मालपोत : भ्रष्टाचारको ‘अड्डा’

मालपोत : भ्रष्टाचारको ‘अड्डा’

काठमाडौं : पछिल्ला दिनमा मालपोतमा ठूल्ठुला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन् । मालपोतमा अनेक किसिमका अवैध काम हुने गरेका छन् । अत्यावश्यक सेवा दिने यो कार्यालय भ्रष्टाचारको ‘अड्डा’ बनेको छ ।

मालपोतमा सर्वसाधारण जनताको पँहुच छैन । बिचौलियाबिना काम गर्न सकिन्न । सेवाग्राही कार्यालयमा पस्दानपस्दै तिनको चंगुलमा पर्छन् । बिचौलियामार्फत घुस दिएर मात्रै सार्वसाधारणले सेवा पाउँछन् । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भदौ १ बाट देशभरका मालपोतमा बिचौलिया प्रवेश नदिने सर्कुलर गरेकी थिइन् । तर, त्यो सफल हुन सकेको छैन ।

माफिया र कर्मचारीको मिलोमतोमा सरकारी जग्गा व्यक्तिको नाममा बनाउने, अर्काको जग्गा किर्ते गरी नक्कली जग्गाधनी खडा गर्ने, मनपरी कित्ताकाट गर्ने, मठ,मन्दिर, विद्यालय, वनजंगलको जग्गा व्यक्तिको नाममा सार्नेलगायतका अनियमितता भएका छन् । गुठी जग्गा रैकरमा परिणत गरी हिनामिना गरिएका थुप्रै घटना सार्वजनिक भएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा भ्रष्ट सरकारी कार्यालय हो मालपोत । मालपोत र नापीमा हुने काममा ६५.५ प्रतिशत भ्रष्टाचार हुने गर्छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मालपोत र नापी कार्यालयमा कारवाही गरे कर्मचारी शून्य हुने अभिव्यक्ति दिँदै आएका छन् । अख्तियारले पछिल्ला दिनमा स्टङ अपरेसन मालपोत केन्द्रित भएको छ । जताततै कर्मचारी घुससहित समातिइरहेका छन् । चाबहिल, डिल्लीबजार र झापा मालपोत कार्यालयका पूरै कर्मचारीविरुद्ध मुद्दा दायर गरिएको छ ।

सरकारले जग्गा कित्ताकाट रोकेको छ । तर, मालपोत कर्मचारी र माफियाको मिलोमतोमा एउटै जग्गा १४ पटकसम्म कित्ताकाट भएको घटना राष्ट्रिय सर्तकर्ता केन्द्रले बाहिर ल्याएको छ । मालपोत कार्यालय कंलकी र ललितपुरमा गरिएको छानबिनपछि त्यस्तो घटना सार्वजनिक भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोर्कणमणि दुवाडी मालपोतमा भ्रष्टाचार हुने स्वीकार्छन । ‘यो जटिल विषय हो । त्यसलाई निरुत्साहित गर्न कोसिस गरिरहेका छौं,’ उनले भने ।

सेवाग्राहीका कारणले समेत भ्रष्टाचार हुने गरेको आरोप उनले लगाए । ‘दिने र लिने दुवै पक्ष उतिकै जिम्मेवार छन् । सेवाग्राहीले नदिए त कर्मचारी लिने कुरै हुँदैन, त्यसै सेवाग्राही यसमा सचेत हुनुपर्छ,’ उनले भने । मालपोतमा भ्रष्टाचार नियन्त्रण गर्न ‘डिजिटलाइजेसन’ थालिएको दुवाडीले बताए । ४७ वटा मालपोत कार्यालयमा अनलाइन सेवा सञ्चालन गरिएको उनको भनाइ छ । लेखापढी व्यवसायीलाई कार्यालयको पहिलो सम्पर्क विन्दुसम्म मात्र पहुँच रहेको दाबी पनि उनले गरे ।

नेपाल लेखापढी कानुन व्यवसायी एसोसियसनका अध्यक्ष सीताराम दाहाल भने नीतिगत भ्रष्टाचारका कारण नै मातहतका अड्डा पनि भ्रष्ट भएको बताउँछन् । ‘कार्यालय प्रमुख नै ठूलो रकम बुझाएर आएका हुन्छन्, पैसा नबुझाई कार्यालय प्रमुख नै बन्न सक्दैनन् । त्यो पैसा उठाउनु परेन ? अनि त भ्रष्टाचार नहुने कुरै छैन,’ उनले भने, ‘हामीलााई आरोप लगाएर पन्छिन खोजिन्छ, त्यो सरासर गलत हो । हाम्रा केही साथीहरुका कमजोरी होला तर पानीको मुहान नै फोहर भएपछि तल हुनु त स्वभाविक हो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.