सरितासँग संवाद

सरितासँग संवाद

पोखराको लिट्रेचर फेस्टिभलमा कृष्ण धरावासीले ‘सिर्जनशील अराजकता सकियो’ भनेर ‘घोषणा’ गर्नुभएछ। उहाँ आफैं तीस वर्षदेखि ‘लीलालेखन’को लास बोकेर हिँडिरहनुभएको छ ! उहाँ आफैं नेपाली समाजको विश्लेषण गर्न असमर्थ भएपछि इन्द्रबहादुर राईद्वारा प्रतिपादित विचार बोकेर हिँडिरहनुभएको छ।


‘खासमा बन्दुक नै बोक्नुपर्ने हो, बम नै हान्नुपर्ने हो, तर कस्तो भयो भने हामी कायरहरू कविता लेख्न थाल्यौं, बाँसुरी फुक्न थाल्यौं। समस्या यहाँ भएको हो।’ – उपेन्द्र सुब्बा

कवि उपेन्द्र सुब्बाले ‘नेपाल लिटेरेचर फेस्टिभल’ पोखरामा उपर्युक्त विचार सम्प्रेषण गर्नुभएपछि कवि सरिता तिवारी प्रतिक्रिया दिनुहुन्छ, ‘राम्रो ! यही कुरा सरिता तिवारीले बोलेको भए हाम्रा मित्रहरू युद्धपिपासु र राजनीतिक कविको पगरी लगाइदिन्थे। कुरो कसको मुखबाट निस्क्यो भन्ने कुराले धेरै कुरा फरक पार्छ।’

यसलगत्तै उपेन्द्र सुब्बाको कथासंग्रह ‘लाटो पहाड’माथि सरिता तिवारीको जबर्जस्त पाठकीय समीक्षा छापियो अन्नपूर्ण पोस्ट्को ‘फुर्सद’ (१४ पुस) मा। पढेपछि केही नलेखी रहन सकिएन। सिर्जनशील अराजकताको अभियानबारे उहाँले यस्तो बुझ्नुभएको रहेछ, ‘उपेन्द्रहरू त्यसै स्थापित भएका होइनन्, परिवर्तनको उभारले उनीहरूलाई स्थापित हुन सहज पारेको हो। त्यही परिवर्तनप्रतिको उपेक्षाजस्तो भाव राख्नु उनलाई सुहाउने कुरा होइन।’

कता परिवर्तन आयो ? कस्तो परिवर्तन आयो ? यसको उत्तर पनि छ कि त ? विभेदहरू छँदैछन्, नवएलिटहरूको जगजगी थामिसक्नु छैन। सांस्कृतिक अतिक्रमण जारी छ। नेपाली मौलिकता ठूलो धरापमा छ। राजनीतिक व्यवस्था परिवर्तन त भयो तर सर्वसाधारण मान्छेले त्यो परिवर्तन महसुस गर्न पाएकै छैनन्। तब हामीले कुन परिवर्तनको अर्चना गर्नुपर्ने ? शरीरमा गोलीको चोइटा बोकेर सिंहदरबारभित्र आत्महत्याका निम्ति विष सेवन गर्ने भूपू छापामारको आँखामा आयो त परिवर्तन ?

यसै सन्दर्भमा एउटा उदाहरण पेस गर्न चाहेँ। हाम्रो गाउँमा एकजना पण्डित हुनुहुन्थ्यो, मेरो बुवाको मीत। मीत बा तार्किक हुनुहुन्थ्यो, प्रायः भन्नुहुन्थ्यो, ‘मीत छोरा ! म जन्मिँदा ९० सालको महाभूकम्प गयो। अतः म महापण्डित हुँ।’ मैले धेरै वर्षसम्म मीत बालाई ‘महापण्डित’को रूपमा हेरेँ, बुझेँ। स्कुलमा साथीहरूलाई भन्थेँ, ‘मेरो मीत बा जन्मिँदा ९० सालको भूकम्प आको अरे।’ सरले भूकम्प जानुको वैज्ञानिक कारण बताएपछि साथीहरूले मेरो अनुहार क्वारक्वार्ती हेरेका थिए। त्यति बेला मीत बाको अनुहार झल्झली सम्झिनुको विकल्प थिएन मसँग।

