त्यो वनभोज !

त्यो वनभोज !

त्यही बेलुकी हो, मैले पहिलोचोटि लदेनलाई रोएको देखेको। त्यो कुटाइ खाएर रोएको थियो वा मान्छे किन मर्छ भन्ने बुझेर रोएको थियो ! मैले अझै बुझेको छैन।


अघिल्लो महिनाको कुरा हो। म ठ्याक्क वर्ष दिनपछि गाउँ पुगेको थिएँ।

अघिल्तिर ठूलो टार थियो, जहाँ कोदोको हरियो नल मात्रै देखिन्थ्यो। तलतिर लहलह झुलेका धानका बाला थिए, जसलाई अघिल्लो दिनको हावा, पानीले पश्चिमतिर लडाइदिएका थिए। म घरको बरन्डामा उभिएर तल बगेको घिसखोला हेर्दै थिएँ।

पछिल्तिरबाट कोही सुस्तरी आयो। मेरो छेउमा उभियो र भन्यो, ‘त्यो चील त्यहीँ छ है !’

‘कहाँ, कुन चील ? ’ मैले स्वर निकालेको मात्रै थिएँ। उसले आफ्नो मुखमा हात राख्यो। चुप हुने इसारा गर्‍यो र बिरालोको चालमा अघि बढ्यो।

ऊ सरासर अघि गयो। ढुंगाको चेपमा घुँडा टेक्यो र चिलाउनेको रूखतिर खदुवा तेर्‍यायो। घोडी तान्न पाएकै थिएन, चील उडेर पीपल बोटतिर गयो।

उ फेरि दगुरेर पीपल बोटतिरै फर्कियो। १० मिनेट भएको थिएन, गोलीको आवाज आयो। मैले पत्याएकै थिइनँ, उसले आकाशमा उड्ने चीललाई साँच्चै हत्केलामा खेलाउँदै ल्यायो। र भन्यो, ‘गाउँको जम्मै कुखुराको चल्ला लाने चील यै हो।’

‘निसाना ता खतरै लगाउँदो रैछस् नि’, मैले हत्केलाको चील हेर्दै भने, ‘सानामा वनभोज खान चोरेको कुखुरा ल्याएको थाहा छ ? त्यसलाई पनि यसरी नै हिर्काएको थिइस् होला होइन ?’

अहिले ऊ किच्च हाँस्यो।

०००

ऊ अर्थात् लदेन। मेरो सानैदेखिको साथी। एकदम दवाँले साथी। एउटै ठाउँमा जन्मिएको। एकै साले। एउटै धाराको पानी खाएको। अहिले ‘तपाईं’ भन्छ मलाई। उसलाई ‘तिमी’ भन्न मलाई कम गाह्रो लाग्दैन। किनकि पहिल्यै हामी ‘तँ–तँ’ भन्थ्यौं।

अचेल वर्षमा एकचोटि गाउँ पुग्छु। हाम्रो भेट जहिले गाउँमै हुन्छ। हल्का कुराकानी गर्छौं। मलाई साह्रै माया लाग्छ, उसको। किनकि उसले मलाई जहिल्यै बाल्यकाल सम्झना गराउँछ।

लदेनको आमा सानैमा खसेकी हो। हामी ६ वर्षको मात्रै थियौं। काटेको धानको खेतमा प्लास्टिकको गोली खेलिरहेका थियौं। अचानक लदेनको ठूली दिदी कराउँदै रुन थाली। हामी तीन छक्क पर्‍र्यौं। एक क्षण गोली रोक्यौं र उसलाई हेर्‍र्यौं। त्यसपछि पो थाहा पायौं, ‘लदेनको आमा खसेछ।’

मान्छे किन मर्छ हँ ? मरेर मान्छे कहाँ जान्छ हँ ? त्यो हाम्लाई कहाँ थाहा थियो र ? हामी फेरि गोली खेल्न थाल्यौं।

