गाउँपालिकाको काम चिया पसल र झोलाबाट !
बनेपा : स्थानीय सरकारको काम देखेर काभ्रे डाँडापारिका बासिन्दा निराश छन्।
सिफारिस र नागरिकता बनाउन अझै दुई दिन पैदल हिँड्नुपर्छ। जिल्ला सदरमुकाम धुलिखेलबाट ७० किलोमिटर दूरीमा छ डाँडापारि। उनीहरूले अझै सहज तवरले सरकारी सेवा–सुविधा पाउन सकेका छैनन्।
खानीखोला गाउँपालिकाका सात वडामध्ये ६ वटाका जनप्रतिनिधि र कर्मचारीले सहरका चिया पसल र भाडाका कोठाबाट काम गर्ने गरेको स्थानीय शेखर लामाको भनाइ छ। ‘गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र कर्मचारी गाउँमा बस्दैनन्’, नेकपा जिल्ला सदस्य लामाले भने, ‘बनेपामा कोठा भाडामा लिएर काम गर्छन्। स्थानीयले सामान्य कामका लागि सचिव र अध्यक्ष खोज्दै सहर धाउनुपर्ने बाध्यता छ।’
यो ठाउँमा सूचना, सञ्चार, यातायात, विद्युत् र सरकारी सेवाको सहज पहुँच छैन। निर्वाचनपछि गाउँमै सेवा–सुविधा पाउने आशा निराशामा बदलिएको स्थानीको भनाइ छ। ‘पहिला कर्मचारी हुँदा र अहिले जनप्रतिधि आउँदा सेवा–सुविधामा केही फरक महसुस भएको छैन’, खानीखोला गाउँपालिकाका सन्त तामाङले भने, ‘दुई दशकपछि नयाँ जनप्रतिनिधि आए पनि वडाध्यक्ष, वडासचिव गाउँ नबस्दा स्थानीयलाई सास्ती बढेको छ।’ उनका अनुसार विगतमा सिफारिस बनाउन सचिव खोज्दै सहर धाउनुपथ्र्याे। कार्यालय गाउँमा होइन, झोलामा छ। अध्यक्ष र कर्मचारी दुवै खोज्दै सहर धाउनुपर्छ। ‘फोन लगाउन आउँदैन’, उनले भने, ‘बनेपा सहरमा सोध्दै–खोज्दै कर्मचारी र जनप्रतिनिधिलाई भेटेर काम गर्नुपर्छ।’
सन्त त प्रतिनिधि पात्र मात्र हुन्, खानीखोलाका सयौं स्थानीय दैनिक वडाध्यक्ष र कर्मचारी खोज्दै काम गर्नुपर्ने बाध्यतामा छन्। बनेपा आउजाउ गर्दा १० हजार रुपैयाँ खर्च हुने गरेको स्थानीय बताउँछन्।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भने गाउँपालिका र वडा कार्यालयबाटै सेवा प्रदान गरिरहेको बताए। ‘हामीले खानीखोला गाउँपालिका कार्यालय तालढुंगासहित सातै वडाबाट सेवा दिइरहेका छौं’, अध्यक्ष खुलालले भने, ‘गाउँमा इन्टरनेट, बैंकिङ सुविधा नभएकाले केही समय हामीले बनेपाबाट सेवा दिएका थियौं। अहिले गाउँबाटै नियमित सेवा दिइरहेका छौं।’
अधिकांश वडाध्यक्ष र सचिवले भने बनेपाको गोदाम चोकस्थित च्याम्राङबेंसी होटलको माथिलो तला भाडामा लिएर काम गर्दै आएका छन्। उनीहरू कहिलेकाहीं मात्र वडा कार्यालयबाट सेवा दिन आउने गरेको स्थानीयको गुनासो छ। गाउँपालिकाको बजेट होटलबाटै फस्र्योट गरेको समाचार आएपछि केही कर्मचारी र वडाध्यक्ष गाउँ गएर सेवा दिएका थिए।
काठमाडौंबाट सय किलोमिटर दूरीमा रहेको खानीखोलाका केही वडामा अझै मोटरबाटो पुगेको छैन। सहज सडक सञ्जाल नभएकै कारण स्थानीयवासी मकवानपुर, सिन्धुली, भक्तपुर, ललितपुर भएर सदरमुकाम जानुपर्ने बाध्यता छ। भौगोलिक विकटता र सरकारको उपस्थिति कमजोर हुँदा डाँडापारिवासीले जन्मदर्ता, विवाहदर्ता, नागरिकता र अन्य कागजपत्र समयमा बनाउने गरेका छैनन्।