मोटी धाई र गरिब युवक
अलि अप्ठेरो भएपछि आइमाईले चोलीको तुना खुकुलो पारी। युवकले फेरि उसलाई हेर्यो। उसले चोली खोल्दै गई। उसका स्तनको दबाबले लुगाका दुई पाटाको बीच फराकिलो हुँदै गएको सेतो कपडा र छाला देखियो।
रेल जेनोआ पार भयो। अनि, चट्टानै चट्टानले भरिएको समुद्री किनार हुँदै, समुद्र र पहाडको बीचमा सर्पजस्तै घर्संदै, किनारामा पहेलो बालुवा र चाँदीजस्तो मसिना छालहरूमा घच्याकघुचुक गर्दै, सुरुङको कालो ओडारमा छिर्दै मार्सेईतिर हान्नियो।
रेलको अन्तिम डिब्बामा एउटी मोटी युवती र एक युवक नबोलीकन, यदाकदा एकले अर्कालाई हेर्दै आमने–सामने बसिरहेका थिए। अन्दाजी २५ वर्षकी युवती ढोकानिर बसेर बाहिरको दृश्य हेरिरहेकी थिई। पिडमोन्टवासी हट्टाकट्टा यो महिला किसानका आँखा काला, स्तन धेरै ठूला, गाला पुक्क परेका थिए। काठको बेन्चमुनि उसले थुप्रै सामान राखेकी थिई। काखमा केवल एउटा बास्केट थियो।
सँगैको युवक करिब २० वर्षको थियो। टन्टलापुर घाममा खेतमा काम गर्ने युवक दुब्लो, शरीरमा रगत नभएजस्तो पहेलो र अँध्यारो अनुहारको थियो। उसको नजिक एउटा रुमाल थियो। अनि थियो उसको सारा भाग्य : एक जोर जुत्ता, एउटा बुसर्ट, प्यान्ट र ज्याकेट। बेन्चमुनि केही छोपेर राखिएको थियो : डोरीले बाँधेको एउटा साबेल र पिक। काम खोज्न ऊ फ्रान्स जाँदै थियो।
सूर्यले समुद्री किनारमा आगोको वर्षा गरायो। यो, मे महिनाको अन्तिमतिरको समय थियो। डिब्बाका झ्यालहरू खुला थिए जहाँबाट मीठो बास्ना छिरिरहेको थियो। फूल फुलिरहेका सुन्तला र कागतीका बोटहरू खुबै मीठो, गाढा र झकझकाउँदो गरी शान्त आकाशमा मीठो सुगन्धको श्वास फालिरहेका थिए। यदाकदा तिनमा गुलाबको सुगन्ध मिसिन्थ्यो जुन बाटोमा वा साना घरबाहिरका हरियाली बगैंचा र गाउँघरतिरका झारहरूजस्तै जताततै शान्त रहन्थे। गुलाबहरू यी किनारमा निकै सुविधाजनक अवस्थामा थिए। हल्का तर शक्तिशाली गाढा सुगन्धका साथ तिनीहरूले मानौं यहाँ आफ्नै देश अनुभूति गर्न पाएका थिए। हावालाई नै तिनीहरूले उपचार गरिदिएका थिए र कुनै मीठो रक्सीभन्दा स्वादिलो र उत्तेजक बनाइदिएका थिए। रेल बिस्तारै हिँडिरहेको थियो। मानौं बगैंचाको मीठो सौन्दर्यमा ऊ पनि अलमलिइरहन चाहन्थ्यो। सेता घरहरू भएका साना बिसौनीहरूमा कुनै पनि समय रोकिन सक्थ्यो। लामो सिट्ठी बजाउँदै रेलले फेरि शान्त पाइला चाल्न थाल्यो। यतातिर कोही चढिरहेको थिएन। लाग्थ्यो, संसार निदाइरहेको छ र वसन्तको यो तातो बिहानीमा अगाडि बढ्नेबारे कुनै निर्णय गर्न सकिरहेको छैन।
मोटी आइमाई बेलाबेला आँखा बन्द गर्थी। अकस्मात् फेरि खोल्थी जब उसको काखको बास्केट चिप्लेर तल झथ्र्यो। ऊ त्यसलाई तत्काल सम्हाल्थी। केही मिनेट बाहिरतिर नियाल्थी र फेरि झकाइहाल्थी। उसको निधारमा पसिनाका थोपाहरू चम्किरहेका थिए। ऊ अप्ठेरोसँग सास फेरिरहेकी थिई मानौं भर्खरै उसको कुनै गम्भीर अपरेसन भएको थियो।
युवकचाहिँ टाउको दोबारेर किसानलाई लाग्ने मस्त निद्रामा थियो।
सानो बिसौनी आउनै लाग्दा मोटी आइमाई बिउँझिई। उसले बास्केटबाट एक टुक्रा रोटी, उसिनेका अन्डाहरू, एक सिसी वाइन, राता आलुबखडाहरू निकाली र खान थाली। युवक पनि एक्कासि बिउँझियो। प्रत्येक गाँसमा ऊ मोटीलाई घुँडादेखि मुखसम्म घुरेर हेरिरहेको थियो। उसका पाखुरा बन्द थिए। घुरिरहेका आँखा, खाल्डो परेका गाला र बन्द ओठ।
कुनै भयंकर लोभी आइमाईजस्तै ऊ खाइरहेकी थिई। कुनै पनि समय ऊ मुखभरि वाइन राख्थी र अन्डा निल्थी। सास फेर्न एक छिन रोकिन्थी। उसले रोटी, अन्डा, आलुबखडा र वाइन सबै एकैछिनमा सफाचट पारी। आइमाईले खाइसकेपछि युवकले आँखा चिम्लियो।
अलि अप्ठेरो भएपछि आइमाईले चोलीको तुना खुकुलो पारी। युवकले फेरि उसलाई हेर्यो। उसले चोली खोल्दै गई। उसका स्तनको दबाबले लुगाका दुई पाटाको बीच फराकिलो हुँदै गएको सेतो कपडा र छाला देखियो।
अलि सजिलो भएपछि आइमाईले इटालियाली भाषामा भनी, ‘कति मात्रै गर्मी भ’को हो, सास फेर्नै नसकिने !’