१० मिनेटपछि हो, अचानक खेतको डिलमाथि कोही करायो। त्यो लदेनको आपा थियो। हातमा सिर्कुना बोकेर छोरा लखेट्न आइपुगेछन्। लदेनलाई देख्नसाथ कराए, ‘साला घरमा के बितिराखेको छ ! तँ यहाँ गोली खेलिबस्छस् ! अब तलाईँ मार्छु।’

आपा तीन कान्लामाथि थियो। त्यै भएर उसलाई आँट आयो क्या रे। रिसले चुर भएको आपाको अनुहार हेर्दै ऊ हाँस्यो। र, कम्मर मर्काएर नाचेको एक्सन गर्न थाल्यो।

उसको आपालाई सही नसक्नु भएछ। माथिल्लो कान्लाबाट तल हामफाल्यो। हामीले हेर्दै थियौं, लदेन तल्लो कान्लामा उफ्रियो। त्यसपछि पो बल्ल हाम्रो होस आयो, हामी चारतिर दगुर्‍र्यौं।

हो, त्यही बेलुकी हो, मैले पहिलोचोटि लदेनलाई रोएको देखेको। त्यो कुटाइ खाएर रोएको थियो ? वा मान्छे किन मर्छ भन्ने बुझेर रोएको थियो ? त्यो मैले अझै बुझेको छैन।

०००

मान्छे मरेपछि भूत बन्छ रे नि है ? यो हामीले निकै पछि थाहा पायौं। जतिबेला हामी बाजेसँग गोदाममा बाख्रा चराउन जान थाल्यौं।

गोदाम कुनै कारखाना होइन। गाउँ बस्तीमा के–को कारखाना हुन्थ्यो ? त्यो त ठूलो जंगल थियो, जसलाई हामी गोदाम भन्थ्यौं। लाप्चे परिवारमा कोही मरे त्यही गोदाममा पुर्‍याइन्थ्यो र जलाइन्थ्यो। त्यसैले गोदामको चिहान डाँडामा पुगेपछि सधैं हामी काँप्थ्यौं।

लदेनको आमालाई पनि त्यहीँ जलाइएको थियो, जसले हामीलाई भोक लाग्दा मकै भुटेर दिन्थिन्, उही लदेनको आमाले तर्साउने डरले अब हामी काँप्ने भयौं। जसको मायामा हामीले शान्ति पाउँथ्यौं, मरेपछि त्यही मान्छेको छायाँ पर्ने डरले हामी भाग्दै हिँड्ने भयौं। मरेको मान्छेले जसलाई जति धेरै माया गर्छ, त्यति धेरै पिराउँछ रे नि है ? हामीले लदेनको आमालाई माया गर्न छाड्यौं। बाख्रा लैजाने बाटो पनि अलग ठाउँबाट खोज्यौं।

एकदिन बाख्रा चराउँदै गर्दा लदेनले खुसीको कुरा सुनायो, ‘मन्टुलाललाई पनि बोलाऊँ ना। त्यसले पैसा चोरेर ल्याउँछ। मिठाई खुवाई जोर हुन्छ।’

गाउँमा ठूलो कान्छाको सानो दोकान थियो। त्यहाँ जीजा साली, वान टु थ्री फोर, सुनपाप्री, फूल मिठाई आदि पाइन्थ्यो। ठूलो कान्छाको छोरा डिकबहादुर हाम्रो साथी थियो। त्यो बरबोटमा अंग्रेजी स्कुल पढ्थ्यो। छुट्टीमा घर आएको बेला त्यसले दालमुट चोरेर ल्याउँथ्यो। हामीले त्यहीबेला अलिअलि मिठाई खाना पाउँथ्यौं। बल्ल खास मान्छे भेट्यौं। मन्टुलालसँग दोकान नै किन्न सक्ने पैसा गोजीमा हुन्थ्यो। हाम्रो मिठाई खुवाई धूमधाम हुन थाल्यो।

मन्टुलालले पैसा कहाँ पाउँछ हँ ? एकदिन हामीले थाहा पायौं। त्यसको बाउलाई गाउँलेहरूले ‘देवसे’ भन्थे, जो एक नम्बरका किच्चा थिए। हरेक आइतबार ओदलाबारी जान्थे। सौदा गरेर फर्किन्थे। हाम्रा आपाहरू कुरा गर्थे, ‘देवसेले कहिल्यै बजारमा खाजा किनेर खाँदैन। भोक लागेपछि ऊ चिउरा दोकान छिर्छ। त्यसपछि दाम सोध्छ, ‘कसरी केजी हो ?’

