञान प्रविधि कम्प्लेक्स र चिल्ड्रेन्स प्यालेसले स्वास्थ्य र शिक्षाप्रति राज्यले उच्च प्राथमिकता दिएको पायौं। म हुम्लाको मान्छे, मैले क, ख सुरु गर्दा धुलोमा बसेर गरेको थिएँ। त्यसको सुधार अझै हुन सकेको छैन। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माण गर्दा शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि तथा बालबालिकालाई लगानी कार्यक्रममा जे सोचिएको थियो, त्यसको भौतिक अनुभूति गर्न नै कोरिया पुगेजस्तो भयो। आधुनिक सभ्यताको निर्माता हुने हो भने बालदरबार निर्माण गरेर भोलिको पुस्तालाई लगानी गर्नैपर्छ। शिक्षा, स्वास्थ्य र विज्ञान प्रविधि त्यसका सहयोगी हुन्। जंगबहादुरको भ्रमण दलले बेलायत यात्राका क्रममा अंग्रेजले आगो, पानी र बतासलाई कमारो बनाएर विकास गरेको देखेझैं हामीले शिक्षा, स्वास्थ्य र विज्ञान प्रविधिमा कोरियाले विभिन्न घेराबन्दीका बीचमा विकास गरेको कोरियन स्वावलम्बी शैली सिक्न जरुरी छ।
पार्टी फाउन्डेसन मनिमण्डले पार्टीमा बुद्धिजीवीलाई केन्द्रमा राखी मजदुर र किसानलाई उच्च स्थान दिएको पक्ष बुझाउन खोजिरहेको देखियो। क्रान्तिकारी पार्टी निर्माण गर्नु भनेको बुद्धिजीवी, किसान र मजदुरको एकताबाट मात्र सम्भव छ भन्ने सन्देश प्रवाह भइरहेको पायौं। यसैगरी कोरियाको पुहुङ रेल स्टेसन अर्थात् समृद्धि रेल बिसौनीले चुस्त, सुरक्षित यातायात तथा सुखको आधार बनाएको देखियो।
हामीले यसअघि जुछे विचार मात्र सुनेका थियौं, पढेका थियौं, कोरिया पुग्दा जुछे विचार मात्र होइन किम इल सुङवाद र किम जोङ इलवादको राजनीतिक बहस भइरहेको पायैाँ। प्रा.डा. मुन, मिस पाक, प्रा.डा. किम छाङ ग्योङबाट नयाँ वैचारिक विषयमा छलफल भयो। खासगरी जुछे विचार भनेको आफ्नो लक्ष्यको मालिक आफैं हो भन्ने रहेछ। यस विचारले कोरियाली राष्ट्रिय मुक्ति आन्दोलन र कोरिया पुनर्निर्माणमा कोरियाली जनतालाई एकता गर्नमा सफलता पाएको देख्यांै। यसैको जगमा टेकेर चार सय किमिको गतिको छोलिमादेखि चार हजार किमिको मालिमा गतिमा विकास निर्माणका काम अगाडि बढेको प्रत्यक्ष अनुभव गर्न पायौं। संगुन नीति लिएकैले कोरियाले आफ्नो सुरक्षा आफैं गर्न सम्भव भएको हो भन्ने देखियो।
हामीले एक हप्तासम्म बीबीसी, अलजजिरा, चिनिया, कोरियनलगायत सातवटा च्यानलबाट अन्तर्राष्ट्रिय समाचार हेर्यौं। सूचनाबाट आफूलाई गुमनाम भएको महसुस भएन। टेलिफोन गर्न सकिन्थ्यो। तर, फोन महँगो पर्ने भएकाले गरिएन। ईमेल, इन्टरनेट हेर्न सकिने रहेछ तर त्यो निश्चित क्षेत्रमा उपलब्ध हुने रहेछ। कोरियाभित्र भने आफ्नै प्रकारको सोसल मिडिया प्रयोगमा ल्याइएको रहेछ, हामीले भाषा बुझ्ने कुरै भएन। हामी कोरियन एसोसिएसन अफ सोसल साइन्टिक्स्का एसिया शाखा प्रमुख किम छोल होक, उपमहानिर्देशक चोय काङ, अनुवादक पाक र ली तथा कोरियाली समाचार संस्थाका साथीहरूबाट हार्दिकता तथा भावानुवादबाट निकै लाभान्वित भयौं।
कोरियाले त्यत्तिकै परमाणु बम, ब्यालेस्टिक मिसाइल, हाइड्रोजन बमको लगातार परीक्षण गर्न पुगेको होइन रहेछ, उनीहरूले विगतमा जापानी उपनिवेशताका करिब दुई लाख कोरियाली महिलालाई यौनदासी बनाएको कुरा भुलेका रहेनछन्। अनि भुलेका देखिएनन्, अमेरिकीहरूले वमबारी गर्दै सिंगो कोरियालाई क्षतविक्षत पारेको इतिहास। यसो त पछिल्ला दिनहरूमा कोरियालाई भोकभोकै मार्नुपर्छ भन्ने अमेरिकी नेतृत्वको निर्देशन पनि हरेकले हेक्का राखेको देखियो। यसैले उनीहरू अहिले पनि चनाखो भई उभिएका छन्।
यतिखेर कोरियाले सिंगापुरमा अमेरिकासँग र दक्षिण कोरियासँग आफ्नै राजधानी प्योङ्याङमा गरेको वार्तामा आफ्नो राजनीतिक श्रेष्ठता देखाउन खोजिरहेको छ। हाम्रो सम्पर्कमा आएका नेता तथा बुद्धिजीवीहरूले वार्ता पनि क्रान्ति हो भन्ने बुझाइ राखेको र यसबाट कोरिया एकीकरण हुने आशा गरिरहेको देख्यांै। उनीहरू आफूले वार्तामा गरेका प्रतिबद्धता पूरा गर्ने तर त्यसलाई जालझेलको रूपमा प्रयोग गर्न खोजे आफूहरू कुनै पनि हालतमा नझुक्ने दावा पनि गरिरहेका छन्।
हामी सबैले एक विश्व सदस्य हुनुको नाताले कोरिया–अमेरिकाको राजनीतिक द्वन्द्वलाई चिन्ता, चासो र चिन्तन गर्नुपर्ने विषय हो भन्ने ठानेका छौं। यसैले कोरियाका सर्वोच्च नेता किम जोङलाई नेपाली जनताको तर्फबाट कोरिया प्रायःद्वीपको द्वन्द्व अन्त्य गर्न सफलता मिलोस् भनी हार्दिक शुभकामना पनि दिएर आयौं।