युवकले पनि उही भाषा र उस्तै उच्चारण गर्दै जवाफ दियो, ‘यात्राका लागि यो निकै राम्रो मौसम हो।’
‘तपाईंको घर पिडमोन्ट हो ? ’ उसले सोधी।
‘अस्तेँ हो।’
‘मेरोचाहिँ क्यासाले।’
ती दुवै छिमेकी गाउँ थिए।
उनीहरू कुरा गर्न थाले।
उनीहरूले सर्वसाधारणले गर्ने उही अति साधारण कुरा दोहोर्याए जुन व्यापक क्षितिज नभएको सुस्त मनका लागि काफी थियो। तिनीहरूले गाउँको बारे कुरा गरे। परिचय आदानप्रदान गरे।
उनीहरूले केही व्यक्तिको नाम लिए जसलाई दुवैले चिनेका थिए। उनीहरूका मुखबाट अन्त्यतिरको विशेष ध्वनि मिसिएका इटालियन शब्दहरू छिटो र हतारहतार निस्किरहेका थिए। त्यसपछि उनीहरूले आफ्नैबारे कुरा गरे।
मोटीको विवाह भइसकेको थियो। मार्सेईमा एउटी असल महिलाकहाँ धाई आमाको काम गर्न उसले आफ्ना तीन बच्चा दिदीकहाँ छाडेकी थिई।
युवक कामको खोजीमा थियो। मार्सेईमा नयाँ घरहरू बनिरहेकाले काम पाइन्छ भन्ने उसले सुनेको थियो।
त्यसपछि उनीहरू मौन भए।
डिब्बाको छानामा पानी बर्सेजस्तै गर्मी डरलाग्दो गरी बढेको थियो। रेलको पछिपछि घुमिरहेको एक मुस्लो धुलोभित्र पसिरहेको थियो। सुन्तला र गुलाबको मीठो सुगन्ध अझै गाढा भइरहेको थियो।
दुवै जना फेरि निदाए।
दुवैले एकसाथ आँखा खोले। समुद्रको नीलो पानीमाथि प्रकाशको झरना बर्साउँदै सूर्य डुब्दै थियो। हावा शीतल र शान्त थियो। चोली खुकुलो पार्दै, आँखा लोलो बनाउँदै गाला समाएर धाईले निराश स्वरमा भनी, ‘हिजोदेखि मैले बच्चालाई दूध खुवाएकी छैन। रिँगटा लागिरहेछ। म त मुच्र्छा पर्छु होला।’
जवाफ पहिल्याउन नसकेर युवक केही बोलेन।
उसले भनी, ‘दूध गानिएकी आइमाईले दिनमा कम्तीमा तीनपटक बच्चालाई दूध ख्वाउनुपर्छ। नभए हात्तीलाई ज्वरो आएजस्तै असाध्यै गाह्रो हुन्छ। यो मेरो मुटुमा भारी भइरहेछ। सास फेर्नै मुस्किल पारिरहेछ र सारा अंग चल्दै नचल्ने बनाइरहेछ। यति धेरै दूध हुनु पनि खराब नै हो।’
‘हो, यो अप्ठेरो स्थिति हो। तपाईंलाई धेरै गाह्रो भएजस्तो छ’, युवकले भन्यो।
मोटी बिरामीजस्तै थकित र कमजोर देखिई। ऊ भुनभुनाई, ‘अलिकति थिच्नासाथ मेरो स्तनको टुप्पाबाट दूधको झरना बग्न थाल्छ। अचम्मै हुन्छ। तपाईंलाई विश्वास नलाग्ला, यस्तो हेर्न मकहाँ छिमेकीहरूको ताँती लाग्थ्योे।’
‘ए, हो र ? ’
‘साँच्चै हो। तपाईंलाई देखाउन कुनै अप्ठेरो थिएन। तर, त्यसको कुनै अर्थ छैन।’
ऊ चुप लागी। एउटा समूह कुनै बिसौनीमा ओर्लियो। ढोकानिर महिलाको काखमा रोइरहेकी अत्यन्त दुब्ली बच्ची थिई। धाईले उसलाई हेरी।
उसले करुणापूर्ण आवाजमा भनी, ‘म त्यो बच्चीलाई दूध खुवाएर शान्त पार्न सक्थेँ। त्यसले मलाई पनि हल्का हुन्थ्यो। म धनी होइन। कामकै लागि मैले आफन्त र सानो बच्चासमेत छाडेर आएकी हँ। तैपनि त्यो बच्चालाई दूध चुसाउन पाए म पाँच फ्रांक दिने थिएँ। यसले हामी दुवैलाई सान्त्वना प्रदान गथ्र्यो। मैले त नयाँ जीवन नै पाउने थिएँ।’
ऊ फेरि मौन भई। भतभती पोलिरहेको निधारमा ऊ बारम्बार हात राख्थी जहाँबाट पसिना छुटिरहेको थियो। कन्दै उसले भनी, ‘मेरी आमा, अब सहन सक्दिनँ। मलाई कालले टिप्छजस्तो छ !’