दोकानेले दाम भन्नुभन्दा अघि एक मठुी चिउरा मुखमा हाल्छ। त्यसपछि मीठो नभएको नक्कल गर्दै फेरि अर्को चिउरा दोकान पुग्छ। एक दर्जन चिउरा दोकानमा दाम सोधेपछि ऊ अघाउँछ। त्यसपछि घिसखोलै खोला भएर घर फर्किन्छ।’

यसरी बचाएको पैसा उसले अघेना छेउको हाँडीमा गाडेको छ रे ! त्यही पैसाको जरा मन्टुलालले भेटेको रहेछ, जसको फल हामीले खान थाल्यौं।

०००

लदेन कहिल्यै स्कुल गएन। म बिगा प्राइमेरी स्कुल पढ्थेँ। हप्तामा तीन दिन स्कुल जान्थे हुँला। अरू दिन गोदाम नै दगुर्थें। त्यो जंगलमा जुन खुसी र आनन्द पाउँथे, स्कुलमा त्यो कहिल्यै पाइनँ, त्यही भएर।

सब ठीकठाक चल्दै थियो। तर, चार क्लास सकेपछि नयाँ समस्या आयो। मैले बरबोट हाइस्कुल जानुपर्ने भयो। गाउँछेउमा अर्को स्कुल थिएन। हाइस्कुल पुग्न बिहान तीन र बेलुकी तीन घण्टा हिँड्नुपर्ने भयो। मेरो एडमिसन त्यतै हुने भयो। १९९९ सालको फेब्रुअरी महिनाको कुरा हो। हाम्रो ग्याङ छुट्टियो। म हाइस्कुल भर्नाको निम्ति टेस्ट लेख्न बरबोट हाइस्कुल जाने भएँ। अब बाख्रा धपाउने लदेन र मन्टुलाल मात्रै भए।

त्यो दिन म पहिलोचोटि बेस्सरी रोएँ। त्योभन्दा अघि त केही क्षण रुन्थेँ, केही क्षणमा नै हाँसिदिन्थँे। त्यो दिन पहिलोचोटि लाग्यो, अब हाँस्ने दिन गए। मलाई साह्रै घरको माया लाग्यो। बाजेको माया लाग्यो। गोदामको माया लाग्यो। बाख्राको माया लाग्यो। लदेनको माया लाग्यो। मन्टुलालको माया लाग्यो।

मन्टुलालले चोरेको दस रुपैयाँ दिएको थियो। त्यो पैसा अहिलेको हजार रुपैयाँ भन्दा धेर जस्तो लाग्थ्यो। किताबको बीचमा त्यही पैसा च्यापेर म बरबोट पुगेँ।

मैले अघि दालमुट चोर्ने डिकबहादुरको कुरा गरे नि, क्या त ! धन्न त्यो

डिकबहादुर साथमा थियो। म अलि ढुक्क भएँ।

डिकबहादुर तर सधैं गाउँमा बस्थेन। त्यसको बाउ पैसावाल नै थियो। त्यै भएर उतै रेन्टमा बसेर पढ्थ्यो। शनिबार आइतबार घर आउँदा मात्रै दालमुट चोर्न भ्याउँथ्यो।

हामीले क्लास फाइभको लागि टेस्ट दियौं। मैले जसोतसो टेस्ट लेखेँ। सकेर बाहिर निस्किँदा आपा मलाई पर्खिरहेका थिए। दैलौबाट निस्किनसाथ सोधे, ‘कस्तो भयो टेस्ट ?’

