संघर्ष र दुःखको पिरामिड
हिन्दी फिल्मका दुई कलाकारको अभिनयले मलाई कहिल्यै आकर्षित गरेनन्। एक हुन्— कादर खान र अर्का अनुपम खेर। अनुपम खेरको बारेमा मेरो धारणामा परिवर्तन भएको छैन। तर, कादर खानलाई हेर्ने र बुझ्ने मेरो दृष्टिकोण पूरै परिवर्तन भयो जब मैले उनको जीवनको संघर्ष कथा पढ्न पाएँ। मूलधारका हिन्दी फिल्ममा उनले गरेको अभिनयको प्रभावभन्दा भित्र गएर कादर खानलाई बुझ्दा थाहा हुन्छ— उनी धेरै मानिसका लागि प्रेरणास्रोत हुन्।
कादर खान अत्यन्तै भयानक दुःख र संघर्षबाट बनेका मानिस हुन्। उनको कथा एउटा ठूलो पुस्तक बन्न सक्छ। सम्पादकले शब्दसीमा तोकेको सानो लेखमा उनको संघर्ष–कथा वर्णन गर्न निकै गाह्रो छ। बलिउडका कयौं कलाकारका बायोग्राफी पुस्तक छापिए। उनकै समकालीनको कुरा छोडौं, उनीभन्दा धेरैपछिका कलाकारको पनि बायोग्राफी लेखियो तर उनी त्यसमध्येमा परेनन्। बजार निकै निर्दयी हुन्छ। बजारले निःसन्देह तत्काल लाभ हेर्छ। बजार डरलाग्दो व्यापार हो। त्यति धेरै चलेका कलकार कादर खान बायोग्राफीका लागि बजारको आँखामा आजसम्म परेनन्। गत साता जनवरी १ मा उनको देहलीला समाप्त भइगयो।
उनको बाल्यकाल र किशोर अवस्था अत्यन्तै दुःखदायी रह्यो। अफगानिस्तानको काबुल सहर नजिकैको गाउँमा सन् १९३७ मा जन्मिएका खानको मुम्बई नगरीसम्मको संघर्षको कथा कारुणिक छ। उनका बुवा अब्दुल रहमान खान कान्धारका थिए र आमा इकबाल बेगम पिसिन (हाल पाकिस्तान)की थिइन्। बुवा अब्दुल निकै रक्सी पिउँथे र हिंस्रक थिए। आमा इकबाल बेगमले श्रीमान्बाट धेरै दुःख झेलिन्। उनका अरू तीनजना दाजु थिए तर सबैको सानै उमेरमा मृत्यु भयो। दाजुभाइमध्ये उनी एकजना मात्रै बाँचे। कादर खान सानै छँदा उनका बुवाआमाको सम्बन्धविच्छेद भयो।
मामाहरूले उनकी आमाको अर्को विवाह गरिदिए। आमा र सौतेनी बुवाको साथमा कादर खान बुम्बई आए जहाँ उनीहरूको घर थिएन। भाडा तिर्न पैसा थिएन। उनीहरू झुपडपट्टीमा बस्न थाले। कादर खानले आफ्ना अन्तर्वार्तामा भनेका छन्, ‘बालककालमा हामी हप्तामा लगभग तीन दिन भोकै हुन्थ्यौं।’ आमा निर्दोष र सोझी थिइन्। सौतेनी बुवा उनीसँग खराब व्यवहारमा प्रस्तुत हुन्थे।
मानिसका गरिबी, संघर्षका कथा पढ्नसुन्न जति रोचक लाग्छ, बाँच्न उत्तिकै गाह्रो। मुम्बईको झुपडपट्टीका सुकुमबासी कादर खानले आफ्नो मेहनत र प्रतिभाले हिन्दी सिनेमामा जुन उचाइ हासिल गरे, त्यो कथा झन् प्रेरणादायी छ। हिन्दी फिल्ममा उनको अभिनय त सबैले देखेको कुरा भयो। नाटक लेखन र अभिनयमा पनि उनी उत्तिकै बेजोड मानिन्थे। उनले निकै प्रसिद्ध नाटकमा अभिनय गरेका छन्। चलचित्रमा पनि उनले लेखन र अभिनय दुवैलाई बराबर अगाडि बढाए।