त्यसकारण मलाई लाग्छ, तर्क नै अन्तिम सत्य होइन। सत्य के हो भने सिर्जनशील अराजकताको अभियानको बेला ‘परिवर्तनको उभार’ हाम्रोनिम्ति कति सह्य रह्यो ? यसको प्राध्यापकीय उत्तर त दिन सकिएला। तर, उपेन्द्रहरू स्थापित हुनुको पछाडि ‘भुइँ मान्छे’का कथाहरू नै मुख्य हुन्। लाटो पहाडले बखुबी नेपाली समाजको चित्र कोरेको छ, यो लिम्बू समाज या ब्राह्मण समाजको मात्रै कथा होइन। जस्तो कि तपाईंको ‘प्रश्नहरूको कारखाना’ ब्राह्मण समाजको मात्रै ऐना होइन, नेपाली समाजकै ऐना हो। म यो विश्वास गर्छु।

हामीलाई सहज न त्यो बेला थियो, न यो बेला नै छ। परिवर्तनका निम्ति लेख्नेविरुद्ध राज्य र त्यससँग गाँसिएर आउने अनेक संयन्त्रहरू बाधा–अड्चनका रूपमा आउने गर्छन्। राज्यसत्ताको चरित्र नै यस्तो हुन्छ। यो यथार्थबारे तपाईं राम्रोसँग जानकार हुनुहुन्छ भन्ने लाग्छ। त्यसकारण परिवर्तनको उभारले हामीलाई सहज बनायो भन्नुचाहिँ मेरो मीत बाको तर्कजस्तै लाग्छ। ज्ञात रहोस्— उपेन्द्रलगायत हामीले कहिले पनि परिवर्तनप्रति उपेक्षाको भाव राखेका छैनौं। तर, झुटो र कथित परिवर्तनलाई चाहिँ हामी सख्त घृणा गर्छौं। हिजोको पञ्चायतकाल र अहिलेको गणतन्त्रमा के छ फरक ? आफ्ना छोरीज्वाइँ, नाताकुटुम्बलाई सत्तामा पुर्याउने ‘वाद’ न माक्र्सवाद हो, न माओवाद नै।

सरिताजी, तपाईंले लेख्नुभएको रहेछ, ‘तर केही कथा यस्ता छन्, जो कथाको स्वरूपमा उनिएका जोक्सको स्तरमा देखिन्छन्। ...लेखकको आफ्नै समुदायबाट र सार्वजनिक वृत्तमा समेत साह्रै धेरै प्रशंसा गरिएको यो किताबभित्र अनपेक्षित रूपमा प्रशस्त त्यस्ता लुपहोलहरू छन्, जुन कम्तीमा सिर्जनशील अराजक समूहको प्रवक्ता लेखकसँग अपेक्षा गर्न सकिँदैन।’ हामीले किन चेखबजस्तो लेख्नुपर्ने ? हामीले किन अरू कोही जस्तो लेख्नुपर्ने ? उपेन्द्र सुब्बा या राजन मुकारुङले (लाटो पहाड होस् या हेत्छाकुप्पा र दमिनी भीर) कथा भन्ने बेगल शैली र शिल्प विकसित गर्नुभएको छ। कथा भन्ने यस्तो शैली र शिल्प तपाईंलाई अमान्य हुनुको कारण कतै ‘रटान साहित्य’कै उपज त होइन ?