मैले रुन्चे मुस्कानसँग भने, ‘ठीकैको....।’

त्यहीबेला डिकबहार आयो र भन्यो, ‘म ता स्योर फस्ट हुन्छु। कस्तो सजिलो कोइसन।’

तीन दिनपछि रिजल्ट आयो। त्यो साँच्चै फस्ट भएछ।

हुन पनि त्यो अंग्रेजी स्कुल पढेको केटा हो। आफू त गाउँकै सरकारी प्राइमेरी स्कुल जाने मान्छे। त्यो पनि कहिले गोदाम, कहिले स्कुल।

धन्न २१ नम्बरमा मेरो नाम पनि आएछ। म पास भएछु। आपा त्यो दिन निक्कै खुसी हुनु भो। म पनि केही क्षण त रमाएँ। तर फेरि जब लदेन, लगेन र मन्टुलाल सम्झिएँ, मलाई दिक्क लागेर आयो। स्कुल पढ्नै नपरे नि हुन्थ्यो जस्तो लाग्यो।

रिजल्ट आएको तेस्रो दिन आपा पैसा माग्न देवसेकहाँ गए। सात सय रुपैयाँ ऋण लिएर आए। त्यसको दुई दिनपछि फेरि मलाई बरबोट पुर्‍याइयो। एडमिसन गर्न।

मलाई अलि अलि थाहा छ। निम्बोङ खोला तर्न लाग्दा आपाले भनेका थिए, ‘गेनछिरिङ र जीवनहरू पनि यै बाटो धाउँछ। बाटो चिनिराख्नु। बजारमा राखेर पढाउन सक्ने पैसा हाम्रोमा छैन। तैंले ता धाएरै पढ्नुपर्छ।’

त्यो हरेशलाग्दो उकालो कसरी त्यत्रो वर्ष हिँड्ने होला ?  मैले निम्बोङ खोलाको पानीमा दुई थोपा आँसु तुरुक्क झारिदिएको थिएँ।

स्कुल पुगेपछि डिकबहादुर भेटेँ। उसको त एडमिसन फिस पनि बुझाइसकेछ। म त्योसँग कुरा गर्न थालँे। आपा मेरो माक्र्ससिट र ट्रान्सफर सर्टिफिकेट बोकेर अफिसतिर लागे।

१० मिनेट पनि बितेको थिएन, आपा नर्भस भएर बाहिर निस्किए। अनि पो मैले बुझँे, ‘पास भएको म थिएँ, छुदेन लेप्चा। तर चियाँ डाँडाको छुगेन लेप्चाले अघिल्लो दिन नै एडमिसन फिस बुझाइसकेछ। त्यही नाम देखाएँ।’

‘मेरो भाग्येमा स्कुल पढ्न लेखे छैन जस्तो छ,’ म अलि ढुक्क भएँ।

तर, मेरो ढुक्क लामो समयसम्म रहेन। डिकबहादुको बाउ यस्तो कुरा मिलाउन सिपालु रहेछ। आपा घर आउनसाथ त्यही पुगे।

त्यसको भोलिपल्ट हामी फेरि बरबोट हाइस्कुल पुग्यौं। आपाले एक केजी घिउ हेडमास्टरको निम्ति बोकिदिएका थिए। यसचोटि मेरो एडमिसन गजबले भयो।

अनि पो बल्ल मैले बुझेँ, ‘त्यो डिकबहादुर फस्ट भाको होइन रैछ। बाउ चाहिँले मिलाएर पहिलो नम्बरमा नाम राख्नु लगाएको रहेछ !’

