जन्मदर्ता नहुँदा छुट्यो पढाइ
नुम : १३ वर्षीया जुना र ११ वर्षीया लक्षी तामाङका हत्केलामा ठेलै ठेला छन्। पढाइबाट वञ्चित भएपछि यी दिदीबहिनीका कलिला हातले गिट्टी कुट्नु दिनचर्या बनेको छ। आफ्नो उमेरकाहरू स्कुल गइरहँदा उनीहरू भने घन हातमा लिएर ढुंगासँग पौठेजोरी खेलिरहेका हुन्छन्। संखुवासभा मकालु गाउँपालिका–५ नुममा उनीहरू ढुंगालाई टुक्रा–टुक्रा बनाएर भविष्य खोजिरहेका छन्।
कलम, कापी र किताब च्यापेर स्कुल जाने बेला ठूला ढुंगालाई घनको सहायताले फुटाउँदै गरेको देख्दा जो कोहीको पनि मन चसक्क हुन्छ। सोलुखुम्बु सोताङ घर भएका उनीहरूको जन्मदर्ता बनेको छैन। यही कारण उनीहरूले पढ्न नपाएको खाँदबारी नगरपालिकाका नायबसुब्बा सुरेश कार्कीले बताए।
‘जन्मदर्ता नभएपछि उनीहरू पढाइबाट वञ्चित बनेका रहेछन्’, नुम पुगेका उनले भने, ‘उनीहरूको अवस्था निकै दर्दनाक रहेछ।’ उनीहरू पढ्ने वातावरण बनाउन आफू लागिपरेको उनको भनाइ छ। पढ्ने रहर अधुरै रहेपछि दिदीबहिनीले किमाथाङ्का–विराटनगर सडक आसपास गिट्टी कुट्ने गरेको उनले सुनाए।
उनीहरूका आमा पूर्णीमायाको २०७२ मा मृत्यु भएपछि मानसिक सन्तुलन गुमाएका बुवा सन्चेको अत्तोपत्तो छैन। ‘स्कुल जान नपाएपछि पढ्ने रहर मारेर दाजुसँगै गिट्टी कुटेर बसिरहेका छौं’, जुनाले भनिन्, ‘बिहान–बेलुका सँगै खेल्ने साथी विद्यालय जान्छन्। हामी भने गिट्टी कुट्न र ज्यालामा काम गर्न जान्छौं।’
उनीहरूका दाजु प्रशान्तलाई श्रम गरेर बहिनीहरूलाई पढाउने धोको छ। ‘तर, स्कुलले जन्मदर्ता माग्यो’, उनले भने, ‘त्यो नभएपछि बहिनीहरूलाई पढाउन सकेको छैन।’ नुमको सिंहेश्वरी माविले जन्मदर्ता नभएका कारण भर्ना लिन नमानेको उनले सुनाए। बाबुआमा नभएकाले सोताङ गाउँपालिकाले जन्मदर्ता नगरिदिएको उनको भनाइ छ। जन्मदर्ता गरेर पढाउने वातावरण बनाइदिन उनले आग्रह गरे। जन्मदर्ताकै अभावमा उनका १८ वर्षीय भाइ लाक्पाले नागरिकता बनाउन पाएका छैनन्।
पूर्णीमायाले पहिलो श्रीमान्को मृत्युपछि दोस्रो विवाह गरेकी थिइन्। प्रशान्त र लाक्पा पहिलो श्रीमान्तर्फका हुन् भने जुना र लक्षी दोस्रोपट्टिका। प्रशान्तले भाइबहिनीलाई साथमा राखेका छन्। सोलुमा भएको घरजग्गाले खान नपुग्ने र सहारा दिने कोही नभएपछि काम खोज्दै तीन वर्षअघि मकालु गाउँपालिका आइपुगेको उनले सुनाए। उनका अनुसार सोताङकै स्कुलमा पछि जन्मदर्ता पेस गर्ने सर्तमा जुनाले ४ र लक्षीले २ कक्षासम्म पढे। आमाको मृत्यु र बाबु बेपत्ता भएपछि स्कुलले जन्मदर्ता खोज्यो। त्यसपछि पढाइ रोकिएको उनको भनाइ छ।
उनका श्रीमती र छोरासहित ६ जनाको परिवारले गिट्टी कुटेर गुजारा चलाइरहेको छ। एक सातामा एक ट्र्याक्टर गिट्टी तयार पार्छन्। ६ देखि ७ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए। दिनभरको कमाइले कोठाको भाडा तिर्न र खान धौधौ परिरहेको उनको भनाइ छ।