पुर्खाको जादु

पुर्खाको जादु

२१‌औं शताब्दीका कलापारखी। उनीहरूसँग उपलब्ध छन्, हतियारका रूपमा आधुनिक औजार र नक्सा। गर्व र सम्मान बोकेर उनीहरू आफ्ना पुर्खाका सयौं वर्ष पुराना कलाकृतिसँग आफ्ना शिल्प भिडाइरहेका छन्। पुर्खासँगको यो भिडन्तमा उनीहरू न हार्न सक्छन्, न जित्न चाहन्छन्। लाग्छ, उनीहरू आफ्नै पुर्खासँग पैंठेजोरी खेलिरहेका छन्।

तत्कालीन मल्ल राजाहरूले प्रयोग गरेको कलात्मक पाटन दरबार प्राचीन स्मारकको धरोहर हो। धार्मिक मनोवृत्ति बोकेका तत्कालीन मल्ल राजाहरूले कलात्मक मठमन्दिर बनाउने कामसँगै सुन्दर कलाकृतिलाई महत्वपूर्ण योगदान दिएको जानकारहरूको भनाइ छ। संस्कृतिविद् सत्यमोहन जोशी पाटनका कलात्मक मन्दिरहरूमा प्रयोग भएका द्वार, तोरण, कोर्नेस, टुँडाल आदिलाई रहस्यमय भन्न रुचाउँछन्।

‘मन्दिरमा प्रस्तर मूर्तिहरू भए पनि यिनमा द्वार, तोरण, कोर्नेस, टुँडाल आदिलाई काठका अनेक कलात्मक बुट्टा र प्रतीकात्मक मूर्तिले सजाइएका छन्,’ जोशीले आफ्नो पछिल्लो पुस्तक नेपाली कलाको रूपरेखा (प्राचीन र मध्यकालीन)मा भनेका छन्, ‘टुँडालमा भएका प्रत्येक देवीदेवता तान्त्रिक रहस्यका छन्। तिनको प्रादुर्भाव, लक्षण र शक्तिको यथार्थ अभिप्राय बुझ्न कठिन पर्छ।’ ‐पृ.१७५)

१२ वैशाख २०७२ को भूकम्पअघि पुरन्दन मल्लको पालामा बनेको चार नारायण मन्दिर पाटन दरबार अगाडि उभिएको थियो। मन्दिरलाई भूकम्पले तहसनहस बनायो। त्यस्तै पाटनकै धरोहर मानिने हरिशंकर, विश्वेश्वर, मणिमण्डप पाटी, योगनरेन्द्र मल्लको मूर्ति र कृष्ण मन्दिर पनि जीर्ण बन्न पुगे। र, पाटनको ऐतिहासिक कलाकृतिहरू खतरामा परे। चार सय वर्षपहिले बनेका कलाकृति टुटफुट भए। तिनमा कुँदिएका अनेक कलात्मक बुट्टा मेटिन थाले।

भूकम्पको झट्काले पाटन दरबार क्षेत्रका ऐतिहासिक मन्दिरसँगै त्यहाँका काष्ठकला पनि बिगार्‍यो। भूकम्पको वितण्डापछि ऐतिहासिक कलाकृति ब्युँत्याउन तिनैका सन्ततिलाई बोलाइयो, जसले यी कला सिर्जना गरेका थिए। फलस्वरूप भूकम्पले ढालेको चारनारायण मन्दिर अहिले सोही ठाउँमा विस्तारै उभिने तर्खरमा छ।

अहिले भक्तपुरे कलाकारहरू चारनारायण मात्र होइन, पाटनका अन्य ऐतिहासिक काष्ठकलालाई पुनर्जीवन दिन लागिपरेका छन्। भूकम्पको ६ महिना नपुग्दै पाटनको काष्ठकला फेरि ब्युँत्याउन जुटेका थिए उनीहरू। पाटनको काष्ठकला ब्युँत्याउन भक्तपुरका ३० जना कलाकार दिनहुँ पसिना बगाइरहेका छन्। उनीहरूमध्ये प्रमुख हुन् तीर्थराम शिल्पकार (४०)।