कादर खानले खेलेको पहिलो नाटक ‘मामक अजरा’ थियो। यसका निर्देशक थिए कलाकार अस्रफ खान। त्यस नाटकमा अभिनय गर्दा कादर आठनौ वर्षजतिका थिए। पहिलो नाटकमा खेल्नुको रोचक कथा छ कादर खानसँग। आमा उनलाई मस्जिदमा प्रार्थना गर्न पठाउँथिन्। तर, उनी प्रार्थना गर्ने समयमा चिहानमा गएर संवाद अभ्यास गर्थे। एक साँझ त्यही चिहानमा उनलाई भेटे, अस्रफ खानले। र, उनले नाटकमा अभिनय गर्न पाए। स्कुल सकेर कादर खान इन्जिनियरिङ कलेज पढ्न थाले। स्माइल युसुफ कलेजबाट इन्जिनियरिङ गरेका उनले केही वर्ष कलेजमा अध्यापन गरे। कलेज पढ्दै गर्दा उनले धेरै नाटक खेले।
कादर खानको जीवन बुझ्दा थाहा हुन्छ, कुनै पनि सर्जकलाई उसको सिर्जनाबाट मात्रै हेरियो भने अन्याय हुन्छ। कलाकारको जीवन–संघर्ष र ऊ बाँचेको समाजको सामाजिक–राजनीतिक स्थिति बुझ्नु अति आवश्यक छ।
तीमध्ये चलेको नाटकको नाम हो, ‘तास के पत्ते’। उतिखेरका प्रसिद्ध हास्यकलाकार आघा सायव (अघाजान बैग) उक्त नाटक हेरेर निकै प्रभावित भए। खासगरी उनलाई कादर खानको अभिनय मन पर्यो। आघाले दिलीप कुमारलाई नाटकको बारेमा भने। दिलीप कुमार नाटक हेर्न आउने भए। कादर खानले भनेका छन्, ‘जब मलाई दिलीप कुमारको फोन आयो, म डराएँ। मेरा तीनवटा सर्त थिए। एक, तपाईं नाटक सुरु हुनुभन्दा अघि नै आइपुग्नुपर्छ। दुई, पूरा नाटक हेर्नुपर्छ। तीन, बीचमा उठेर जानेआउने गर्न पाइँदैन।’ दिलीप कुमार आएर नाटक हेरे। मन पराए। उनले आफ्नो नयाँ फिल्म ‘बैराग’का लागि कादरलाई रोल दिए। यो सन् १९७४ को कुरा हो। यो फिल्ममा दिलीप कुमारसँगै कादर खानले प्रहरी अधिकृतको भूमिका निर्वाह गरेका छन्।
रंगमञ्चले नै कादर खानलाई फिल्मसम्म पुर्यायो। उनले लेखेको पहिलो फिल्मको पटकथा, संवाद ‘जवानी दिवासी’को किस्सा रोचक छ। उनी आफैं नाटक लेख्ने तथा निर्देशन पनि गर्ने गर्थे। उनको आफ्नै लेखन र निर्देशन रहेको नाटक ‘लोकल ट्रेन’ निकै प्रसिद्ध भयो। यसमा उनी आफैंले पनि अभिनय गरेका थिए। फिल्म निर्देशक नरेन्द्र वेदी नाटक ‘लोक ट्रेन’ हेरिसकेर ‘ब्याक स्टेज’मा आए। उनले भने, ‘म जवानी दिवानी फिल्म बनाइरहेको छु। त्यसको संवाद लेखिदेऊ।’ संवाद लेख्नका लागि कादर खानसँग सहज ठाउँ थिएन। उनी नजिकैको पार्कमा गए र तीन घण्टामा संवाद लेखिसके। नरेन्द्रले सुरुमा यो कुरा पत्याएनन्।
