सुरक्षा गार्डको हत्या अभियोगमा एकजना पक्राउ
राजविराज : तिलाठी कोइलाडी गाउँपालिकाका सुरक्षा गार्डको हत्याको अभियोगमा ४० वर्षीय शैलेन्द्र मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
तिलाठी कोइलाडी गाउँपालिका–१ का २७ वर्षीय रिकेश भनिने परशुराम मिश्रको हत्या गरी फरार रहेको भन्दै कोइलाडी–२ का शैलेन्द्रलाई सप्तरी जिल्ला प्रहरीले पक्राउ गरेको हो ।
घटनापछि फरार रहेका मुखियालाई पक्राउ गरी सप्तरी जिल्ला अदालतवाट शुक्रबार म्याद थप गरी थप अनुसन्धान कार्य थालिएको एसपी राजेन्द्र विष्टले बताए ।
एसपी विष्टका अनुसार हत्या गरी लुकीछिपी बसेका मुखियालाई छिन्नमस्ता गाउँपालिका–३ सखडाबाट पक्राउ गरिएको हो । मिश्र र मुखियाको गत मङसिर २९ गते दिउसो सामान्य कुटपिट भएकोमा सोही साँझ तिलाठी कोइलाडी–२ स्थित तेलिया पोखरी नजिकै मुखियाले कुटपिट गरी मिश्रलाई गम्भीर घाइते बनाएका थिए ।
घाइते मिश्रको उपचारका क्रममा गत पुस १ गते राति मृत्यु भएको हो । मृतकको पोस्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भएको थियो ।