विश्वविद्यालय थलियो बेथितिले

विश्वविद्यालय थलियो बेथितिले

बैतडी : आर्थिक अवस्था कमजोर भएका सुदूरपश्चिम प्रदेशका सामुदायिक क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका आंगिक क्याम्पस बन्दा खुसी थिए। प्राध्यापक, कर्मचारी पनि समयमै तलब पाइने भनेर खुसी देखिएका थिए। सरकारी क्याम्पस भएपछि पठनपाठनमा सहज रूपमा अघि बढ्ने आकलन गरिएको थियो। तर, सुदूरपश्चिम विश्वविद्यालयमा समायोजन गरिएका १४ आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले साउनदेखि तलब पाएका छैनन्।

६ महिनादेखि तलब नपाउँदा सुदुरपश्चिम विश्वविद्यालयका १४ आंगिक क्याम्पसका ३३४ प्राध्यापक तथा कर्मचारी समस्यामा परेको सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए। ‘सुदूरपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गत आंगिक क्याम्पस बनेपछि नियमित तलब पाउने अपेक्षा गरेका थियौं। तर, ६ महिनायता तलबबिना काम गर्न बाध्य भएका छौं’, संयोजक चन्दले भने।

विश्वविद्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण आफूहरू समस्या परेको प्राध्यापक तथा कर्मचारीले आरोप लगाएका छन्। सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सभाबाट बजेट पारित नभएकाले तलब नपाएको जयपृथ्वी क्याम्पस बझाङका उपप्राध्यापक बिराज कठायतले बताए। ‘हामीले पहिलाको दुई वर्षको तलब पनि पाएका छैनौं। समायोजनका बेला त्यो मुद्दा लत्याइयो। आंगिक क्याम्पस बनेपछि पनि ६ महिनादेखि तलबबिना काम गरिरहेका छौं’, उनले भने।

क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीको तलब निकासा नहुँदा क्याम्पस सञ्चालन गर्न गाह्रो भएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका प्रमुख पृथ्वीराज अवस्थीले बताए। उनले भने, ‘समुदायस्तरबाट क्याम्पस सञ्चालन हुँदा आर्थिक अभाव थियो। क्याम्पस विश्वविद्यालयमा समायोजन भएपछि समयमा तलब नपाउँदा क्याम्पस सञ्चलान गर्न गाह्रो भएको छ।’

समयमा तलब नपाउँदा पठनपाठन कार्यमा समेत समस्या भएको पाटन बहुमुखी क्याम्पसका उपप्राध्यापक फणेन्द्र अवस्थीले बताए। उनले भने, ‘हामीले काम गर्ने ठाउँबाट नियमित रूपमा तलब नपाउँदा जीवन चलाउनै गाह्रो भइसकेको छ। चाडपर्व पनि ऋण काढेर मनायौं। तलब कहिले निकासा हुन्छ भन्ने कुनै जानकारी छैन।’

सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, आन्तरिक विवादमै रुमल्लिरहेको अवस्थामा आंगिक क्याम्पसमा दिनुपर्ने रकम निकासा गर्न सकेको छैन। क्याम्पसहरूले समयमा रकम नपाउँदा प्राध्यापक र कर्मचारी समस्यामा परेका छन्।

सुदूरपश्चिम प्रदेशका जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानी बैतडी, पाटन बहुमुखी क्याम्पस बैतडी, मणिलेक क्याम्पस मेलौली बैतडी, दार्चुला बहुमुखी क्याम्पस दार्चुला, गोकुलेश्वर बहुमुखी क्याम्पस दार्चुला, जयपृथ्वी बहुमुखी क्याम्पस बझाङ, बाजुरा क्याम्पस बाजुरा, बडिमालिका क्याम्पस बाजुरा, जनता बहुमुखी क्याम्पस बयलपाटा अछाम, त्रिवेणी बहुमुखी क्याम्पस जोगबुढा डडेलधुरा, सीताराम बहुमुखी क्याम्पस उच्चाकोट डोटी, सेती महाकाली बहुमुखी क्याम्पस घण्टेश्वर डोटी, दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस अत्तरिया कैलाली र टीकापुर बहुमुखी क्याम्पस टीकापुर कैलालीमा कार्यरत प्राध्यापक तथा कर्मचारीले ६ महिनादेखि तलब नपाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.