बोकेको कुकुरले सिकार गर्दैन भन्थ्यो, हो रहेछ। टेस्टमा फस्ट हुने डिकबहादुरले आखिर फेल भएर सिक्सबाटै स्कुल छोड्नुपर्‍यो। मेरो रिजल्ट जहिल्यै राम्रो भइरह्यो, त्यै भएर पूरै पाँच वर्ष स्कुल धाइरहनुपर्‍यो।

०००

अँ गोदामतिरै फर्कौं है त।

एडमिसन भएपछि हामी छुट्टिने निश्चित भयो। साथीहरूसँग टाढिने पीडाले पोलिरहेको बेला डिकबहादुरले गजबको कुरा सुनायो, ‘अब हामी सधैँ सँगै हुँदैनौं। स्कुल लाग्नुअघि एउटा वनभोज खानुपर्छ।’

साथीको लागि हामी त्यति गर्न सक्दैनथ्यौं र ? हामीले वनभोजको तयारी सुरु गर्‍र्यौं। हप्तादिनपछि हाम्रो स्कुल सुरुहुनेवाला थियो। हामी फेरि गोदाम पुग्यौं। बाजेलाई भरोसा दिलायो, ‘तपैं निग्रो खोज्नुस्। हामी बाख्रा हेर्छौं।’

चिहानडाँडादेखि अलि माथि एउटा खोल्सा थियो। बाख्रा त्यतै खेद्यौं। त्यसपछि हामीले सल्लाह गर्‍र्यौं, ‘वनभोज भोलि खाने हो। सबैले अलि अलि चामल चोर्नुपर्छ। मन्टुलालले चैं कुखुरा चोरेर ल्याउँछ।’

मन्टुलाल अक्क न बक्क पर्‍यो। तैपनि अन्त्यमा सहमतिमा आयो। मैले नुन र चामल चोर्नुपर्ने भयो। डिकबहादुरले आफ्नो लागि चामलसँगै तेल, मसला र हल्दी चोरेर ल्याउँने भयो। लदेनले चामल र प्याज चोर्नुपर्ने भो। मन्टुलालले चैं कुखुरा मात्रै चोरे पुग्छ रे। चामल चोर्नु पर्दैन रे। बरू माचिस चैं ल्याउनुपर्ने रे !

हामी वनभोज सोचेर खुसीले गदगद भयौं। मन्टुलाल चैं अलि टेन्सनमा थियो। किनकि कुखुरा चोर्नु सजिलो थिएन नि त। उसले आज बेलुकीबाटै काम सुरु गर्नुपर्ने थियो। त्यसैले डिकबहादुरले सल्लाह दियो, ‘तँ चैं बेलुका गोली खेल्नु पनि नआउनू। कुखुरा चोरेर मारिराख्नु, बुझिनस् ?’

मन्टुलालले कुरा बुझ्यो।

त्यसपछि हामी बाख्रा लिएर फर्कियौं।

बाख्रा थुनेपछि हामी टारमा प्लास्टिकको गोली खेल्न ओर्लियौं। डिकबहादुर धान कुट्दै थियो। रमेश, सुरेन, धनछिरिङ र ओङ्छेनहरू पनि खेल्न आइसकेका थिए। अझै बाँडेर खेल्नलाई टिम पुगिरहेको थिएन। लदेनले सुसेली हानेर डिकबहादुरलाई इसारा गर्‍र्यो।

गोली देखेपछि डिकबहादुरले काम बिर्सियो। मन थाम्नै सकेनछ। कुट्दै गरेको धान छोडेर भाग्न थाल्यो। कोदोबारी आइपुगेको थिएन। त्यसले पछि फर्केर एकचोटि बाउलाई हेर्‍यो। त्यसपछि फेरि दगुर्न सुरु गर्‍यो। दगुरेको मात्रै थियो, घाँस झारेर फ्याँकेको रूखको हाँगामा खुट्टा अल्झियो। त्यो भुइँमा चित पर्‍यो।

हामी दगुर्दै त्यसलाई उठाउन गयौं। त्यो ता गाउँ नै थर्काएर रुन थाल्यो। त्यसको मुखबाट रगत बगिरहेको थियो। अघिल्तिरको त्यसको दाँत नै भाँच्चिएछ।

हामी चुपचाप घर फर्कियौं। बेलुकी उसको बाउ हाम्रो घर आइपुग्यो। लदेन घर गइसकेको थियो। घरमा लदेन र म मात्रै थियौं। डिकबहादुरको बाउ देख्नसाथ हामी चम्पट कस्यौं।

