आगलागीकै बेला बिग्रियो दमकल

आगलागीकै बेला बिग्रियो दमकल

विराटनगर : विराटनगर महानगरपालिका–४ जामुनगाछीकी उर्मिलादेवी दासको घरमा बिहीबार साँझ आगलागी भयो। बिजुली सर्ट भएर लागेको आगो नियन्त्रणबाहिर गएर वरपरका घरमा पनि क्षति पुग्ने खतरा थियो। नजिकै ग्यासको डिलर रहेका कारण त्यहाँ भएको आगलागी थप जोखिमपूर्ण बन्यो। आगो नियन्त्रण असम्भव बन्दै गएपछि स्थानीय बासिन्दाले आगो नियन्त्रणका लागि सहयोग गर्न प्रहरी र दमकललाई खबर गरे।

आगलागीको खबर साढे ६ बजे विराटनगर महानगरपालिकाको वारुण यन्त्र शाखाले पनि पायो। जानकारी पाएको केही समयमै आगो निभाउन दमकल त पुग्यो। तर काम भने गरेन। दमकल सञ्चालन गर्ने प्रावधिकले दुईमध्ये एउटाले काम नगरेको भन्दै त्यत्तिकै फर्काएर लगे। अर्को एउटाले मात्रै आगो निभाउन सहयोग गर्‍यो।

घटनास्थलमा पुगेको दमकलले आगो निभाउन सहयोग नगरेको भन्दै आक्रोशित स्थानीयले विराटनगर महानगरपालिकाविरुद्ध प्रदर्शनसमेत गरेका छन्। स्थानीयको आक्रोशित भीड थाम्न प्रहरीलाई मुस्किल परेको थियो। ‘आगो लागिरहँदा घटनास्थलमा एकै पटक दुई दमकल आएका थिए। आगो निभाउन सहयोग गर्लान् भन्ने आस गरेको तर कामै गरेन भन्दै एउटा त्यत्तिकै फर्काएर पो लगे’, स्थानीय सुदीप लम्सालले भने, ‘अर्कोलाई पनि आधा ट्यांकी मात्रै पानी रहेका कारण पूरै सहयोग गर्न सकिएन भन्दै फर्काइयो। आगोले ठूलो क्षति गरेपछि हामी महानगरपालिकाविरुद्ध आन्दोलित बनेका हौं।’

घटनास्थलमा पुगेको दकमलले आगो निभाउन सहयोग नगरेको भन्दै स्थानीय आक्रोशित।

आधा ट्यांकी पानी रहेको दमकलले आगो निभाउनलाई थोरै भए पनि मद्दत गरको उनले बताए। ‘एउटा दमकलले निभाउन सहयोग नगरेको भए आगोले अन्य घरमा पनि क्षति पुर्‍याउने थियो’, उनले भने, ‘एउटाले काम नगरे पनि अर्कोले निभाउन सघाउँदा सजिलो भयो।’ आगो नियन्त्रणमा लिन समस्या हुँदै गएपछि थप मद्दतका लागि सुनसरीको दुहवी नगरपालिका र इटहरी उपमहानगरपालिकाबाट पनि दमकल बोलाइएको थियो। विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले नै दुहवी र इटहरीदेखिका दमकल बोलाउन सहयोग गरेका हुन्।

आगोले जलेको पैसा देखाउँदै पीडित। किशोर बुढाथोकी

स्थानीय बासिन्दा र तिनै दमकलको सहायताले नियन्त्रणमा लिएर आगोलाई अन्यत्र फैलन नदिए पनि आगलागी भएको घर र घर त्यहाँका सामान पूर्ण रूपमा जलेको स्थानीय सुनिल श्रेष्ठले बताए। ‘आगो निभाउन अत्यावश्यक उपकरण दमकल तयारी अवस्थामा राख्नुपर्ने हो’, उनले भने, ‘घटनास्थलमा पुगेपछि काम नगरेर त्यत्तिकै दमकल फर्काउनुपर्ने अवस्था आउनु लाजमर्दो हो।’

स्थानीय बासिन्दाले यस विषयमा मेयर पराजुलीलाई फोनमार्फत आक्रोशसमेत पोखे। ‘आगोले क्षति पुर्‍याउँदै गर्दा नियन्त्रणका लागि भनेर पठाइएको दमकलले काम नगरेपछि स्थानीय आक्रोशित हुनु स्वाभाविकै हो’, पराजुलीले भने, ‘नानाथरी गाली गरे पनि यसलाई हाम्रै कमजोरीका रूपमा लिएका छौं।’ दमकलमा प्राविधिक समस्या उत्पन्न भएका कारण सहयोग गर्न नसकिएको उनले बताए। पराजुलीले आगामी दिनमा यस्तो कमजोरी दोहोरिन नदिने प्रतिबद्धता जनाएका छन्। साथै आगलागीपीडितलाई महानगरले सहयोग गर्ने उनको भनाइ छ।

महानगरपालिकाले तीन वटा दमकल सञ्चालन गरेको छ। घटनास्थलमा पुगेपछि दमकलको पानी फाल्ने बटम सिस्टमको गियरको तार सर्ट भएका कारण समस्या भएको विराटनगर महानगरपालिका वारुण यन्त्र शाखाका इन्चार्ज सुवासकुमार क्षेत्रीले जानकारी दिए। आगलागीबाट ३१ लाख रुपैयाँभन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ।

आगोले घर खरानी बनाएपछि १२ जनाको परिवारको बिचल्ली भएको छ। आगलागीमा परेर घरमा राखिएको ३१ तोला सुन, सात लाख २५ हजार नगद, एक सय ४७ तोला चाँदी, अन्नपात, लत्ताकपडा, तीनवटा टीभी, दुई वटा फ्रिज, एउटा मोबाइल, स्टिलका दराज, पंखा, पलङ, महत्त्वपूर्ण कागजपत्रलगायत सामान जलेको वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी नरेन्द्र कार्कीले बताए। आगो राति ९ बजे मात्रै पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.