‘जोक्सको स्तर’ भन्नाले कस्तो ‘जोक्स’ भन्ने प्रश्न उठी नै हाल्छ। ‘जोक्स’बारे फ्रायडले ‘जोक्स एन्ड देयर रिलेसन विथ दी अन्कन्सियस’ नामको किताबै लेखेका छन्, हेगेलियन माक्र्सवादी दार्शनिक स्लाभोज जिजेकले ‘जोक्सको संग्रह’ नै निकालेका छन्। सयौं वर्षदेखि देशमा कसले जोक्स गरिरहेछ ? यो प्रश्न हामीले धेरै अघिदेखि सोधेका छौं।

त्यसकारण उपेन्द्र सुब्बाका केही कथालाई ‘जोक्सको स्तर’ भन्नुअगाडि फ्रायड र जिजेकका किताब पढ्नुभएको भए सम्भवतः तपाईंको विश्लेषणमा केही गम्भीरता र जिम्मेवारीबोध भेटिने थियो। ‘पाठकीय समीक्षा’ भनेर भाग्ने छुट तपाईंलाई छ जस्तो लाग्दैन। किनभने तपाईं विशुद्ध पाठक हुँदै होइन, तपाईं कवि पनि हो, लेखक पनि हो। योभन्दा पनि मुख्य कुरा तपाईं एक सामाजिक अभियन्ता हो।

यति कुरा लेख्दा म सम्झन्छु, २०५५ सालतिर हामी नेपाल बार एसोसिएसनको कवि गोष्ठीमा सहभागी थियौं। कार्यक्रम सकिएपछि बाहिर प्रांगणमा एकजना लेखकले भर्खरै प्रकाशन भएको आफ्नो कथाको किताब हामीलाई दिएका थिए। राजनजीले दुई पन्ना त्यहीँ पढिभ्याएर किताब लेखकलाई नै फिर्ता गरिदिनुभो र भन्नुभो, ‘तिमी जनजाति लेखक भएर पात्रहरू चैं पूरै सलमान खानजस्तो बनाउने ? ’

उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ संग्रहका पात्रहरू सलमान खानजस्ता छैनन्, न रानी मुखर्जीजस्ता छन्। ती भुइँमान्छेहरू आफ्नै दुक्खको भारी बोकेर हाँस्दै बाँचिरहेका छन्, राज्यले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा उत्पादन गरेका समस्याहरूसँग लडिरहेका छन्। पाठकलाई ‘क्रान्ति गर, समाज परिवर्तन गर’ भनेर सोझै अर्ति उपदेश लेख्नु ठीक होइन भन्ने लाग्छ हामीलाई। तर, क्रान्ति र समाज परिवर्तनका लागि प्राग्भूमिचाहिँ तयार गरिदिनुपर्छ, यो जुक्तिका साथ उपेन्द्रजीले ‘लाटो पहाड’ लेख्नुभएको हो।

सिर्जनशील अराजकताले आफ्ना मान्यताहरूलाई बुँदागत गरेर व्याख्या गरेको २०५७ सालतिरै हो, त्यसका निम्ति ‘साहित्य समन्वय’ नामको हाम्रो मुखपत्र पल्टाउन सक्नुहुनेछ। तर, तपाईंले २०६२ सालमा यो अभियान थालियो भनेर लेख्नुभएछ। एक अध्ययनशील लेखकबाट आमपाठकलाई यस्तो दिग्भ्रमित पार्ने गरी लेख्नु लेखकीय वैमानी नै हो। मितिमा ‘कन्फ्युज’ भए हामीसँग नै सोधपुछ गरे भइहाल्थ्यो, हामी बाँचेकै छौं, नजिकै छौँ, ‘टच’मै छौं। तपाईंजस्तै हामी पनि नेपाली साहित्यका विद्यार्थी नै हौं।

नयाँ पुस्ताका भाइबहिनी आग्रह गर्नुहुन्छ, ‘दाजुहरूले सिर्जनशील अराजकतालाई ‘सिकागो स्कुल’जस्तो बनाउनु पर्‍यो।’ सिर्जनशील अराजकतालाई ‘विचारको स्कुल’ बनाउन त्यति बेला मात्रै सम्भव छ, जति बेला तपाईंजस्तो सचेत लेखकको सहयोग र माथापच्ची मिल्नेछ भन्ने मलाई लाग्छ। एउटा दुर्भाग्यचाहिँ के हो भने हामीले सिर्जनशील अराजकताको आन्दोलनमा नारी लेखकलाई जोड्न सकेनौं। प्रयास नगरिएको होइन, कवि विमला तुम्खेवालाई आन्दोलनमा आउन आग्रह गरेका हौं तर उहाँले जोखिम मोल्न सक्नुभएन।

