बारीमै सुन्तला अलपत्र
धनकुटा : कागतेनिवासी रमेश घिमिरेको करिब ६ रोपनी बगैंचा यतिबेला सुन्तला पाकेर पहेंलपुर देखिन्छ। सुन्तला बिक्री गर्ने मुख्य सिजन सुरु भए पनि उत्पादन लागतअनुसार मूल्य नपाउँदा उनले बिक्री गरेका छैनन्। बजारमा प्रतिकिलो डेढ सय रुपैयाँसम्म सुन्तलाको कारोबार भए पनि किसानले भने प्रतिकिलो ६० रुपैयाँसम्म भाउ नपाउँदा बिक्री नगरेको घिमिरेको भनाइ छ।
कागतेकै राजु कटुवालले पनि उचित भाउ नपाएकै कारण १० रोपनी जग्गामा फलेका सुन्तला बिक्री गरेका छैनन्। उनले भने, ‘व्यापारी सस्तोमा सुन्तला खोज्छन्। लागत खर्च नउठ्ने गरी कसरी सुन्तला बेच्नु? ’ कागतेकै गोरखबहादुर राई पनि बगैंचामा रहेको सुन्तला बिक्री गरेका छैनन्। कागते, स्याउले, सिप्तिङ लगायतका स्थानमा सुन्तलाको व्यावसायिक खेती हुन्छ। कागतेमा मात्रै करिब २ सय ५० भन्दा बढी घरपरिवारले सुन्तलाको व्यावसायिक खेती गरेका छन्।
बजार मूल्यभन्दा आधा भाउमा पनि व्यापारीले सुन्तला खरिद नगरिदिएपछि अधिकांश किसानले सुन्तला बिक्री गर्न पाएका छैनन्। उनी भन्छन्, ‘उचित भाउ पाइएला भनेर पर्खिरहेका छौं। हेरौं के हुन्छ? ’ किसानले पाउने दर र बजार मूल्यबीच ठूलो अन्तर छ। किसान आफैं पनि ठूला व्यापारी र बजारसँगको सीधा सम्पर्कमा छैनन्। बजारको स्थिति हेरेर मूल्य निर्धारण हुनुपर्ने भए पनि व्यापारीले लगानी सुरक्षित राखेर भाउ दिने गरेको किसानको गुनासो छ।
किसानले बिक्री थाले
व्यापारीबाट उचित मूल्य नपाएपछि सिप्तिङका किसान जितेन्द्र राईले आफैं बजार लगेर सुन्तला बिक्री गरेका छन्। विगतका वर्ष सुन्तला खरिद गर्न व्यापारी घरैमा धाउँथे। उत्पादन लागतअनुसार उचित मूल्य दिन्थे। तर यो वर्ष भने बजार मूल्यभन्दा झन्डै दोब्बर कम मूल्य दिएपछि आफैंले बजारमा लगेर सुन्तला बिक्री गरेको उनले बताए।
उनले करिब २६ रोपनीमा सुन्तला फलाएका छन्। आफैंले टिपेर गाडी राखी काठमाडौंसम्म सुन्तला बिक्री गर्न लगेको उनले बताए। घरमा खरिद गर्न आउने व्यापारीले प्रतिकिलो ६० रुपैयाँ पनि दिएनन्। उनले भने, ‘आफैंले बिक्री गर्दा प्रतिकिलो ८० देखि ९० रुपैयाँसम्म पाए। उत्पादन विगतभन्दा बढेको छ।’ सुन्तला खेतीबाटै वर्षमा पाँच लाख आम्दानी हुने गरेको उनको भनाइ छ।
कृषि केन्द्रकै सुन्तला बगानमा
राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम पारिपात्लेको बगंैचामा रहेको सुन्तला बिक्री गर्न दोस्रोपटक सूचना निकाल्दासमेत ठेक्का लाग्न सकेको छैन। दोस्रो पटकको म्याद सकिने बेलासम्म पनि नलाग्दा मूल्य घटाएर तेस्रो पटक सूचना प्रकाशित गरेको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्लेका प्रमुख तथा वरिष्ठ वैज्ञानिक हरिकृष्ण श्रेष्ठले बताए। गत वर्ष सिजनमा २२ लाख रुपैयाँमा ठेक्कामा लागेको थियो।