तीन घण्टामा लेखिएको संवादमा त्यति रुचि राखेनन् तर जब संवाद पढे, उनी चकित खाए। नरेन्द्रले नै यो फिल्म निर्देशन गरे। रन्धिर कपुर, जया भादुरी, बलराज साहनी, निरूपा रोयजस्ता कलाकार अभिनीत यो फिल्मले धमकेदार व्यापार गर्यो। आरडी बर्मनको संगीतमा फिल्मका गीतहरू पनि हिट भए। यसरी कादर खानको संवाद लेखनमा पहिलो फिल्म सफल भएपछि उनले फिल्म लेखनमा प्रशस्त काम पाउन थाले।
त्यसपछि उनको पटकथा–संवाद लेखन भएका दर्जनौं फिल्म (बेनाम, रोटी, अमर अकबर अन्थोनी) एकसेएक सफल मानिए। अमिताभ बच्चनालाई हिट बनाउने संवाद लेख्ने लेखकका रूपमा पनि चिनिन्छन् कादर खान। खानले लेखेका ३० भन्दा बढी फिल्ममा अमिताभ बच्चनले अभिनय गरेका छन्।
नरेन्द्र वेदीकै निर्देशनमा सन् १९७६ मा बनेको फिल्म ‘अदालत’मा अमिताभ बच्चनसँगै देखिए कादर खान। फिल्म मन पराइयो। अमिताभ बच्चनसँगै अर्को फिल्म ‘इनकला’ पनि सफल मानियो। अमिताभ प्रहरी अधिकृत (स्वाभाविक रूपमा नायक) र कादर खान (राजनीतिज्ञ) खलनायकको भूमिकामा थिए। कादर खानले तीन सयभन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
तीन सय फिल्म उनको भागमा पर्नुमा पनि उनको मेहनत र संघर्षकै कथा जोडिन्छ। उनको पहिलो फिल्म हो ‘फज्र अल इस्लाम’। सन् १९७१मा बनेको यो फिल्ममा उनको स्वर मात्र प्रयोग भएको छ, कथावाचकका रूपमा। उनले अन्य केही फिल्ममा अरू कलाकारका लागि स्वर (डबिङ) पनि दिएका छन्। सानासाना खुड्किला उक्लिँदै कादर खान अभिनय र लेखनको निकै उच्च स्थानमा पुगे।
आमदर्शकमा यी लोकप्रिय कलाकार मानिन्छन्। यिनको स्वर र आवाज नै विशेष किसिमको रह्यो जसले गर्दा दर्शकले सम्झिरहने भए। खलपात्रको भूमिकामा स्थापित हुनुअघिका कादर खान मेरो लागि सबैभन्दा बढी प्रिय छन्। नायक वा खलनायकको रंगमा भन्दा पनि चरित्रमा उनी निकै स्वाभाविक कलाकार लाग्छन्। सन् १९७६ पछि उनी खलनायक कलाकारका रूपमा स्थापित भए। सन् १९९० पछि उनको कलाकारिताले अर्को मोड लियो। उनी कमेडी फिल्मतिर तानिए। हुन त उनले लेखेका फिल्मका संवादहरूमा पनि कमेडीकै छनक पाइन्छ। कलाकारका लागि स्तरीय कमेडी गर्नु सहज काम होइन। कादर खान कमेडी भूमिकामा पनि अब्बल मानिए।
सन् १९९० मा बनेको फिल्म ‘घर हो तो ऐसा’मा उनी घरज्वाइँको भूमिकामा छन्। अनिल कपुर र मीनाक्षी सेसद्रीसँगै प्रमुख भूमिकामा देखिएका यिनको काम अब्बल लाग्छ। फिल्ममा बाबुछोराको दुईवटा भूमिकामा छन् उनी। घरज्वाइँ बसेका बजरंगी (कादर खान) बितिसकेका आफ्ना पितासँग संवाद गर्छन्। कमेडी दृश्य रोचक छन्। यही फिल्मदेखि कादर खान कमेडी भूमिकामा पनि प्रशस्त देखिन थाल्छन्। कमेडी फिल्ममा नायक गोविन्दासँग उनको जोडी जमेको छ। गोविन्दासँग ‘कुल्ली नम्बर वन’, ‘दुल्हे राजा’, ‘राजाजी’, ‘अन्टी नम्बर वन’जस्ता फिल्ममा देखिएका छन् उनी। धेरै फिल्ममा उनी अमिताभ बच्चन वा अनिल कपुरसँग देखिएका छन्।