भक्तपुरमा जन्मेका तीर्थरामका बाजेबराजु यही पेसामा थिए। उनले घरबाटै शिल्पकला सिके। १५–१६ वर्षको उमेरदेखि नै काठमा बुट्टा बनाउन थालिसकेका थिए उनले। घरमा कसैले जबर्जस्ती कर गरेर यो पेसामा आएको होइन, बुवाले आफैंसँग काम गराउँदागराउँदै यो काम सिकेँ’ उनी सुनाउँछन्।

आफ्‍ना पुर्खाहरूले बनाएको कलाकृतिमा काम गर्न पाउँदा तीर्थरामलाई गर्व लाग्छ। आफ्ना पुर्खाहरूले यति शक्तिशाली कलाकृतिको कसरी सिर्जे होलान् भनेर उनी कहिलेकाहीँ अचम्ममा पर्छन्। र, पुर्खाहरूको ईश्र्या पनि गर्छन्। ‘हामीसँग सबै किसिमका औजारहरू छन् तर पनि पुर्खाले बनाएका कलाकृतिको नक्कल उतार्न हम्मेहम्मे परिरहेको छ’ तीर्थराम भन्छन्, ‘चार सय वर्षअघि कसरी यी कलाकृतिको निर्माण गरियो होला ? यो प्रश्नले कहिलेकाहीँ हामीलाई सताउँछ।’

काष्ठकलाको काम गर्दा जति रोमाञ्चकता छ, त्यति नै खतरा पनि देख्छन् तीर्थराम। सँगै काम गर्दा गर्दै चारनारायण मन्दिरबाट उनका एक सहकर्मी खस्न पुगे। उनी घाइते अवस्थाबाट चुस्त–दुरुस्त हुन लामो समय लाग्यो।

०००

नारायणसुन्दर शिल्पकार (४५) काठमा चित्र कुँद्ने कलामा अब्बल छन्। यिनी पाटनको काष्ठकला ब्युँत्याउने ३० पारखीमध्येका एक हुन्। उनले चारनारायण मन्दिरका द्वार, तोरण, कोर्नेस र टुँडालमा कयौं बुट्टा भरेका छन्। आफ्नो कामलाई देवीदेवता जसरी पुज्न रुचाउने उनलाई आफ्ना पुर्खाहरूको कलामा काम गर्न पाउँदा खुसी लाग्छ। ‘मन्दिरमा प्रयोग भएका काष्ठकला देख्दा जति राम्रा देखिन्छन्, बनाउन बस्दा त्यति गाह्रो छ,’ नारायणसुन्दर भन्छन्,‘हामीले बडो मेहनत र सावधानीपूर्वक यी कला बनाइरहेका छौं।’

नारायणसुन्दर पनि १४–१५ वर्षको उमेरमै काष्ठकलाको क्षेत्रमा होमिएका थिए। उनलाई सुरुमा हजुरबुवाले काष्ठकला सिकाए। पुर्खाको कलामा आफ्नो कला मिसाउन पनि आफूहरूले एक किसिमको तपस्या गरिरहेको उनी बताउँछन्। ‘मन्दिरमा सबैभन्दा जटिल काम काठको हो, नयाँ बुट्टा बनाउनुभन्दा पुरानोमा नयाँ बनाएका बुट्टा मिलाउनु गाह्रो हुन्छ।’ उनी भन्छन्।

पाटन दरबारको भित्रपट्टी बालकृष्ण शिल्पकार (५०) एउटा टुँडालमा बुट्टा भर्दै थिए। उनले पाटनका विभिन्न मन्दिरका ऐतिहासिक काष्ठकलालाई ब्युँत्याउने काम दुई वर्षदेखि गरिरहेका छन्। लामो समय टिक्ने ऐतिहासिक कलाकृति निर्माण गरेकोमा उनी सन्तुष्ट छन्। कुनै काष्ठकला मर्मत गरेमात्रै पुग्ने खालका छन्। भन्छन्, ‘हामीले पुराना काष्ठकलाका आधारमा केही नयाँ कुराहरू पनि निर्माण गरेका छौं।’

