बैतडीका ४८ वडामा छैनन् सचिव, सेवाग्राहीलाई सकस

बैतडीका ४८ वडामा छैनन् सचिव, सेवाग्राहीलाई सकस

बैतडी : बैतडीको दुर्गम सिगास गाउँपालिकाका ९ वडामध्ये ७ वटामा सचिव छैनन्। सचिव नभएका वडामा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिइएको छ। दोहोरो जिम्मेवारीले गर्दा प्राविधिक सहायकलाई समयमा काम गर्न कठिन भएको छ। बैतडीका जम्मा ८४ वडामध्ये ४८ वटामा सचिव नरहेको स्थानीय तहहरूले जनाएका छन्।

पञ्जीकरणलगायत कतिपय विषयमा समस्या आउने सिगास गाउँपालिकाकी उपाध्यक्ष द्रोपती चन्दले बताइन्। उनले भनिन्, ‘स्थानीय तहमा निर्वाचित भएर हामी आएको पनि डेढ वर्ष भइसकेको छ। वडा तहमै सचिव छैनन्, यसले नागरिकका गुनासा बढ्दै गएका छन्।’ शिवनाथ गाउँपालिकामा ६ वटा वडा छन् तर कुनैमा पनि सचिव छैनन्। सबै वडामा प्राविधिक सहायकले नै सचिवको काम गरिरहेका छन्। यसबाट वडामा नै पाउनु पर्ने कतिपय सेवाका लागि स्थानीय गाउँपालिका कार्यालय धाउनुपर्ने बाध्यता छ।

प्राविधिक सहायकले दोहरो जिम्मेवारीमा काम गर्नु पर्दा विकास निर्माणका काम अवरुद्ध हुने गरेको गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले बताइन्। उनले भनिन्, ‘गाउँघरमा सरकार आयो भनियो तर गाउँपालिकाले तय गरेका काम कर्मचारी अभावमा हुन सकेका छैनन्।’ सुर्नया गाउँपालिकाको २ नम्बर वडाका सचिव सुदर्शन खड्काले अहिले अरु दुई वटा वडा १ र ३ नम्बरकोसमेत वडासचिवको काम गरिरहेका छन्। वडा नम्बर १ र ३ का सचिव धर्मराज खत्री तालिममा गएपछि समस्या भएको सुर्नया–३ का वडाध्यक्ष दिलाराम भट्टले बताए। उनले भने, ‘हाम्रो वडाका सचिवले दुई वटा वडा हेरिरहनु भएको थियो। उहाँ पनि तालिममा गएपछि अहिले अर्को वडाको सचिवबाट हस्ताक्षर गराएर काम गरिरहेका छौं। वडामा कर्मचारी नहुँदा काम गर्न निकै कठिन भएको छ।’

जिल्ला सदरमुकाम रहेको दशरथ चन्द नगरपालिकाका वडामा समेत सचिव छैनन्। वडा नम्बर ६ र ९ मा सचिव नहुँदा अन्य वडाका सचिवले काम गरिरहेको उपप्रमुख मीना चन्दले जानकारी दिइन्। मेलौली नगरपालिकाका ९ मध्ये ५ वटा वडा सचिवविहिन रहेका नगरपालिकाकी उपप्रमुख राधा ओझाले बताइन्। उनले भनिन्, ‘कर्मचारी अभावमा काम अघि बढाउन गाह्रो भएको छ। दरबन्दीअनुसार कर्मचारी नहुन्जेल स्थानीय सरकारका काम प्रभावकारी बनाउन समस्या छ।’

पञ्चेश्वर गाउँपालिकामा पनि ६ वटा वडा छन् तर कुनैमा पनि सचिव नहुँदा प्राविधिक सहायकलाई सचिवको जिम्मेवारी दिइएको गाउँपालिकाका प्रवक्ता दशरथ मंगोलाले बताए। पुरचौंडी नगरपालिकाका ९ वटै वडामा सचिव नभएको प्रवक्ता गौतमप्रसाद भट्टले बताए। डिलाशैनी गाउँपालिकाका ७ वटा वडामध्ये ४ वटामा सचिव छैनन्।

दोगडाकेदार गाउँपालिकाका ४ वटै वडामा सचिव छैनन्। वडा सचिवहरूलाई गाउँपालिकामै राखिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। उनले भने, ‘गाउँपालिकामा कर्मचारी अभाव छ। सचिवहरूलाई गाउँपालिकामै राखेर काम गरिरहेका छौं। दरबन्दीअनुसार कर्मचारी नहुँदा काम गर्न कठिन भएको छ।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.