परबाट घर हेरिरहेका थियौं। बल्ल डिकबहादुरको बाउ घरबाट निस्कियो। उसको हातमा जाँडको पोको पनि थियो। त्यसपछि पो बल्ल हामी घर पस्यौं। घर पसेपछि पो मैले थाहा पाएँ, ‘भोलि स्कुल युनिफर्म लिन बोलाएको छ रे। बरबोट जानुपर्छ रे। डिकबहादुरको युनिफर्म त आजै ल्याइसकेछ।’

हाम्रो वनभोज क्यान्सल भयो। म आपासँग बरबोट हिँडे। टेलरको दोकानमा केही क्षण लाइन लागेँ। त्यसपछि पानीसँग भिजाएर एउटा वनरोटी खाएँ। अनि घर फर्किएँ। गाउँ आइपुग्दा साँझ पर्न लागेको थियो। दोबाटोमा बसेर माइते दाजु, तिम्बु दाजुहरूले कुरा गर्दै गरेको सुनेँ, ‘गाउँमा कुखुरा चोर निस्किएछ। हिजो पनि दोभान माहिलाको कुखुरा चोरिदिएछ। अब राति ढुक्कले सुत्नु हुँदैन है !’

आहा ! डिकबहादुरको दाँत भाँच्चिएको, मैले युनिफर्म लिन जानुपरेको कुरा त हामीले मन्टुलाललाई भन्नै बिर्सिएछौं।

गाउँमै कुखुरा चोर निस्किएको कुरा सुनेर आपा तीन छक्क परे। केही नसुनेझैं म चाहिँ लुरुलुरु घरतिर हिँडे।

टार छेउमा पुगेपछि लामो श्वास तानेँ। र, मन मनै भनँे, ‘गाउँले हो, सुते हुन्छ हौ सञ्चोले। हाम्रो वनभोज क्यान्सल भइसक्यो अब !’

०००

दुई दिनपछि फेरि हाम्रो भेट भयो।

अब स्कुल लाग्ने दिन आउन कति पनि थिएन। हामीलाई ठूलो वनभोज खानुथियो। डिकबहादुर अलि निको भइसकेको थियो। उसैले भन्यो, ‘भोलि त जसरी पनि खाने हो वनभात।’

सबैले हो–हो मा हो मिलाउँदै थियौं। अचानाक मन्टुलाल करायो, ‘म चैं कुखुरा चोर्दिनँ अब।’

एक क्षण मौनता छायो। त्यसपछि डिकबहादुरले केही सोचेर भन्यो, ‘कुखुरा लदेनले ल्याउँछ। तँ त्यति नि गर्नु सक्दैनस् हाम्रो लागि ?’

लदेन जिल्ल पर्‍र्यो। अलिकति टाउको हल्लायो। र, चुपचाप हिँड्यो घरतिर।

भोलिपल्ट।

बाख्रा पाखामा छोडेपछि, हामी मैनाको रूखको ठुट्टा छेउ पुग्यौं। डिकबहादुर, मन्टुलाल, लदेन र म मात्रै थियौं। कुखुरा ल्याउने लदेन अझै आइपुगेको थिएन।

सुस्तरी दिन बित्दैथियो।

‘तिमेर जाँदै गर, म आइहाल्छु’, भन्ने लदेन १२ बज्न लाग्दा पनि आइपुगेको थिएन। यसचोटि पनि हाम्रो वनभोज नहुने जस्तै भइसकेको थियो। हामी निकै निरास हुँदै थियौं। त्यहीबेला अच्चम्भ भो, हातमा कुखुरा झुन्ड्याएर लदेन आइपुग्यो। वाफ रे, हामी खुसीले पागल भयौं।

त्यो दिनभरि हामीले वनभोज खायौं। डिकबहादुर एक थाल कुखुराको मुटु कलेजो र आन्द्रा भुँडी थालमा हालेर सालडाँडातिर फर्कियो। र, खपाखप खान थाल्यो। खाँदै गर्दा त्यसले अचम्मको कुरा सुनायो, ‘यो कुखुराको मुटु कलेजो चैं पूरै नीलो थियो, त्यै भएर निकै मीठो रहेछ।’

वनभोज सकिँदा साँझ पर्न लागेको थियो। हामी स्कुल जाने कुरा सम्झेर केही क्षण रोयौं। अलिअलि आँसु पनि झार्‍र्यौं। अरूलाई भन्दा मलाई धेरै गाह्रो भइरहेको थियो। गाउँदेखि यति टाढाको स्कुल कसरी पढ्न जाने होला ?      