बालकृष्णसँग हरिशंकर मन्दिरमा राखिने एउटा टुँडाल पाँच दिन लगाएर बनाएको सम्झना छ। कहिलेकाहीँ त्योभन्दा धेरै दिन पनि लाग्न सक्छ। काम नलाग्ने गरी क्षति भएका कला उनीहरूको समूहले नयाँ बनाउँछ।

मन्दिरको काष्ठकला अवलोकन गर्दा अवलोकनकर्ताको सबैभन्दा छिटो नजर जाने ठाउँ कोर्नेस हो। कोर्नेसमा कुँदिएका बुट्टा हेर्दा जति राम्रो देखिन्छन्, बनाउन अफ्ठ्यारो हुने बालकृष्णको अनुभव छ। ससाना कुरामा ध्यान दिएर दृश्यहरू कुद्नुपर्ने भएकाले यस्तो काम गर्दा हरेक कुरामा ख्याल गर्नुपर्ने उनी बताउँछन्।

धातुमा जादु

१६औं शताब्दीपछि प्रायः परम्परागत शास्त्रीय पद्धतिमा धार्मिक पृष्ठभूमिका देवीदेवताका मूर्ति निर्माण गर्ने कलाकार अघि बढ्न चाहे। उनीहरूले कलाका संरक्षक राजाहरूका ठूल्ठूला प्रतिमा उभ्याउन थाले। यसरी बनेका प्रतिमा यथार्थका अद्वितीय कलाकृति मात्र नभई अन्तरआत्मासँग धातुरूपी मानवआत्माको सम्बन्धको माध्यमका स्रोत पनि भएको बताउँछन् संस्कृतिविद् सत्यमोहन जोशी। यिनै प्रतिमाको एउटा उदाहरण हो, पाटन दरबार अगाडिको योग नरेन्द्रमल्लको मूर्ति। (ने.पृ.१९४, १९५)

मल्लकालीन राजा योगनरेन्द्रलाई अझै पनि जीवित राजा मान्ने चलन छ। सालिकको टाउकामाथि रहेको चराको मूर्तितिर देखाउँदै योगनरेन्द्रले आफू मर्नेबेला ‘त्यो चरा उडेर नगएसम्म मलाई ज्युँदै ठान्नू’ भनेको किंवदन्ती छ। राजा जिउँदै भएको मान्यतामा पनि पाटन दरबार उपल्लो तलाको पश्चिमपट्टिको शयन कक्ष रहेको एक कोठाको झ्याल सधैं खुला राखिन्छ। तर, महाभूकम्पले सालिकमाथिको चरालाई पनि बाँकी राखेन।

पछि राजा योगनरेन्द्रलाई पुनः जीवित पार्ने काम गरे, बाबुराम महर्जन (३७) र विनोद महर्जन (३५)ले। उनको टाउकोमाथि नाग र नागमाथि बसेको चरालाई देखाउँदै बाबुरामले भन्छन्, ‘यो प्रतिमा कामै नलाग्ने नलाग्ने गरी कुच्चिएको थियो, यसलाई दुरुस्त अवस्थामा ल्याउन धेरै मेहनत गर्नुपर्‍यो’।

बाबुराम तुरुन्तै मोबाइल झिक्छन्। र, फोटो देखाउँछन्। उनको औला अघि बढ्छ। पाटनमा आफूले पुनर्निर्माण गरेका कलाकृतिको रेकर्ड छ उनीसँग मोबाइलमा। ‘म मरेर गए पनि मैले मर्मत गरेका ऐतिहासिक कलाकृतिहरू मर्दैनन्, मेरो भावी सन्ततिहरू यहाँ आएर मलाई सम्झिनेछ’ यति भनेर उनी मुस्कुराउँछन्।

