हामी रिमालका स्वस्थ सन्तान हुन सकेनौं
५० वर्ष अक्षरको बाटो हिँडेपछि नारायण ढकालको पहिलो काव्यकृति प्रकाशित भएको छ। सुपरिचित र स्थापित आख्यानकार, राजनीतिक टिप्पणीकार ढकाल लामो समयदेखि कवितामाथिको बहसमा सामेल छन्। निबन्धकृति ‘शोकमग्न यात्री’, ‘तीन संवत्सर’ कवितामाथिको उनको चिन्तन पढ्न पाइन्छ। ‘दुर्भिक्ष’, ‘पीत संवाद’, ‘प्रेतकल्प’, ‘वृषभ वध’जस्ता उपन्यासका लेखक ढकालको पहिलो कविता–किताब ‘नरकको ढोका’मा उनी लेख्छन्, ‘म एक सिकारु कवि हुँ। तसर्थ आफ्ना कविताको प्रतिरक्षा गर्ने योग्यता राख्दिनँ।’ यस किताबमा उनी आफ्ना किशोरकाल सम्झेर नोस्टाल्जिक बनेका छन्। किताबका हरेक पानामा काँठको गोबरको गन्ध तैरिरहेझैं लाग्छ। ढकालसँग दीपक सापकोटाले कविता–संवाद गरेका छन् :
१. नेपालीमा लेख्ने कविको जनसंख्या अत्यधिक छ। अनेक शैली, प्रकृति र विचारका कविता प्रचुर मात्रामा लेखिँदै छन्। यस्तोमा आख्यान लेखनको एउटा उचाइमा पुगिसकेको नारायण ढकाल कवितासंग्रह लिएर देखा पर्नुको रहस्य के हो ?
यो कुनै रहस्य होइन। साहित्यमा म कविताको गोरेटो हिँड्दै पसेको हुँ। पछि आएर मात्र आख्यानमा मेरो समय बढी बित्यो। सुरुमा मैले सयौं कविता लेखेँ। अझ हजारौं भने पनि हुन्छ। तर, ती कुनै पनि छापिएनन्। त्यसपछि निराश भएर म आख्यानतिर लागेँ। आख्यानमा लागेपछि पनि बीचबीचमा फाट्टफुट्ट कविता लेखिरहेँ। कविता मेरो पहिलो प्रेम थियो। मानिसको जीवनमा पहिलो प्रेमको अनन्त मूल्य रहन्छ। केही समययता म बढ्तै फुर्सदी छु। उमेर पनि ढल्दै जाने क्रममा छ। जीविका कमाउने कार्यबाट निवृत्त भइसकेको छु। यही अवसर छोप्दै विभिन्न पत्रपत्रिका र कापीमा रहेका कविता नहराऊन् भनेर मैले तिनलाई एक ठाउँमा जम्मा गर्ने विचार गरेँ। मेरो साथी गोविन्द वर्तमानका कविता हराएको उदाहरणले मलाई बखतबखत झस्काएको छ। उनले राम्रा कविता लेखे तर संरक्षण गरेनन्। मैले त्यो बाटो रोज्न चाहिनँ। अब आफ्नो इतिहासको छायामा परेको एक पाटो नमेटियोस् भनेर मैले पुराना फाइलहरू पल्टाएँ। जब मैले तीमध्येका धेरै कवितालाई ल्यापटपमा उतारेँ, मलाई आफ्नो जीवनीको एउटा झलक त्यहाँ भएजस्तो लाग्यो। विशेष गरी हंग्री आन्दोलनपछिको मेरो जीवन, मेरो संघर्ष र चेतनाको झझल्को त्यहाँ भएझैं लाग्यो। त्यसपछि ‘लहर’ले त्यसलाई छाप्यो। ‘नरकको ढोका’ यसरी आएको हो।
२. लहर भनेको के हो नि ? यो नयाँ खुलेको प्रकाशन संस्था हो ?