सिर्जनशील अराजकता नेपाली साहित्यमा चलेका अन्य आन्दोलनभन्दा फरक छ। यसको औचित्य सकियो भन्नेहरू पनि नभएका होइनन्। अस्ति भर्खरै पोखरामा कृष्ण धरावासीले ‘सिर्जनशील अराजकता सकियो’ भनेर ‘घोषणा’ गर्नुभएछ। उहाँ आफैं तीस वर्षदेखि ‘लीलालेखन’को लास बोकेर हिँडिरहनुभएको छ, कस्तो गजब लाग्छ ! उहाँ आफैं नेपाली समाजको विश्लेषण गर्न असमर्थ भएपछि इन्द्रबहादुर राईद्वारा प्रतिपादित विचार बोकेर हिँडिरहनुभएको छ। जबतक कुनै वर्ग र समुदाय राज्यद्वारा उपेक्षित र तिरस्कृत भइरहन्छ तबतक हाम्रो आन्दोलन चलिरहन्छ, यो माक्र्सवादी आन्दोलनजस्तै चलिरहन्छ। यसमा कृष्ण धराबासीहरूले टाउको नदुखाए हुन्थ्यो भन्ने लाग्छ मलाई। किनभने सिर्जनशील अराजकताले अगाडि सारेको ‘सांस्कृतिक लेखन’मै उभिएर उहाँले ‘राधा’ उपन्यास लेख्नुभएको छ, यो त सत्य हो नि ! ‘भाइहरू तपाईंहरूको आइडियाले राधा लेखेँ’ भनेर धन्यवादसम्म दिनुभएको छैन। यत्तिको लीलाबोध त उहिले नै गरिसकेको हो जस्तो लाग्छ हामीलाई।

‘...कथामा एउटा आमपाठकले पढ्दा भेट्ने कुरा जति रमाइला लाग्छन् एउटा अनुसन्धानकर्ताले बारम्बार पढ्दा नलाग्न सक्ने सम्भावना उत्तिकै छ।’ सरिताजी, यो तपाईंको विचार हो। अनुसन्धानकर्ता पनि निरपेक्ष हुँदैन। कतिपय अनुसन्धानकर्ताले वस्तुलाई आफ्नो स्वार्थअनुसार व्याख्या गर्ने गर्छन्। नेपालका प्रायः अनुसन्धानकर्ता अनुसन्धान कम ‘व्याख्याको राजनीति’ धेरै गर्छन्। त्यस्ता अनुसन्धानकर्ताका निम्ति ‘लाटो पहाड’ बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड नै हो।

सिर्जनशील अराजकताबारे अनुसन्धान गर्न चाहनेहरूलाई यत्तिचाहिँ भन्नैपर्छ मैले— हामी सुरुदेखि नै ‘वर्गीय विभेद देख्ने तर जातीय विभेद नदेख्ने कथित प्रगतिशील लेखकहरू’ र ‘लोकतन्त्रको वकालत गर्ने तर सीमान्तीकृतहरूको आवाजै नसुन्ने’ कथित डेमोक्र्याट्स लेखकहरू’को तारो भएका छौं।

अन्त्यमा, बहस र विमर्शले नै हामी सबैलाई ‘यथास्थितिवाद र जडसूत्रवाद’बाट जोगाउँछ। सरिताजीको ‘प्रश्नहरूको कारखाना’ पढेपछि नै थाहा पाएँ, अहिलेसम्म नेपाली साहित्यमा भएका साहित्यिक आन्दोलन ‘पुरुष’हरूले मात्रै हाँकेका रहेछन्। पारिजात अपवाद रैछिन्। मलाई लाग्छ, साहित्यिक आन्दोलनहरू ‘नारी’ले पनि हाँक्नुपर्छ। यो हिम्मत गर्नुपर्छ, स्वागत गर्छौं, नयाँ पुस्तालाई। तब न एउटा सच्चा प्रगतिशील चिन्तनले आँखा उघार्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.