मन्टुलालले बाख्रा बटुलेर ल्यायो। हामी घरतिर हिँड्यौं। हामीलाई एउटै डर थियो, ‘कुखुरा चोरेको कसैले थाहा नपाओस्।’

तर लदेन कन्फिडेन्ट थियो। भन्थ्यो, ‘कुखुरा खेतमा झोक्रिराको थियो। मैले एक ढुंगा हानेँ। यी यै फिलामा लाग्यो। मरिहाल्यो। कसैले थाहा पाएन। मैले बोकेर ल्याएँ।’

फिलामा ढुंगाले लाग्दा पनि कुखुरा मर्छ र ? तैपनि हामीले पत्याइदियौं।

घर फर्केर आएपछि पो हामीलाई डरले थप सताउन थाल्यो। मान्छे जम्मा भएर जहाँ कुरा गथ्र्यो, म त्यहीँ कान थाप्न पुग्थेँ। दुई दिनसम्म बेलुकी म त्यसरी नै ठूलाहरूको गफ सुन्दै हिँडेँ। तर, कसैले कुखुरा चोरेको कुरा गरेन। तेस्रो दिन बल्ल ढुक्कले निदाउन सकेँ।

चौथो दिनको कुरा हो। बिहान उठ्दा घरमा निकै हल्ला सुनेँ। उठेर हेरेको मात्रै थिएँ, मेरो सातो गयो। लदेनको आपा घरमै आइपुगेछन्। अब मार्ने भो ! मैले लदेनले कुखुरालाई ढुंगाले हानेर मारेको कुरा सम्झिएँ।

के गरुँ, के नगरुँ ? हुँदै थियो। खुट्टा काँप्न थाल्यो। हठात शरीरमा ज्वरो आयो। मुटु उफ्रेर घाँटीसम्म आइपुग्यो। अचानक तिर्मिराइरहेको आँखामा लदेनको आपाको हाँसो छल्कियो। त्यसपछि कानमा ठूलो आवाज हुर्रियो, ‘तँहरूले चैँ भेट्छस्। देशानले मरेको कुखुरा एकदिन अघि नै लदेनलाई फ्याँक्नु पठाएको थिएँ। भोलिपल्ट लगेर वनभोज खाइस है ! मर्लास् नि तँहरू चैँ सिनु खाएर।’

आहा ! त्यसले त रोगले मरेको कुखुराको मासु पो खुवाएछ।

तीनदिन अघि खाएको कुखुराको मासु मेरो मुखैबाट निस्किएला झैं भयो। डिकबहादुरले मुटु कलेजो नीलो थियो भनेको कुरा सम्झिएँ। रोगले मरेको कुखुरा रहेछ। थुइक्क !

वाकवाक हुँदै थियो। अघिल्तिर केही बजेको आवाज सुनेँ। टाउको उठाएको मात्रै थिएँ, आमाले हठात दाउराको झटारो टिपेर मतिर हानिन्। म उफ्रिँदै टारतिर भागेँ।

त्यसपछि हामीले कहिल्यै पनि अर्को वनभोज खाएनौं।

०००

अचेल कुखुराको चल्ला खाइदियो भनेर लदेन गाउँमा चील मार्दै हिँड्दो रहेछ। तर, चील मार्ने लदेनलाई मैले यसचोटि नि सोध्नै आँट गरिनँ, ‘मरेको कुखुरा हामीले त थाहा नपाएर खायौं। तैले चाहिँ अघिल्लो दिन नै फ्याँकेको मरेको कुखुराको मासु कसरी खाइस् हँ ?’

- कालेबुङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.