यो नयाँ संस्था होइन। व्यावसायिक प्रकाशन संस्था पनि होइन। २०३५ सालमा यो त्रैमासिक पत्रिकाका रूपमा दर्ता भएको हो। सुरुमा म, विमल निभा र राजव मिलेर यसलाई प्रकाशित गरेका हौं। पछि रघु पन्त, अग्निशिखा, वासुदेव अधिकारी, शार्दूल भट्टराई र लिखत पाण्डेहरूले यसलाई निरन्तरता दिनुभयो। २८ अंकपछि यो बन्द भयो। विमल निभाको ‘आगोनेर उभिएको मानिस’, विक्रम सुब्बाको ‘सगरमाथा नांगै देखिन्छ’ (दुवै कवितासंग्रह) र मरो ‘इरफान अली’ (कथासंग्रह) लहर पत्रिकाले छापेको थियो। अहिले ‘नरकको ढोका’ यसले छापेको चौथो किताब हो।
३. ‘नरकको ढोका’मा संगृहीत कविताको लेखन समयावधि लामो छ। ३६ सालको आसपासदेखिका कविता यसमा परेका छन्। यस संग्रहका कवितालाई ४६ सालअगाडि र ४६ सालपछाडि भनेर कालखण्डमा विभाजन गरियो भने आफ्ना सुरुका र पछिल्ला कवितामा केही परिवर्तन भेट्नुहुन्छ ?
परिवर्तन त भइहाल्छ। मेरो चार दशकको काव्यकारिता र जीवनमा अनेक उतारचढाव आए। काव्य चेतनाकै सन्दर्भमा पनि धेरै सोच विकास भए। छत्तीस सालदेखि छयालीस साल एउटा सिमाना बन्नसक्छ। छयालीसपछि अनेक सिमाना बन्ने र भत्कने क्रम आएको छ। राजनीतिक हिसाबले मात्र होइन; सामाजिक, सांस्कृतिक र वैचारिक उथलपुथलले अनेक आयाम र आकार बनाएका छन्। यी विषयले मलाई प्रभाव पार्नु स्वाभाविक हो। संग्रहमा जम्मा छत्तीसवटा कविता छन्। तर, छयालीस अघिका कविता संख्यामा थोरै मात्र छन्। छयालीस अघिका कवितामा कवितातत्व कम र तानाशाही पञ्चायती व्यवस्थाविरोधी आवेग चर्को छ। क्रान्तिका निम्ति कम्युनिस्ट पार्टीमा होमिएको मेरो समय हो त्यो। छयालीसपछि पञ्चायत गयो र बहुदलीय व्यवस्था आयो। बहुदलीय व्यवस्था आएपछि नयाँ खालका विसंगतिहरू आए। देशभित्रको परम्परागत सामाजिक र राजनीतिक संरचनालाई बाहिरका शक्ति संरचनाले बढ्ता प्रभावित पार्न थाले। त्यो समयमा म अलमलिएँ, यो नयाँ व्यवस्थाले कस्तो रूप लेला भनेर अन्योल उत्पन्न भयो। नेपाली काँग्रेले सम्पूर्ण प्रतिगमनको यात्रा रोज्यो। जब कम्युनिस्ट आन्दोलनको मूलधार बनिसकेको एमालेको नेतृत्वमा विचारगत विग्रह र व्यक्तिवादी स्वार्थले ठाउँ बनाउन थाल्यो, त्यसपछि अरूझैं मभित्र पनि आलोचनात्मक चेतनाले आफ्नो आकार बढाउन थाल्यो। त्यही क्षणमा माओवादी आयो। फेरि त्यही समयमा तत्कालीन राजाले प्रतिगमनको बाटो समाते। त्यो अवधिमा यी सबैले हिँडेको बाटोले निर्देश गरेको संकटलाई व्यक्त गर्न साहित्यबाहेक मसित अर्को हतियार थिएन। यही कारण मैले ५७ सालदेखि ६२ सम्म धेरै कविता लेखेँ।