बेहोशीमा इशारा गर्दै उसले आफ्ना लुगाहरू खोली। खैरो मुन्टोसहित उसको कसिएको ठूलो दाहिने स्तन ह्वार्लांग देखियो। कन्दै उसले भनी, ‘हे भगवान्, म के गरूँ ? अब म के गरूँ ? ’
रेल फेरि वासना फैलाइरहेका रूखहरूको बाटो हुँदै चल्न थाल्यो। यदाकदा समुद्री किनारमा निदाइरहेको माछा मार्ने डुंगा देखिन्थ्यो। पानीमा देखिने त्यसको सेता छायाँ देख्दा यस्तो लाग्थ्यो, त्यहाँ तल अर्को पनि डुंगा छ।
रनभुल्ल परेको युवकले भकभकाउँदै भन्यो, ‘म्याडम, म तपाईंलाई मद्दत गर्न सक्छु होला।’
भत्किएको स्वरमा धाईले भनी, ‘हो, तपाईंले चाहे मलाई नयाँ जीवन दिन सक्नुहुन्छ। ओहो हो, म मर्दैछु, म मर्दैछु प्रभु !’
ऊ घुँडा मारेर धाईको अगाडि बस्यो। धाई ऊपट्टि ढल्किई। बच्चालाई जस्तै अँध्यारो रङको स्तनको टुप्पो उसको मुखमा राखिदिई। जब मुखमा अड्याउन धाईले आफ्नो स्तन दुवै हातले समाई, दूधको एक थोपा बाहिर निस्कियो।
युवकले भोको बालकझैं उत्साहपूर्वक दूध चुसिरह्यो। मानांै धाईको भारी स्तन कुनै फल थियो। उसले आफ्ना दुवै पाखुरा मोटी धाईको कम्मरमा बेरेको थियो। बच्चाले जस्तै गर्धनको चालमा कहिले ऊ बिस्तारै चुस्थ्यो। कहिले छिटो छिटो।
धाईले भनी, ‘यतातिर सन्चो भयो। अब अर्कोतिर..।’
आज्ञाकारी भएर उसले अर्कोतर्फ चुस्यो।
धाईले युवकको पिठ्यूँमा दुवै हात राखेकी थिई। डिब्बाभित्र छिरेको फूलको मीठो सुगन्ध मिसिएको हावाको झोकासँगै ऊ खुसी र आनन्दसाथ गहिरो सास लिइरहेकी थिई।
‘कति मीठो सुगन्ध छ यतातिर’, उसले भनी।
उसले जवाफ दिएन। बच्चाझैं आँखा चिम्लिएर दूध चुसिरह्यो।
धाईले बिस्तारै उसलाई धकेली। ‘पुग्यो। बल्ल सन्चो भयो। म त मरिसकेको थिएँ, फेरि बाँचेँ।’
हातको पछिल्लो भागले ओठमा लागेको दूध पुछ्दै युवक उठ्यो।
चोलोभित्र आफ्ना दुवै स्तन छोपेपछि धाईले भनी, ‘तपाईंले मलाई ठूलो गुन लगाउनुभयो महोदय, धेरैधेरै धन्यवाद।’
अनुग्रहित भाकामा युवकले भन्यो, ‘धन्यवाद त मैले तपाईंलाई दिनुपर्छ महोदया। खासमा, दुई दिनदेखि मैले केही खान पाएको थिइनँ।’
अंग्रेजीबाट अनुवाद : अभय श्रेष्ठ