हेलिकप्टरबाट भेडेटार - पाथीभरा

हेलिकप्टरबाट भेडेटार - पाथीभरा

भेडेटार : प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की आइतबार बिहान अचानक भेडेटार आइपुगे। उनको कुनै औपचारिक कार्यक्रम थिएन। परिवारसहित भेडेटार पुगेका उनी त्यहाँबाट सिम्रिक एयरको हेलिकोप्टर चढेर ताप्लेजुङस्थित ठूलो पाथीभरा मन्दिर पुगे। करिब एक घन्टा दर्शन गरेर पुनः भेडेटार ओर्लिए। ‘पाथीभरा जाने पहिलेदेखिको इच्छा थियो, हिँडेर जाने समय मिलेको थिएन, आज छोटो समयमै हेलिकप्टरबाट सहजै दर्शन गरियो’, उनले सुनाए, ‘समय कम हुने र हिँड्न नसक्नेका लागि हेलिकप्टरका कारण धेरै सजिलो भयो।’

व्यवसायी बलराम आचार्यले पनि आइतबार हेलिकप्टरबाटै पाथीभरा मन्दिर पुगेर दर्शन गरे। हरेक वर्ष पाथीभरा मन्दिर जाने गरेका आचार्य पनि यसपटक परिवारसहित भेडेटारबाट पाथीभरा पुगेर फर्किए। गोर्खा डिपार्टमेन्टका सञ्चालक उनले भने, ‘म हिँडेर र हेलिकप्टरबाट पटक पटक पुगेको छु। सफा मौसम भएकाले राम्ररी दर्शन गर्न पाइयो।’

भेडेटारमा आइतबार मन्त्री कार्की र व्यवसायी आचार्यमात्र होइन, कांग्रेस नेता डा. शेखर कोइराला, सचिव सुरेश आचार्य र उनका परिवारले हेलिकोप्टर चढेर पाथीभरा दर्शन गरे। भीआईपीसँगै हेलिकप्टरबाट पाथीभरा दर्शन गर्न जानेमा जेष्ठ नागरिक धेरै छन्। उनीहरूलाई क्याप्टेन सिद्धार्थजंग गुरुङले उडाएका थिए। सिम्रिक एयरले पुस २० देखि भेडेटार–पाथीभरा दर्शन यात्रा सुरु गराएको हो।

प्रतिव्यक्ति ३० हजार लिएर उडान सुरु गरेको सिम्रिकले भेडेटारबाट करिब २५ मिनेटको यात्रामा पाथीभरा पुर्या‍उने, त्यहाँ ३० मिनेटदेखि एक घन्टासम्म दर्शन गराउने र पुन : भेडेटारसम्म ल्याउने गरेको छ। २० गतेयता तीन दिनमा १३ फ्लाइट भएको छ। एक पटकमा ६ जना यात्रु लाने गरिएको छ। यसअघि पुस १६ देखि १९ सम्म भेडेटार फुड फेस्टिभलको अवसरमा भेडेटार आसपासमा फन् फ्लाइट गरिएको थियो। जसमा दुई सय ५० भन्दा बढीले हेलिकोप्टर चढे।

सिम्रिक एयरका बजार प्रबन्धक कमल गौतमका अनुसार पाथीभरा दर्शनका लागि काठमाडौं, विराटनगर, इटहरी, दमक र धरानबाट दर्शनार्थी आएका छन्। यसपटकको पाथीभरा दर्शन यात्रा सोमबारसम्म चल्नेछ। ‘स्थानीयवासीको सहयोग र दर्शनार्थीको इच्छाले सोचेभन्दा राम्रो भयो’, उनी भन्छन्, ‘यसपटक सोमबारसम्म पाथीभरा दर्शनमा जाने कार्यक्रम छ तर जान इच्छुक धेरै हुनुहुन्छ। पछि अर्को कार्यक्रम बनाएर फेरि उडाउने छौं।’

भेडेटार होटल एशोसिएसनका संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठले यसपटकको फेस्टिभल र पाथीभरा दर्शनका क्रममा आन्तरिक तथा भारतीय पर्यटकले हेलिकप्टरप्रति देखाएको चासोले यहाँबाट निरन्तर हेलिकोप्टर यात्रा सञ्चालन गर्न सकिने सम्भावना देखिएको बताए। उनले भने, ‘यसपटक हेलिकप्टरका कारण यहाँको पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुगेको छ। यसलाई निरन्तर गराउनेबारे कुरा भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.