तर, कवितालाई राजनीतिक व्यवस्थाको समर्थन वा विरोधको प्रतिक्रिया मात्र मान्न हुँदैन। यसले राजनीतिशास्त्र वा अरू सामाजिक विज्ञानको जस्तो शुष्क भाषामा आफ्नो रूप प्रदर्शन गर्दैन। कविता कविको आन्तरिक संसारको अभिव्यक्ति हो। बाह्य संसार र कविको अभ्यन्तरबीच विशेष खालको सम्बन्ध र अन्तरविरोध रहन्छ। त्यस्तो सम्बन्ध र विरोध विम्ब, लय, प्रतीक, ध्वनि र दर्शनमा व्यक्त गरिन्छ। त्यस्तो सम्बन्ध र अन्तरविरोधमा पाठकीय चेतना र अन्तरबोधको पनि द्वन्द्व रहन्छ। पाठकका लागि कविताको गहिरो नदी पार गर्न ज्यादै साँघुरो काठको साँघुमात्र रहन्छ। त्यसैकारण कविताको प्रदेशमा पस्न धेरैलाई सहज हुँदैन। कविले पाठकको त्यस्तो चुनौतीसँग आत्मसमर्पण गर्न मिल्दैन। पाब्लो नेरुदा यसका आदर्श उदाहरण हुन्। उनी ब्रेख्तजस्तो धेरै सजिला छैनन्। टीएस इलियट पनि यही कोटीका हुन्। उनले ‘वेस्ट ल्यान्ड’ कवितामा पश्चिमी ज्ञान परम्पराको चस्माले पूर्वको उपनिषद्को रहस्यलाई जोड्न खोजे। उदाहरण अरू पनि छन्। हाम्रोमा कवि रिमालले शास्त्रीय छन्दको परम्पराबाट हटेर गद्य कविताको जुन बाटो बनाए, पछिका हामी धेरै कविले उनको स्वस्थ सन्तान हुने योग्यता कायम गर्न सकेनौं। यसमा मेरो त कुरै नगरौं, म अझै नेपाली साहित्यमा सिकारु प्रशिक्षार्थीको हालतमा छु।
तपाईंका अधिकांश कवितामा तत्कालीन पात्र, प्रवृत्ति र घटनाप्रति असन्तोष, आक्रोश र असहमति पोखिएको देखिन्छ। सायद संग्रहको नामले नै पनि यसलाई संकेत गरेको छ। तपाईं आफैं पनि राजनीतिक आन्दोलनमा लामो समयदेखि अनेक स्वरूपमा सक्रिय रहँदै आउनुभएको छ। आफू बाँचेको समयप्रति यतिविघ्न असन्तुष्टि आउनुका पछाडिको कारण के हो ?
केही कवितामा बाहेक धेरै कवितामा तत्कालीन पात्र र प्रवृत्तिप्रति असन्तोष र आक्रोश मात्र छैन। राजनीतिक कविता लेख्दालेख्दै मैले सुरुदेखि नै कवितामा आफ्नो ‘स्व’लाई खोज्ने प्रयास गरेको हुँ। यो काम गर्दा ममा धेरै ज्ञानबुद्धि भएर होइन, बरु मैले जथाभावी पढेका राम्रा कविताको दर्शन, ढाँचा र ध्वनिले गर्दा म त्यतातिर तानिएँ। हंग्री आन्दोलन होस् या पछिको कम्युनिष्स्ट आन्दोलमा, म त्यहाँ आफूलाई नै बढी मात्रामा खोजिरहेको थिएँ। ‘नरकको ढोका’ राजनीतिक विम्ब मात्र होइन, त्यहाँ नारायण ढकालको ‘स्व’को खोजको छटपटी छ भन्ने मलाई लाग्छ। यो संग्रहमा केही प्रेम कविता पनि छन्। केहीमा मानिसको अन्तस्करणको संकट र द्वन्द्वको चित्र पनि उतार्ने प्रयास गरेको छु। तर, मैले मेरा कविताको यसरी प्रतिरक्षा गर्नु राम्रो कुरा हो र ? मैले आफ्नो कुरा गर्दा रचनाप्रक्रिया र गर्भस्थ हुँदाको अवस्थाको मात्र बयान गर्नु राम्रो होला, होइन र ?