लेखक र कलाकारका रूपमा अब्बल मानिएका कादर खानको ८१ वर्षको उमेरमा गत साता क्यानडामा निधन भयो। उनीसँग क्यानडाको राहदानी पनि थियो। पछिल्ला वर्ष उनी उतै बस्थे। उनी धेरै किसिमका रोगले थलिएका थिए। रोगले थलिएर ओछ्यान परेको बेला सन् २०१६ मा उनको मृत्युको हल्ला समाचारमा आयो। यस्तो अफवाह चलाउनेप्रति उनले चित्त दुखाएका थिए। उनका पछिल्ला वर्ष दुःखदायी थिए।
जति नै काम गरे पनि पुरस्कार र सम्मानमा भने उनी उनका समकालीनभन्दा पछि नै रहे। केही वर्षअघि अनुपम खेरलाई भारत सरकारले पद्म श्री पुरस्कारबाट सम्मान गर्दा कादर खानले मोदी र खेरको कडा आलोचना गरेका थिए। भनेका थिए, ‘धन्न मैले मोदीको चाप्लुसी गरिनछु। मलाई चाप्लुसी गरेर पुरस्कार पाउनु पनि छैन।’ प्रधानमन्त्री मोदीको चाप्लुसी गरेर अनुपम खेरले पुरस्कार पाएको भन्दै कादर खानले खेरको पनि आलोचना गरेका थिए। उनले भनेका छन्, ‘खेरले त्यस्तो के काम गरेका छन् र उनी यो पुरस्कारका लागि योग्य छन् ? मचाहिँ के कारणले त्यही पुरस्कार पाउन योग्य भइनँ ? ’ त्यसो त पुरस्कार र सम्मानका लागि बलिउड सधैं विवादमा छ।
उनले आफ्नो जीवनकालमा निकै कम पुरस्कार र सम्मान पाए। कमेडी भूमिकाका लागि उनी नौपटकसम्म नोमिनेसनमा परेका थिए तर पुरस्कार भने उनको हात लागेन। उनी राजनीतिक रूपमा पनि निकै सचेत कलाकार मानिन्छन्। अरूको कुभलो पनि नगर्ने र चाकडी पनि नगर्ने यी कलाकारको खटपटी अमिताभ बच्चनसँग पनि देखिन्छ। कादर खानका अनुसार अमिताभ बच्चनलाई ‘सरजी’ भनेर आदरार्थी शब्द प्रयोग नगरेकै कारण उनले केही फिल्ममा काम पाएनन्। उमेरले पनि निकै जेठा खान अमिताभ बच्चनलाई अमित भनेर बोलाउँथे, जति बेला अमिताभलाई सबैले ‘सरजी’ भनी सम्बोध गर्थे।
कादर खानका तीन छोरामध्ये सरफरोज खान पनि कलाकार हुन्। सरफरोजले ‘तेरे नाम’, ‘वान्टेड’, ‘स्लम डग मिलिनेयर’, ‘हे राम’मा अभिनय गरेका छन्।
कादर खान आफ्नै मेहनत र संघर्षले बनेका कलाकार हुन्। त्यसभन्दा बढी एक स्वाभिमानी र इमानदार मानिस हुन्। कादर खानको जीवन बुझ्दा थाहा हुन्छ, कुनै पनि सर्जकलाई उसको सिर्जनाबाट मात्रै हेरियो भने अन्याय हुन्छ। कलाकारको जीवनसंघर्ष र ऊ बाँचेको समाजको सामाजिक–राजनीतिक स्थिति बुझ्नु अति आवश्यक छ। भारतका अर्का उत्कृष्ट कलाकार ओम पुरी र कादर खानको बाल्यकालको संघर्षमा मैले निकै समानता भेटेँ।