बाबुरत्नले जीर्ण अवस्थामा पुगेको पाटनको तलेजु मन्दिरको गजुर पनि मर्मत गरे। गजुरमा काम नै नलाग्ने कुराहरू बनाएर थपिदिए भने काम लाग्ने कुराहरूको मर्मत गरे। उनको नेतृत्वको समूहले पाटनमा धातुसम्बन्धी सबैखाले पुनर्निर्माण गर्दैछ। उनीहरूले पाटन दरबारको गोल्डेन गेटमा कुँदिएका कला पनि जस्ताको तस्तै उतारे। त्यहाँ एकातिर उनले बनाएको साभार बुट्टा र अर्को ठाउँतिर सक्कल कला राखिएको छ। अहिलेसम्म आफूले गरेका गर्वलायक काम पाटनकै भएको उनी बताउँछन्। ‘पाटनको काम नगर्दासम्म मर्छु कि भन्ने चिन्ता थियो, यहाँको काम गरिरकेपछि जीवनदेखि सन्तुष्ट भएको छु’ उनी भन्छन्।

ढुंगामा जीवन

एउटै ढुंगाबाट शिखर शैलीमा निर्मित २१ गजुरयुक्त कृष्ण मन्दिर देखेर मोहित नहुने कमै होलान्। तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालामा बनेको कृष्ण मन्दिर पर्यटक र हिन्दु धर्मावलम्बीको आकर्षणको केन्द्र हो। १६औं शताब्दीमा जयस्थिति मल्लले यस मन्दिरको निर्माण सुरु गरेका थिए।

भूकम्पको झट्काले कृष्ण मन्दिरको तेस्रो तलामा महादेव रहेको स्थान फुट्यो। यसले मन्दिरमा पानी चुहिन थालेपछि मन्दिरका बुट्टा तथा प्रस्तरमा लेउ लाग्न थालेका थिए। तर, आशाबहादुर रञ्जितकार (७०) र सूर्यबहादुर (३९) बाबु, छोराले कृष्ण मन्दिरलाई पुनर्जन्म दिए। अहिले कृष्ण मन्दिर भूकम्पअघि जसरी उभिन पाएको छ।

‘भूकम्पका कारण मन्दिर जीर्ण सँगै बीचबाट चिरा परेका कारण ढल्न सक्ने अवस्थामा थियो, मर्मत गर्दागर्दै ढल्न पनि सक्थ्यो, ढलेको भए हामी मर्ने थियौं’ सूर्यबहादुर मन्दिर मर्मत गर्दाका दिन सम्झिन्छन्।

कृष्ण मन्दिरमा कुँदिएका बुट्टासँग सबैभन्दा परिचित छन् सूर्यबहादुर। उनका उनका बुबा आशाबहादुरले त ढुंगामै जीवन बिताए। अहिले बुढेसकालमा पनि उनी ढुंगामा कुँदिएका कलाकृतिसँग रमाइरहन्छन्। त्योबेला सूर्यबहादुर १५–१६ वर्षका थिए। आशाबहादुरले उनलाई पनि आफूसँगै काममा लगाउन थाले। अहिले सूर्यबहादुर ढुंगाको कलाकृति निर्माणमा पोख्त भइसकेका छन्। उनलाई सम्बन्धित निकायका मान्छेले काम गराउन तानातान गर्छन्। तर,उनी सबै ठाउँमा भ्याउँदैनन्।

सूर्यबहादुरले भक्तपुर दरबार स्क्वायर, वसन्तपुर, पशुपतिनाथ पाटनलगायतका विश्वसम्पदामा सूचीकृत स्थलको कलाकृति पुनर्निर्माणको काम गरिसकेका छन्। पाटनको कृष्ण मन्दिरसँगै वसन्तपुरको भैरव मन्दिर, पशुपतिस्थित ब्रम्हनालमा नागको मूर्ति आदि उनका कलाकृतिका केही नमूना हुन्।

‘आजकल हाम्रो कला क्षेत्र पछाडि पर्दै गएको छ, हाम्रो यो पुर्ख्यौली काममा पछाडिका पुस्ता आउन चाहँदैनन्,’ सूर्यबहादुर भन्छन्,‘मैले मेरा सन्तानलाई यही क्षेत्रमा ल्याउने सोच बनाएको छु।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.