‘सिकारु कवि’ भन्ने आत्मस्वीकृतिले तपाईंका यी कविताहरू कविता लेखनको रहरमात्रै हुन् भन्ने बुझाउँछ कि या यिनका पछिल्तिर अन्य सबल पक्षहरू पनि छन् ?
मूलतः कवितामा मात्र होइन, समस्त रचनाकारितामा म सिकारु हुँ र रहर मेरो ऊर्जा हो। यो रहरले नै मलाई सक्रिय बनाएको छ। यसले मबाहेकका अरू मानिसको बीचमा पुर्याएको छ। हिमाल, पहाड, मधेस र देशको सिमानाबाहिर पुर्याएको छ। अब मेरो यस्तो रहरले मानिस र मानिसमाझको, समाज र समाजबीचको सम्बन्ध र अन्तस्करणको परिस्कारको अभियानमा सघाउँछ वा सघाउँदैन, यो अरूले भन्नु बेस होला।
नेपाली कवितामा स्कुलिङको कुरा सुनिन्छ। अग्रजहरूका विचार र शैलीका पथलाई अनुकरण गरेर पछिल्लो पुस्ता अघि बढ्दै जाँदा उसले आफ्नै किसिमका निजत्व पनि दिएको पाइन्छ। तपाईं आफूलाई चाहिँ कुन अग्रज कविको निकट मान्नुहुन्छ ? अथवा, नेपालीमा कुन कविचाहिँ बलिया लाग्छन् ?
रिमालको ‘आमाको सपना’, लेखनाथको ‘तरुण तपसी’, देवकोटाको ‘पागल’, भूपिको ‘मैनबत्तीको शिखा’, गोकुल जोशीको ‘एसियाको फूलबारी’ मलाई मन परेका रचना हुन्। यस्तै केवलपुरे किसान, युद्धप्रसाद मि श्र, विजय मल्ल, वासु शशि, पारिजात, विमल निभा, श्यामल, अविनाश श्रेष्ठ, शार्दूल भट्टराई, उपेन्द्र सुब्बा, विनोदविक्रम केसी, अभय श्रेष्ठ, सरिता तिवारी, मनु मन्जिल, हरि अधिकारी आदिले मलाई धेरै रन्थनाएका छन्। बलियाको नाम लिनु पर्दा यी नामहरूमा अरू केही मलाई मन पर्ने कविको नाम थपेपछि तपाईंले खोजेको सूची पूरा होला कि ? मलाई थाहा छैन, म कुन स्कुलको नजिक छु। मलाई ब्रेख्तका राजनीतिक कविता र नेरुदाका प्रेम कविता उत्तिकै मन पर्छन्। मुक्तिबोध र महमुद दरवेश पनि उत्तिकै शानदार लाग्छन्। त्यस्तै अरू धेरै।
कविता कविको आन्तरिक संसारको अभिव्यक्ति हो। बाह्य संसार र कविको अभ्यन्तरबीच विशेष खालको सम्बन्ध र अन्तरविरोध रहन्छ। पाठकका लागि कविताको गहिरो नदी पार गर्न ज्यादै साँघुरो काठको साँघुमात्र रहन्छ। त्यसैकारण कविताको प्रदेशमा पस्न धेरैलाई सहज हुँदैन।
सामान्यतया प्रगतिवादी भनिने कविहरू आफ्ना कवितामा या त राज्य र समाजका दुर्बल या नकारात्मक पक्षमाथि आक्रोश, असन्तुष्टि गर्न रुचाउँछन् नभए आर्थिक सामाजिक सरोकारलाई मात्रै प्राथमिकता दिने गर्छन्। माक्र्सवादीहरूले कोमल कविता लेख्नै नहुने हो ?
हाम्रो मुख्य समस्या भनेको त्यही हो। यो प्रगतिवादीहरूको मात्र समस्या होइन। प्रगतिवाद शब्दलाई नरुचाउनेहरू झन् समयामा छन्। हामी धेरै कवि कवितालाई राजनीतिको ठाडो प्यारोडी मात्र बुझ्छौं। अथवा कविता भनेको सस्तो मनोरञ्जनका लागि लेखिएको बजारिया चुट्किला हो। यो त भयो तथाकथित प्रगतिवादको मठ कब्जा गरेर बसेकाहरू वा मनोरञ्जनको बजार कुरेर बसेकाहरूको कुरा। समस्या राम्रा भनिएका कविहरूमा पनि देख्छु। हामीले हाम्रो कवितामा ब्रेख्त, महमुद दरवेस, किम ची हा, गिन्सबर्ग, अवतारसिंह पाश, काशीनाथ सिंह वा धूमिल आदि प्रकृतिका स्वरहरू मात्रै बढी सुन्यौं कि ? नेरुदा, अक्टाभियो पाज, फैज अहमद फैज, मुक्तिबोध वा फनान्दो पेसोआका स्वरहरूप्रति त्यति ध्यान दिएनौं कि ? अझ त्योभन्दा पनि बढी हामी हाम्रो काव्य इतिहासको आफ्नो जमिनमा राम्ररी उभिन सकेनौं कि ? यस्तो किन भइरहेछ भन्नेमा अब हाम्रा काव्य समीक्षकहरूको ध्यान जानुपर्छ।
अहिलेसम्म समीक्षकहरूको ध्यान नजानु विडम्बना होइन र ?
विडम्बना हो, भूपिका राम्रा कविता ओझेल पर्नु तर राजनीतिक वक्तव्यजस्ता कविता चर्चित हुनु। विडम्बना हो, वासु शशि र विजय मल्लका कतिपय राम्रा कविता समालोचकको उपेक्षामा पर्नु। यसले हाम्रो समस्याको जग कहाँ छ भन्ने सोझै बुझिन्छ।
तपाईंका अन्तरंग मित्रहरू विमल निभा, श्यामल र गोविन्द वर्तमानको नेपाली कवितामा बलियो उपस्थिति छ। राजवले पनि आफूलाई कवितामा सशक्त रूपमा उभ्याइसकेका छन्। यी मित्रहरूका बीचमा आफ्ना कवितालाई कहाँ पाउनुहुन्छ तपाईं ?
म भन्छु, यी सबै कविहरू मभन्दा राम्रा हुन्।
एउटा विधामा स्थापित भइसकेको लेखकले अर्को विधा किन लेख्नुपर्छ ? आख्यान, निबन्ध लेखन र कविता लेखनमा तपाईंको व्यक्तिगत अनुभवले कस्तो भिन्नता महसुस गराएको छ ?
पहिलो कुरा, सबै विधाका आआफ्ना सार्वभौमिक स्वभावहरू छन्, त्यसकारण ती भिन्न स्वरूपका भएका छन्। दोस्रो, भिन्न भएर पनि तिनमा अन्तरसम्बन्ध छ। निबन्धमा कविता मिसिएको हुन्छ। उदाहरणका निम्ति देवकोटा र शंकर लामिछानेका निबन्धहरू। अर्को शक्तिशाली उदाहरण— महाभारत, ओडीसी, इलियाड, फाउस्ट। यी कृतिले कविता र आख्यानको सम्बन्धलाई बुझाउँछन्। मैले पनि त उपन्यासमा कविता मिसाएको छु नि। ‘हजार माइलको बाटो’को उपसंहार खण्डको ठाउँठाउँमा धेरै कविता छन्।
पाठकहरूले लामो समयदेखि नारायण ढकाललाई बलिया आख्यानकार, निबन्धकार र राजनीतिक टिप्पणीकारका रुरूपमा पढ्दै आइरहेका छन्। अब निरन्तर कविका रूपमा पनि पढ्न पाउनेछन् ?
कविता लेख्नु मेरो लागि फलामको चिउरा चपाउनुजस्तै गाह्रो विषय हो तर पनि कविता मेरो प्रेमिल कुलत हो। यो संग्रह निस्केपछि केही दिनयता मैले एउटा कविता लेखेको छु। यो अहिले परिमार्जनको क्रममा छ। हुनसक्छ, मेरो त्यही कविता अन्तिम होस्। अथवा त्यस्तो नहुन पनि सक्छ। भावनाको आवेग, नयाँ ज्ञानको स्पर्श र आविष्कार भयो भने केही वर्षभित्र अर्को संग्रह आउन पनि सक्छ।
मैले कवितामा के गर्ने भन्ने प्रश्न मुख्य हो। स्वप्न, संघर्ष, लय, ध्वनि, विम्ब र प्रतीकको नयाँ बान्कीले मात्र सफल कविता नबन्ला। यी सफल कविताका आंशिक सर्त हुन्। यिनका साथै असल कवि बन्न विचार र दर्शनको नयाँ खोज आवश्यक हुन्छ। दर्शन र विचारको अर्थ चलनचल्तीका विचारको अन्धभक्ति होइन। चलनचल्तीका विचार वा सत्ताप्रतिको भक्ति वा भत्र्सनाले राजकवि, तथाकथित क्रान्तिकारी पार्टीको कवि वा सत्ताको कवि त बनाउला तर यसले असल कवि बनाउँदैन। आफ्नो समयको ज्ञानमा अधिकतम हस्तक्षेपको सामथ्र्यसहित नवीन स्पर्शको कला र नवीन–अग्रगामी विचारको आविष्कारले मात्र राम्रा कविता लेख्न सकिन्छ भन्नेमा म विश्वस्त छु। मैले त्यस्तो मौका पाएँ भने अरू नयाँ कविता पनि लेख्छु भन्ने लाग्छ।
‘कविताको सौन्दर्यशास्त्र’ शीर्षकको निबन्ध लेख्नुभएको छ। नेपाली कविताको शिल्प, अन्तरवस्तु र संवेदनासित बौद्धिक साक्षात्कार कसरी गर्न सकिन्छ ? अब कविताको सौन्दर्यशास्त्रको बहस कसरी गर्न सकिएला ?
हामी त्यसैत्यसै आत्ममुग्ध बनेर हाम्रो काव्य शक्तिको आयाम बलशाली छ, यो विश्व्यापी भइसक्यो भन्न सकौंला तर यथार्थमा साहित्यका अन्य विधाझैं हाम्रो कविता पनि अझै शिशु हालतमा छ। अहिलेसम्म हामीले कविताको सौन्दर्यशास्त्रमाथि गम्भीर बहस गरेकै छैनौं। रिमाल, देवकोटा, भूपि आदिका अन्धभक्ति धेरै भए तर उनीहरूका सीमाको चर्चा भएनन्। छिमेकी भारतका काव्यशास्त्रीहरूले प्रसादको ‘कामायनी’को धेरैपटक पुनर्मूल्यांकन गरेका छन्। ‘कामायनी’का राम र मनुको मिथकको अर्थबारे अनेक कोणबाट बहस भएका छन्। त्यस्तै मुक्तिबोधले ब्रह्मराक्षको मिथक ल्याए। यो मिथक भारतीय समाजको यस्तो विम्ब थियो जसले लोकतन्त्रको आवरणमा सत्तातन्त्रले थिचेको विवश्त्र मानिसको झल्को दिन्थ्यो। ब्रह्मराक्षसको पागलपन केवल मनोविज्ञानशास्त्रको सत्यमात्र थिएन, त्यो आमभारतीय समाजको चित्र थियो। यसमा पनि धेरै बहस भएका छन्। पश्चिमी मुलुकहरूमा मात्र होइन; एसिया, दक्षिण अमेरिका र अफ्रिकाका धेरै ठाउँमा कविताको सौन्दर्यशास्त्रबारे गम्भीर बहस भएका छन् तर हाम्रोमा त्यस्तो स्तरको बहस कहिल्यै भएन। हाम्रा समालोचकहरू विश्वविद्यालयको सस्तो पाठ्यक्रम र विश्व साहित्यका सतही सूचनाहरूका दास मात्र बने। अनि कविहरूचाहिँ दिशाहीन आन्दोलन वा सत्ताको चाकर मात्र भए। सबै कविको हकमा यस्तो भन्न नमिल्ला तर यो हाम्रो काव्य परम्परामा मुख्य प्रवृत्ति बन्यो। यसैले पनि हाम्रो साहित्यको यो शैशवकाल कति लामो रहला, अहिले सोच्दा पनि मलाई औधी डर लाग्छ।